च्यास्मिटार चिनारी : ‘सबैको उन्नति बाटो, घर–घरमा उद्यमी, समृद्धको पाटो’


‘लिखितं पूर्वै नं ३ नम्बर, मौजै थुं
हलेसी माझ किरात’

लगभग एक सय वर्षअघि व्यावहारिक लिखतमा समेत यसरी लेखिने/चिनिने च्यास्मिटार हिजोआज हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ३ भएको छ । च्यास्मिटारको पश्चिममा बाहुनीडाँडा र डिकुवा, पूर्वमा बडहरे र दुर्छिम, उत्तरमा दूधकोसीका साथै दक्षिणमा सुनकोसी बगिरहेको छ ।

च्यास्मिटारको क्षेत्रफल २१७१ वर्गकिलोमिटर रहेको छ । वडाभित्र ५४५ घरधुरी र तीन हजारजति जनसंख्या छन् । यहाँ राई, क्षेत्री, विश्वकर्मा, परियार, भुजेल र एक घर माझीसमेत बसोवास गर्छन् । च्यास्मिटारका वडावासी सबैले निर्वाध रूपमा आ–आफ्नो रीतिरिवाज र धर्म–संस्कृति मनाउँदै आएका छन् ।

वडावासीमध्ये केही सरकारी तथा गैरसरकारी जागिरे भए पनि अधिकांश किसान छन् । यहाँका मुख्य बाली मकै हो । तर, वातावरण प्रदूषणका कारण जलवायु परिवर्तन भइरहँदा बर्सेनि उत्पादनमा ह्रास आउन थालेको छ । परम्परागत खेतिपातीबाट उपलब्धि नहुने भएपछि यहाँका दुई सयजनाजति युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका छन् ।

च्यास्मिटारका पूर्वाधार विकासको कुरा गर्दा सामान्य रूपमा ग्रामीण सडक निर्माण भएको छ । अन्य पूर्वाधार विकासका साथै ज्येष्ठ नागरिक, महिला, एकल महिला, दलित, लोपोन्मुख र अपांगता भएकाको पहिचान गरी आवश्यक कार्यक्रम ल्याउन जरुरी छ ।
मुलुक समृद्ध बन्न समुदाय समृद्ध हुनुपर्नेमा दुईमत छैन । समृद्धको पहिलो सर्त नै आर्थिक विकास हो । तर, परम्परागत कृषिमा बर्सेनि ह्रास आउँदा किसान चिन्तित छन् । नेपाल कृषिप्रधान देश भएकाले कृषि क्षेत्रको विकासविना कुनै पनि स्थानीय तह समृद्ध बन्न सम्भव छैन । त्यसैले वडामा वैकल्पिक खेतीका लागि अध्ययन अनुसन्धान हुन जरुरी भएको छ । केही युवा बिदेसिए पनि गाउँघरमा रहेका बेरोजगारी युवाले योग्यताअनुसारको रोजगारी पाउने वातावरण सिर्जना गर्नुपर्छ । विदेश जान नचाहनेले स्वदेशमै पसिना बगाउने वातावरण बनाउनु आजको आवश्यकता भएको छ ।

पूर्वाधारकै कुरा गर्दा प्रत्येक टोलमा सडक सञ्जाल विस्तार हुनुपर्छ । सरकारी वन सामुदायिकमा परिणत भए पनि वन–जंगल पातलिँदै गएका छन् । जन्मदेखि, विवाह, व्रतबन्ध, मृत्युसम्मलाई पनि दाउरा चाहिने भएकाले अवैज्ञानिक ढंगबाट रूख कटान हुँदा वन–जंगल पातलिँदै गएको हो ।

त्यसमाथि वन–जंगलभन्दा सडक निर्माणलाई बढी प्राथमिकता दिइँदा परम्परागत वन–सम्पदा नाश भइरहेको छ । यसकारण जंगल खहरेमा परिणत हुने देखिएको छ । यसका लागि छिटोभन्दा छिटो कार्ययोजनासाथ व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

कुनै पनि विकासका लागि अर्थतन्त्र पहिलो सर्त हुने भएकाले अर्थोपार्जनको प्रमुख स्रोतका रूपमा पर्यटनलाई लिनुपर्ने देखिन्छ । यसका लागि पर्यटक आकर्षित गर्न सक्नुपर्छ । कार्ययोजना बनाएर पर्यटक भित्र्याउने कसरत गर्नुपर्ने भएको छ । विकासका दिगोपनका निम्ति आवश्यकता हेरी बर्सेनि, पञ्चवर्षीय गुरुयोजना बनाउनुपर्छ ।

नेपालको संविधान–२०७२ को अनुसूची ८ ले दिएको स्थानीय अधिकार अवलम्बन गरी नीति निर्माण गर्न स्थानीयले जनप्रतिनिधिलाई सहयोग गर्नुपर्छ । प्रत्येक टोलमा घरेलु उद्योग सञ्चालनका लागि स्थानीय पनि उत्सुक बन्नुपर्छ । यहाँका प्राकृतिक, भौगोलिक स्रोत साधन उपयोग गरी उद्योग तथा कलकारखाना सञ्चालन गरी रोजगारी सिर्जना गर्न ढिला गर्नुहुँदैन ।

सबैले आवश्यकताअनुसार उद्यमी बन्नुपर्छ । ‘सबैको उन्नति बाटो, घर–घरमा उद्यमी, समृद्धको पाटो’ हुनुपर्छ ।

(लेखक हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका वडाध्यक्ष हुनुहुन्छ ।)

 

प्रतिक्रिया दिनुहोस्