बलु दाइ भेट्नु छ । जो, मलाई भेट्न अगाडि दौडिएका छन् । आहालेमा साथीहरू छाडेर एक्लै हिँडे उकालो । म ढुक्क छु । दाइका लागि भान्टाबारीभन्दा अगाडि छिर्ने मेलोमेसो छैन । कटारीबाट भारीसँग एक दिनको बाटो हो– भान्टाबारी ।
आहालेबाट भीरैभीरको उकालो । टोड्केको जंगलैजंगल । टोपी खस्ने उकालो हिँडेपछि बल्ल पुगिन्छ– भान्टाबारी गाउँ । अघिल्लोपटक कुखुरा बास बस्ने बेला पुगेको थाहा छ । प्रायः सबैको बास बस्ने ठाउँ यहीँ हो ।
टोड्केको उकालो सुरु भयो । बेलुकीको नमीठो घाम पिठ्यूँको भारीमाथि परेको छ । आफ्नै भारीको सियाँलमा घोप्टो परेर हिँडेको छु । आधा उकालो काटेपछि पसिनाले शरीर भिज्यो । तिर्खा बेजोडले लाग्यो । भोक पनि लाग्यो । हावा पटक्कै चलेको छैन । गग्रौटे ढुंगामात्र छन् । फुङ्ग धूलो उडेको छ । पसिनाले भिजेको शरीर धूलोले फुस्रिरिरी भएको छ ।
बिहानभरि पछ्याएँ । मरुवाफेदीमा छोडिपठाएँ दिलेम्पा कोक्पालाई । उकालोको अप्ठेरो आफैंले खेपेपछि कोक्पाको खुब माया लाग्यो । बूढाले कसरी काट्लान्– टोड्के डाँडो । उकालो बाटोभरि मेरो मनमा आइरह्यो । कोक्पाको चित्र आँखामा खेलिरह्यो । मलाई त यो उकालो मर्नु भयो । कोक्पा कसरी डाँडा काटेर आइपुग्लान् भान्टाबारी ? मरुवाफेदीको उकालो जंगलको भावर कसरी काट्लान् ?
कोक्पा साह्रै कमजोर । तागत खस्ती भइसकेको । खुट्टामा जुत्ता थिएन । खाली खुट्टा प्रकप्रक फुटेको । कपडा निचोर्दा पानी आएजस्तै भुँइमा टेक्दा पाइतालाबाट पानी चोर्सिरहने । कोक्पाको पछि–पछि एक बिहान पूरै हिँडें ।
कोक्पाले सधैं खाँडीको धोती लगाउँथे । खङ्रङ्ग सुकेको शरीर । हाडछालामाथि अभरिलो कन्दनी । उकालो बाटोमा, उकालो हेर्दा कोक्पालाई छ्याङ्गै देख्थें ।
मलाई अहिले पनि कोक्पाको खुब माया लागेर आउँछ । उकालोमा बल पर्दा, अलिक अग्लो खुडकिलो उक्लँदा कोक्पाको धोती छिचोलेर ‘वाख्लिमा’जस्तै ढिँडोको डल्लो झथ्र्याे । खुब गन्हाउने । कोक्पालाई थाहा हुन्थेन । मैले देख्थें । तर, के झरेको ? थाहा पाइनँ । कोक्पालाई सोध्नु, आफैंलाई लाज लाग्यो । अप्ठेरो लाग्यो । मनमनै सोचें, ‘यो जाती कुरा होइन । कोक्पा अब धेरै नबाँच्ने रहेछन् ।’
टोड्के डाँडामा टेकाएर ओह्रालो हेरें । आहालेतिर हेरें । आहालेको पल्लैछेउसम्म हेरें । कोक्पा देखिनँ । रात पर्नै लाग्यो । मलाई भान्टाबारी पुग्नु छ ।
नौलो ठाउँ । बेलुकीको समय । जंगलको बाटोमा झ्याउँकीरी कराउन थाले । म साह्रै न्यास्रिएँ । रोऊँरोऊँ लाग्यो ।
बलु दाइ दिउँसै पुगेछन्– भान्टाबारी । अघिल्लोपटक बास बसेकै ठाउँमा भारी बिसाएछन् । त्यहाँ पुगेपछि उनले अनुमान गरेछन्, ‘पक्कै पनि भाइ पछाडि नै छन् । यहाँभन्दा अगाडि जानुहुन्न ।’ दिनभरि हामीलाई पर्खंदापर्खंदा उनलाई दिक्क लागेछ ।
हात्तीछाप चप्पल । भत्रकभत्रक घस्रिँदै हतार–हतार ओह्रालो झरेको आवाज कानभित्रै पस्यो । मनमा सोचें, ‘को झरेछन् ओह्रालो ।’
मलाई पनि हतार छ । रात पर्न थालेको छ । निकै नजिकै आइसक्यो आवाज । तैपनि उकालो हेरेको छुइनँ ।
‘ओइ ! तिमातिने….. ।’ मलाई देखेर अत्तालिँदै गाली गरे । परिचित आवाज हो । दुवै हातले नाम्री तानेर आँखा उकालो तन्काउँदै हेरें । बलु दाइ मलाई लिन आइपुगेछन् ।
मन कम्ता खुसी भएन, ‘अब मैले भारी बोक्नुपर्दैन । दाइले बोकिदिन्छन् ।’
बलु दाइले हातको इसाराले रिसाउँदै सोधे, ‘बाटो नछोडी । बाटैबाटो आएँ । बाटोमा भेटिनँ । कसरी हराइस् ?’
दिलेम्पा कोक्पा उल्टो हिँडेकाले दुःख पाएँ भनौं भने कान सुन्दैनन् । हातले भनौं भने गलेको बेला जाँगर चलेको छैन । ‘भान्टाबारी पुगेरै हातको इसाराले भनौंला,’ मनलाई सम्झाएँ ।
माइला दाइले मेरो भारी बोके । म हातमा टेकुवा टेक्दै–टेक्दै पछ्याउन थालें ।
कतै नलागेको भोक लाग्यो । अहिले पो खुट्टा पनि दुखेको अनुभूति भयो । बलु दाइ मेरो भारी बोकेर बाटो लागे । रित्तो भएर पनि भेटाउन मुस्किल भयो । तैपनि पछ्याइरहें ।
कुखुरा बास बस्ने बेला भान्टाबारी आइपुग्यौं । म साह्रै थाकें । गलें । भोकाएँ । साबिककै ठाउँमा हाम्रो बास बस्ने ठाउँ । बारीको कान्ला । अलिक हावा कम खेल्ने ठाउँमा चुला ओगटेका रहेछन्– माइला दाइले । दिउँसै दाउरापानी ठिक्क पारिसकेका रहेछन् ।
सुँगुर, राँगाको मासु पाइने । रक्सी, भाती जाँड पनि पाइने । उधो झर्ने । उँभो जाने । हिउँदको समय । बास बस्ने ढाक्रेको सानोसानो बजार लाग्नेरहेछ– भान्टाबारीमा ।
परदेशीको बास कान्लामा । भारी बोक्नु झर्दा पाखामै बास बस्नुपर्छ । पाखामै चुला बनाउनुपर्छ । पाखामै खाना पकाउनुपर्छ । परदेशको बास । एक किसिमको रमाइलो पनि ।
मैले चिनेको बलु दाइ । बलु दाइले चिनेका धेरै छन् । कटारी झर्दाझर्दा उनले धेरैलाई चिनिसकेका छन् । म परें नौतुन ।
उनले खानाको जोहो गर्न लागे । म सुत्ने ठाउँ बनाउन लागें । टेकुवाले भुँइ सम्याएँ । प्लास्टिक ओछ्याएँ । चामलको पोका सिरान बनाएँ । ढल्किएँ ।
बारीको कान्लामा लहरै भारी राखिएका छन् । धेरैको ढाकरमाथि क्यासेट । कसैकोमा १८ व्यान्डको एफएम रेडियो । कसैकोमा समाचार बजिरहेका । कसैकोमा पूर्वेली लोकगीत । त्यतिबेला जताततै सुनिन्थ्यो– खेमराज गुरुङले गाएको गीत । म पनि खुब सुन्थें । ओछ्यानमा ढल्किँदै सुन्न थालें । पर कसैको ढाकरमा बजिरहेको थियो–
‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना ।’
बलु दाइलाई साह्रै खुल्दुली भएछ, ‘के भएर हामी पछाडि परेको ?’
मुख लागीनलागी फेरि सोध्न थाले, ‘टे भा’को ?’
कान नसुन्ने मानिसलाई मैले कसरी उत्तर दिनू ? हातले भनौं भने रात परिसक्यो । आँखा देखिँदैन । उज्यालो छैन ।
म हाँसिरहेंमात्रै । बलु दाइ हाँसेनन् । रिसाए ।
सारो थाकेको नाटक गरें । चुप लागें । अब भोलि बिहान भन्छु । उज्यालोमा हातको इसारा देखिन्छ । बुझिन्छ ।