किताबका लागि अनशन



ललितपुरको नख्खु जेलमा मैले माक्र्सवादका थुप्रै किताब संकलन गरी व्यवस्थित ढंगले अध्ययन गर्न थालेको थिएँ । तर, एक दिन प्रहरी आएर सबै किताब खोसेर लगे । त्यसको विरोधमा म अनशन बसें । १६ दिन अनशन बसिसकेपछि मलाई अस्पताल भर्ना गरियो । खोसिएका किताब सबै फर्काइयो ।

त्यतिबेला प्रहरी डीआईजी मानबहादुर राई थिए । हामी २००७ मा सँगै काम गरेका थियौं । उनले मलाई ‘त्यति जाबो किताबका लागि अनशन बस्नुपर्छ तैंले ?’ भनेर झपारे । ‘तँ डीआईजी भएर पनि त्यति किताब खोसेर लानुपर्छ ?’ भनेर मैले जवाफ फर्काएँ । हामीबीच तँ–तँ चल्थ्यो । त्यतिबेला मेरो भाइ असई थिए । ‘ल तेरो दाइको किताब सबै पु¥याइदे नख्खुमा,’ भनेर डीआईजीले भाइलाई आदेश दिए ।

अब डीआईजीले ‘अर्डर’ दिने र भाइले लैजाने भएपछि ढुक्क भएर मैले अनशन तोडिदिएँ । तर, मलाई जेल जानै दिइएन । स्वस्थ भएर जा भनियो । त्यहाँबाट मलाई पुलिस क्लबमा राखियो । त्यहाँ मलाई दिनको एक पाउ मासु, फलफूल इत्यादि र बेलुकी ‘ड्रिङ्क’ पनि दिइयो । ‘म अब त ठीक भएँ । हृष्टपुष्ट भएँ’ भन्छु । तर, मलाई पठाउँदै पठाउँदैन । मलाई शंका लाग्यो । मैले भनें, ‘हेर एमबी तैंले पठाउँछस् भने पठा होइन भने म यहाँबाट विद्रोह गरेर आफैं गाडी चढेर गई जेलमा जान्छु । तिमीहरूले भागेको भन्छौं होला तर म जेलमा गएर ढोकामा उभिन्छु । के गर्छौ तिमीहरू ?’ डीआईजीले भने, ‘तँसँग कसले सक्छ ?’

तर, मसँग खोसिएका किताब उनीहरूसँग रहेनछ । म जेल गएँ । त्यहाँ सोधें, ‘किताब ल्याइएको छैन ?’ जेलका मानिसले ‘छैन’ भन्ने । तुरुन्त मैले त्यहींबाट डीआईजीलाई फोन गरें । ‘तँ अहिले नै किताब फर्काउँछस् कि म यहीं अनशन सुरु गरुँ ?’ भनेर उनलाई धम्काएँ । ‘नकरा न नकरा, मलाई मिलाउन दे न । म एक घन्टामा त्यहाँ आइपुग्छु,’ उनले जवाफ फर्काए । साँच्चै उनी एक घन्टापछि जेल आइपुगे । ‘तेरा सबै किताब अञ्चलाधीशको कार्यालयमा छ । मैले अञ्चलाधीशलाई ‘कन्भिन्स’ गर्नुपर्छ । त्यसका लागि केही समय चाहिन्छ । चौबीस घन्टा समय दे न,’ उनले भने । ‘ठीक छ,’ मैले भनें ।

चौबीस घन्टापछि मेरै भाइले पुलिसको भ्यानमा राखेर सबै किताब ल्याइदिए ।

(निर्मल लामाका आत्मसंस्मरणात्मक किताबबाट ।)

प्रतिक्रिया दिनुहोस्