सित्तैमा पाउँदा नखाऊँ अलकत्र, वर्ष दिन नपुग्दै उप्किने कस्तो कालोपत्र



खोटाङ । सित्तैमा पाउँदा अलकत्र चपाउनेको कमी छैन । यो भनाइ मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडक कालोपत्र उप्केपछि प्रमाणित भएरै छाड्यो । सो सडकखण्डमा गरिएको कालोपत्र वर्ष दिन नपुग्दै उप्केपछि सित्तैमा पाउँदा अलकत्र चपाउनेको कमी छैन भनेर ठोकुवासाथ भन्न सकिन्छ ।

एसियाली विकास बैंक (एडीबी)को लगानीमा दिक्तेल बजार रत्नपार्कको किराँतचोकदेखि हलेसीसम्मको ३६ किलोमिटर सडकअन्तर्गत ठाउँ–ठाउँमा कालोपत्र उप्केको छ । कालोपत्र गर्नुअघि सडकमा बिछ्याइएको रोडा र ढुंगा कमसल भएकाले कालोपत्र उप्केको बताइन्छ । कालोपत्र उप्केको ठाउँ–ठाउँमा सडक खाल्डाखुल्डी परेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको सवारी चालकले दुःखेसो पोख्ने गरेका छन् ।

नाफा कमाउने उद्देश्यले सडक कालोपत्र जिम्मा लिएको लामा नागार्जुन र लामा नागार्जुन जेभी त्रिशूलीले कमसल सामग्री प्रयोग गरेको स्थानीयले आरोप लगाएका छन् । सडक कालोपत्र गरेको वर्ष दिन नबित्दै उप्केपछि जिल्लावासी आक्रोशित छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता मिलन राईले भने, ‘कालोपत्र उप्केपछि मर्मत गर्न सम्बन्धित निकायले चासो दिएको छैन ।’

एसियाली विकास बैंकको ४६ करोड ८९ लाख ९२ हजार २२७ को लगानीमा साढे ६ मिटर फराकिलो पारिएको सडकको साढे पाँच मिटर चौडाइमा कालोपत्र गरिएको थियो । तीन भागमा बाँडी हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर सडक १५ करोड ५२ लाख ५१ हजार ६९६ रुपैयाँ ७५ पैसामा कालोपत्र गरिएको थियो ।

बिजुलेदेखि हुर्लुङसम्मको १२ किलोमिटर सडक १५ करोड ८९ लाख ३४ हजार ५५२ रुपैयाँ ०७ पैसा र हुर्लुङदेखि दिक्तेलसम्म १२ किलोमिटर सडक १५ करोड ४८ लाख पाँच हजार ९७८ रुपैयाँ ३० पैसामा कालोपत्र गरिएको थियो ।

यसैगरी, जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर सूर्यदेवी कन्काई तथा बिजुलेदेखि दिक्तेलसम्मको २४ किलोमिटर कालोपत्र गर्ने जिम्मा नागार्जुन र लामा नागार्जुन जेभी त्रिशूलीले लिएको थियो । तीन वर्षभित्र कालोपत्र सम्पन्न गर्नेगरी २०७१ जेठ १६ गते ठेकेदार कम्पनीसँग सम्झौता गरे पनि दुई वर्ष ढिलो गरेर पाँच वर्षपछि गत असोजमा कालोपत्र गरिएको थियो ।

वर्ष दिनअघि कालोपत्रको सम्पूर्ण काम सकिए पनि सडक विभागलाई जिम्मा दिन बाँकी रहेकाले बिग्रेको ठाउँमा पुनः मर्मत गरेरमात्रै जिम्मा दिइने लामा–नागार्जुन–त्रिशूली जेभीसम्बद्ध प्रतिनिधि राजाराम आचार्यले बताए । ‘प्राविधिक त्रुटि भएको ठाउँमा कम्पनीकै तर्फबाट मर्मत गरिनेछ,’ लामा–नागार्जुन–त्रिशूली जेभीसम्बद्ध प्रतिनिधि आचार्यले भने, ‘दोस्रो पक्षबाट बिगारिएको छ भने सम्बन्धित व्यक्ति वा संस्थाले जिम्मा लिनुपर्छ ।’

कालोपत्र गरिएको सडक वर्ष दिन नपुग्दै उप्केपछि सम्बन्धित ठेकेदार कम्पनीलाई तत्काल मर्मत गर्न आग्रह गरिएको सांसद विशाल भट्टराईले बताए । ‘दिक्तेल–हलेसी सडक जिल्लाको प्रमुख सडक हो,’ सांसद भट्टराईले जानकारी गराए, ‘मुख्य सडकै उप्केपछि तत्काल मर्मत गर्न सम्बन्धित ठेकेदार कम्पनीलाई भनिएको छ ।’

प्रतिक्रिया दिनुहोस्