म क्रियाशील कम्युनिस्ट


उठेको थिइनँ । फोनको घन्टी बज्यो । फोन उठाउनासाथ ‘प्रभातकालीन अभिवादन ! तपाईंको दिन शुभ रहोस् । उठ्ने समय भइसकेको छ,’ अंग्रेजी भाषा र चिनियाँ लवजमा नारी आवाज सुनियो । त्यो आवाज लबीबाट आएको थियो । तयारी गर्दै थिएँ । बोर्णबहादुर कार्की पनि ‘चेक आउट’ का लागि तयार भएका रहेछन् । बिहान ८ बजे कोठा छाडिसक्नुपथ्र्यो । खाजा खाएर ८ः३० मा लबीमा जम्मा भयौं । ८ः४५ मा अन्तिम कार्यक्रमका लागि रेडिसन होटल पुगिसकेका थियौं । रातिदेखि झमझम पानी परिरहेको थियो । वातावरण चिसिएको थियो ।

चिनियाँ अधिकारीका अनुसार चीन सरकारले सर्वसधारण नागरिकका लागि फोन सेवा निःशुल्क गर्ने तयारी गरिरहेको छ । त्यसो भयो भने संसारभरि एक दिन फोन सेवा निःशुल्क हुनेछ । त्यो कार्य मानव जातिकै लागि महान् उपलब्धि हुनेछ । फोनभन्दा सरल जनसम्र्पकका माध्यम प्रयोगमा आउनेछन् ।

सांघाईको DADVBE सडकस्थित रेडिसन होटलमा ‘समीक्षा, प्रतिबद्धता र प्रमाणपत्र वितरण कार्यक्रम थियो । कार्यक्रममा बोल्ने–नबोल्ने स्वेच्छिक विषय हुन्थ्यो । आज सबैलाई अनिवार्य गरिएको थियो । मन्तव्यक्रममा शुभेच्छाले भनिन्, ‘तपाईंहरूले अमेरिकाको कोकाकोला होइन, चीनको हरियो चिया नै खानुहोला । हरियो चियालाई माया गर्दा नै चीनको हित हुन्छ । किनकि कोकाकोलाभन्दा हरियो चिया स्वस्थकर छ ।’ सानो स्वरले ठूलो कुरा कसरी भन्ने ? यो विषय लेखनको मात्र होइन, प्रवचनको पनि चुनौती हो । त्यो चुनौती शुभेच्छाले सहजै छिचोलेको मलाई महसुस भयो । चन्द्रकिशोरले ‘तपाईंहरूमा हरियो चिया संस्कृति रहेछ । हामीकहाँ पानी संस्कृति छ । नेपाली भ्रमण टोली आउँदा वाटर र वाइफाइ व्यवस्था गरिदिनुहोला’ भन्न नभ्याउँदै अंग्रेजी भाषा नबुझेका क. वाङले हस्याङफस्याङ गर्दै सबैको टेबलमा पानीका बोतल थमाइदिए । हाँसोको फोहोरा छुट्यो । ‘सर्वप्रथम गर्वसाथ म के भन्न सक्छु भने चीन अध्यक्ष माओको देश हो । त्यस दृष्टिबाट हेर्दा चिनियाँ कम्युनिस्ट पार्टी र समाजवादका विषयमा मेरो फरकमत छ’ मैले भनेको थिएँ । फरकमत राख्दा कतिपय साथीहरू जिब्रो टोक्थे । किशोर श्रेष्ठ ‘त्यति त भन्न पाउनुपर्छ,’ भन्दै थिए । म क्रियाशील कम्युनिस्ट धाराले चीनको दुईलाइन संघर्षमा अध्यक्ष माओको पक्षपोषण गर्दै आएको छु । चिनियाँको लगानीमा भ्रमणमा आउँदैमा विचार नै बदल्ने कुरा आउँदैनथ्यो । माधव पैडेल र ची पिङ कूटनीतिक भाषामा प्रस्तुत हुन्थे । किशोर श्रेष्ठको प्रस्तुति अक्सर भावनात्मक लाग्थ्यो । ‘सुखसँग घरमा पुग्नुस’ आफ्नो अन्तिम भनाइ ची पिङले सकाउँदा बिदाइको क्षण सम्झेर नरमाइलो लाग्यो । आयोजक संस्थाले सबै सहभागीलाई गोष्ठीमा सहभागी भएको प्रमाणपत्र वितरण गर्यो । क. वाङले भ्रमण अवधिमा खिचेका फोटा बिजुली बाकसमा हालेर दिए । त्यसपछि रेडिसन होटलमा अन्तिममा सामूहिक फोटो लिएर खानाका लागि बस चढ्यौं ।

लन्च खान होटलतिर जाँदै थियौं । सडकको दुई किनारका झ्याम्म परेका रुखमा पानी पर्दा झ्याउँकीरी कराइरहेजस्तो विरहलाग्दो आवाज आइरहेको थियो । ‘कम्युनिस्टहरू असभ्य हुन्छन् भन्थे । त्यो कुरा हो रहेछ । जताततै रुख, झार, लहरा… … सहरलाई जंगल बनाउने ! यो सबै वाहियात जंगलीपन किन ?’ तीर्थ कोइराला कांग्रेस समर्थक साथीलाई हेरेर भन्दै थिए । नेपालमा खाँदा पनि, फाल्दा पनि दुईचोटि खानेकुराको मूल्य तिर्नुपर्छ । चीनमा फाल्दा कतै पनि मूल्य असुलेको देखिएन । हाम्री दोभाषे फिनिक्स जसको पैत्रिक चिनियाँ नाम ‘चाङ’ हो । उसले ‘अब हामीसँगै रहने समय थोरैमात्र बाँकी छ है’ भन्दा नमीठो अनुभूति भयो । हामी होटलमा पस्नासाथ जुँगामुठे मूर्ति देखियो । हाम्रो जिज्ञासामा क. छिङले ‘गड अफ फर्चुन,’ भनिन् । त्यो धनधान्यकी देवी लक्ष्मीजस्तै रहेछ । नारी जातिको हातबाट नर जातिले सत्ता हत्याएपछिका देवता भएका कारणले होला फर्चुनको नर आकृति थियो ।

खाना खाएपछि हामी हवाई अड्डातिर सोझियौं । निर्धारित समयमा सांधाइ हियाओ विमानस्थल पुग्यौं । मूलसहरबाट बाहिर हवाई अड्डा र रेल स्टेसन नजिक–नजिक रहेछन् । हाम्रो टिकट ‘साउथ चाइना एयर’ को थियो । जाँच केन्द्रमा हवाई अड्डाका कर्मचारीसँग ठाकठुक पर्यो । उनीहरू हातमा एउटा र ठूलो झोला एउटामात्र क्रमशः ७ किलो र २३ किलोमात्र हुनुपर्छ भन्दै थिए । हामीचाहिँ तौल कति लैजान पाउने हो भन, कति वटामा बोक्ने भन्ने कुरा तिम्रो सरोकारको विषय होइन भन्दै थियौं । ‘भन्सार छुटको सामान धेरै नजाओस् भनेर यिनीहरूले यस्तो कडा गरेका हुन्,’ निर्मला भन्दै थिइन् । ‘यो हवाई कम्पनी बदनाम छ । जहिले पनि हैरान पार्छ । यसले चीनकै बदनाम गर्छ । हामी ‘एयर चाइना’ मा जान पाएको भए सजिलो हुन्थ्यो,’ भुक्तभोगी किशोर श्रेष्ठ भन्दै थिए । हवाई अड्डामा अन्तिम समयसम्म पनि क. छिङ र दोभाषे चाङले लगनसाथ सहयोग गरिरहेका थिए । झोला र तौलको विवाद समाधान गर्न अन्तिमसम्म हवाई अड्डामा समेत तारतम्य मिलाउँदै थिए । जब कि उनीहरू आफैं बेइजिङ उड्दै थिए र ढिलो हुन लागेको खबर आइरहेको थियो ।

अनिल शर्मा विरही

जाँच कार्य सकेर तलको एउटा स्वचालित भर्याङनजिक आएका थियौं । त्यहींबाट ग्वाङझाउ र बेइजिङका यात्री छुट्टिनुपथ्र्यो । चिनियाँ साथीहरू त्यहीं उभिइरहेका थिए । अल्मलिने समय थिएन । त्यही दोबाटोमा बिदाइका अन्तिम हात समायौं । शुभेच्छा, गोविन्द र म सबैभन्दा पछाडि थियौं । बिदाइको त्यो क्षणलाई शुभेच्छाले बेइजिङको बिदाइसँग तुलना गर्दै थिइन् । ‘बेइजिङमा भावनामा बग्ने वातावरण र समय थियो । आज तनाव र हतारोले भावनामा बग्ने अवसर पनि दिएन । फुर्सदिलो जीवन भावुकताका कारण बन्न सक्छ । त्यसैले धनी मानिस अन्तर्यमा गरिबभन्दा पनि दुःखी हुन्छन्,’ शुभेच्छा भन्दै थिइन् । चेतनाको गहिराइले अनुभूतिको गहिराइ निरुपण गर्छ । मानिस के कुरामा कति खु्सी या दुःखी छ भन्ने कुरा उसको दृष्टिकोण र चेतनास्तरमा पनि भर पर्छ ।

सांघाईको तापक्रम २८ डिग्री सेल्सियस थियो । झोला बोकेर दौडँदा–दौडँदै पसिनाले भिजाएको थियो । अपराह्न ३ः३० मा उड्नुपर्ने जहाज उडेन । मौसम खराब भएकाले ढिलो भएको जानकारी दिइएको थियो । आज नेपाल नपुगिने निश्चितजस्तै थियो । हवाई अड्डाको प्रतीक्षालयमा पल्टिरहेका थिएँ । ‘बेइजिङमा सात दिनपछि पहिलोपटक हाँस्नुभएको थियो । यो यात्रामा पहिलोपटक हाँसेको फोटो लिनुस् सर,’ शुभेच्छाले मेरो क्यामेरा दिँदै भनिन् । नेपाल नपुगे पनि ग्वाङझाउ गएर बास बस्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । वाहनले उडान भर्ने–नभर्ने अनिश्चतता बढ्दै गयो । ‘मौसम खराब होइन, यो जहाज मर्मतमा छ जस्तो हामीलाई लागिरा’छ,’ हँस्यौलोपारामा किशोर श्रेष्ठ भन्दै थिए ।

हवाई कम्पनीले यात्रुलाई खाना खुवायो । चम्चाको व्यवस्था नै नभएका कारण पहिलोपटक चपस्टिकको सहाराले खाएँ । खाँदा–खाँदै जहाज उड्ने सूचना जारी भएका कारण हतार–हतार जहाजमा चढ्यौं । जहाज धेरै बेर उडेन, ब्याउन लागेको भैंसीझैं ठसठस कनिरहन्थ्यो । हवाई परिचारिका उडानमा अपनाउनुपर्ने नियम सुनाउँदै थिए । कोही चिनियाँ अखबार बाँड्दै थिए । परिचारिकाको फुर्तिफार्ती हेर्दा जहाज उड्नै लागेको भान हुन्थ्यो । तर, उडेन । केही समय धैर्य गर्न आग्रह गरियो । एक घन्टाभन्दा बढी जहाजभित्र बसेपछि मौसम खराब भएका कारण उडान रद्द भएको सूचना जारी भयो । यात्रु हवाई कम्पनीलाई धारेहात लगाउँदै बाहिरिए । यो जहाज हिँडेको भए पनि खरानी बनाउने रहेछ । उडान रद्द गरेकै राम्रो भयो भन्ने लाग्यो ।

हामीलाई सांघाईमै बसेर अर्को दिन जान हवाई कम्पनीले अनुरोध गर्दै थियो । हामीले अर्को वाहनमा भए पनि ग्वाङझाउ नै पठाऊ भन्यौं । एक महिला कर्मचारीले निकै सहयोग गरिन् । साउथ–चाइना एयरले दिएको हैरानीको मूल्य तिनले असुलेझैं भयो । चिनियाँ साथीहरू नभएका कारण माधव पौडेल र किशोर श्रेष्ठलाई हैरानी थपिएको थियो । अर्को जहाजको टिकट लिएर ६७ नम्बर द्वारमा गयौं । संयोग त्यो उडान पनि समयमा भएन । आज चीनमै बास हुने भयो भनेर घरमा खबर गर्यौं। नेपालमा पनि पानी परिरहेको खबर थियो । चीनको अंग्रेजी दैनिक ‘चाइना डेली’ ले मुसलधारे वर्षाका कारण ग्वाङझाउमा व्यापक असर परेको समाचार छापेको थियो । हवाई अड्डाले पटक–पटक चिया र तयारी खानेकुरा बाँडिरहेको थियो । राति ११ः३५ मा जहाजले उडान भर्ने निश्चित भएको सूचना प्रसारण गर्यो । तर पनि उडान भरेन । यात्रु निराश भएर यत्रतत्र असरल्ल परेका थिए ।

राति १२ः३० मा उड्ने खबर आयो । त्यसपछि संसार जितेझैं यात्रु खुसी हुँदै जहाजमा चढे । राति १ बजे सांघाईबाट ग्वाङझाउका लागि जहाज उड्यो । राति २ बजेको थियो । ठेलागाडा गुडाउँदै आएकी परिचारिकाले सुमधुर लवजमा अंग्रेजी भाषामा ‘साकाहारी खाने कि मांसाहारी’ प्रश्न गरी । अर्धनिद्रामा केही खाइयो । राति २ः४५ मा ग्वाङझाउ हवाई अड्डामा उत्रियौं । विमानस्थल सुनसान भइसकेको थियो । हवाई कम्पनीले उडान ढिलो भएका कारण क्षतिपूर्तिस्वरूप बास व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्