मझुवाबेंसी सेरैमा
भेट भैयो धेरै–धेरैमा
यसै लोकवाणिबाट लेख आरम्भ गर्छु । संवत् २०२९ सालको कुरा हो । गाउँसभा भनिने भेलामा गाउँ पञ्चायतभरिका घरलौरी मानिस जम्मा हुनुपर्छ भन्थे जान्नेसुन्नेहरू । धरानबाट एसएलसीसरहको संस्कृतको पूर्वमध्यमा परीक्षा लेखिसकेर घर पुगेको थिएँ । सबै गएठाउँमा जान मन लाग्यो । म पनि गएँ । पहिले पढ्न नहिँड्दै नाटक खेलेर एउटा कापी पुरस्कार पनि पाएको थिएँ– त्यो ठाउँमा । लफ्याङको वरपीपल चौतारो । चौतारोमा पञ्चायत भवन, नजिकै गोकुलमान राईको तीनतले घर । एकपटक देउसी खेल्न जाँदा खसीको बोसोमा पकाएको सेलरोटी साह्रै मीठोसँग अघाउँजी खाएको घर । एकचोटि आमाले दुई काइँया ‘मर्चमाने केरा’ कोसेली लिएर दसैंको टीका थाप्न पुर्याएको घर । टीको थापेर पाएको मोहोर दक्षिणा, खाएको चिउरा, सख्खर, झप्रीकेरा र लहरे दहीको सप्रक्कको स्वादसमेत सम्झेर साह्रै रौसले त्यहाँ पुगेको थिएँ । त्यसो त गाउँभरिका अरू उमेरका समेत गाउँले पनि छन् । म अलि गज्किएको थिएँ । पढेको घमन्ड चढेको थियो । अपठित गाउँलेका सबैजसो कुरामा सुहाए वा नसुहाए पनि जान्ने–सुन्ने बढी देखाउने मनोदशाको थिएँ ।
पुगियो । निकै अबेर सभा सुरु भयो । लप्टन प्रेमसुन्दर, ईश्वरधन आदि दुवे, केउरेनी, दोरुङ, सेरा, खाल्ले, कात्तिके, बाँसबोटे, काफ्लेगाउँ आदि ठाउँका प्रतिनिधिहरू बोले । गाउँसभाले पारित गरेका विकासे प्रस्ताव जिल्लासभामा लगेर अनुमोदन भएमा सरकारी रकम आउँदोरहेछ भन्ने त्यो दिन थाहा पाएँ । सेराको टोलीमा सर्वधन राईका भतिज अघि सरे । सर्वधनप्रति हाम्रो मनमा असहिष्णुताको झल्को रोपिएको थियो । त्यो झल्को उम्लनुमा गाउँमा फैलिएको उहाँप्रतिको कुराकटाइ (टिप्पणी) कारक थियो । भएका कुरा अथवा नभएका अत्तो कुन हुन् भन्ने छुट्ट्याउने ममा क्षमता थिएन । सर्वधनले अघि सारेका मान्छेलाई बोल्न दिनुहुन्न, भरसक बोल्नै नदिने र जबर्जस्ती बोले खण्डन गर्नुपर्ने कुरा सबैलाई कान फुकियो ।
गोकुलमान जिबाले मलाई नाति नाताले बोलाउँथे । मेरो भाँचिएको मावली त्यहाँ मुनिको पीपलचौर भएकाले हो । जिबाले मलाई पनि कान फुकाए । सेरालीबाट आएको प्रस्तावको घनघोर विरोध गरियो । रात परेकाले सभा पूरा हुन सकेन । प्रस्ताव अधुरै रहे । घर जान बाटो लाग्यौं । बाटामा सर्वधनको पुँडे घोडा र उनका गाउँलेले छेकारो काटे । हामी माथ्ला गाउँले थरहरी भयौं । आज सबैको साटो दोक्चाइमा (थला काड्ने कुटाइ)मा म पर्ने निश्चित गरें । जब्बर आँट कसें, ‘जे त पर्ला । विरोध गरिगैयो । अब थुर्थुराएर फर्कने होइन ।’
तर, सर्वधन बाले त घुमाउरो राजनीति पो खेले । राम्रो मुखले न्यानोसँग ढाप मारेर हामीलाई कुमालगाउँको चौतारोमा राखेर खाजाको बन्दोबस्ती मिलाए । उनको हैकमपरक बोली बिक्ने । भुटेका मकै, उसिनेका फर्सी, पारेको बाक्लो मोही भोकले चुर भएको बखत खान दिलाए । सामान तयार होउन्जेल उनको भनाइ हाम्रासामु राखे । भनाइको सारांश थियो, ‘कुखुराले सागबारी चरेकोमा तिमीहरूले विरोध गर्यौ । तर, हात्तीले वन फाँडेको थाहै छैन ।’ त्यो बेला त हामीलाई नजान्ने, हरिलठ्ठक साबित गर्ने जाली बोली भन्ने ठानियो । मनमा जे ठाने पनि बाहिर बोल्ने आँट हरायो । भोक मेटाउने खाजा खाँदै बाटा लागियो । समयले आ–आफ्नै दौडमा दौडायो ।
ठीक १३ वर्षपछि काठमाडौं (०५८) मा अनामनगरमै ‘दाहालको दैलो’मा सर्वधन बा आएर भेट भयौं । त्यो भेट उहाँको एकै पाछाको भाई साङ्गे राईसँगको साँध–सँधियारी मुद्दाको विषय थियो । मुद्दा, अदालत, पुलिस, वकिल शब्दका सभ्यताका पछि ‘जाल’ जेलिने तर्कमा मेरो भावुक मन खेल्छ । चाहेको, रोजेकोमात्र दुनियाँ पाइँदैन । भावनामा जे लेखे पनि आइलागेपछि बेहोर्नैपर्ने हुन्छ । सामन्त र शक्तिको आडको एक समय मलाई खुला गरिब देखेकाले ‘घरफोरा’मा फिङ्गर प्रिन्ट लिन उजुरी गरेर लिइर’छ । त्यसपछि जालीका बीचमा पुगें भने अविजाल हुन्छु ।
बांगिन खोजेको विषय सोझ्याऊँ । १३ वर्षपछिको सर्वधनसँगको भेटमा मैले पनि नेपाली नागरिकशास्त्र पढिसकेको थिएँ । ‘कुखुराले चरेको सागबारी र हात्तीले फाँडेको वन’को अर्थ लागिसकेको थियो । मैले भनें, ‘मुद्दाको विषयमा तपाईं र म दुई ध्रुवमा भए पनि हात्तीले फाँडेको वन चिन्ने भएको छु, श्रद्धा लिएरै जानूस् । नघटाउनूस् ।’ उहाँ मसँग प्रतिवाद नगरी फर्कनुभयो । तत्काल हाम्रो जिल्लाका ‘सर्वमान्य’ भइसक्नुभएको थिएन । त्योभन्दा अघि ०३६ मा एक्लै दिक्तेलडाँडामा पञ्चहरूले भकुरेथे रे भन्ने सुनेको थिएँ । बहुदलवादीलाई तह लगाउन जनमतसंग्रह हुनुपूर्व पञ्च पक्षकाले देशभरि गरेको व्यवहारमध्येको त्यो एक थियो । सर्वधन बा ०२५ मा देश भित्रिएर सेराबाट दिक्तेल जाँदा पुँडे घोडा चढेर जानुहुन्थ्यो । म त्यो बेला बाँझेको बेंसीमा खेताला गर्थें । सेराको सामुन्ने हाम्रो ओडारेखेत थियो ।
संवत् २००७ देखि जीवनभरि स्वतन्त्रता सेनानी हुन पछि पर्नुभएन । ०२५ को स्वदेश आगमन सुवर्णशमशेरको मेलमिलाप नीतिअन्तर्गत परेको रहेछ । स्वदेश आगमनअघि उहाँको लगानी के थियो ? त्यो म लेख्छु ।
सर्वस्य फिर्ता
खोटाङ जिल्लाका नेपाली काँग्रेसका वयोवृद्ध नेता सर्वधन राईको पञ्चायती सरकारले सर्वस्व गरेको सम्पत्ति श्री ५ को सरकारले फिर्ता गरेको छ ।
जेठ २२ गते का.मु.प्र.जि.अ. स्थानेश्वर देवकोटाले एक समारोहबीच स–सम्मान श्री सर्वधन राईलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । निजले फिर्ता पाउनुपर्ने ठहरेको २ लाख ४७ हजारमध्ये ४७ हजार पहिले नै प्राप्त गरिसकेको थाहा भएको छ ।
पक्ष, वर्ष २, अंक ५, २०५० असार
सम्पादक : खखेरा
०१८ मंसिर महिना । म आठ वर्षको थिएँ । स्याउला काट्न डाँडाबारीतर्फ आएको । गाउँभरिका उमेरदारजति धुर्सुल, पिपिरीजस्ता बुटामा छलिएर रमिता हेरिरहेका । मलाई माथ्लाघरे ठूलाबाले तुरुन्त साउतीका स्वरमा हपारे । उनी भएकै बुटानेर म पनि गएँ । पीपलडाँडाको थुम्की । त्यो अहिले पनि छ । त्यहाँबाट सेरा, कोलडाँडा, शिवालयसम्मका दृश्य छर्लंग देखिन्छ । मेरो जीवनमा त्यत्तिका मानिसका जुलुस पहिलोपटक देखें । म केटाकेटी । मलाई जुलुस किन निस्कन्छ, त्यसको महत्व के हो ? थाहा थिएन । रमिता हेर्न गज्जब मज्जा आइरहेछ । नजिकै जान गाउँले बाबुहरू मनाही गर्छन् । गाउँभरिका मानिस आ–आफ्ना काम, मेला छाडेर रमिता हेर्न फाँटफाँटमा गुजुल्टिए । केही घोडा र घोडचढी सर्वधनका अघि छन् । सबैले सिन्दुर लगाएका छन् । माला पनि लगाएकै छन् । धेरैका काँधमा बन्दुक छन् । बीचबीचमा रोकिएर स्वर उराल्छन् । नारामा बोली उर्लिएर आउँछ, ‘श्री ३ सर्वधन राईको जय ।’ तीन–तीनपटक जयजयकार गरेपछि भित्ता, पहरा र पाखातिर गह्वरित (गुफामा ठोक्किँदै) हुन्छ– त्यो समूह गुञ्जन । महेन्द्र राजाविरुद्ध पनि अर्को नारा लाग्छ । ताँतीका सबै मानिसमा बारम्बार यही घन्किइरहन्छ । शिवालयको प्रांगणबाट उर्दी लाग्यो । ‘हाम्रो देशमा सरकार मासेर एक्लै रजाइँ गर्ने राजाका पछि जो लाग्छ, तिनका घरमा आगो लगाइनेछ । जसले हाम्रो जुलुसमा साथ दिन्छन्, तिनको हिफाजत हामी गर्नेछौं । आजका दिनभरिमा हामी दिक्तेल अड्डा कब्जा गरिसक्नेछौं ।’ यो उर्दी धेरैपटक दोहोरियो । ज्यादागरी बाम्राङ, कट्टी र कात्तिकेका मुखिया खलकलाई ताकेर लगाइएको रहेछ । जुलुस क्रमशः अघि बढ्यो । कति मानिस बीचमा आउँदै मिसिँदै जाँदै छन् । ताँती झन् लम्बिँदो छ । घोडा थपिँदा छन् । सबैका हातमा रोल, नोल, गराला, लौरा छन् । धान पहेंलपुर पाकेका समयमा धर्ती छ्याङ्ग छ । हाम्रा आँखामा ओझेल नपरुन्जेल जुलुस हेरिरह्यौं । पछि दिनैपिच्छे, कति दिन त छिनैपिच्छे कानकानै समाचार आउँछन् ।
हामी दिनभरि धानका निहान बटुलेर खलामा ल्याउँछौं । राति–राति बाबुहरू आएर धान झाँट्छन् । अवसरको फाइदा लिनेले बेग्लाबेग्लै लिँदा छन् । आरुबोटे भानिज बाको घरमा लफ्याङको ‘मुगाधन’ भन्नेले पालीमा आगो झोस्नासाथ ५० रुपैयाँ दिएर निभाए रे । डाँडा खाल्लेकी कर्किनी बूढीकोमा चारमाने हर्पेको घ्यु र एक पाथी चामल लिएर बाटो हिँड्नेले वनभोजस्वरूप चाम्रे खाए रे । यस्ता श्रुति आउँछन् । गाउँमा एकप्रकारको खुबै सशंकित छन् । सुन्नमा आयो– दिक्तेलचाहिँ पूरै ‘क्याप्चर’ भइसक्यो रे । टाउके बस्नेत एक घरमात्रै नमानेकाले दुई दिन पर्खेर आगो लगाइदिए रे । पसल सखाप भयो । घर खरानी भयो रे । हुँदाहुँदा जुलुस मुढेतर्फ बढ्यो भन्ने खबर आयो । नुनथलामा बास पर्यो । अजिरमानले खसी काटेर खुवाए रे । अब खार्पा, लामिडाँडा, कुभिन्डे हात पारेपछि ओखलढुंगा ‘क्याप्चर’ गर्न जाने रे । आदि खबर आउँछन् । अलि दिन केही खबर आउन बिसाएर जुलुस ओखलढुंगा नगएर ऐंसेलुखर्कतर्फ लाग्यो रे भन्ने आयो । रावाखोला, तापखोलादेखि नै ऐंसेलुखर्कबाट हुलका हुल मानिस आएर (छिरिङ तेन्जिङ लामाको नेतृत्वमा) सिन्दुरेजात्रा भयो रे ।
सर्वधनको कत्रो भाग्य । अब सबैले मान्ने भए । ३ नम्बर इलाकाभरिमा श्री ३ सर्वधन नै हुने पक्का भयो । यस्तै–यस्तै गाउँले गफ–कचहरी हुन थाले । हामी भुराहरू पनि कान ठाडा पार्दै कुरा सुन्दै छौं । हामीलाई रमाइलो लागेर यसै र उसै फर्याकफुरुक गरी हिँड्छौं । केही दिनपछि गाउँभरि अर्को हल्ला फैलियो, ‘लौ जुलुसमा भएजति सबै बाँधिए रे । सर्वधनचाहिँ दूधकोसी नै तरेर उम्किए रे । नेपालबाट आएको फौजले कति गोली हान्दा पनि नलागेको रे । सर्वधनको बल पनि मायाकै हो । आँट त झन् कुरा गरिसाध्ये छैन ।’
त्यत्रो जुलुस फौजले कसरी घेरा हाल्यो त ? भन्दा चमत्कारी शैलीमा कुरा गर्छन् । तापखोलादेखि सिन्दुर पहिर्याएर रसदपानी गर्दै छिरिङका मानिसले ऐंसेलुखर्क पुर्याए । छिरिङको एमानको चारतले घर छ रे । त्यो पनि पहिले नै खाली गरेको । त्यसैमा सबैलाई बस्न स्वागत गरियो । घरभित्र पसेपछि झ्यालबाहिर सिक्री लाएका । परालको माचभित्र फौज बसेको र’छ । त्यसपछि एकैसासमा चारैतिर घेरा हालेछ । कोही पनि उम्कन पाएनन् । तर, सर्वधनचाहिँ चार तलामाथिको चुली गारोको पछाडिको झ्यालबाट हाम्फालेर भाग्न सफल भा’रे । हाम्फालेर निकै दगुरेपछि मात्र फौजले थाहा पायो रे । हरिगुडु कुद्न उनीजति कसैले सकेनन् रे । जिउँदो र’छ मानिस । पेटमा हुँदै आमाले सपनामा चन्द्र–सूर्जे खप्लक्कै निलेकी रे । त्यसैले यति बहादुर निक्लिएको । अधबैंसे, बूढापाकाका कुरा यति मीठोसँग मेरो मानसमा पसे कि त्यसको भाषा लेख्ता नक्कली हुन्छ ।
यसलाई १८ सालको काण्ड भनिन्छ । यो काण्डमा पक्राउ परेका ‘धनवर्ण काका’ १६ वर्ष जेल पर्नुभयो । अरू–अरू को–को थिए, त्यो पर्वका क्रान्तिकारीहरूलाई थाहा छैन । तर, यतिचाहिँ म ठोकेर भन्न सक्छु– खोटाङ बजारबाट सदरमुकाम दिक्तेल सार्नमा यो प्रकरण कारक छ । १८ सालसम्म हुलाक र चौकीबाहेक अरू अड्डा थिएनन् । त्यसै वर्षदेखि अदालत, मालपोत आदि ‘अड्डासार’को काम भयो । दिक्तेलको अहिले जस्तो अवस्था छ– त्यसको पछाडि सर्वधन र उहाँको राजनीतिक गतिविधि कारक छन् ।
पछि सर्वधन राईको ५५ झ्याले घर र सर्वस्व लिलाम भयो भन्ने सुनियो । धेरैपटक कम्पुले बुटजुत्ता बजारेर पीपलडाँडाबाट दूरवीन लगाएको हामी हेथ्र्याैं । उहाँको जेठो छोरा रुद्र राई त्यसपछि पढाइ नै छाडेर (पद्मोदय काठमाडौं)देखि सेरा जानुभयो । हामीलाई विद्यालयको वार्षिकोत्सवमा तेल दलेको चिप्लो बाँसमा चढ्ने प्रतियोगिता गराएर परिचित हुनुभा हो । वामपन्थी धारमा रुद्र राई त्यहीबेलादेखि नै मलाई थाहा छ । व्यवहारमा अत्यन्त सफा र पूर्वाग्रहीरहित भएर काम सघाउने रचनात्मक सोचाइ मैले पाएको छु । रुद्र राईको मिलनसारिता स्तरीय छ । राजनीतिक इतिहासका पछि केही घटना नभई छाड्दैन । १८ साले यो घटनाले ‘श्री ३ सर्वधन राई’ भनेको छ ।