आमाको सपना र भाकल पूरा गर्न दोस्रोपटक लिब्जु



कार्यालयमा एकोहोरिएर काम गर्दैगर्दा मोबाइलको रिङटोन बजेपछि ध्यान भंग भयो । फोन घरबाट आएको रहेछ । ‘मामा (आमा) ले भन्नुभएको पर्सि पूर्णेको दिन लिब्जु गएर एउटा भाले छाड्नु अरे है,’ ऋषि दाइले आमाको खबर एकै वाक्यमा भनिसकेपछि ‘हुन्छ–हुन्छ’ भन्ने दुई शब्द बोलेँ । हाम्रो संवाद टुंगियो ।

मनमा वैशाख पूर्णिमा नजिकिँदै गएको सम्झना भइरहे पनि लिब्जु जाने निश्चित थिएन । व्यस्तताले घर नगएको लामो समय बित्दै गर्दा घरबाट बूढीआमाले गर्नुभएको भाकल जसरी पनि पूरा गर्नैपर्छ भन्ने लाग्यो । मैले उँबुका दाजु महाजित राईलाई टेलिफोन गरेँ । दाइ म पर्सि लिब्जु आउँदै छु एउटा भाले कुखुरा खोजिदिनुपर्यो भनेपछि उहाँले मेरो वचन नकाटी ‘हुन्छ’ भन्नुभयो । वैशाख पूर्णिमा आयो । एक्लै जाने कुरा भएन । पत्रकार मित्र दिनेश काफ्लेलाई लिब्जु जान अनुरोध गरेँ । उहाँले स्वीकार्नुभयो । हामी दुई बिहानै मोटरसाइकल चढेर उँबु लाग्यौँ ।

महाजित दाइले एउटा कुखुराको भाले चल्ला खोजिदिनुभएको रहेछ । मैले नै मधेसदेखि ल्याइदिएको सालधुपको सानो टुक्रा पनि दाइले मलाई बोकाउनुभयो । हामी लिब्जु उक्लिनेगरी मास्थितिर फक्र्यौं । झोलामा दुई प्याकेट चाउचाउ र पेप्सीको बोतलसहित दिनेश र म सडकछेउमै मोटरसाइकल राखेर उकालो लाग्यौँ । दिनेशजीले मलाई लिब्जुको महत्वबारे सोधिरहनुभएको थियो । मैले आफूले जानेको, सुनेको बताउँदै गएँ । म तीन वर्षअघि महाजित दाइसँगै लिब्जु पुगेको थिएँ ।

त्यतिखेर ठूलो संख्यामा दर्शनार्थीको भीड देखेको थिएँ । आज किन शून्य भनेर बाटोमा भेटिएका केही भक्तजनलाई सोध्दा पो थाहा भयो, खासगरी लिब्जुमा मेला भने पूर्णेको एक दिनपछि लाग्ने रहेछ । यसअघि म पनि त्यही मेला लाग्ने दिन गएको रहेछु । र पो, मान्छेका भीड रहेछ । लिब्जुडाँडाको उचाइ समुद्री सतहदेखि ठ्याक्कै कति उचाइमा छ भन्ने यकिन मापन गरेको तथ्यांक मैले फेला नपारे पनि केही व्यक्ति र पत्रपत्रिकामा लेखिए, भनिएबमोजिम अनुमानित २५०० देखि ३००० मिटरको हाराहारीमा रहेको सुनेको छु । लिब्जुको उत्तर–पश्चिमतर्फबाट चढ्दै गर्दा मिलेका रमाइला अनि चिल्ला चौरले यात्रा थप रोमाञ्चित बनाइरहेको थियो । दिनेशजीले भिडियो क्यामेरामा लिब्जुका दृश्य तलैदेखि कैद गरिरहनुभएको थियो ।

चौर छाडेर कटुसका बाक्लो जंगलभित्र के छिरेका थियौँ । बाटो त जम्मै पातपतिंगरले ढाकेकाले केही देखिएन । जताततै बाटो पहिल्याउँदै उक्लियौं । जसरी भए पनि शिरमा पुगिहालिन्छ भनेर नअत्तालीकन उक्लिँदै गर्दा कोही मान्छे बोलेको आवाज सुनियो । यसो हेर्दा एक युवती र अधवैंशे आइमाई (आमा–छोरी हुन सक्छन्) तलतिर झरिरहनुभएको रहेछ । उहाँहरू तामाङ भाषामा कुराकानी गरिरहनुभएको थियो । मैले माथि पूजा गर्ने मान्छे छन् भनेर सोध्दा उहाँहरूले भएको संकेत गर्नुभयो । जंगलमा भएका केही गुराँस र कटुसका हाँगामा सुनाखरी देखियो । ती सुनाखरी कुन थरिका थिए भन्ने हामीलाई ज्ञान भएन । जंगलमा नचिनिएका धेरै बिरुवा र चराचुरुंगी देखेपनि त्यससम्बन्धमा हामी जानकार थिएनौँ ।

बाटो पहिल्याउँदै लिब्जुथान पुग्दा तीनजना स्कुलेजस्ता देखिने बहिनीहरू पूजा गर्दै थिए । उनीहरूले पनि भाले चल्ला नै ल्याएका रहेछन् । मान्छे पातलो देखिए पनि पूर्णेको दिन बिहानैदेखि पूजा गर्न धेरै मान्छे आइसकेका रहेछन् । वरिपरि कुखुराका भाले र चल्ला स्याउँस्याउँ कराइरहेका थिए । ती बहिनीहरू किर्सेपुका रहेछन् । उनीहरूले आफ्नो थर नेवार भएको बताए । लिब्जुथान भनेर घेरिएको निकै पुरानो देखिने चौघेरा लाइएको पर्खाल जीर्ण भइसकेको देखियो । बीचमा राखिएको ढुंगाको थानवरिपरि पनि सरसफाइ खाँचो देखेँ । न त भेटी संकलक छ न त त्यहाँ चढाइएका अमूल्य सम्पत्ति संरक्षण गर्ने कोही छन् ? घनाजंगलबीचमा रहेको लिब्जुथानको हामीले कुरा मात्रै धेरै गरेको र सोही स्थललाई भने भौतिक संरचना निर्माण गरेर थप व्यवस्थित गर्न नसकेजस्तो देखेँ ।

हामी दुईले पूजा गर्दैगर्दा वाक्साको तल्लो भेगका केही दिदीबहिनी पूजा गर्न आइपुगे । उनीहरू क्षत्री समुदायका रहेछन् । मलाई अचम्म लाग्यो किरातको धार्मिक थलो भनिएको ठाउँमा करिब एक घन्टा बिताउँदा एकैजना किराती मित्र भेटिएनन् । यसले मलाई के महसुस गरायो भने लिब्जुप्रति सबै जाति र समुदायको आस्था उत्तिकै रहेछ । हामीले पूजा सकिसकेपछि केही तस्बिर लियौँ । त्यसपछि तलतिर ओर्लिएर चौरमा बसी चाउचाउ र पेप्सीले हाम्रो पेटलाई सान्तवना दियौँ । लगत्तैको यात्रापछि केही घन्टाभित्रै पुनः हामी सदरमुकाम फर्याैं ।

किन भएन लिब्जुको विकास ?

जिविसमातहत निर्माण भइरहेको पाँचवर्षे जिल्लाको आवधिक योजनामा पनि लिब्जुलाई धार्मिक र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने भनेर उल्लेख गरिएको छ । हामी सधैं लिब्जुको प्रशंसामात्रै गर्छौं तर वास्तवमै लिब्जुको प्राकृतिक तथा भौतिक संरचना विकास गर्नेतर्फ कसैले ध्यान नदिएको स्थिति छ ।

कम्तीमा लिब्जुथानसम्म पुग्न सकिने सजिलो खुड्किला निर्माण गर्न सके र पूजा गर्ने ठाउँमात्र व्यवस्थित गर्न सके यसप्रति आस्था राख्ने भक्तजनमात्रै होइनन्, पर्यटक पनि आउने थिए । लिब्जुमा मेला लागेको बेला चढाइने भेटीलगायतका सम्पत्ति संकलन गर्ने कुनै संस्था वा समूह निर्माण गरेर लिब्जुको विकास गर्नेतर्फ उन्मुख हुने हो भने कुनै गाह्रो छैन । बर्सेनि लाखौँको सम्पत्ति हराउने भए पनि हामी कस्तूरीले आफ्नै शरीरको नाभी नभेटेझैँ भएको महसुस गरेँ । यसनिमित्त लिब्जुको प्राकृतिक सौन्दर्य नमेटिनेगरी भौतिक संरचना व्यवस्थित गरेर महोत्सव गर्नु जरुरी देखिन्छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्र निर्माण गर्ने उद्देश्यले बृहत् महोत्सव गर्न सके यसको प्रचार–प्रसारमा थप टेवा पुग्ने देखिन्छ । लिब्जु विकासका लागि लामो समयदेखि लागेका वाक्साका स्थानीय चन्द्रबहादुर कार्कीका अनुसार एउटा समिति निर्माण गरी ०५२ तिर देवस्थलमा घेराबेरा गर्ने काम भएको हो । स्थानीय तथा लिब्जु बिजुवा स्थान संरक्षण समिति अध्यक्षसमेत रहेका चन्द्रबहादुर कार्कीले भन्नुभयोे, ‘तत्कालीन अवस्थाका सांसद बलबहादुर राईको सांसद विकास कोषको ३० हजार रुपैयाँ र केही जनश्रमदानले यो काम भएको थियो ।’ उहाँले यसपछि लिब्जुको सम्बद्र्धनका लागि धेरै आश्वासन पाए पनि काम केही हुन नसकेको बताउनुभयो । त्यतिबेला वाक्साको दुई वडाका ११ सदस्य गठित समिति हाल ‘लिब्जु बिजुवा स्थान संरक्षण समिति’ भनेर स्थापित छ । समिति अध्यक्ष कार्कीले छिट्टै धेरै छिमेकी साबिक गाविस समेटेर बृहत् समिति निर्माण गरी अगाडि बढ्ने योजना रहेको बताउनुभयो ।

ढुंगाको गाह्रोबाट निर्मित देवस्थलको घेराबेरा र बिजुवाथानमुनि रहेको विश्रामस्थलसमेत अहिले जीर्ण बन्दै गएको छ । लिब्जु क्षेत्रले विशेषगरी वाक्सा गाविसको ६ र ७ नम्बर वडाभित्रको आठ हेक्टर क्षेत्रफल ओगटेको छ । सुनाखरी, चिराइतोलगायतका बहुमूल्य जडीबुटी र पशुपन्छीका साथै बाघसमेत पाइने लिब्जु क्षेत्रको वन सरकारी भएकै कारण मासिनेक्रममा छ । अध्यक्ष कार्कीका अनुसार अबको पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसाथ बनाइएको जिविसको जिल्ला आवधिक योजनामा यसलाई पर्यटकीय तथा सांस्कृतिक रूपमा प्रवद्र्धन गर्ने भनेर उल्लेख गरिएको छ । यदि यो काम सफल भएमा आन्तरिकमात्रै नभएर बाह्य पर्यटकसमेत ल्याउन सकिनेमा सबै विश्वस्त छन् ।
विशेषगरी उँबुले समुदायसँग किंवदन्ती जोडिएको लिब्जु संरक्षणका लागि पटक–पटक पहल भए पनि खासै उपलब्धि हासिल गर्न नसकेको वाम्बुले राई समाज अध्यक्ष महाजित राईले बताउनुभयो । पहिले उँबु, वाक्सालगायतका गाविसको संयुक्त समितिले घेराबेराको एक चरण काम गरेपछि अहिलेसम्म केही हुन नसकेको उहाँको भनाइ छ ।

सयौँ वर्षपहिले जिउँदै अलप भएको बिजुवालाई नै देवताका रूपमा लिब्जुलाई सबै धर्म र समुदायले वैशाख पूर्णिमा, जनैपूर्णिमामा पुज्ने गर्छन् । समुद्री सतहदेखि करिब २८०० मिटर उचाइमा रहेको लिब्जुबाट पूर्वका मुख्य थुम्कासँगै गाईघाटको त्रियुगा नदी र काभ्रेको पाँचखालमाथिको डाँडासमेत देख्न सकिन्छ । लालीगुराँस र कटुसले ढाकेको वन अतिक्रमण हुँदै गएपछि जंगल पातलिनेक्रम बढेको स्थानीयको भनाइ छ । लिब्जुथानमा कुखुराको भालेसँगै माले गोरु छाड्ने प्रचलन सांस्कृतिक विशेषताका रूपमा लिइन्छ ।

लिब्जुसँगको मेरो सम्बन्ध

मैले बाल्यकालको स्मरण गरिएका लेखमा लिब्जु पूजालाई विशेष महत्व दिएर लेख्ने गरेको छु । मेरो पिता (पापा) बितिसक्नुभएकाले पनि त्यो स्मरण कहिल्यै मस्तिष्कबाट डिलेट गर्ने छैन । म उदयपुरको कटारीमै जन्मे–हुर्केको वाम्बुले राई । बुवा लिब्जुको पुजारी हुनुहुन्थ्यो । उँबु चौरास क्षेत्रबाट मधेस झरेकाले अहिले पनि राँगा काटेर लिब्जु पूजा गर्छन् । म बुवासँगै पुजारीको कँवर भएर हिँड्नेक्रममा लिब्जु भनेको कुनै शक्तिशाली देवता होला भन्ठान्थेँ । तर, यो आस्थाको धरोहर अन्य देवताभन्दा पृथक रहेछ भन्ने भने पहिलोपटक लिब्जु पुग्दा मात्रै मलाई थाहा भयो ।

अझ गर्वको कुरा त कतिपय उँबु चौरासमै हुर्के–बढेर पनि लिब्जु नपुगी आफ्नो जीवनयात्रा सकेका धेरै वाम्बुले रहेछन् । जीवनको आधा उमेर पहाडमै बिताए पनि वाक्साकै होल्माफुमा जन्मनुभएकी मेरी आमासमेत लिब्जु नपुगेको हामी सानै छँदा बताउनुहुन्थ्यो । आमाको सपना र भाकल पूरा गर्नकै लागि भए पनि म दोस्रोपटक लिब्जु पुगेको हुँ ।

प्रतिक्रिया दिनुहोस्