बेइजिङबाट हिँड्दाजस्तो ढिलो नहोस् भनेर सतर्क थिएँ । बिहान ६ः४५ मा तयार भइसकेको थिएँ । गोविन्द भट्टराईको फोन आएपछि खाजाका लागि बाहिर निस्किएँ । तीर्थ कोइरालासँग जम्काभेट भयो । हामी तीनजना खाजा खान जाँदै थियौं । ‘हिजो राति तपाईंहरू त भाग्नुभएछ नि,’ तीर्थ भन्दै थिए । हिजो चिनियाँ र नेपालीको संयुक्त दारुपानी रहेछ । गोविन्द र म एक–एक गिलास चिया खाएर फुत्त निस्केका थियौं । ‘मानिस कता हराउँछन् कता भन्दै म पनि भागें,’ कोइराला भन्दै थिए ।
हाम्रो कार्यतालिकामा ८ः३० मा ‘चेक आउट’ थियो । ८ः२० मा लबीमा पुगें । बिहान ९ बजे सुचाउ क्याम्पसबाट सांघाईका लागि बस चढ्नुपथ्र्यो । क्याम्पसको आँगनमा चीनकी Xian Jiaotong र बेलायतका लिभरपोल पोलो खेलिरहेको आकर्षक स्मारकमा सामूहिक फोटो लियौं । ‘गिर खेल भारतमा हक्की भएको छ र बेलायत पुग्दा पोलो भएको छ,’ माधव पौडेल मूर्ति हेरेर भन्दै थिए । निर्धारित समयमा बस अगाडि बढ्यो । मूलद्वारमा पुगेपछि पथप्रदर्शक सोङले बस रोक्न संकेत गरे र चिनियाँ भाषामा ‘तपाईंहरूले आफ्नो केही सामान होटलमा छाड्नुभएको छ कि ?’ भनेर सोधे । त्यसपछि बस अगाडि बढ्यो ।
सुचाउमा पनि कतै चरा कराएको सुनिएन । ‘भोटे मोराले वनका चरा पनि खाएर सके कि क्या हो ?,’ तीर्थ सदावहार हँस्यौलोपाराले भन्दै थिए । ‘टेलिफोन, विद्युत् र आणविक ऊर्जाका कारणले लोप भएको होला,’ कोही भन्दै थिए । कृषिमा प्रयोग भएको अत्यधिक विषादी र कारखानाको रसायन अर्को कारण हुन सक्थ्यो । मन्थन चलिरहेको थियो । कुनै विषय थिएन । जसको मनमा जे उम्रन्थ्यो, त्यही विषयमा छलफल हुन्थ्यो । ‘चीनको यात्रा समाजवादतिर हो कि पुँजीवादतिर हो ? अथवा भगवान् कृष्णजस्तो ब्रह्मचार्यमा बस्ने, १६ हजार गोपिनी पनि राख्ने गरेझैं हो कि ?’ चन्द्रकिशोर प्रश्न गर्दै थिए । आर्थिक सम्बन्धले अरू सम्बन्ध निर्धारण गर्छन् । उत्पादन सम्बन्धमा पुँजीवाद भएपछि राजनीतिमा समाजवाद हुन सक्दैन । सामूहिकतामाथि निजत्वको प्रभुत्व कि सामूहिकताको निजत्वमाथि प्रभुत्व ? यो प्रश्न पुँजीवाद र समाजवादबीचको आधारभूत प्रश्न हो । चीनले विश्वभरि पुँजीको विस्तार गरेको छ । त्यसको रक्षाका लागि सेना पछि–पछि जानैपर्छ । बेलायतले सुरुमा धर्म, त्यसको फेर समाउँदै औद्योगिक उत्पादन र त्यसपछि सेनाको लर्को लगाएको थियो । चीनले ‘विन–विनको नीति’ विदेश नीतिका सम्बन्धमा भनेको छ । जसमा समाजवादी भावना प्रकट हुन्छ । तर, त्यो चीनको आजसम्मको सत्य हो । साम्राज्यवादीको बजार खोस्दै गएपछि उनीहरू चुपचाप वनबास लाग्लान् त ? अर्को सत्य के हो भने बजार कब्जा गर्ने पश्चिमी प्रयोग पुरानो भएको छ । अबको एकाधिकार पुँजीवाद नयाँ अनुहारमा प्रकट हुनेछ । पुरानै अनुहार नयाँ रूपमा आउलान् कि पुरानै रूपमा अहिले नै भन्न सकिन्न । इतिहासको उदय र अस्तको कथा क्षणिक विषय होइन ।
बिहानै मौसम सफा थियो । हामी सुचाउको औद्योगिक क्षेत्र हुँदै दक्षिण सांघाईतिर लाग्दै थियौं । पथप्रदर्शक सोङले सांघाईको परिचय गराइरहेका थिए । फिनिक्सले सानो हातेमाइकबाट सोङको चिनियाँ व्याख्यानलाई अनुवाद गरिरहेकी थिइन् । हामी Jinojing Road हुँदै हान्निएका थियौं । ढुंगाका दुईतले, चारपाखे सफा, चिटिक्क परेका घर थिए । कतिपय घरमा राता झन्डा देखिन्थे । सडकको दुवै किनारामा बाक्ला रूखले घर छपक्कै छोपेका देखिन्थे । नदी र ताल यत्रतत्र थिए । जमिन र पानीमध्ये कुन भाग धेरै होलाजस्तो लाग्थ्यो । जलवाहन बगे्रल्ती रहेका हुन्थे ।
डेढ घन्टा समय बिताइसकेका थियौं । एउटा नदी तरेपछि फिनिक्सले ‘हामी सांघाई पुगिसकेका छौं’ भन्नासाथ सबै खुसी भए । हामी पुरानो सांघाईतिर लागेका थियौं । जाम भएर एक घन्टाभन्दा बढी सडकमा बस्नुप¥यो । सांघाईको पुरानो आवास क्षेत्रमा साँघुरा सडक, घनाबस्ती र भीड देखिन्थ्यो । चीनका कुना–कुनाबाट मानिस व्यापार, उद्योग र रोजगारीका लागि सांघाईमा बसाइँ सरिरहेका छन् । त्यसो त सांघाईमा संसारभरिका मानिस थुप्रिएका छन् । चीनको मुख्य आर्थिक नगरी सांघाई संसारकै सबैभन्दा धेरै जनसंख्या भएको सहर हो ।
बसबाट ओर्लिएर हामी सन् १९२० मा बनेको पुरानो शैलीको घरमा निर्मित संग्रहालय हेर्न गयौं । सन् १९२१ जुलाई १ मा त्यही घरमा अध्यक्ष माओसहित १३ प्रतिनिधि चिनियाँ कम्युनिस्ट पार्टीको प्रथम अधिवेशनका लागि जम्मा भएका थिए । त्यसबेला देशभरिमा ५० पार्टी सदस्य थिए । जसलाई ‘सांघाई सम्मेलन’ भनिन्छ । सो सम्मेलन चलिरहेको चौथो दिन सरकारी गुप्तचरले सूर्यको पाएपछि प्रतिनिधि सरकारी घेरा तोडेर जियासिङ काउन्टीको नान्हु सरोवरमा डुंगाबाट यात्रा गरेर थप एक दिन सम्मेलनमा भाग लिई कार्यक्रम सम्पन्न गरेका थिए । अध्यक्ष माओ त्यसबेला अधिवेशनका कनिष्ठ सदस्य थिए । अधिवेशन भएको घरमा प्रतिनिधि पेकिङ विश्वविद्यालयबाट सांघाई घुम्न आएका विद्यार्थी हौं भनेर बसेका थिए । तर, निशाचरले भेद पाइसकेका रहेछन् । त्यही ऐतिहासिक ‘सांघाई सम्मेलन’ को स्मृतिमा सो घरलाई संग्रहालय बनाइएको रहेछ । भवनमा प्रवेश गर्दासाथ सुनौलो रंगको हँसिया, हथौडा झन्डा र चीनको नक्सा देखियो । हाम्रो सम्पूर्ण यात्राका व्यवस्थापक, पार्टी सदस्य, क. वाङले मलाई तान्दै ल्याएर झन्डा अगाडि उभ्याए । मुठ्ठी उठाएर सलाम गर्न लगाए । मेरो फोटो लिएपछि बूढीऔंलो ठाडो पार्दै ‘हामी एक हौं’ भन्ने भाइचारा भाव प्रकट गरे ।
पेकिङ विश्वविद्यालयका पुस्तकालय अध्यक्ष तथा अर्थशास्त्रका प्राध्यापक लि चाओ डीन छन् तु स्युलगायतका बुद्धिजीवीले चीनमा सन् १९१८ मै समाजवादको प्रचार गर्न थालिसकेका थिए । त्यसबेला पेरिसमा बसिरहेका चाउ एन लाई र तङ स्याओ पिङ साम्यवादी विचार फैलाउने विचारले चीन फर्के । रेनमिन विश्वविद्यालयका साहित्यकार लु सुन अर्का प्रचारक थिए । जो पछि जापानबाट स्वास्थ्यविज्ञान अध्ययन छाडेर स्वदेश फर्केका थिए । त्यसैगरी अध्यक्ष माओ त्से तुङ, तोङ प्यु, चाङको थाओ आदि युवाले चीनमा समाजवादको प्रचार गरिरहेका थिए । चीनको दुरावस्था, विदेशी अतिक्रमण र पटक–पटकका आन्दोलनका असफलताले चिनियाँ जनतामा साम्यवादप्रति आकर्षण बढाउँदै लगेको थियो । त्यसैबीच सन् १९१९ जुलाईमा सोभियत संघले चिनियाँ जनताको नाममा पाँचबुँदे घोषणापत्र जारी गर्यो ।
(१) अघिल्लो रुसी सरकारले कब्जा गरिराखेका चीनका भू–भाग चीनलाई नै फर्काइनेछ ।
(२) अघिल्लो सरकारले अधिनस्थ गरेका चीनका पूर्वी रेलमार्ग, खानी, जंगल इत्यादिलाई चीनकै स्वामित्वमा फिर्ता गरिनेछ ।
(३) चीन सरकारले रुसलाई दिँदै आएको युद्धको क्षतिपूर्ति रकम अब उप्रान्त तिर्नुपर्ने छैन ।
(४) चीनमा बसोबास गर्ने रुसी नागरिकले पाइआएका विशेष सुविधा खारेज गरिनेछ ।
(५) अघिल्लो रुसी जार सरकारले चीनमाथि लादेका सबै असमान सन्धिलाई खारेज गर्ने ।
रुसी सरकारको घोषणापत्रले चीनमा साम्यवादको विस्तारमा अकल्पनीय योगदान पु¥याएको थियो । त्यही पृष्ठभूमिमा सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको थियो ।
हामी संग्रहालय घुमिरहेका थियौं । एक ठाउँमा उसबेलाका मजदुरको दसपत्र टालेको भोटो, ट्राउजर राखिएको रहेछ । मनै खिन्न हुन्थ्यो । भयानक गरिबी, अभाव, पीडा, भोकमरीबाट चीन गुज्रेको थियो । क्रान्तिले एउटा शक्तिशाली चीनको निर्माण गरेको छ । संग्रहालयमा चिनियाँ कम्युनिस्ट आन्दोलन, अध्यक्ष माओ र तात्कालिक घटना झल्कने थुप्रै सामग्री सुरक्षित रहेछन् । समयको निकै चाप थियो । संग्रहालय हतार–हतार अवलोकन गरेर हामी ‘लन्च’ का लागि होटलतिर लाग्यौं ।
होटलको मूलद्वारामा पुग्नासाथ ढोकाको एकापट्टि पंक्तिबद्ध भएर उभिएका किशोरीले लयात्मक स्वरमा केही भनिरहेका थिए । हामीलाई स्वागत गरिएको बुझ्न सकिन्थ्यो । मीठो संगीत बजिरहेको थियो । ‘हट्ली वेलकम टु यु’ लय मिलाएर चिनियाँ भाषामा भनिरहेका छन्’ फिनिक्सले हाम्रो जिज्ञासा पूरा गर्दै भनिन् । हामीहरू ‘निहाउ’ भन्दै भित्र प्रवेश गर्यौं । चीन यात्राको मज्जा भनेकै खाना हो भनिन्छ । हामी भित्र पुग्नासाथ टेबलमा ८४ व्यञ्जन खाना तयार भइसकेको थियो । टेबलमा बस्दासाथ कोठामा ‘रेशम फिरिरी’ गीत गुञ्जिरहेको थियो । सांघाई हाम्रो भ्रमण व्यवस्था गर्ने संस्थाका उपमहासचिव ची पिङको गृहनगर पनि हो । नेपाललाई औधी माया गर्ने सांघाईका उदीयमान नेता ची पिङले आफ्नो नगरमा हाम्रा लागि अलि बढी नै अतिथ्यता व्यवस्था मिलाएछन् भन्ने लाग्थ्यो ।
हामी खाना खान थाल्दै थियौं । बेइजिङबाट आएका ची पिङ टुप्लुक्क आइपुगे । उनी निरन्तर हामीसँग छन् । उनको शालीनता लोभलाग्दो छ । उनीसँगको भेटघाट, चिनजान एक हप्ताको नभएर पुरानो नाता भएझैं महसुस भइरहेको थियो । ‘यिनलाई भेट्दा पुरानो साथी भेटेझैं लाग्यो,’ मैले गोविन्द भट्टराईलाई भनें ।
अपराह्न २ बजे सांघाई समूहसित अन्तत्र्रिmयाको निर्धारित कार्यक्रम थियो । सञ्चारकर्मी ल्यु ज्याङ चिङ र ची पिङले कार्यक्रम व्यवस्थापन गरेका थिए । Changhua सडकमा रहेको सञ्चार गृहको सभाकक्षमा गोष्ठी थियो । अलिनो चिनियाँ खाना, चीन र नेपालको समयको हेरफेरका कारण रक्तचाप घटेर समस्या भएको थियो । चिनियाँ हरियो चियाले झन् रक्तचाप घट्दो रहेछ । उता कार्यक्रम चलिरहेको थियो, माधव पौडेलले बोल्नेक्रममा ‘तपाईंहरूले सुचाउलाई चीनको भेनिस भन्नुहुँदोरहेछ तर सुचाउ पूर्वको भेनिस हो । यद्यपि, भेनिस भन्दा सुचाउ धेरै ठूलो छ,’ भनेका थिए । त्यहाँ पनि केही साथीले कूटनीतिक मर्यादा ख्याल नगरी बोलेका थिए । टोलीनेता र किशोर श्रेष्ठलाई रफ्फु भर्दैमा हैरान थियो । नेपालको बौद्धिक जगत्मा व्यक्तिवाद, अराजकता र विशृंखलतालाई स्वतन्त्रताका अर्थमा बुझ्ने गरिएको छ ।
‘डिनर’ लिएर होटलमा पुग्दा साँझ सातमात्र बजेको थियो, बजारतिर घुम्न गइयो । फिनिक्स, निर्मला, स्वेच्छा, गोविन्दलगायतका साथीहरू थिए । सांघाईमा रात्रिजीवन सुरु भइसकेको थियो । सडक, चोक, क्लब, डबली जताततै बूढाबूढी जोडी–जोडी भएर नाचगान गरिरहेका देखिन्थ्यो । स्वास्थ्य खाना र व्यायामका कारणले होला भुँडे चिनियाँ देखिँदैनथे । ‘महिला भुँडे त देखिएकै छैन त, पुरुष फाटफुट देखिन्छन्,’ स्वेच्छा भन्दै थिइन् । ‘भारतमा भएको भए भुँडीको प्रतिस्पर्धा हुन्थ्यो,’ श्रीलाल साह भन्दै थिए । हामी भारतको जेलमा हुँदा गुजरातिले लैनो गाईको फाँजजत्रा अण्डकोष र फर्सिजत्रो भुँडी भएका विहारीको संख्या झन्डै आधा हुन्थ्यो । साथीहरू किनमेल गर्दै थिए । हाम्रो अर्को टोली मूलमै भेट भयो । त्यसपछि राति नौ बजेतिर होटलमा फक्र्याैं । थकाइ र निद्राले शरीर लथ्रक्क परेको थियो ।
सेन्टर इन्टरनेसनल होटल, सांघाई
२०७१ असार ४/ २०१४ जुन १८