जेठालाई लौरो, माइलालाई दराज, कान्छाको भागमा घन्टी अंश


धेरै वर्षअघिको कुरा हो । एकजना मानिस मर्न लागेका थिए । तर, ऊसँग आफ्नो छोराहरूलाई दिन सम्पत्तिको नाममा केही थिएन । उनले आफ्ना तीनैजना छोरालाई बोलाएर जेठालाई लौरो, माइलालाई दराज र कान्छालाई घन्टी दिए ।

जग्गा–जमिन केही नभएको र घरमा बस्दा भोकै मरिएलाजस्तो लागेर तीन दाजुभाइले गाउँ छाड्ने विचार गरे । बुवाले दिएको आ–आफ्नो सम्पत्ति लिएर उनीहरूले गाउँ छाडे । तीन दाजुभाइ सँगै एउटै बाटो लागे । जाँदाजाँदै उनीहरू तीन दोबाटो भएको ठाउँनेर पुगे । जिन्दगीमा प्रगति गरियो भने यही ठाउँमा भेटेर सँगै बस्नुपर्छ भन्ने वाचा गरेर उनीहरू त्यहाँबाट छुट्टिए । जेठो दायाँ बाटो, माइलो बीचको बाटो र कान्छो बायाँतिरको बाटो लाग्यो । जेठोचाहिँ लौरो टेक्दै, कहिले यो गाउँ, कहिले त्यो गाउँ घुम्दै मागेर खाना खाँदै यताउता सुतेर दिन बिताउन थाल्यो ।
एक दिन गाउँमा सुत्ने ठाउँ नभएकाले ऊ पहाडमा भएको चिहानमा सुतेको थियो ।

हल्का निद्रा लाग्नै लागेको बेला छेउको चिहानबाट आवाज आयो । आँखा खोलेर हेर्दा फ्याउरोले चिहान खनेर मानिसको खोपडी निकालिरहेको थियो । त्यसपछि फ्याउरोले त्यो खोपडी टाउकोमा लगाएर केही क्षण हल्लाएको मात्रै थियो कि त्यो फ्याउरो बूढी हजुरआमाका रूपमा परिवर्तन भयो ।

बिहान हुनेबित्तिकै हजुरआमाको रूप लिएको फ्याउरो एकातिर लाग्यो । जेठो पनि लुकीलुकी उसको पछि–पछि लाग्यो । हजुरआमा बिहेको भोजभतेर भइरहेको घरभित्र पसिन् । टाढाबाट आउनुभएको रहेछ भनेर हजुरआमालाई त्यो घरमा खुबै मानसम्मानसाथ स्वागत गरियो । त्यसपछि हजुरआमालाई बेहुलीछेउमै राखेर मीठो–मीठो खानेकुरा पस्केर दिइयो । केही छिनपछि अचानक बेहुली सन्चो भएन भनेर बेहोश भइन् । त्यसपछि खैलाबैला मच्चियो ।

जेठोले घरमुलीसँग बेहुलीलाई निको पार्न सक्छु भनेर सुनायो । घरमुली खुसी हुँदै चाँडै निको पारिदिनू भनेर आग्रह गर्यो । जेठो बेहुलीको कोठाभित्र गयो । बेहुलीको नाडी जाँचेझैं गरी नाटक गर्यो । अनि बुवाले दिएको लौरोले छेउमा बसिरहेकी हजुरआमालाई बेस्सरी कुट्न थाल्यो ।

‘हे भगवान्, कस्तो दयामाया नभएको मानिस । त्यो मानिसलाई समात,’ घरको मानिसलगायत भोजमा आएकाहरू रिसले मुर्मुरिन थाले । त्यसैबेला कुटाइ खाएकी हजुरआमा नौवटा पुच्छर भएको फ्याउरोमा परिणत भई लड्यो । यता, बेहुलीचाहिँ केही नभएझैंगरी सन्चो भएर जुरुक्क उठिन् । आफ्नी छोरीको ज्यान बचाइदिएकोमा धन्यवाद दिँदै घरमालिकले जेठोलाई प्रशस्तै पैसा दिए । जेठो पैसा लिएर भाइहरूसँग छुट्टिएको तीनबाटो फर्केर त्यहीं घर बनाएर बसे ।

माइलोचाहिँ बुवाले दिएको दराज बोकेर लख्रकलख्रक हिँडिरह्यो । त्यही समय एउटी केटी हस्याङफस्याङ गर्दै छेउमा आएर भनिन्, ‘मलाई बचाउनुहोस् । बिन्ती छ, मलाई बचाउनुहोस् ।’

के भयो ? माइलाको प्रश्नको जवाफ दिँदै उनले भनिन्, ‘हाम्रो घरको नोकरले मलाई मार्छु भनेर पिछा गर्दै छ । मलाई कतै लुकाइदिनुहोस् ।’ माइलाले तुरुन्तै त्यो केटीलाई दराजभित्र लुकायो । त्यही दराज बोकेर ऊ आफ्नो बाटो लाग्यो । केही समयपछि हेर्दै डरलाग्दो एक मानिस हातमा चक्कु लिएर दौडँदै आएर माइलालाई सोध्यो, ‘यताबाट एउटी केटी गएको देख्यौ ?’

भारी गह्रुँगो भएर मर्न लागेको बेला को गयो गएनन् केही थाहा पाइनँ भनेर माइलाको जवाफ सुनेपछि त्यो मानिस त्यहाँबाट बाटो लाग्यो । त्यो मानिस धेरै टाढा पुगेपछि माइलाले त्यो केटीलाई दराजबाट निकाल्यो । केटीले घरी–घरी शिर झुकाँदै माइलालाई धन्यवाद दिँदै अभिवादन गर्यो ।

माइलालाई कौतूहल लाग्यो । उसले सोध्यो, ‘आखिर कुराचाहिँ के हो ? त्यो मानिसले तपाईंलाई किन मार्न खाजेको ?’ केटीले भनिन्, ‘त्यो हाम्रो घरमा काम गर्ने मानिस हो । त्यसले मेरो सारा सन्तान मारिदियो । हाम्रो सबै सम्पत्तिसमेत लियो । त्यतिले नपुगेर उसले मलाई जबरजस्ती श्रीमती बनाउँछु भनेकाले भागेकी हुँ ।’
कुरा सुन्दै जोकोहीलाई रिस उठ्थ्यो ।

केटीले अनुरोध गरिन्, ‘संसारमा मेरो भन्ने कोही पनि छैनन् । म एक्लै भएकीले तपाईंसँगै जान्छु । मलाई लैजानुहोस् ।’ माइलाले स्वीकार्यो । त्यो केटीले घरबाट भाग्दा मुल्यवान् गहना बोकेकी थिइन् । माइला त्यो केटीसँगै दाजुभाइसँग छुट्टिएको तीन दोबाटोतिर लागे । त्यहाँ पुग्दा जेठा दाइले पहिल्यै घर बनाएर बसिसकेको थियो । माइलाले पनि दाइको घरछेउमै घर बनाएर बस्न थाल्यो ।

कान्छोचाहिँ घन्टी बोकेर लखरलखर हिँडिरह्यो । ऊ पनि यताउता मागेर खान्थ्यो । गाउँतिर जसोतसो बास मागेर बस्थ्यो । एक दिन गाउँमा बास नपाएकाले एउटा ठूलो रूखमुनि सुत्यो । एक निद्रामात्रै के सुतेको थियो, परैबाट बाघ कराएको आवाज सुनियो । आँखा खोलेर हेर्दा त बाघ आफूतिर दौडँदै आइरहेको देख्यो । कान्छोको सातोपुत्लो उड्यो । ऊ तुरुन्तै रूखमाथि चढ्यो ।

केही समयपछि एक हुल बाघ आएर नाक खुम्च्याउँदै सुँघ्न थाल्यो । यतातिर मानिसको गन्ध आइरहेको छ समातेर खाऔं भन्दै बाघहरू सल्लाह गरे । उनीहरूले रूखमाथि बसेको कान्छोलाई देखे ।

बाघहरू एकको ढाडमाथि अर्को र अर्कोमाथि अर्को गर्दै रूख चढ्ने कोसिस गर्न थाले । ‘अब मर्ने भएँ,’ कान्छोले मनमनै भन्न थाले, ‘हे प्रभु, बुवाले दाइलाई जस्तै मलाई पनि लौरो दिएको भए बाघलाई कुटेर समात्न सक्थें । यस्तो घन्टी के काम ? अब म बाघको हातबाट मर्ने नै भएँ ।’

दुःख मान्दै कान्छोले सोच्न थाले, ‘जे होस्, अब मर्ने नै भएँ । मर्नअघि एकपटक यो घन्टी मज्जाले हल्लाएर मर्छु ।’ कान्छाले घन्टी बजाउनेबित्तिकै त्यसको सुरिलो आवाज रूखमुनिसम्म फैलिँदै गयो ।

छमछम–छमछम । आवाज सुन्नेबित्तिकै अचानक सबैभन्दा तल रहेको बाघ घन्टीको आवाजमा ताल मिलाएर नाच्न थाल्यो । त्यति नै खेर उसको ढाडमाथि रहेका अन्य बाघ गल्र्यामगुर्लुम लडेर मरे । उज्यालो हुनेबित्तिकै कान्छा रूखबाट ओल्र्याे । अनि बाघको छाला काढेर बेच्न थाल्यो । बाघको मासु र हाडसमेत महँगो औषधि बनाएर बेच्यो । ऊ एकदमै धनी भयो ।

ऊ पनि दाजुहरूसँग छुट्टिएको ठाउँ फक्र्यो । त्यहाँ पुग्दा दाइहरू पहिल्यै घर बनाएर बसिसकेका थिए । उनले पनि दाइहरूको घरनजिकै घर बनायो । तीन दाजुभाइ जसोतसो जीवन निर्वाह गर्दै आएका थिए । तर, यसो विचार गर्दा माइलासँग बुवाले दिएको दराज थियो । कान्छासँग पनि बुवाले दिएको घन्टी थियो । तर, जेठोसँग बुवाले दिएको लौरो थिएन ।

त्यसैले एक दिन भाइहरूले सोधे, ‘दाइ, बुवाले दिनुभएको लौरो देख्दिनँ नि । कहाँ गयो ?’ जेठाले भन्यो, ‘त्यो लौरोले मानिसको रूप बदल्ने फ्याउरोलाई समातेको खबर सुनेर एक मानिसले तीन लाख रुपैयाँ दिन्छु बेच्नु कि बेच्नु भनेर कर गरेकाले बेचिदिएँ ।’

दाइको कुरा सुनेर भाइहरू चुप लागे । त्यो लौरो किन्ने मानिस पनि रूप बदल्ने फ्याउरोलाई समातेर धनी भयो भनेर सोच्नुभएको ? दुई भाइको प्रश्नको जवाफ दिँदै दाइले सुनाए, ‘अहँ, होइन । त्यो मानिसले बिहे भइरहेको एउटा घरमा गएर बेहुलीछेउमा बसिरहेकी एउटी हजुुरआमालाई फ्याउरो भन्दै लौरोले कुटेर मारेकाले त्यो घरको मानिसले उसलाई मारिदिएछ ।’

नचाहिने लोभ गरेकाले तीन लाख रुपैयाँ त गुमायो, गुमायो ज्यान पनि गुमायो ।

अनुवाद : निर्मल तामाङ

प्रतिक्रिया दिनुहोस्