हलेसी (खोटाङ) । कन्ट्याक्ट ट्रेसिङ गर्नेक्रममा एक र काठमाडौंबाट दसैंमा घर फर्केका एक गरी दुईजनामा कोरोना संक्रमण पुष्टि भएपछि हलेसी तुवाचुङ नगरपालिकाका सरकारी तथा गैरसकारी कार्यालय र प्रमुख व्यापारिक केन्द्र साता दिनका लागि सिल गरिएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका दुईजनामा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रण समन्वय समिति संयोजक इवन राईको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले मध्यपहाडी लोकमार्गमा पर्ने जयराम
(बाहुनडाँडा), छापडाँडा (दुर्छिम), हलेसी, अर्खौले बजार र बिजुले सिल गर्ने निर्णय गरेको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख समेत रहेका राईको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सगरमाथा राजमार्गअन्गर्तत पर्ने
रेग्मीटारदेखि राजपानीबीचमा रहेका होटल, खाजाघर, हार्डवेयर पसल, सवारीसाधन मर्मम स्थलसमेत साता दिनका लागि सिल गर्ने निर्णय गरेको हो ।
यसैगरी, सेवाग्राहीको भीडभाड लागिरहने नगरभित्र सञ्चालित बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेवासमेत साता दिनका लागि बन्द गरिएको कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रण समन्वय समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साता दिनसम्म नगरभित्र अनावश्यक भेला नहुन र नगर्न आग्रह गरिएको छ । सामूहिक रूपमा खेलिने खेलकुदसम्बन्धी गतिविधिमा समेत रोक लगाइएको छ भने विनाकाम घरबाहिर हिँडडुल नगर्न सुझाइएको छ ।
संवत् २०७७ कात्तिक १५ देखि २२ गतेसम्म हलेसी तुवाचुङ नगरपालिकाका सरकारी तथा गैरसकारी कार्यालय र प्रमुख व्यापारिक केन्द्र साता दिनका लागि बन्द गरिए पनि स्वास्थ्य संस्था भने चौबीसै घन्टा खुला रहनेछ ।
खाद्यान्न र किराना पसल दैनिक बिहान ६ देखि १० बजेसम्म खोल्न पाइनेछ ।
हलेसीका एक पुरुष र एक महिला संक्रमितका सम्पर्कमा रहेका आफन्तलाई १४ दिनसम्म ‘होम क्वारेन्टाइन’ बस्न सुझाइएको छ ।
‘कोरोना संक्रमण पुष्टि भएका महिलाको काठमाडौं उपचार भइरहेको छ,’ हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले जानकारी गराए, ‘पहिलो चरणको कन्ट्याक्ट ट्रेसिङ पूरा भएकाले पुरुष संक्रमितको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न पठाइनेछ ।’
त्यसैगरी, जनता समाजवादी पार्टी नेपाल, हलेसी तुवाचुङ नगर समिति अध्यक्ष मविन्द्र राईले विश्वव्यापी महामारीबाट बचौं र बचाऔं भन्दै विज्ञप्ति जारी गरेका छन् । नगर समिति अध्यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देश–विदेशबाट गाउँठाउँसम्म आइपुगेका तपाईं–हामीमध्ये जोकोही संक्रमित हुन सक्छौं । संक्रमितले संक्रमण सार्न सक्छौं । तसर्थ, हामी आफैं जोगिऔं र अरूलाई जोगाऔं । त्यस्ता भेटिए वा थाहा पाएमा होम क्वारेन्टाइन वा सेल्फ आइसोलेसनमा बसौं । बस्न लगाऔं ।’
श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समिति परिवारले एक विज्ञप्ति जारी गर्दै हलेसी गुफा परिसर क्षेत्रमा आवागमन रोक लगएको छ । वडाका दुईजनामा कोरोना संक्रमित पुष्टि भएपछि समितिले अर्को सूचना प्रकाशित नभएसम्म गुफा परिसर आवागममा रोक लगाएको हो ।