उपमेयरज्यू बिस्तारै जानुहोस् । अगाडि खाल्डाखुल्डी छन् । हलेसी तुवाचुङ नगररोहणको यात्रामा निस्कनुभएको तपाईं बिमला राईज्यूलाई शुभयात्रा भन्छु । तपाईंको नगर उपप्रमुखको यात्रा सफल रहोस् भन्ने कमना गर्छु । तर, जिम्मा लिन सक्दिनँ ।
त्यसैले आफ्नो यात्रा आफैं तय गर्नुहोला । शुभयात्रा । यस्तो यात्रा तपाईंले पहिलोपटक गर्दै हुनुहुन्छ । रुट कति अप्ठ्यारो छ भन्ने कुरा तपाईंलाई पक्कै थाहा छ । यात्रामा कति बाधा आउँछन् भन्ने कुरामा पनि तपाईं जानकार हुनुहुन्छ । यो रुटमा चिप्लने, लड्ने, घाइते हुने सम्भावना अधिक छ ।
विवेकको टर्चलाइट बालेर हिँड्नुहोला । बाटोमा कहीं पनि उज्यालो भेटिँदैन । किनभने राजनीतिक यात्रामा सधैं ‘लोडसेडिङ’ सामना गर्नुपर्छ । तपाईंले भनिसक्नुभएको छ, ‘यसपालिको राजनीतिक यात्रा जनतामुखी, जनतामा निहित, सम्पूर्ण ज्ञान जनतालाई समर्पण गर्छु ।’ तर, तपाईंभन्दा ज्यादा अनुभवी योभन्दा अघि हिँडिसकेको ठम्याइ छ । अर्घाखाँची भनेर हिँडेको राँची पुर्याइदेलान् है । आफ्नो रुट आफैं पत्ता लगाउनुहोला ।
एकातिर जनताको आक्रोशको अग्लो पर्खाल छ । अर्कोतिर कार्यकर्तामा निराशाको गहिरो खाल्डो छ । उत्तरतिर आकाशको विशाल पहाड छन् । दक्षिणतिर अपेक्षाको खतरनाक खोलानाला छन् । यस्तो अप्ठ्यारोमा हिँड्दै हुनुहुन्छ । ख्याल गर्नुहोला । ख्याल–ख्यालमा झाल नपरोस् ।
सोचेरमात्र बोल्नुहोला । जिब्रोमा घाउ लाग्न सक्छ । विचारेरमात्र भन्नुहोला । विवेकमा चोट पर्न सक्छ । जिब्रोले बिगारेको ‘इमेज’ समझको ओखतीले निको बनाउनुहोला । फेरि पनि भन्छु, ‘शुभयात्रा ।’
यात्रामा खानपिनको महत्व ठूलो हुन्छ । कमिसनले कब्जियत गराउँछ । घुसले घृणा जन्माउँछ । लोभले ‘लिभर’ बिगार्छ । बदमासीले ‘फिगर’ बढाउँछ । आएको बात छैन भन्नेपारामा नजानुहोला । अप्ठ्यारा र गाह्रो त्यत्तिकै छ । यात्रामा बटुवाले धेरै प्रश्न सोध्न सक्छन् । चित्तबुझ्दो उत्तर दिनुहोला । सहयात्रीलाई धम्कीको भाषा प्रयोग गर्न बन्देज लगाउनुहोला । जनताले गल्ती ठहर्याइएको विषयमा क्षमा माग्नुहोला । संसार घुमे पनि चरीलाई गुँड नै प्यारो हुन्छ भनेझैं बास बस्ने जनताकै घरमा हो । जंगलमा नबस्नुहोला । बाघ, भालुको खतरा थाहै होला ।
(राईले हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख बिमला राईलाई सम्बोधन गरेर सन् २०१७ जुलाई ५ मा सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको स्टाटसको सम्पादित अंश ।)