कमरेड ‘मनसुन’ को वास्तविक नाम हेमसागर पराजुली हो । पराजुलीले संवत् २०५६ देखि श्री कालिका माध्यमिक विद्यालय सिस्नेरी ओखलढुंगाबाट विद्यार्थी राजनीतिमा आफूलाई अघि बढाए । इकाइ अध्यक्ष हुँदै ०५९ भदौदेखि अखिल (क्रान्तिकारी) जिल्ला कमिटी सदस्यसम्मको जिम्मेवारी पाए । त्यसपछि जनमुक्ति सेना नेपालको जिल्ला प्लाटुन सदस्य बने । ०५९ कात्तिक १० गते रुम्जाटार मोर्चामा सहभागी भएपछि जिल्ला प्लाटुन सेक्सन सहकमान्डरमा बढुवा भए ।
राजनीति तथा फौजी विषयमा त्यतिबेलाको संकटकालीन परिस्थितिमा उनले भरपूर ज्ञानार्जन गरे । मूलतः देशले एकखालको द्वन्द्व खेपिरहे पनि अर्को पक्ष आफूले खेलेको युद्ध भूमिकाले देशका आमजनताले सार्वभौम अधिकारसम्पन्न नागरिक बनाउने विश्वास थियोे । र नै, त्यस्तो अप्ठ्यारो अवस्थामा निर्धक्क त्यो पनि खुलेरै युद्ध सिपाही बनेर जनयुद्धमा होमिए ।
रुम्जाटार मोर्चाले पहिलो फौजी अनुभवमात्रै गराएन, मोर्चाको एसल्टमा जाँदा बमको धमाकाले फालेर घाइतेसमेत भए । कैयौं साथीको छातीमा दुस्मनको गोली लागेर ढलेको देख्दा आफूमाथिको धमाका सामान्य अवस्थामा हुने घटनाजस्तै सम्झेर थप अन्य युद्धमा जान र ढलेका वीर योद्दाको बदला फर्काउन ऊर्जा प्राप्त गरेको बताउँछन् । घाइते शरीरलाई केही समयको आरामपछि उनी ०५९ माघ १५ गतेबाट नयाँ कार्यक्षेत्रको जिम्मेवारीमा स्थानान्तरण भए । स्थानान्तरणपछि पुनः जनसेनामा रहेर उदयपुरगढी भिडन्त (०६०), सिरहाको बन्दीपुर ब्यारेक आक्रमण (०६२) का साथै घोडेटार मोर्चामा एसल्ट कमान्ड गरेर युद्धमा लडेको दर्जनौं अनुभव बटुलिसकेका उनको अन्तिम युद्ध सर्लाहीको मलंगवा आक्रमण २०६२ चैत २४ गते थियो । त्यो नै माओवादीको सशस्त्र जनयुद्धको अन्तिम युद्ध साबित भयो ।
पार्टीको आन्तरिक संरचनाअन्तर्गत तत्कालीन जनकपुर–सगरमाथा ब्युरोमा हतियार आपूर्ति विभाग र कार्यालयको लेखा फाँटमा काम गरेकोमात्रै होइन, उनीसँग हितमान शाक्यको स्वकीय भएर काम गरेको गहिरो अनुभवसमेत छ । जनकपुर–सगरमाथा ब्युरो कार्यालयअन्तर्गत जिल्ला कमिटी सदस्य (०६०) समेत भए ।
संवत् ०६२ को चुनवाङ बैठकपछि माओवादीसँग भएको तीन डिभिजन जनमुक्ति सेनालाई सात डिभिजन बनाउने घोषणा भयो । त्यसपछि रोल्पाको भित्रीवनमा भएको इन्टिलिजेन्स, वेपन फौजी तालिममा सहभागी भएपछि फेरि जनमुक्ति सेनाको दोस्रो डिभिजन कार्यालयमा प्लाटुन कमान्डरको भूमिकाबाट युद्धमा सरिक उनलाई सर्लाहीको सदरमुकाम मलंगवा आक्रमण सफलतापूर्वक सम्पन्न गरेपछि कम्पनी कमान्डरको जिम्मेवारी थपियो ।
पार्टी शान्ति प्रक्रियामा आएपछि जनमुक्ति सेना शिविरमा गयो । त्यसपछि दोस्रो प्रमाणीकरण हुँदा उनी बटालियन सहकमान्डरको भूमिकामा अनुहारिए । क्यान्टोनमेन्ट (०६८) बाट स्वेच्छिक अवकाश रोजेर आफ्नै सालनाल गाडिएको माटो (गाउँघर) र जिल्लाको सेवामा नाफाको जिन्दगी समर्पित गरिरहेका छन् ।
यसैगरी, ०७० को हेटौंडा महाधिवेशन प्रतिनिधि भएर महाधिवेशनमा सहभागी भएका उनले ०७१ मा तत्कालीन ओखलढुंगा १० नम्बर इलाका इन्चार्जको जिम्मेवारी पाए । उनको कार्यक्षेत्र ०७२ मा परिवर्तन भयो । ९ नम्बर इलाका इन्चार्ज हुँदै नेकपा माओवादी जिल्ला सचिवालय सदस्य बनी पाएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरे ।
०७४ को स्थानीय निर्वाचनमा ओखलढुंगाको सुनकोसी गाउँपालिका उपप्रमुखमा उम्मेदवारी दिए पनि झिनो मतान्तरले पराजित भए । ०७५ जेठ ३ मा एमाओवादी र नेकपा एमालेसँग पार्टी एकता भएपछि सुनकोसी गाउँपालिका इन्चार्ज हुँदै ०७८ मा प्रदेश कमिटी सदस्य र ओखलढुंगा निर्वाचन क्षेत्र ‘ख’को इन्चार्जसमेतको भूमिकामा छन् ।
हेमसागर पराजुली साहित्यमा पनि त्यत्तिकै रुचि राख्छन् । पराजुलीले साहित्यका विभिन्न विधामा कलम चलाउँछन् । तत्कालीन अवस्थामा जनकपुर–सगरमाथा ब्युरोले प्रकाशन गरेको बुलेटिनमा ‘हे ! युवाहरू हो’ शीर्षाकृत कविता पहिलोपटक प्रकाशन भएको थियो ।
हेमसागर पराजुली ‘मनसुन’को आठजना परिवारमा दुई भाइ, एक दिदी र एक बहिनी छन् । मनसुनले प्लाटुन सहकमान्डर बुनु खड्का ‘लक्ष्मी’सँग बिहे गरेका थिए ।