पहिलो कक्षामा विद्यार्थीसँग परिचय गर्नेक्रममा दीपा र ताराले भनेका थिए, ‘मेरो घर लिच्याङमा छ । लिच्याङ एउटा सुन्दर पर्यटकीय सहर हो ।’
नेत्रजीले पनि भन्नुभएको थियो, ‘युनान प्रान्तका दुइटा ठाउँचाहिँ जानैपर्छ । त्यो हो– लिच्याङ र ताली ।’
नभन्दै २७ डिसेम्बरमा लिच्याङको यात्रा गर्ने साइत जुर्यो । हाल फिलिपिन्समा रहेका सिन्धुलीका मित्र नीरप्रसाद दाहाल अनि युनान विश्वविद्यालयमा चिनियाँ भाषामा स्नातक पढिरहेका सिन्धुपाल्चोकका भाइ पवन गोलेका साथमा ।
दिउँसो १२ः२६ को रेलटिकट थियो । समयको ख्याल नगर्दा स्टेसन पुग्न ढिलो भयो । धन्न चिनियाँ भाषामा पारंगत पवन भाइले दौडधुप गरेर रेल छुट्नबाट जोगाए । हिन्दी फिल्ममा प्रेमी वा प्रेमिका चढेको रेल हिँड्नु र उसको प्रेमी वा प्रेमिका त्यहाँ पुग्नु, दुवैले एक–अर्कालाई देख्नु, बाहिर बस्नेले गुड्दो रेललाई पछ्याउँदै दगुर्नु अनि भित्र बस्नेले रेलभित्र तान्न खोज्नुजस्ता दृश्य खुबै देख्न पाइन्छ । हामी पनि त्यस्तै अवस्था थियौं । हामी दौडिँदै रेल चढ्ने ठाउँ पुग्नु र रेलको ढोका खुल्नु सँगसँगै भयो । त्यो देखेर पवन भाइले लामो सास फेर्दै भने, ‘अब भने ढुक्क भइयो । रेल छुटेन ।’
बिहानको खाना खान बाँकी छ भन्ने कुरा रेलभित्र पसेर एकछिन बसेपछि थाहा भयो । केही समयपछि खानेकुरा बेच्दै चिनियाँ युवतीहरू आए । हामीले केरा र अंगुर किन्यौं र खायौं । रेल प्रतिघन्टा १९५ किलोमिटरको गतिमा कहिले जमिनमुनि र कहिले जमिनमाथि हुइँकिन थाल्यो । जमिनमाथि निस्केका बेला हेर्दा थाहा हुन्थ्यो, रेल पाखापखेरामा गुडिरहेको छ । कतैकतै गाउँ देखिन्थे, ठ्याक्कै नेपालको जस्तै । कतैकतै भर्खर बन्दै गरेका सहर पनि नेपालकै जस्ता लाग्थे । ‘हाम्रो देशमा पनि यसरी नै रेल गुडाउन पाए’ हाम्रो कुराकानीको विषय यही भयो । हाम्रो नेतृत्वलाई सराप्दै, चुकचुकाउँदै समय कटायौं ।
बेलुका चार बजे हामी लिच्याङ रेल्वे स्टेसनमा उत्रेर ट्याक्सीबाट सहरतिर लाग्यौं । पवन भाइले होटल पहिल्यै ‘बुक’ गरिसकेका रहेछन् । होटल मालिक महिला हामीलाई खोज्दै आइपुगिन् । हामी होटल पुगेर झोला बिसायौं । अनि नजिकैको रेस्टुरेन्टमा गएर खाना खायौं र सहर घुम्न निस्क्यौं । ‘लि भनेको सुन्दर च्याङ भनेको नदी, यसलाई सुन्दरी जल भने पनि हुन्छ,’ पवन भाइले अर्थ लगाए । सहरबीचमा एउटा सानोसानो नदी रहेछ, सायद त्यसैलाई सुन्दर नदी भनिएको होला । त्यो देख्दा लाग्यो– काठमाडौंको टुकुचालाई लिच्याङ वा सुन्दर नदी बनाउन सकिने रहेछ । सानो नदीको पानीलाई कतै ठूलो रोटेपिङ घुमाउन, कतै सुन्दर फोहोरा बनाउन, कतै ताल बनाउन अनि बाटाका छेउबाटै सलल बग्ने कुलोका रूपमा मज्जाले सदुपयोग गरिएको रहेछ । पर्यटक नदीको डिलमा फेटो खिच्न तँछाडमछाड गर्दै थिए, म भने टुकुचाकिनारमा नाक थुन्दै हिँडेको सम्झिरहेको थिएँ ।
पुरानो सहर तर नयाँ बनाइएको । सहरका बीचमा गाडी गुड्दैनन् । बाटाघाटा सफा र राम्रा छन् । बाटोसँगै कलकल कुलो बग्छ । घरहरू पूरै नयाँ छन् । तर, पुरानो ढाँचाका काठले बनेका, झ्यालढोका कलात्मक छन् । बेलुका सहरको बीच पटाङ्गिनीमा ठूलो आगो बालेर त्यसवरिपरि गीत गाउँदै नाच्दै छन्, स्थानीय नासीका बाल, युवा र प्रौढहरू । बाटोका वारिपारि कलाकृति, खानेकुरा र अनेक उपभोग्य सामान बेच्न राखेका छन् । विक्रेताहरू हेलो….भन्दै आफ्ना सामानको विज्ञापन गरिरहेका छन् । ठाउँठाउँमा वाद्यवादनका साधन छन्, विक्रेताहरू ती साधनबाट मधुर धुन निकालेर तिनको विज्ञापन गरिरहेका छन् । एउटा पुरानो भवनबाहिर बिजुलीबत्तीको झिलिमिलीको सहायताले प्रकृतिमा हुने विभिन्न क्रियाकलाप र ऋतु परिवर्तनको झलक प्रस्तुत गरिन्छ । कोही बार वा क्लबमा सुन्दरी युवतीसँग मस्तसँग नाचिरहेका छन् । पर्यटकीय क्षेत्र भएर पनि होटल खासै महँगा छैनन्, एक, डेढ सय युआन तिरेपछि तीनजना सुत्न मिल्ने सुविधासम्पन्न कोठा पाइन्छ । होटलवालाको व्यवहार हेर्दा लाग्छ– हामीले भन्ने गरेको ‘अतिथि देवो भव’ चीनतिरबाटै नेपाल भित्रिएको हो ।
लिच्याङ पुग्नका लागि यातयात व्यवस्था राम्रो छ । प्लेनब, बसबाट अथवा छिटो दौडने रेल (फास्ट ट्रेन) आफूलाई मन पर्ने साधन प्रयोग गर्न पाइन्छ । तर, धेरैको रोजाइ फास्ट ट्रेन हुने रहेछ । युनान प्रान्तको राजधानी कुन्मिङबाट ५०० किलोमिटर टाढा रहेको लिच्याङ फास्ट ट्रेनमा तीनदेखि चार घन्टामा पुगिन्छ ।
विदेशी पर्यटकका लागि अलिक समस्या भनेको भाषाको हो । चिनियाँ भाषा नजान्नेलाई अलिकति समस्या भने हुन्छ । अंग्रेजी भाषाको प्रयोग धेर–थोर हुन्छ । तर, त्यति धेरै राम्रोसँग भने होइन र पनि त्यहाँका होटलवाला अभ्यस्त रहेछन्, विदेशी पाहुनाका रुचि र आवश्यकता राम्रोसँग बुझ्ने रहेछन्, बुझ्नेलाई इसारा काफी छ भनेजस्तै । हेलो, हाई, ओके, थ्याङ्क्यू, बाईजस्ता केही शब्द जानेकै भरमा पनि काम चल्दोरहेछ । संसारको एकतिहाइ जनसंख्या भएको चीनमा बाह्यभन्दा पनि आन्तरिक पर्यटकको घुइँचो लाग्नेरहेछ । त्यसैले होला, चीनका पर्यटकीय क्षेत्रमा प्रवेशका लागि स्वदेशी र विदेशीका लागि बराबर शुल्क लाग्दोरहेछ । अन्तजस्तो विदेशीका लागि अतिरिक्त शुल्क लाग्दोरहेनछ ।
लिच्याङमा घुम्ने ठाउँ धेरै रहेछन् । लिच्याङ पुरानो, सहर, ब्याल ड्रागन पुल पार्क, यु लङ स्नो माउन्टेन, ब्ल्यु मुन भ्याल्ली, ला सि ताल आदि । होटलवालासँग सल्लाह गरेर भोलिपल्ट हामी स्नो माउन्टेन र ब्ल्यु मुन भ्याल्ली जाने भयौं । स्नो माउन्टेनमा ४६ सय, ३६ सय र ३ हजार उचाइमा तीन हिमाल आरोहण गराउने भ्रमण प्याकेज रहेछ । तर, त्यस रात ठूलो हिउँ परेकाले अघिल्ला ठूला शिखर चढ्ने अवसर जुरेन । पछिल्लो अग्लो पहाड भने चढियो केबलकारबाट ।
हिउँसँगको भेटघाट नौलो थिएन । गाउँ सिरानको मूलडाँडा, दिक्तेलमाथि मुडे र वातलतिर अनि ओखलढुंगाको चुलीभित्तरीका डाँडापाखामा धेरैपटक हिउँसँग भेटघाट भएको हो । तर, त्यति बेला फोटा खिच्ने मोबाइल थिएनन् । पोस्ट्याउने फेसबुक र वीच्याट त झन् कल्पनामै थिएनन् । हिउँ परेको बेला रमाइलो लाग्ने चेत र सोच पनि थिएन र यसरी संस्मरण लेख्नेतिरको सुझ पनि रहेन । तर, अहिले जमाना फेरियो । र त, विदेशी भूमिमा हिउँसँग भेट गर्न पाएर खुबै रमाइयो । एउटा पातलो सर्ट लगाएर कतिपटक कटुस टिप्न गएको हाम्रो रूपाकोटजत्तिकै उचाइमा जाँदा पनि अक्सिजनको सिलिन्डिर र जाडो नछिर्ने रातो भ्याङ्ले ज्याकेट भिर्नुपर्दा रमाइलो अनुभव भयो ।
होटलवालाको योजनामा हामी तीनजनाका अतिरिक्त अरू तीनजना चिनियाँ पनि हाम्रो समूहमा परे, बाबु, आमा र १० वर्षजत्तिको छोरा । एउटै ट्याक्सी, एउटै केबलकार र एउटै भान्साका सहयात्री । फोटो खिच्न नमान्ने बच्चा अनि फोटो खिच्न रुचाउने बाबुआमा । ती दम्पतीलाई नेपालबारे पवन भाइले राम्रोसँग पढाए । पहाडको शिखरमा केबलकारबाट ओर्लिंदा हिउँ परिरहेको थियो । फोटो खिच्न मन पराउनेका लागि त्योभन्दा सुखद क्षण अरू के होस् । सिन्कामा सेकाएको चौरीको मासु टोक्दै, हिउँमा खेल्दै र रमाउँदै हिँड्नुको मज्जा अवर्णनीय हुने नै भयो । फोटो खिच्नका लागि हिउँमा चिप्लेटी खेल्नेहरूको भीडमा पवन भाइ पनि मिसिए । म र नीरप्रसादजीले भने चिप्लेटीको कस्ट गरेनौं ।
चिप्लेटी खेल्दा हातखुट्टा भाँच्चियो भने बूढो हड्डी जोडिन समय लाग्छ, जोखिम किन मोल्ने भन्ने कुरामा म र नीरजीको मत मिल्यो । तर, फोटो खिचाउने कुरामा भने तँछाडमछाड हुने नै भयो । जति खिचे पनि रिल नसकिने मोबाइलको करामत छँदै छ, हिँड्ने, हेर्नेभन्दा पनि फोटा खिच्ने कुरामा सबैको चासो देखिन्थ्यो ।
झन्डै १२ बजे हामी हिउँ पहाडबाट केबलकारमा चढेर तल झर्यौं । त्यसपछि हामीलाई खाना खाने ठाउँमा गाडीले लग्यो । चिनियाँ खानाको काइदा, अगाडि चुलो र पकाउने भाँडो छ, कुखुराको मासु, विभिन्नथरी साग, चिनियाँ चाउचाउ, आलु, खुर्सानी आदिलाई कराइजस्तो भाँडोमा उसिन्ने अनि ख्वाइच् अर्थात् चपस्टिकले निकाल्दै खाने । साथमा भात पनि छँदै छ । भाँडाबाट ख्वाइच्ले च्याप्दै खानेकुरा निकाल र खाऊ, ख्वाइच्को टुप्पो मुखमा ल्याएर चाट र फेरि त्यसैले भाँडोका खानेकुरा चलाऊ, बस् जुठोचोखोको कुरा चीनमा चल्दैन । हामी तीनजना अनि नाम सोध्न बिर्सिएका तीनजना बाबु, आमा र छोराको एउटा भान्सा । भोक पनि लागेको थियो, गज्जब मीठो भयो ।
खानापछि हाम्रो यात्रा ब्ल्यु मुन भ्यालीतिर भयो । एउटा सानो–सानो नदी हुन सक्छ, हाम्रो छेपेखोलाजत्रो । खोलोबीचमा कतै पहाड बनाइदिएको छ, कतै ढुंगा ठड्याइदिएको छ, कतै रूख रोपिदिएको छ, कतै ठूलो ताल र कतै सानातिना दह, प्रकृतिलाई बनाउन त सकिन्न तर व्यवस्थापन त गर्न सकिँदोरहेछन् नि ! ठाउँठाउँमा फोटा खिच्ने प्वाइन्टहरू छन्, स्नो माउन्टेनको पृष्ठभूमि आउनेगरी फोटो खिच्न मिल्ने । पर्यटकहरू फोटा खिच्न तँछाडमछाड गर्छन् । त्यतिबेला मैले हाम्रो नुनथला, मौरे, बिजुले भन्ज्याङ अनि हाम्रो उँभोखोलाका सिंगो क्षेत्र सम्झिएँ । के छ भन्ने कुरा ठूलो होइन रहेछ, भएका कुरालाई कसरी बनाउने भन्ने ठूलो कुरो रहेछ । भएको कुरालाई अझ राम्रो बनाउन चीनले जानेको रहेछ ।
बेलुका चार बजे ट्याक्सीले हामीलाई लिच्याङ रेल्वे स्टेसनमा छाडिदियो । हाम्रो फर्किने टिकट बेलुका सात बजेको थियो । बीचको समयमा चिया र बियर पिउँदै बितायौं । अनि ६ बजे भात खाएर सात बजे रेल चढ्यौं । जे भए पनि प्रकृति अनि संस्कृतिले लिच्याङलाई साथ दिएको रहेछ । उसमाथि राम्रो व्यवस्थापकको व्यवस्थापन कलामा परेपछि लिच्याङले प्रसिद्ध कमाएको रहेछ । जेहोस् जीवनमा धेरै यात्रा गरियो, तीमध्ये थोरै यात्रामात्रै अविस्मरणीय छन् । त्यस्ता थोरै अविस्मरणीय यात्रामा थपियो मेरो जीवनमा लिच्याङ यात्रा ।