आशीर्वाद फेर्न मिल्दैन ?



आयुद्र्राेणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्याेधने ।।
शौर्यं शान्तनवे र दानं सूर्याे सुते– बलं हलधरे सत्यं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

दसैंमा दिइने यो आशीर्वाद त धेरै पुरानो भयो । यी पात्रहरूको नाम र कीर्तिमानी गिनिजबुकमा लेखिएको छैन । द्रोणका छोराको आयु कति हो ? कसैलाई थाहा छैन, पौराणिक कथाबाहेक । पौराणिक कथालाई साँचो मान्दा पनि दशरथ राजाको श्री पनि के श्री ? त्योभन्दा कैयौं गुना श्रीवालाहरू अहिले जताततै छन् ।

शत्रु नाश गर्ने रामको शक्तिको कथालाई माथ गर्ने धेरै शत्रुनाशकहरू अहिले जताततै छन् । पौराणिक कथाको नहुषको ऐश्वर्य अहिलेका ऐय्यासीहरूका तुलनामा कुनै गणना हुनलायक देखिन्न । शान्तनुपुत्र भीष्मको शुरता भनौं अथवा सूर्यपुत्र कर्णको दानशीलता भनौं, यी दुवै अहिलेका शूरवीर र दानीहरूका तुलनामा धेरै तल छन् ।

हलोधारी अर्थात् बलरामभन्दा धेरै बलशाली पहलमानहरू अहिले जताततै देखिन्छन् । कुन्तीका छोराको सत्यवादिता, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कृति यी सबैलाई माथ गर्नेहरू अहिले यत्रतत्र सर्वत्र पाइन्छन् । त्यसैले दसैंको आशीर्वाद अहिले खास लाग्दैन ।

बुद्धको जस्तो ज्ञान, डार्विनको जस्तो खोज, थोमस एडिसनको जस्तो आविष्कार, आइन्टाइनको जस्तो सूत्र, कार्ल माक्र्सको जस्तो सिद्धान्त, दाभिन्चीको जस्तो कलाकारिता, हिटलरको जस्तो अडान, निरोको जस्तो ढुक्कपन, मदर टेरेसाको जस्तो समाजसेवा, फ्लोरेन्स नाइटिंगेलको परोपकार, फिडेल क्यास्ट्रोको जस्तो नेतृत्व, चे ग्वेभाराको जस्तो बलिदान, नेल्सन मण्डेलाको जस्तो त्याग, जुकरवर्गको जस्तो समयचेत, बहुराष्ट्रिय कम्पनीहरूको जस्तो व्यापारिक चेत, बिल गेट्सको जस्तो धन, अमेरिकाको जस्तो शक्ति फुर्ती, चीनको जस्तो व्यवस्थापन सीप, हिमालको जस्तो उचाइ, मृतसागरको जस्तो गहिराइ यस्ता धेरै दृष्टान्त छन् ।

अझ विदेशमा जान मन छैन भने नेपालमा पनि यस्ता कति दृष्टान्त छन् । फलानोजस्तो धन, फलानोजस्तो मन, फलानाको जस्तो ज्ञान, फलानाको जस्तो भाषण, फलानाको जस्तो आश्वासन, फलानाको जस्तो प्रशासन, फलानाको जस्तो प्रस्तुति, फलानाको जस्तो नियुक्ति यस्ता दृष्टान्त नेपालमा पनि खोजी पसे जति भेटिन्छन् ।

बेलामा संस्कृत पढिएन, नत्र यस्ता उपमा गाँसेर आशीर्वादको माला तयार बनाउने थिएँ भन्ने लाग्छ ।

प्रतिक्रिया दिनुहोस्