बिहानीपख विश्वविद्यालय परिसरमा हिँड्दै थिएँ, एकजना अधबैंसे मानिसले मलाई ‘क्यान यु स्पिक इङ्ग्लिस’ भनेर सोधे । अंग्रेजी थोरथोरै काम चलाऊ बोल्न जान्ने हो र पनि म थोरै वा अलि–अलि भन्न मन लाग्दैन । त्यसैले मैले ‘या’ भनेर मुन्टो हल्लाएँ । उनले मोबाइलबाट लोकेसन म्याप देखाउँदै ‘यु नोउ दिस प्लेस, इट इज फोटो स्टुडियो’ भने । मैले लोकेसन म्याप हेरें र अनुमान लगाएँ । प्राध्यापकको क्वार्टरनजिकै एउटा फोटो स्टेसन मैले देखेको थिएँ र उनले देखाएको लोकेसन पनि त्योसँग मिल्दोजुल्दो थियो । त्यसैले मैले ‘एस्, आई नोउ’ भनें । उनले ‘प्लिज सो मि’ भने । मैले उनलाई त्यतैतिर लगें ।
उनी कोरियालीमूलका जापानी नागरिक रहेछन् । बाटामा भेटिने दर्जनौं मान्छेसँग ‘क्यान यु स्पिक इङ्ग्लिस’ भनेर सोद्धासोद्धा हैरान भएका रहेछन् । म अलिक भिन्न अनुहारको भएकाले यसलेचाहिँ पक्कै अंग्रेजी जान्दो होला भनेर उनले मसँग कुरा गर्न खोजेका रहेछन् । मैले आफ्नो परिचय दिएँ । उनी चिनियाँ भाषा पढ्न जापानदेखि आएका रहेछन् । तर, कोरियाली युद्धका बेला उनी जापानमा जन्मेर जापानी नागरिक भएका रहेछन् । उनलाई कोरियाली भाषा खासै आउँदैन । चिनियाँ भाषा अलिअलि बुझ्छन् । तर, बोल्न आउँदैन । त्यही भएर उनलाई समस्या भएको रहेछ । म नेपालबाट आएको र शिक्षक भन्ने थाहा पाएपछि उनले मलाई धेरै सम्मान गरे ।
हामी फोटो स्टुडियोमा पुग्यौं तर कुरा बुझाउन सके पो । उनले आफ्नो मोबाइलमा खिचेर ल्याएको विश्वविद्यालय सूचना देखाए । फोटोग्राफरले कुरा त बुझ्यो तर कति गर्दा पनि हामीलाई बुझाउन सकेन । अन्त्यमा उसले एउटा केटो खटाइदियो र त्यही केटाले हामीलाई छात्रावासमा लिएर गयो । फोटो खिच्ने ठाउँमा लैजानुपर्ने छात्रावासमा लैजाँदा हामीलाई रिस उठेको थियो । तर, उसले ठीक ठाउँमा लगेको रहेछ । त्यसपछि पो रहस्य खुल्यो । उनलाई छात्रावासमा गएर फोटो खिचाउने र आवासका लागि नाम दर्ता गराउने भनेको रहेछ । उनले फोटो खिचाउने कुरामात्रै बुझेछन् । धन्न छात्रावास र मैले थाहा पाएको फोटो स्टेसन नजिकै भएकाले मैले उनलाई त्यहाँसम्म डो¥याउन सकेछु । रहस्योद्घाटनपछि हामी दुवैजना हाँस्यौं ।
हुन पनि भाषा नजान्दा उनले त्यस दिन धेरै दुःख पाएछन् । सुरुमा उनी फोटो खिच्नका लागि विश्वविद्यालयबाहिरको सहरमा गएका रहेछन् । विश्वविद्यालयको सूचना हेरेर बाहिरको फोटोग्राफरले उनलाई विश्वविद्यालयभित्रै पठाइदिएको रहेछ । त्यसपछि उनी फेरि विश्वविद्यालयको कार्यालयमा आएका रहेछन् । त्यहाँका कर्मचारीले उनको मोबाइलमा लोकेसन ट्याग गरिदिए । त्यसपछि त्यही लोकेसन देखाउँदै ‘क्यान यु स्पिक इङ्ग्लिस’ भन्दै उनले एक दर्जनजति विद्यार्थीलाई सोधेछन् । र, अन्त्यमा मकहाँ आइपुगेका रहेछन् । खासमा उनले (र, मैले पनि) भाषा नबुझेर भन्दा प्रविधिको प्रयोग गर्न नजानेर दुःख पाएका रहेछौं । म पनि सुरुमा नौलो, थाहा नपाएको, उनी त्यस्तै, विश्वविद्यालयको चिनियाँ भाषामा रहेका सूचनालाई फोटो खिचेर वी च्याटको सहायताबाट सजिलै अंग्रेजीमा अनुवाद गर्न सकिने तरिका थाहा नपाएर हामीले दुःख पाएका रहेछौं ।
भातसँग आएको मासु गाईगोरुवाला चाहिँ होइन होला भन्ने लाग्यो र मैले जानी नजानी चपस्टिकले च्यापेर एक चोक्टा मुखमा हालें । मासु निकै स्वादिलो थियो । मैले सोधें, ‘केको मासु हो ?’ विद्यार्थी चेलीले भनिन्, ‘खाऊ ।’
भाषा नजान्दाका अरू थुप्रै समस्या भनौं वा रमाइला छन् । बिहानै चिया खान मन लाग्यो । चिया–कफी बनाउने ठाउँमा गएँ । अर्जुन कुँवर भाइसँग गएर एक/दुईपटक पिङ्छिलिङ काफेइ (आइसक्रिम कफी) माग्न जानेको थिएँ तर चिया माग्न जानेको थिइनँ । चिया चिनियाँ भाषाबाटै नेपालीमा गएको भन्ने थाहा पाएकाले मैले चिया भनेर मागें । पसले ठिटीहरूले कुरा बुझेनन् । मैले गुगल ट्रान्सलेटरको सहायताबाट अनुवाद गरेको छा हुँदोरहेछ । मैले छा भनेर मागेपछि उनीहरूले के–के प्रश्न गरे । मैले मुन्टो हल्लाएँ । एकछिनपछि एउटा प्लास्टिकको टोकरीभरि चिया त आयो तर आइक्रिम हालेको चिसो न चिसो चिया । चिसो कफीको चलन भएका ठाउँमा चिसो चिया पनि हुन्छ भन्ने सामान्य तर्कशक्तिको प्रयोग गर्न नसक्ने आफ्नो बेकुफीपनलाई धिक्कार्दै चिसो चिया बोकेर नजिकैको खेलमैदानतिर गएँ र बिहानै १० डिग्री सेल्सियको जाडोमा चिसो चिया पिउँदै एक्लै हाँसें । नेपालमा चिया भनेकै तातो हुन्छ र चिसो चिया भनेको अर्कैखाले चिया हुन्छ भन्ने पूर्वज्ञानमा भरपर्दा बिहानको चिसोमा चिसै चिया पिइयो ।
भाषा नजान्दाको अर्को समस्या केश काट्ने ठाउँमा पनि भोगियो । सुरुमा विश्वविद्यालय परिसरनजिकै सिलिन स्ट्रिटमा केश काट्न गइयो । साथमा अर्जुन कुँवर भाइ पनि थिए । केश काट्ने ठिटो अलि–अलि अंग्रेजी बोल्ने भएकाले खास गाह्रो भएन । तर, अर्कोपटक विश्वविद्यालयभित्रैकै केश काट्ने ठाउँमा गइयो । यसपटक भने निकै समस्या भयो । केश सानो बनाइदेऊ भनेको कुरा बुझे पो । अर्जुन भाइ पनि सँगै थिए । उनले ट्रान्सलेट गरेर बुझाउन खोजे र पनि बुझ्दैन । धन्न त्यही केश काट्ने ठिटोले आफ्नो टाउको झन्डैले मुडुलो बनाएको रहेछ, तेरोजस्तै काट् भनेर इसारा गरेपछि मुडुल्याइदियो ।
यहाँ आएको दुई/तीन दिनमात्रै भएको थियो । क्यान्टिनमा खाना खान गइयो । दुई जना विद्यार्थीले गाइड गरेका थिए । एउटीले भात ल्याइदिइन् साथमा केही मासुका टुक्रा पनि थिए । मैले पहिले नै भनेको थिएँ, ‘मलाई गाईको मासुचाहिँ नल्याइदिनू अरूचाहिँ चल्छ ।’ त्यसैले भातसँग आएको मासु गाईगोरुवाला चाहिँ होइन होला भन्ने लाग्यो र मैले जानी नजानी चपस्टिकले च्यापेर एक चोक्टा मुखमा हालें । मासु निकै स्वादिलो थियो । मैले सोधें, ‘केको मासु हो ?’ विद्यार्थी चेलीले भनिन्, ‘खाऊ ।’ नेपाली भाषा भर्खरै बोल्न थालेका हुनाले उनीहरू राम्रो कुरा बुझ्दैनन् र आदरको ठीक प्रयोग गर्न जान्दैनन् । त्यसैले मैले केको मासु भनेर सोधेको ‘खाऊँ ?’ भन्ने बुझेछन् र ‘खाऊ’ भने भन्ने ठानें र फेरि अर्को टुक्रो मुखमा हालें । त्यति नै बेला अर्की विद्यार्थीले मेरा लागि माछा लिएर आइन् । अनि उनले पहिली विद्यार्थीसँग चिनियाँ भाषामा के–के भनिन् । त्यसपछि मलाई सोधिन्, ‘गुरुजी, तपाईं गाईको मासु खानुहुन्छ ?’ मैले भने, ‘खान्नँ ।’
‘त्यो मासु गाईको हो, मेरो सहपाठीलाई थाहा भएन ।’ अब भने म झल्याँस्स भएँ । ‘खाउको मासु’ भनेको त ‘काउको मासु’ पो रहेछ । चिनियाँ उच्चारणमा ‘क’ ध्वनि प्रायः ‘ख’ हुन्छ भन्ने कुरामा ख्याल नगर्दा मैले खाउको मासु खाइसकेको रहेछु । त्यति बुझेपछि बाँकी रहेका खाउका चोक्टाहरूलाई चपस्टिकले प्लेटको छेउतिर सारें अनि माछा र भात खपाखप खाएँ ।
भाषा नजान्दाको दुःख अस्पतालमा भयो । दसैंको नवमीको दिन म र उमेश भाइ अस्पताल गयौं । मलाई पिसाब पोल्ने समस्याले सताएको थियो । उमेश भाइ चिनियाँ भाषा राम्रै बोल्छन् । तर, अस्पतालमा बोलिने भाषा प्राविधिक शब्द भने यिनलाई पनि सबै आउने कुरा भएन । त्यसैले रगत जाँच गराएर गयो, खै पिसाब जाँच गरेको भन्छ, फेरि पिसाब जाँच गराएर गयो, भिडियो एक्स–रे बाँकी नै रहेको हुन्छ । यसरी एकैपटकमा हुने काम पटक–पटक गर्नुप¥यो । बाहिरबाट किनेर ल्याएको औषधि कति परिमाण (एमजी) को भन्ने थाहा भएन र विश्वविद्यालयको अस्पतालमा सोध्न गएँ । मैले ट्रान्सलेटरको सहायतामा आफ्नो कुरा त बुझाएँ तर त्यहाँकी नर्सले उनको कुरा मलाई बुझाउन सकिनन् । म रित्तै फर्किएँ र फेरि औषधिपसलमै गएर थाहा पाएँ ।
प्रविधिले नै भाषा सिकाउने अहिलेको युगमा विश्वविद्यालयजस्तो ठाउँमा कुनै भाषा नजानेकै कारणले आफ्ना कुरा अरूलाई बुझाउन र अरूका कुरा बुझ्न नसकिने भन्ने अवस्था त छैन । तर पनि जुन ठाउँको जुन भाषा हो, त्यो भाषा नजान्दाका अप्ठ्यारा भने हुँदारहेछन् । संसारको सबैभन्दा धेरै जनसङ्ख्या भएको चीनले आफूलाई चाहिने ज्ञान, विज्ञान, प्रविधिलाई चिनियाँ भाषामै ढालेको रहेछ । त्यसैले शिक्षा, स्वास्थ्य, प्रविधिजस्ता क्षेत्रमा काम गर्ने चिनियाँलाई अंग्रेजी भाषा प्रयोग नगर्दा पनि पुग्दोरहेछ । हामीलाई जस्तो अंग्रेजी, हिन्दीका ठेली पल्टाउनैपर्ने बाध्यता उनीहरूलाई छैन । के हामी त्यस्तो बन्न सक्छौं होला ?
(चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा रहेको युनान मिन्चु (जातीय) विश्वविद्यालयमा स्नातक तहमा ऐच्छिक विषयका रूपमा दक्षिण–पूर्वी एसियाली भाषाको पढाइ हुन्छ । विगत तीन वर्षदेखि नेपाली भाषाको पनि पढाइ सुरु भएको छ । नेपाली भाषा पढाउने दुईजना चिनियाँ प्राध्यापक र एकजना नेपाली प्राध्यापक रहने व्यवस्था छ । नेपाली प्राध्यापक सालिन्दा त्रिभुवन विश्वविद्यालयले आफ्ना प्राध्यापकहरूबाट एकजनालाई पठाउने गर्छ । यस वर्ष (सन् २०१९ सेप्टेम्बरदेखि २०२० जुलाई, चिनियाँ शैक्षिक सत्र) त्रिभुवन विश्वविद्यालयका नेपाली विषयका सहप्राध्यापक डा. धनप्रसाद सुवेदी नेपाली विषयको प्राध्यापनका लागि त्यहाँ गएका छन् । त्यहाँ पुगेका सहप्राध्यापक सुवेदीले तुवाचुङ साप्ताहिकका लागि साप्ताहिक रूपमा चीन डायरी लेख्नेछन् ।)
–सम्पादक