हलेसी (खोटाङ) । हलेसीलाई समृद्ध बनाउन लाँकुरीभन्ज्याङदेखि पात्लेकुवासम्म, गुराँसेदेखि जुगेसम्म र ऐंसेलुखर्कपट्टिका बस्तीजति खाली गर्नुपर्छ । उल्लिखित क्षेत्रमा बिरुवा रोप्नुपर्छ । बिरुवा रोपेपछि लोभलाग्दो जंगल बन्छ । त्यतिमात्रै होइन, बगैंचा, ध्यान र तपस्यास्थलसमेत प्राथमिकतासाथ बनाउनुपर्छ ।
‘सकिन्छ भने गुम्बासमेत स्थानान्तरण गर्नुपर्छ,’ नेपाल कम्युनिस्ट पार्टी नेता टंक राईले सुझाए, ‘सम्भव भए किरात, हिन्दु र बौद्ध धर्मावलम्बीका विभिन्न ठाउँका प्रख्यात धार्मिकस्थल हलेसीमै बनाइदिनुपर्छ । त्यसो गर्न सके हलेसी आइपुगेका हिन्दु धर्मावलम्बीले हलेसीमै मनकामना, मुक्तिनाथ, वराहक्षेत्र, पाथिभरा दर्शन गर्न सक्छन् । किरात र बौद्ध धर्मावलम्बीको पनि त्यस्तै धार्मिक स्थल बनाउन सके पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ ।’ पर्यटकको बसाइ लम्ब्याउबित्तिकै आयस्रोत बढिहाल्छ ।
हलेसी बजार तत्काल खाली गर्न सम्भव नहोला । तर, सम्भव बनाउने उपाय पनि छन् । ‘हलेसीमा गुरुयोजना कार्यान्वयन गर्ने नै हो भने दुर्छिम, हलेसीकै माल्कु, ऐंसेलुखर्कतिर जग्गा लिएर सरकारीस्तरबाट टाउन प्लानिङ गरी हलेसीका व्यवसायी स्थानान्तरण गर्न सकिन्छ,’ नेताको राईको भनाइ छ, ‘हलेसीका व्यवसायीलाई विस्थापन होइन, व्यवस्थापन गर्नुपर्छ ।’
‘हलेसी सुनको फुल पार्ने कुखुरी हो,’ उनले सुनाए, ‘कुखुरीले दैनिक एक–एकवटा फुल पार्छ । लोभीपापीले एकैपटक सोहोर्न कुखुरा मारेर पछुताएजस्तो हलेसी बन्ने खतरा छ । महादेवस्थानभित्रैसम्म घर बनेका छन् । त्यसले महादेवस्थानको शोभा र भविष्यलाई असर पुर्याएको छ ।’
पानी पर्दा हलेसीको भैरव गुफा भएर पानी बग्छ । भैरव गुफाबाट बग्ने पानी महादेस्थानमुनि हुँदै बसाहगुफाबाट बग्ने गर्छ । पानीले चट्टान खियाउँदै लगेको छ । बेलैमा ध्यान नदिने हो भने महादेवस्थान गुफा यही अवस्थामा रहन सक्दैन । महादेवस्थान गुफा, बसाहा गुफा अहिलेकै अवस्थामा रहेन भने सुनको फुल पार्ने कुखुरी मारेजस्तै हुन्छ । तसर्थ, भैरव गुफा भएर बग्ने पानी तत्काल काट्नुपर्छ । त्यताबाट बग्ने पानी ‘ड्रेन’ बनाएर कार्की धर्मशालाबाट बगाउनुपर्छ ।
‘मैले थाहा पाउँदासम्म भैरव गुफा आहाल थियो । अहिले त्यहाँ घर बनिसकेका छन्,’ उनले वास्तविकता सुनाए, ‘रानीपोखरीका धारा रिचार्ज गर्ने मुख्य आधार भनेकै भैरव गुफाको जलाशय थियो । गुफाको मुखसम्म घर बनाएपछि रानीपोखरी सुक्ने नै भयो ।’
‘धेरै काम गर्न नसके पनि यति त सकिएला,’ उनी आशावादी छन, ‘मैले भनेजति क्षेत्रका बस्ती उठाउन तत्काल नसकिएला । तर, बजारवासी कसैले कुनै जनावर पाल्नुहुँदैन । प्रत्येक घरधनीले फूल रोप्नुपर्छ । बिहान बेलुका आरती गर्नुपर्छ । धुप बाल्नुपर्छ । त्यसो गर्न सके बजार सुगन्धित हुन्छ । मानौं कि हामी मन्दिरमै बसिरहेका छौं भन्ने जोकोहीलाई अनुभूति होस् ।’
‘बजारभरि सात्विक भोजनमात्रै गर्ने÷गराउनुपर्छ,’ उनको तर्क छ, ‘तामसी भोजन गर्न चाहनेका लागि माल्कु, गुराँसेतिर व्यवस्था मिलाउने हो भने हलेसीको आकर्षण बढ्ने थियो ।’ जाँड, रक्सी बेच्न रोक लगाउन नसकिए पनि तत्काल जनावर पाल्न निषेध गर्न सकिएला । फूल रोप्न, घर चिटिक्क सिँगार्न र बिहान बेलुका धुप बाल्न बजारवासी मान्छन् नै होला ।
हलेसीलाई समृद्ध बनाउन तत्काल पथप्रदर्शक (गाइड) को तालिम गराउनुपर्छ । तालिम पाएकालाई पारिश्रमिकसहित काममा लगाउनुपर्छ । पर्यटकलाई सम्बोधन गर्नेगरी सूचनाकेन्द्र स्थापना गर्नुपर्छ । त्यहीं पथप्रदर्शक भेटिनेछन् । पथप्रदर्शक चाहिनेले सूचनाकेन्द्रमा सम्पर्क गर्छन् ।
पथप्रदर्शक तालिम फरक तरिकाले गर्नुपर्छ । व्यावसायिक पथप्रदर्शकबाट पथप्रदर्शकको ‘हस्पिटालिटी, बिहेवियर, म्यानर’ बारे दीक्षित गराउनुपर्छ । हलेसीबारे विशेष जानकारी गराउन किरात, हिन्दु र बौद्ध धर्मावलम्बीका जानकारलाई जिम्मा दिनुपर्छ । यतिमात्रै गर्न सके कतिपयले रोजगारी पाउँछन् भने पर्यटकले हलेसीका महत्ता सजिलै बुझ्न सक्छन् ।
पथप्रदर्शक र पर्यटकबीच कुराकानी हुन्छ । पथप्रदर्शकले पर्यटकको बसाइ अवधि छोटो भएकालाई अलिकति समय लिएर आउनुभएको भए किराती सभ्यताको उद्गमस्थल तुवाचुङसम्म पुग्न सक्नुहुन्थ्यो भनेर लोभ्याउन सक्छन् । तपाईं दूधकोसीमा नुहाएर आउनुभयो ? भनेर पथप्रदर्शकले सोध्दा उसले नुहाइनँ भन्छ । त्यो त संसारको सर्वोच्च शिखर सगरमाथाबाट बगेर आउने पानी हो । कैलाश पर्वतबाट बगेर आएको पानी हो । नुहाएर त्यहाँको पानी हलेसीमा चढाउँदा ठूलो पुण्य कमाइन्छ भनेर पथप्रदर्शकले जानकारी गराउँदै फर्कंदा भए पनि दूधकोसीमा नुहाउन सुझाउँछ ।
‘होइन,’ पर्यटक भन्छन्, ‘अर्कोपटक आउँदा त्यसो गर्नेछु ।’ यतिमात्रै भन्न सके जयरामघाटको समेत ‘मार्केटिङ’ गर्न सकियो । हलेसी आउने पर्यटक त्यहाँ एक घन्टाजति अल्मलिँदा चियाखाजा मात्रै खाँदा स्थानीय लाभान्वित हुन्छन् ।
रानीपोखरीबाट निस्केको पानी दूधकोसीमा मिसिन्छ । भारतसम्म पुगेर श्राद्ध गर्नेहरूलाई रानीपोखरीको पानी दूधकोसीमा मिसिने ठाउँ त्योभन्दा पवित्र हो भनेर पढाउन सके त्यहाँ श्राद्ध गर्न लोभिनेको भीड लाग्न सक्छ ।
पथप्रदर्शकले पर्यटक घुमाउँदा खोटाङभरिका पर्यटकीयस्थलको नजानिँदोपाराले प्रचार–प्रसार गर्न सक्छन् । पर्यटकलाई हलेसी घुमाउँदा प्रथप्रदर्शकले बेलाबेला हलेसी गढी, ताराखसे, सत्यश्वर गुफा, च्यास्मी गढी, सुत्केरी ढुंगा, गुप्तेश्वर, खाम्तेल गढी, महुरेगढी, मझुवागढी, रूपाकोट, टेम्केबारे जानकारी गराउँछ । रावाखोला र सल्लेपोखरीको माछाबारे सुनाउँछ । यसो गर्न सके हलेसी आइपुगेका पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ । तालिम पाएपछि पथप्रदर्शकले हलेसी आइपुगेका पर्यटकमार्फत व्यापक प्रचार–प्रसार गर्छन् । उनीहरूले हलेसीसँगै समग्र खोटाङको पर्यटनको प्रचार–प्रसार गर्न छुटाउँदैनन् ।
हलेसीका व्यवसायीले आचारसंहिता बनाएर सफासुग्घरमा ध्यान दिनुपर्छ । बजारभरिका सम्बन्धित व्यवसायीले घर चिटिक्क सिँगार्नुपर्छ । होटलमा काम गर्ने सधैं सफासुग्घर बस्नुपर्छ । त्यसले पनि व्यापार बढाउँछ ।
हलेसी महादेवस्थान असाध्यै राम्रो भए पनि ठाउँचाहिँ गएगुज्रेको रहेछ भनेर टिप्पणी गर्ने बढ्दै गएका छन् । हलेसी तुवाचुङ नगरपालिकाले हलेसीलाई हरियो बनाउन ध्यान दिनुपर्छ । जयरामघाटदेखि हलेसीसम्मको सडक दायाँ–बायाँ सधैं हरियो देखिने रूख रोप्नुपर्छ । एक रूखलाई वर्षको १२ सय खर्च गरेरै भए पनि सधैं हरियो देखिने रूख रोपेमा जयरामदेखि हलेसीसम्म हराभरा देखिन्छ ।
(वर्ष १, अंक ५, २०७५ भदौ ८ गते तुवाचुङ साप्ताहिकमा प्रकाशित समाचार पुनः प्रकाशन गरिएको हो ।)