हलेसी गुफाका भित्ता चिरैचिरा : समितिद्वारा भौगर्भिक अध्ययन तयारी



त्रिधार्मिक (धाम) हलेसीको वास्तविकता बुझ्न हलेसी गुफाको भौगर्भिक अध्ययन तयारी थालिएको छ ।

हलेसी महादेवस्थान विकास समिति कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलले गुफाको वास्तविकता, गुफाको आयुलगायत विविध पक्ष बुझ्न भौगर्भिक अध्ययन गर्न लागिएको बताए ।

‘हलेसीको प्रमुख आकर्षण हलेसी गुफा नै हो,’ हलेसी महादेवस्थान विकास समिति कार्यकारी निर्देशक भुजेलले भने, ‘विभिन्न समयमा भूकम्प गइरहेका छन् । हलेसी गुफाको भित्तामा चिराचिरा परेको देखिन्छ । तसर्थ, भौगर्भिक अध्ययन गर्न अति आवश्यक देखियो ।’

गुफाका भित्ता चिरा परेको पहिल्यैदेखि हो । ‘तर, कारण पहिचान गर्नुपर्यो । गुफामाथिका रूखका जराले पो हो कि ?,’ उनले थपे, ‘विभिन्न समयमा निर्मित वजनदार संरचनाले पनि हुन सक्छ । गुफाको प्रवेशद्वारमै निर्मित गुम्बा, गणेश मन्दिर वा गुफाआसपासमा निर्मित घरहरूले पनि हुन सक्लान् । भैरव गुफाभित्रभित्रै बसाहा गुफा हुँदै पानी निकास भइरहेको छ । रोक्न सकिएको छैन । उल्लिखित कारणले गुफाका भित्ता चिरा परेका हुन् कि होइनन् । वैज्ञानिक कारण पत्ता लगाउनुपर्छ ।’

गुफा रहेन भने हलेसीको अस्तित्व रहँदैन । गुफाको निश्चित आयु हुन्छ । हलेसी गुफाको आयु अब कति होला ? गुफालाई बचाउन र गुफाको आयु लम्ब्याउन के–के गर्नुपर्ला ? गुफाको वास्तविकता पत्ता लगाउन समितिले गर्न लागेको भौगर्भिक अध्ययनबाटै थाहा हुनेछ ।

अध्ययनका लागि समितिले बजेटसमेत विनियोजन गरिसकेको समिति कार्यकारी निर्देशक भुजेलले जानकारी गराए ।

विनाअध्ययन शंकाको भरमा गुफाका भित्ता चिरा परेको, गुफा धरापमा परेको भन्नुभन्दा भौगर्भिक अध्ययनपछि बोल्नु व्यावहारिक देखिन्छ । ‘गुफाको प्रवेशद्वारमै निर्मित वजनदार गुम्बाको संरचनाले गुफा धरापमा पर्यो भनियो भने पूर्वाग्रही भइन्छ,’ उनको भनाइ छ, ‘धार्मिक असहिष्णु ठहरिन्छ । गुफाभित्र निर्मित सिँढी पनि कारण हुन सक्लान् । गुम्बा होस् वा गणेश मन्दिर । कारण पत्ता लगाउन हलेसी गुफाको भौगर्भिक अध्ययन आवश्यक देखियो ।’

प्रतिक्रिया दिनुहोस्