१२४० तलब स्केल हुँदा खरिदारको जागिरे भएथेँ । ४ महिनाको तलबले १ तोला सुन आउँथ्यो । पछि तलब पनि बढ्दै गयो, सुनको भाउ पनि बढ्दै गयो । किन्न सकिएन । त्यैभर बिहेमा पनि एउटा फुली र सस्तोखाले टप किनेर काम चलाइयो । आजकाल कतै बिहेतिर निम्ता मान्न जाँदा श्रीमतीजी कहिले अरूले लगाएका गहनातिर र कहिले मेरो अनुहारतिर हेर्छिन् । म केही थाहा नपाएजस्तो गरिदिन्छु ।
पछिल्लो समयमा बाकसभरि गहनै गहना भएका मै हुँ भन्नेहरू पनि चोरीका डरले नलाईकन वा लाए नि नक्कली गहना लाएर पार्टीतिर हिँड्न थालेपछि श्रीमतीको सुनको गहनाप्रतिको मोह स्वाट्टै घटेको छ । उनीसँग पनि २/४ जोर ‘सुनभन्दा कम छैन, हराएमा डर छैन’ वाला गहना छन् । त्यही भएर हामी ढुक्कले दसैँमा घर जान्छौँ । कतै बाहिर जाँदा ढोकाको चाबी लगाउन बिर्संदा पनि कुनै चिन्ता हुँदैन, मुटु ढुकढुक गर्दैन ।
यस्तैमा केही दिनयता फेसबुकका पानाभरि सुनको भाउ बढेकोमा हल्लाखल्ला चलिरहेका बेला मैले यसो हिसाब गरेको त समयक्रममा बढेको जागिरका कारण दुई महिनाको तलबले नै झन्डै १ तोला सुन आउने रहेछ । अब त्यसो भएपछि हिजोको क्षतिपूर्तिस्वरुप यही बढेकै मौकामा श्रीमतीजीलाई एक तोला सुन किनेर सप्र्राइज दिने विचार आयो र खुसी हुँदै भनेँ, ‘साँच्चि सुनको गहना किन्न न्युरोडको कुन पसलमा पो जानुपर्छ रे !’
मेरो प्रश्न सुनेर उनले आश्चर्य मान्दै भनिन्, ‘यो महँगीको बेला कसले सुन किन्ने भएछ र ? कसलाई सुन पसल बताइदिनुपरो हन !’
मैले २ महिनाको तलब खर्चेर १ तोलाबराबरको गहना किन्दिने, अहिले तिमीले लगाउँदै गर्ने र पछि छोराको बिहे त्यसैले टार्ने कुरा गरेँ ।
मेरो कुरा सुनेर उनले रिसाउँदै भनिन्, ‘अँ एक तोला किनेर हुन्छ नि, अब दुई/दुईजना छोराको बिहे गर्ने बेला भयो, अहिलेको जमानामा एउटी बुहारी भित्र्याउन कम्तीमा १० तोला सुन चाहिन्छ । जेठी बुहारीको बिहेमा ल्याएको गहनाले कान्छीको बिहे पनि टार्ने ? के उहिले जेठा दाइले पढेको किताबले माइला, साइँला, ….. जन्तरे …. कान्छासम्मलाई पुर्याए जस्तो हो र ?‘ उनले कटाक्ष त गरिन् र तत्काल सान्त्वना पनि दिइन्, ‘तर, छोराहरूको बिहे अझै २/४ वर्षपछि हो, त्यति बेलासम्म एउटा उपाय हुन्छ । यस्तो मँहगीका बेला सुन किन्ने मूर्खता गरिन्नँ ।’
मैले भनेँ, ‘२/४ वर्षपछि पनि आकाशबाट पैसा बर्सिने होइन अनि सुनको भाउ सगरमाथा आरोहणजस्तो शिखरमा पुगेपछि बेसक्याम्पतिर झर्नैपर्ने खाले होइन, त्यो भाउ मोरो त वर्षौं वर्ष शिखरमै बसिदिन्छ । त्यसैले अब रीत फेर्नुपर्छ । बिहेमा सुन लाउनै पर्छ भन्ने के छ र ? सुनसँग बिहे हुने हो र ?’
मेरो कुरा सुनेर उनले भनिन्, ‘अब रीत फेर्ने कुरा नगरौँ, अब त झन् पैसा, पद, शक्तिको प्रदर्शन गर्ने युग हो । उहिले हाम्रा पालामा जस्तो एउटा फुली र दुइटा टपले अबको जमानामा छोराको बिहे गरौँला भनेर नसोच्नोस् ।’
‘त्यसो हो र गहना चाहिने नै भए ‘सुनभन्दा कम छैन, हराएमा डर छैन’ वाला ल्याए पनि त भइहाल्ला नि ?’
‘कस्तो कुरा गरेको होला ? नक्कली गहना त तिजका बेला नाच्न र फोटो खिच्नका लागि पो त बिहेमा पनि हुन्छ त ? अझ सुनको गहना त केही होइन, पछि बेच्न पनि मिल्छ । सालीबाट जुत्ता फुत्काउन, लेहङ्गा …….. किन्न…….
हाम्रो वादविवाद चल्दै थियो, बीचैमा गैराघरे काकी आइन् । उनले हाम्रो कुरा सुनेकी रहछिन् । भनिन्, ‘ए जेठा, गहनाका चिन्ता नगर्, गहना त भाडामा ल्याउन पनि सकिन्छ, चार/पाँच दिनका लागि भाडामा ल्याउँला, बिहे टारौँला । मलाई त सुनको भाउ बढेकाले होइन, अन्न, तरकारी, कपडाहरुको भाउ बढेकाले पो चिन्ता लाग्यो ।
अस्तिसम्म १०० रुपैयाँ धार्नी पाइने आलु आज डेढ सय, तितेकरेला ….., स्कुसको मुन्टा….., टमाटर ……
गैराघरे काकीको कुरा सकिएको छैन । म फेसबुकमा सुनको भाउ बढेको बारेको ताजा पोस्टहरू पढिरहेको छु ।