सरस्वती सम्झेर


…..र हामी पाँचजना अञ्जु, महेश, रञ्जना, गणेश र म पंक्तिकार आफू पढेको स्कुल सम्झेर दिक्तेल जाने भयौं ।

म बिहानको पाँच नबज्दै काठमाडौंको कोटेश्वर चोक पुगिसकेको थिएँ । महेशले जानकारी गराए, ‘गणेशसँग त्यहाँ आइपुग्न केही समय लाग्छ ।’ नजिकैको ठेलागाडामा पाक्दै गरेको चियापसलतिर लम्किएँ । मिर्मिरे बिहानीको चियासँगै दुईजना कलिला नानीहरूसँग भेट भयो । हैन, यति बिहानै तिमीहरू कहाँ हिँडेको ? मलाई स्वाभाविक जिज्ञासा लाग्यो । ‘दिदीको छोराको आठ महिनामा दाँत आएछ, मामालाई राम्रो हुन्न रे । त्यसैले भाइले भान्जालाई मिठाइ दिएर पूजा गर्न हामी चितवनबाट आएका,’ सानी दिदीले फटाफट बोली, ‘अहिले भिनाजु हामीलाई लिन आउनुहुँदै छ यहाँ । त्यसैले कुरिबसेको ।’

अनि आज त आइतबार तिमीहरूको स्कुल छुटेन ? शनिबार आए हुन्थ्यो नि त, मैले आफ्नो कुरा राखें ।

‘यो पूजा आजै गर्नुपर्छ रे । भरै पूजा सकेर हामी फर्किहाल्ने हो,’ भाइले स्पष्ट पारे ।

चिया पनि सकियो । भिनाजु पनि आइपुगे । उनीहरू गैरहेको बाटो हेर्दै सोचें, ‘यो विश्वास पनि कस्तो ? पूरै विरोध गरौं, विज्ञानले दिन नसकेको कति प्रश्न मसँग पनि छ । पूरै विश्वास गरौं पनि ठोस प्रमाण पेस गर्न सम्भावना कम । यस्तै अप्ठ्यारो सोच्दासोच्दै मेरो पनि गाडी आइपुग्यो । अब हामी अञ्जु र रञ्जना आउने ठाउँतिर हुइँकियौं ।

निर्धारित समयभन्दा १५ मिनेट बितिसकेको र फोन पनि नउठेकाले मनमा कतै केही पो भयो कि भन्ने शंका लाग्यो । तर, धन्य शंकाले लंका जल्नु पहिले अञ्जु र रञ्जना मीठो मुस्कान र उज्यालो अनुहार बोकेर आइपुगे । उनीहरू दुवैको सामान गाडीमा राखेपछि हामी सबै तम्तयार थियौं– काठमाडौंदेखि दिक्तेलसम्मको यात्राका लागि ।

गणेशको गाडी गणेशले हाँक्ने भयो नै, तर ऊ थाकेमा महेशले हाँक्ने भयो । त्यसैले ऊ अगाडिको सिटमा बस्यो । बाँकी हामी तीनजना पछाडिको सिटमा । गणेशले भक्तपुरतिर चिल्लो सडकमा पाङ्ग्रा सुलुलुलु चिप्लाउँदा घडीले बिहानको ६ बजाएको थिएन । महेशले मलाई फेसबुक मेसेन्जरमा भनेका थिए, ‘हामी जाने सन्डे हो नि ।’ मैले बेरमै भनेको थिएँ– हामीले ‘फन डे’ बनाउनुपर्छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल र उपमेयर वीणादेवी राईले हातमा हात, साथमा साथ मिलाएर हाम्रो प्रयास अघि बढाउने वचन दिनुभयोे । वचन कार्यान्वयन भयो भने हामीलाई चाहिएको राजनीतिक नेतृत्वका लागि उहाँहरू सही व्यक्तित्व हुनुहुन्छ ।

‘फन’ त गर्ने तर कसरी ? योजना बनिसकेको थिएन । एक त हामी स्कुलका सहपाठी नै भए पनि यसरी पाँचजना एकसाथ यात्रामा निस्केको यो पहिलो थियो । यसरी एउटा यात्रामा बाँधिनुको पछाडि एउटै लक्ष्य थियो– आफू पढेको स्कुललाई केही मद्दत गर्ने र हामीलाई पढाउने गुरुहरूलाई सम्मान अर्पण गर्ने । केही साथीहरूसँग बीचमा छिटफुट कुराकानी फेसबुकमा भए पनि स्कुले दिनपछिका धेरै कुरा थाहा थिएन ।
केही समयपूर्व अञ्जु स्कुलकै कामको सिलसिलामा बेलायतमा आउँदा मैले आफ्नो कामको परिस्थितिले भेट गर्न सकेको थिइनँ । तर, मलाई थाहा थियो कि अञ्जुले जीवनको कठिनभन्दा कठिन जीवनको मोड पार गरेर, आफूलाई सतिसालझैं उभ्याएर एउटा नमुना स्कुल स्थापना गरेर राजधानीमा शिक्षाको उज्यालो बाँडिरहेकी छन् । पहिलोपटक उनको अक्षरा स्कुल पुग्दा मलाई उनको कर्म देखेर गर्व अनुभूति भयो ।

कुनै समयको मेरो मिल्ने बालसखा भए पनि एक दशकको एकसाँझबाट महेश मबाट हराएका थिए । अर्काे दिन भेट्ने भनेर छुट्टिएका हामी खोई अर्काे दिनदेखि उनले मेरो फोन उठाएन । म खुब चकित परें । कुनै समय गायक बन्ने सपना बोकेर हिँडेको ऊ जीवनसँगको खेलमा अनेक हन्डरठक्कर सँगालेर पछिल्लो समय व्यापार–व्यवसायमा रमाइरहेको मलाई थाहा थियो । तर, उनको गितार र गलाको धुन मैले नसुनेको धेरै भएको थियो । रञ्जना मेरो पहिलो साथी थिइन्, जसले स्कुलमा सरमिसलाई सम्मान गर्न दिक्तेल जाऊँ है भन्दा मलाई विनासर्त सहमति जनाएकी थिइन् । स्कुले जीवनमा कक्षाकोठाको मनिटर बन्दा होस् या अतिरिक्त क्रियाकलाप गर्दा रञ्जनाले मलाई साथीका रूपमा सधैं साथ दिइन् । ६/७ मा पढ्दा कहिले चिउरा र चाउचाउ बाँडेर खाएको सम्झना अब फर्केर आए हुन्थ्यो लाग्छ । तिनको मित्रवत् भावनाको म सधैं सम्मान गर्छु । स्कुलको औसत विद्यार्थी भए पनि गणेशले आफूलाई व्यापारमा सबैभन्दा अब्बल प्रमाणित गरिसकेको छ । एक संघर्षशील आमाले हुर्काएको छोरा, उनले संघर्ष गरेर लोभलाग्दो व्यावसायिक कम्पनी चलाइरहेको छ । स्कुलमा पढ्दा उनलाई मैले कहिल्यै व्यापार, व्यवसाय गर्लाजस्तो लागेन । बरु उनको अंग्रेजीमा रुचि र दख्खल देखेर एक दिन यही विषयको प्रोफेसर होला लाग्थ्यो । तर, कहाँ सोचाइ अनि कहाँ भाग्यरेखा !

हामीले बनेपा, धुलिखेल काटेर भकुन्डेबेंसीको ओह्रालो लागिसकेका थियौं । बीपी राजमार्गको रमाइलो बाटोमा हुत्तिनुअघि चियाचमेना गर्न रोकियौं । थाहा भो अञ्जुको त्यस दिन व्रत बस्ने दिन रहेछ, । त्यसैले केबल चिया र फलफूल खाइन् । तर, हामीले आलुपुरी नै मुठ्यायौं । त्यतिबेला थाहा भयो– रञ्जनाले घर छाड्नुअघि नुहाएर, पूजापाठ गरी हिंडेकी रहिछन् । अनी पो थाहा भयो– उनी ढिला हुनुका कारण ।
अब हाम्रो पेट भोको थिएन । थियो त लामो न लामो लमतन्न बाटो । जो घरी तेर्साे पथ्र्याे । घरी उकालो चढ्थ्यो । घरी ओह्रालो ओर्लन्थ्यो । हामी अनेक घुम्ती, नदी, खोला तर्दै मध्याह्नतिर खुर्काेट पुग्यौं । हलेसीमा खाना खाने सल्लाहमै भयो । त्यतिन्जेल हामीले आफ्नो परिवार, छोराछोरी, समाज हुँदै देश–विदेशको अनेक कुरा गर्न भ्याइसकेका थियौं ।

हलेसी पुग्नु अनि महादेवको दर्शन नगर्नु, कहीं यस्तो अनर्थ होला ? हामीले होटलमा खाना तयार गर्न अनुरोध गरिराखेर मन्दिर परिसर गयौं । अञ्जुको उद्देश्यअनुरूप मन्दिरभित्र गइन् । बाँकी हामी बाहिरबाटै भगवान्लाई ढोग ग¥यांै । फर्केर अञ्जुले अनुभव बाँडिन्, ‘मलाई कर्मद्वार पार गर्न निकै सकस प¥यो । मेरो कर्म सजिलो छैन ।’

मुख्य कुरा द्वार पार गर्यौं । संघर्ष त सबैलाई हुन्छ नै, मैले अञ्जुलाई ढाडस दिएँ ।

होटेल फर्कंदा खाना तयार रहेछ । तर, भनेजस्तो अलि थिएन । खाना, न त अञ्जुले चाहेकी फूलखाजा नै तिनका लागि थियो । थोरै असहज मन बोकेर हामी दिक्तेल हाँकियौं । बाटो राम्रो बनेको रहेछ । एकै सासमा हामी नुनथला पुगेर रोकियौं, चिया पिउन । हामीले सम्झ्यौं– पहिले दिक्तेलदेखि लामिडाँडा आउँदा–जाँदा पैदल हिँड्दाको सास्ती । त्यो सास्तीसँग पनि अनेक नबिर्सने सम्झना हामीले याद गर्यौं । लाग्यो– चालिस टेक्दै गरेका हामी पाँचैजनाले पनि समय धेरै चाखिसकेछौं ।

मुढे ओह्रालो गुड्दै गर्दा गणेशले देखाए– उसको गाउँ नेर्पा । मैले मझुवागढीदेवीलाई टाढैबाट ढोगें । मैले सम्मानसाथ टेम्केलाई हेरें । जो एकनास पहिलेजस्तै उभिइरहेको थियो । मैले देखें– मेरो मावली गाउँ दोर्पा, ठीक त्यो ओह्रालो र टेम्के लगभग बीचभागमा । अनि अलिकति बाल्यावस्थातिर गुडुल्किएँ । रत्नपार्कको टाउको टेक्दा महेशको पुरानो घरले हामीलाई कता हिँडेको भनी प्रश्न गरेको भान भयो । त्यतिबेलाको एउटा सुन्दर त्यो घर एकदम चकमन्न थियो, कसैलाई पर्खिरहेजस्तो लाग्थ्यो त्यो घरले । घरअगाडिको क्याम्पस उक्लने बाटोको खाल्डाखुल्डीले बूढो मानिसका उखेलिँदै गएका दाँतघरको सम्झना गरायो । मैले महेशको अनुहार पढें– उनको आँखामा अतीत प्रस्टै बगिरहेको थियो । मैले झल्याँस्स सम्झें– कुनै दिन महेशले त्यही उनको घरमा लगेर मलाई आमासँग मेरो साथी भनेर चिनाएका थिए । उनको भाइ मनोजले ‘म तिम्रो सहर छाडी टाढा जाँदै छु’ भनेर भावुक गीत गाएको, उनले चंगा उडाएर मलाई देखाएको । उफ यो सबै केही थिएनन् । मात्र सम्झना ।

अलि तल झर्नासाथ अञ्जुले देखिन्– आफ्नो पुरानो घर । त्यही घरको दोकानमा बसेर चक्लेट बेचिरहेकी सानी अञ्जु मैले देखें । ठीक उनको घरअगाडि भगवती म्याडमले हामीलाई घाम ताप्दै पढाएको ‘फ्ल्यासव्याक’ सम्झें । सुन्तला र बदाम खाएको सम्झना आयो । हो यही हो राजन सरको घर । हो यही हो वीरबहादुर सरको घर । अरे धेरै घर पो थपिएछन् । यो लुइँटेलको घरछेउमा त….. । हो यही हो दिजेन्द्रसँग टेबलटेनिस खेलेको र यही थियो दिनेश शाक्यको आमा कैली दिदीको मीठो सिम्खडा पाउने होटेल भन्दाभन्दै हामी स्कुल पुग्यौं । जतिबेला विद्यार्थी छुट्टी लिएर घर फर्कंदै थिए । घडीले आफ्नो धर्मअनुसार चार बज्नै लागेको संकेत गरेको थियो ।

स्कुल छोडेको २४ वर्षपछि स्कुलकै लागि केही गरौं कि भनेर टेक्दै गर्दा स्कुलका अनेक सम्झना परेड खेल्दै आए । त्यो बेलाका एकतले भवन अहिले तीनतले पक्की भवनमा परिणत भइसकेछ । त्यो बेलाको तीन भागको खेलमैदान अहिले एउटै बनेछ । हामीले पानी खाने धारा खोई कहाँ हरायो, थिएन । त्यहाँ त पक्की भवन पो बनेछ । स्कुलका प्रधानाध्यापक ध्यानबहादुर राई सरले चियासँगै न्यानो आतिथ्य दिनुभयो । त्यसपछि सबै सर र म्याडमहरूको उपस्थितिमा भोलि हुने कार्यक्रमको रूपरेखाबारे घनिभूत छलफल भयो । त्यो निक्र्यौल गरेर निस्कँदा अँध्यारोले छोपिसकेको थियो । हतारमै बिमला सोल्टिनीको घरमा चिया पिएर, गणेशले गाडीमा हाटडाँडामा छोड्दा रातको सात बजिसकेको थियो । म र दाजु ज्ञान टर्चलाइटको प्रकाशले बाटो पहिल्याउँदै ओह्रालो लाग्यौं । घरमा भाउजू पुष्पा र छोरी प्रज्ञाले हेरिरहेको मेरो आगमनको बाटो सम्झँदै ।

भोलिपल्ट स्कुल पुग्दा स्कुलको न्यानो माया र स्वागतले हामी लछप्पै भिज्यौं । स्कुलका लागि केही गर्न भनेर पुगेका हामी स्कुलले सोच्दै नसोचेको माया दियो । सबै विद्यार्थी हातहातमा माला लिएर हामीलाई स्वागत गर्न लामबद्ध थिए । विद्यार्थीको ‘लाइन’ पार गर्दा गला फूलमालाले भरिएको थियो । गलामा नअटेर हातमा समेत माला बोक्नुपर्यो । स्कुलको त्यो आत्मीयताले म निथ्रुक्कै भिजें । स्कुलको आँगनमा उपस्थित गुरुगुरुआमा देख्दा म फेरि एकपटक मनमनै सानो विद्यार्थी बनें ।

पहिलो चरणको कार्यक्रममा बेलायतवासी स्कुलका पूर्वविद्यार्थीबाट स्कुलको धूलोरहित प्राङ्गण तयार गर्न जम्मा भएको सहयोग रकम मैले औपचारिक रूपमा हस्तान्तरण गर्नु थियो । जुन घडी मैले मेयर दीपनारायण रिजाल, उपमेयर वीणादेवी राई, विद्यालय व्यवस्थपान समिति अध्यक्ष जय सर र विद्यालयका प्रधानअध्यापक ध्यान सरलाई एकसाथ सहयोग रकम हस्तान्तरण गर्न पाएँ । एउटा मीठो अनुभूतिले छोप्यो (अव्यक्त अनुभूति जो जीवनपर्यन्त रहनेछ ।) आफूले दिनरात काम गरेर कमाएको पसिनाको मूल्य अलिकति जोगाएर स्कुलको खातिर सहयोग दिने सबैलाई मैले सम्झें । त्यसमा पनि विशेष संयोजक डा. प्रमोद र कोष जम्मा गर्न भूमिका खेल्नुहुने खगेन्द्र दाइलाई उहाँहरूको योगदानको खुलेरै सबैलाई बताएँ ।

दोस्रो सत्रमा हामीले हाम्रा आदरणीय गुरुहरूको सम्मान र अक्षयकोष घोषणा गर्नु थियो  (जहाँ अञ्जुले कार्यक्रमको अध्यक्ष्यता गरिन्, रञ्जनाले सबैलाई स्वागत गरिन्, महेशले कार्यक्रममाथि बोलेका थिए, गणेशले कालान्तरसम्मको हाम्रो योजनासँगै अक्षयकोष घोषणा गरे । मैले कार्यक्रम सञ्चालन गरें ।) त्यसबीचमा हामीले गुरुहरूको सम्मान गर्यौं । पवन सर सम्मानित हुनुभएपछि भावुक बन्नुभयो । हरि सर, शिवनारायण सर, जानुका म्याडम, जय सर, गोविन्द सर, काजी सर, शिवहरि सर, कृष्ण सर, राजकुमार सर, नूरकाजी सर र चन्द्र सर धेरै खुसी हुनुभयो । नूरकाजी सरले त कार्यक्रमपछि भन्नुभयो, ‘मैले धेरै सम्मान पाएँ । तर, विद्यार्थीबाट पाएको यो सम्मान पहिलो र विशेष हो ।’ हाम्रालागि यो कुरा सुन्नु नै उत्प्रेरणा थियो । लाग्यो– हामीले सही काम गरेछौं । जो सर, म्याडमहरू उक्त कार्यक्रममा आउन सक्नुभएन तर हामीले धेरै सम्झ्यौं । दिक्तेलमै भएका धेरै साथीको उपस्थितिले कार्यक्रम गर्न धेरै मद्दत पुग्यो । बिमला, रेश्मा, गोविन्द, दिनेश, काजी, कल्पना र राधा सबै–सबैको कुनै न कुनै सहयोग हाम्रालागि महत्वपूर्ण थियो । त्यससँगै जोडिएर दीपेन्द्र भाइ र उनका साथीहरूले अक्षयकोषमा कदम मिलाएर अघि बढ्ने जो काम गरे, त्यो सबैलाई अनुकरणीय थियो । काठमाडौंमा अहोरात्र खटिएर कार्यक्रम सफल बनाउन भूमिका खेल्ने कृष्ण होस् या समर्थन र सहयोग गर्ने चण्डिका, दिजेन्द्र, भक्त, तिलक, पुष्प, मञ्जु, होम र अरू साथीहरूजस्तै बेलायतका जय, योन्तेन र नीरकला, जापानबाट दीपेन्द्र अनि अमेरिकाबाट युवराज, प्रमिला र वसन्त र सिंगापुरबाट होम, बालजित र नवीन आदि सबैलाई हामीले सम्झ्यौं । कर्मले आफ्नो बाटो पछ्याउनैपर्ने नत्र त सबैलाई एकसाथ भेट्न मन थियो नि, त्यो सरस्वतीपरिसरमा धेरै वर्षअघि स्कुल पढ्दाजस्तै ।

आफ्नो मन्तव्यक्रममा मेयर दीपनारायण र उपमेयर वीणाबाट जे–जस्तो सहयोग र हातमा हात, साथमा साथ मिलाएर हाम्रो प्रयास अघि लैजाने वचनबद्धता भयो । यदि कार्यान्वयन भयो भने पक्कै अब हामीलाई चाहिएको राजनीतिक नेतृत्वका लागि उहाँहरू सही व्यक्तित्व हुनुहुन्छ भन्ने लाग्यो ।

अञ्जुको मीठो मन्तव्य, कार्यक्रमको सांगोपांगो बौद्धिक रूपमा प्रस्तुत भएको थियो । औपचारिक कार्यक्रम सकियो । त्यसपछि महेशले गीत गाएर सबैलाई नचाउन भुलेनन् । साँच्चिनै भन्ने हो भने उनको गायनले त्यो दिन चट्नीकै काम गर्यो ।

सर, म्याडम अनि साथीहरूसँग फोटो खिचेर स्कुलको चियापान सँगै हामीले बिदा माग्यौं । अघिको उत्साहित अनुहार अविनारायण दाइ निराश अनुहार लिएर भारीमनले बिदाइ बोल्दै हुनुहुन्थ्यो । स्कुलको परिचर अविनारायण दाइ २४ वर्षअघिझैं देखेर खुसी लाग्यो । मैले भनें– तपाईं त पहिलेभन्दा जवान पो देखिनुभएको छ त ।

भारी खुट्टा टेक्दै स्कुलबाहिर निस्कँदा काजी सरको आँगन पुग्यौं । अञ्जु त अंकलहरूको मायाले बाँधिएर आफ्नो पुरानो घर बाम्राङ कट्टी लागिहालिन् । तर, हामी चारजनाचाहिँ काजी सरको दलिनमै पसेर स्वादिलो सुन्तला मज्जाले खायौं । काजी सर जो हामी पढ्दाताका लाग्थ्यो– उहाँ जस्तै विद्यार्थीलाई सिकाउने सबै गुरुहरू हुन सके त आहा ! उहाँले पढाउनबाहेक कुनै राजनीतिमा हुने खेलमा भाग लिएको कहिल्यै थाहा भएन । र, मैले भने पनि सर, तपाईंचाहिँ जहिल्यै तेस्तै रहनुहोस् है । अनि दुर्घटनाले कृष्ण सरको घर आगलागी हुँदा, हामीले सक्ने सानो मद्दत गरेका थियौं । मनमा यसै खुसी लागेर आयो, जब सरको घर बन्दै गरेको हामीले देख्यौं । सरको घरमा सुन्तलाको केस्रा केलाउँदै माटिकोरेको खेलमैदान नियाल्यौं । पहिलेको भवन कुनै थिएन । बस केही मान्छे फुटबल खेलिरहेका थिए ।

साँझको खाना प्रधानाध्यापक ध्यान सरको विशेष निमन्त्रणामा होटल सगरमाथामा हामीले लियौं । करेलाको जरा दुई–दुईपटकसम्म थपेर त्यसै खाएनौ, किनकि स्कुलको कार्यक्रम राम्ररी समापन भएको अवसरमा खुसीले पनि खायौं । छुटिनेबेला चन्द्र सरको निम्ता पूरा गर्न नसक्दा मन अप्ठ्यारोमा परेको थियो । तर, मैले गर्न सक्ने केही थिएन । मेरो ठुल्दिदी इमान माइतीको मायाले मलाई घण्टौं कुरिरहनु भएको थियो ।

तेस्रो दिन अर्थात् काठमाडौं फर्कर्ने दिन । बिहानै हतारोले समाइहाल्यो । साथी कल्पनाको घर टेक्ने अघिल्लो दिनको वाचा सबैभन्दा पहिले पूरा गर्यौं । अनि साथी प्रकाश जो सिंगापुरबाट छुट्टीमा अघिल्लो साँझ दिक्तेल आएथ्यो । ऊसँग लामो समयपछि छोटो आत्मीयता साट्यौं । अनि मेयरज्यूको चिया खाने निम्ता स्वीकार्दै शुभदिन होटल पुग्यौं । आफ्नो व्यस्तता बन्द गर्दै हामीलाई समय दिनुहुने मेयरज्यूको महान्ता सम्झिरहेछु । छुट्ने बेलामा यति कामना गर्यौं, ‘उहाँको सपनाजस्तै बन्न सकोस् नगरपालिका । र, हामीले गर्व गर्न सकुँ हाम्रो नगरपालिकाप्रति ।’

हतार–हतारमा हामी हिँड्दै गर्दा रञ्जनाले घरको ढोका बन्द गर्न भुले कि भनेर मलाई शंका व्यक्त गरिन् । हीरामोती केही त छैन होला नि घरमा ? मैले अलिकति मजाक गरें । हतारोमै बिमला सोल्टिनी र नूरकाजी सरसँग बिदा माग्यौं । केही सुर्काे मीठो चियासँगै शिवहरि सर र दिदीसँग बिदाइको हात हल्लायौं । सहोदर दाजु ज्ञानसँग बिदाइको गला मिलेपछि गुड्दै जाँदा अञ्जना म्याडमसँग संजोगवस भेट भयो । धेरै वर्षपछि उहाँसँग भेट भएकाले होला, बुढ्यौलीले छुँदै लगेछ भन्ने लाग्यो । त्यति नै बेला कुनै समयकी मेरो विद्यार्थी, अहिलेकी नामी गणित शिक्षक रशा भेट्दा एकैचोटि खुसी र गर्व लाग्यो । रत्नपार्क छाड्ने बेला जीवन दाइले केही कुरामा असन्तुष्टि जाहेर गरे पनि हामी सबैलाई शुभयात्राको शुभआशिष दिएर बिदाइ गर्नुभयो । दिक्तेल छाड्नुअघि हामी अन्तिम बिसौनीस्वरूप सहपाठी काजीको घरमा पस्नु थियो । माथि चढ्दा दिक्तेल क्याम्पसको देब्रेतिर पर्ने फर्म देखेपछि उनको कर्मको प्रसंशा नगरिरहन सकेनौ । उनले आफ्नै बगैंचामा फलेको अर्गानिक किबी चखाए, घरकै स्वादिष्ट दही पिलाए । हामीले थपीथपी खाँदा ठेकी नै रित्यायौं होला भनेर गणेशले शंका गर्दा यति पाँचजना साथीलाई त चार दिनसम्म पाल्छु भनेर ढुक्कैले भनिदिए । हुर्किसकेका आफ्ना नानीहरू काजीले चिनाउँदै गर्दा मैले आफ्नो साँढे तीनवर्षे छोरा जेकोप सम्झें । साथीप्रतिको यो माया खोई कुन शब्दले व्यक्त गरौं काजी । तिम्रो फर्ममा फेरि आएर दही खाने मन छ है ।

दिक्तेल छाड्दै गर्दा घाम बिस्तारै छिप्पिँदै थियो । पुसको छोटो दिनहरूमा हामी जानुपर्ने बाटो लामो थियो । बाटोमा हामीले कार्यक्रमको समीक्षा गर्यौं । समीक्षाभन्दा बढी एक–अर्काबीच बुझ्न, जान्न बाँकी सन्दर्भमा छलफल गर्यौं । अञ्जुले महेश, गणेश र मसँग जान्न चाहेको कुरा हलेसी नपुग्दै प्रस्ट भयो । गणेशले मसँगको बादल सुनकोसी नकाट्दै हटेर गयो । अब फेरि हामी आ–आफ्नै जीवनकथामा हरायौं । सबैको भोगाइ सुनेपछि मैले मनमनै भनें– रञ्जना तिमी जति साथीका रूपमा सहयोगी छौ, त्योभन्दा बढी समाजसेवामा पनि समर्पित छौ । गणेश तिमी यो जमानाको एउटा साँचो प्रेमी हौ, तिम्रो प्रेमकथामा एउटा अमर उपन्यास लेख्न वा राम्रो चलचित्र बन्न सक्छ । महेश तिमी असल छोरामात्र होइनौ, धेरै महान् दाइ हौ र नै मनोज भाइले मायाले दिएको नयाँ आइफोन बोकेर हिँडेका छौ । अञ्जु तिमीलाई त म के भनुँ– सतिसाल हौ तिमी । जोसँग समस्या डराएर भाग्छन् । सानो छँदाको सानो मीठो भूलहरू, जस्तै आफ्नै पसलको केही पैसा आमाबाबाले थाहै नपाई, सुटुक्क लिएर आफूलाई मन परेको केही गर्नेदेखि लिएर जीवन बाँच्नुको डरलाग्दो संघर्षले नै आजको अञ्जु तिमी बनेकी छ्यौ । परिवेशले जसरी पकाएको छ तिमीलाई र नै तिमी आज समाजमा उज्यालो प्रकाश बनेर देखिँदैछ्यौ । तिमीले आफ्नो यात्रा निरन्तर राख्न सके, यस्तो लाग्छ– कुनै दिन तिमी कहिले ननिभ्ने ज्योति शिक्षाको क्षेत्रमा बन्नेछौ ।

काठमाडौं छिर्दा रातले डेरा जमाइसकेको थियो । रञ्जना र अञ्जुलाई घर छाड्दा घडीले आठ हानिसकेको थियो । म बस्ने ठाउँ एकातिर, महेश र गणेश जाने अर्काेतिर भएकाले मलाई घरसम्म पुर्याइमागेर उनीहरूलाई अरू ढिला गराउन चाहिनँ । र, म पूर्ववत् कोटेश्वर चोकमै ओर्लिएँ । मनमा झल्याँस्स लाग्यो– हामी पाँचजना साथीहरू फेरि सँगै यात्रा गर्ने अवसर समयले कहिले देला ? सायद जीवनभरि नहुन पनि सक्छ तर त्यस्तो नहोस् । ट्याक्सीमा घर जाँदै गर्दा कुन्नि कुन संयोगले हो, भर्खरै के कुराले मिडियामा समाचार बनिरहेका गायक रामकृष्ण ढकालको आवाज घन्किरहेको थियो :

यात्रा रहेछ जिन्दगी, एकलै म हिँडिदिन्छु ।
हो सबै साथीहरू छुटेर, बाँकी म एक्लै हिँडिरहेको थिएँ ।

प्रतिक्रिया दिनुहोस्