हरियो हलेसी


पहिलेको डाँडाबजार ।

दुर्छिम (खोटाङ) । योजनाबद्ध तरिकाले काम गर्ने हो भने हलेसीलाई पाँच वर्षभित्रमा हरियो बनाउन सकिन्छ । ‘हरियो हलेसी बनाउन त्यति धेरै मिहिनेत गर्नैै पर्दैन,’ नेपाल कम्युनिस्ट पार्टी नेता टंक राईले सुझाए, ‘ओखलढुंगा र खोटाङ जोड्ने जयरामदेखि हलेसीसम्मका प्रत्येक घरधनीलाई सुख्खा क्षेत्रमा हुने फलफूल लिची, विशेषप्रकारका आँप, एबोकाडोलगायत विभिन्न प्रजातिका फलफूल रूख प्रजातिका पाँच बोट बिरुवा रोप्न अनुरोध गर्न सकिन्छ ।’

पहिलेको हलेसी ।

हुर्कंदै गएपछि रोपिएका बिरुवाले हरियो बनाउँछ । यो काम हलेसी तुवाचुङ नगरपालिका र सडक विभाग मिलेर गर्न सक्छन् । नगरपालिका र विभागको सहकार्यमा जयरामदेखि हलेसीसम्मको सडकका दायाँबायाँ रूख प्रजातिका बिरुवा रोप्नुपर्छ । ‘त्यसले भू–क्षय रोक्छ,’ नेता राईले थपे, ‘दायाँबायाँ रोपिएका बिरुवा हुर्कंदै गएपछि सुन्दरतासमेत बढाउँछ ।’

तर, रोपिएका बिरुवालाई दुई/तीन वर्षसम्म सुख्खा समयमा सिञ्चित गर्नैपर्छ । फलफूल तथा रूख प्रजातिका बिरुवाका लागि नर्सरी व्यवस्थापन गर्न नगरपालिकाले आर्थिक सहयोग गर्यो भने यो काममा लाग्ने जोकोही भेटिइन्छन् । ‘प्रत्येक घरका किसानले नर्सरीबाट बिरुवा किनेर रोप्न नसक्लान्,’ उनको तर्क छ, ‘त्यसो भए बिरुवा हुर्काएबापत इन्सेन्टिभ दिनुहोस् । एक बोट बिरुवा हुर्काएबापट पाँच सयदेखि एक हजार रुपैयाँसहितले पुरस्कृत गर्नुहोस् । त्यसो गर्न सके प्रत्येक घरले कम्तीमा पाँच बोट फलफूल वा अन्य रूख प्रजातिका बिरुवा हुर्काउन सक्छ ।’

यसैगरी, नगरवासीलाई बर्खाको पानी संकलन गर्न प्रेरित गर्नुपर्छ । संकलित पानीले पानीका मुहान सुक्न दिँदैन । त्यही पानीले बेमौसमी तरकारी खेती गर्न र गाईबस्तुलाई खुवाउन काम लाग्छ । आफूले रोपेको बिरुवालाई सिञ्चित गर्न त्यही पानी सदुपयोग गर्न सकिन्छ ।
नगरभित्रका अधिकांश क्षेत्रको माटो फस्को छ । रोपिएको बिरुवा चाँडै हुर्कन्छ । रोपिएका बिरुवा हुर्काउन दुई/तीन वर्षसम्म खुख्खा समयमा सिञ्चित गर्न अल्छी गर्नुहुँदैन ।

‘हलेसी हरियो बनाउन खर्चिलो पनि छैन,’ उनको बुझाइ छ, ‘हलेसी हरियो बनाउँदा लागेको खर्चभन्दा त्यसले दिने रिटर्न धेरै हुन्छ ।’
हरियोपरियो मन नपराउने को होलान् र ? गुडेर हलेसी आउनेले सडकका दायाँबायाँको हरियालीले ‘रिफ्रेस’ गराउँछ । आँखा स्वस्थ बनाउँछ । निजी सवारीसाधनमा हलेसी आउनेहरू शीतल ताप्न ठाउँ–ठाउँमा ओर्लन सक्छन् । त्यतिबेला स्थानविशेषमा चिया, कफी, खाजानास्ता खाऊँ न त भन्नेहरू पनि हुन सक्छन् । त्यसो भएमा स्थानीय लाभान्वित हुनेछन् ।

(वर्ष १, अंक ९, २०७५ असोज ५ गते तुवाचुङ साप्ताहिकमा प्रकाशित समाचार पुनः प्रकाशन गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस्