बिहान सबेरै उठेर गोविन्द भट्टराई र म टहल्न गयौं । रेनमिन विश्वविद्यालयका हाताभिका सडक, गल्ली, भवन, रेष्टुरेन्ट, होटल, खेलमैदान, सभाभवन, पसल र त्यसको विशालता हेर्दा यो एउटा अलग सम्पन्न सहरजस्तो लाग्थ्यो । जहाँ मुख्यतः पत्रकारिता, कानुन र समाजशास्त्र संकायको अध्ययन अध्यापन हुन्छ । २२ हजारभन्दा बढी विद्यार्थी रहेको यो संस्था चीनका पाँच ठूला विश्वविद्यालयमध्येको एक हो । बेइजिङको सबैभन्दा सुन्दर पक्ष यहाँको हरियाली लागेको छ । टाढाबाट हेर्दा वन क्षेत्रजस्तो लाग्छ । यहाँ काठमाडौंमा जसरी पक्षीले बिहानै गीत गाउने भए कति मनोहारी हुन्थ्यो होला । केहीबेर टहलेर लबीमा आयौं ।
कमरेड वाङसहित चिनियाँ मित्रहरू फलफूल, पानी र तयारी खानेकुरा बोकेर आइसकेका रहेछन् । निर्धारित समयमा वाहनतिर सोझियौं । दक्षिण एसियाको संकुचित समाजमा हुर्केेका हामीबीच अर्धनग्न चिनियाँ नारी टिप्पणीका विषय बन्थे । तीर्थ कोइरालाले मलाई अर्धनग्न महिलाप्रति संकेत गर्दै ‘यो समाजवाद हो कि पुँजीवाद’ ? व्यंग्यात्मक प्रश्न गरे । मैले पनि त्यसरी नै “यी समाजवादी तिघ्रा हुन्, पुँजीवादी विकृति होइन” भनिदिएँ । हाँसोको फोहोरा छुट्यो । अश्लील आसयमा हुन्छ, दृश्यमा होइन । नैतिक प्रश्न समाज र समयसापेक्ष हुन्छ । लक्ष्मीप्रसाद देवकोटाले जुँगा खौरने युवालाई सुकुलगुन्डाका रूपमा चित्रित गरेका थिए ।
तर, आज जुँगा–दारी सफाचट पार्नु सामान्य सफाइको विषय मानिन्छ । हिन्दु संस्कारमा महिला नाइटो देखाउने कपडामा सजिन्छन् भने पश्चिमा तिघ्रा देखिने पोसाकमा ठाँटिन्छन् । मुस्लिम समाजमा अनुहारसमेत छोपिन्छ । त्यसैले पोसाकका आधारमा कसैप्रति स्थिर धारणा बनाउनु सही नहोला । नैतिक मापदन्ड युग र भाव सापेक्ष हुन्छ ।
लामो यात्रामा साग र धेरै पानी खानुहुँदैन । पाका साथी भन्दै थिए– साग र सलादले चर्पी पठाइरहन सक्छ । पानी त झन् अधैर्यसमेत हुन्छ । पहाडतिर लामो पैदलयात्रा गर्दा दही खानुहुँदैन भन्थे । दहीले लामो पैदल यात्रामा घुँडा दुख्छ भनिन्छ । छलफल चलिरहेको थियो, हाम्री दोभाषे फिनिक्सले तियानमेन चोक आइपुगेको जानकारी दिइन् । ‘अध्यक्ष माओ स्मृति संग्रहालय’का सुरक्षाकर्मी र कर्मचारीले सतर्कतापूर्वक हाम्रो वाहन एक छेउ लगाए । चिनियाँ भाषामा ‘तियानमेन’ भनेको क्रान्ति या विद्रोह हुँदोरहेछ । त्यसको नेपालीमा भावानुवाद गर्दा ‘विद्रोहीचोक’ भन्न सकिन्छ ।
संग्रहालय हातामा हजारौं देशी–विदेशी नागरिक हात–हातमा पुष्पगुच्छा लिएर उभिएका थिए । शिवरात्रिको दिन पशुपतिनाथ मन्दिरअगाडि जस्तै भीड देखिन्थ्यो । औंलाले देखाउने, बोल्ने, हाँस्ने, टोपी लगाउने नगर्नुहोला है २४औं पटक चीन भ्रमणमा आएका वरिष्ठ पत्रकार किशोर श्रेष्ठ भन्दै थिए । हामी पंक्तिबद्ध भएर ‘अध्यक्ष माओ स्मृति भवन’ तिर जाँदै थियौं । त्यसको उत्तरपट्टिको सभाभवनको भित्तामा अध्यक्ष माओको विशाल फोटो टाँसिएको थियो । त्यही स्थानमा उभिएर सन् १९४९ मा अध्यक्ष माओले चिनियाँ क्रान्तिको घोषणा गरेका थिए । त्यसैबेलादेखि त्यो स्थानलाई ‘तियानमेन स्क्वायर’ अर्थात् क्रान्तिचोक नामकरण गरिएको रहेछ । अध्यक्ष माओ स्मृति भवनको प्रवेशद्वारमै माओ त्से तुङको दिव्य आकृति थियो । सुनौलो आकर्षक मूर्तिमा हजारौं पुष्पगुच्छा चढाइएका थिए । कोही लम्पसार परेर ढोग्दै थिए । एकजना पाका मानिसको आँखामा आसु टिलपिलाइरहेको देखिन्थ्यो । संग्रहालयका अध्यक्षले हामीलाई पथप्रदर्शकले झैं अथ्र्याउँदै घुमाइरहेका थिए । केही कदम अगाडि बढ्नासाथ अध्यक्ष माओको पार्थिव शरीर चीर निद्रामा देखिन्थ्यो । लाग्थ्यो– माओ केही क्षणका लागि आराम गरिरहेका छन् । अध्यक्ष माओलाई नजिकैबाट देख्दा भावुकताको सीमा रहेन । अध्यक्ष माओका आदर्शको अनुशरण गर्दै नेपाल र विश्वभरि अहिले पनि हजारौं मानिस लडिरहेका छन् । त्यही बाटोमा हिँड्दा हाम्रो टाउकाको मोल तोकिएको थियो । हामी जेलमा सढिएका थियौं । दायाँ–बायाँका थुप्रै सहकर्मी ढलेका छन् । उनीहरूको सम्झना मात्रले ऐेठन हुन्छ । सहिद कमरेड चारुले त ‘चीनको अध्यक्ष हाम्रो पनि अध्यक्ष’ भनेका थिए । माओ अहिले पनि करोडौं भोकानांगा र न्यायका पक्षधरका आदर्श छन् ।
अध्यक्ष माओ संग्रहालयको आँगनमा चिनियाँ क्रान्तिक्रममा सहिद भएका जनमुक्ति सेनाको स्मृतिमा निर्मित स्मारक रहेछ । अध्यक्ष माओ एकजना कवि पनि हुन् । उनले एकजना जनमुक्ति सेनाको योद्धा ढल्दा सुन्दर कविता लेखेका थिए । लम्बे अभियानक्रममा लेखिएको कवितांश थियो–
आँखा बन्द गरेर
आँसु रोक्ने प्रयास गरेको थिएँ मैले
मानेनन् आँसु
सामुन्नेमा लडिरहेको छ कमरेड लिङको शरीर
बैरीहरूको छातीमा
गोली बनेर भेदन गर्नुअघि
मृत्यु चाहँदैनथे कमरेड लिङ
उनको लासको सामु रसिला आँखा लिएर
उभिरहेको छु म ।
संग्रहालयका अध्यक्षले हामीलाई माथिल्लो तलाको संग्रहालयमा लगे । भित्तामा चिनियाँ नेताहरूको रेखाचित्र थियो । त्यसपछि हाम्रो आँखा चिङ काङ साङ पर्वतमालामा परे । जहाँ ऐतिहासिक लम्बे अभियानमा हिँडिरहेका हजारौं क्रान्तिकारीको लामबन्दी देखिन्थ्यो । त्यहाँ माओ बास बसेको घर थियो । त्यो घरको चित्र हेर्दै ‘चिङ काङ साङ भनेको नेपालको रोल्पा, रूकुमजस्तै रहेछ होइन त ?,’ महेन्द्र विष्ट भन्दै थिए । एक ठाउँमा सन् १९२२ मा अध्यक्ष माओले लेखेको चिठी, सामान राख्ने बाकस, दूरबीन तथा रातो तारेटोपी थिए । एक ठाउँमा घुँडासम्म टालेको माओको पाइजामा थियो । गृहयुद्धकालमा माओले अरू सहकर्मीसरह फाटेका–टालेका कपडामा उठबस गरेको देखिन्थ्यो । एउटा फोटोमा अध्यक्ष माओ र उनका पुत्र आन्यिङ प्रसन्न मुद्रामा देखिन्थे । अमेरिकी साम्राज्यवादका विरूद्ध कोरियाली युद्धमा अध्यक्षका ती पुत्रसमेत सहभागी थिए । त्यही कोरियाली युद्धमै उनको मृत्यु भएको थियो । अर्को ठाउँमा सैनिक तालिम लिइरहेको बान्कीमा माओ देखिन्थे । फोटोको सुरक्षा इतिहासमा कति महत्वपूर्ण हुन्छ भन्ने भाव प्रकट गर्दै वरिष्ठ पत्रकार किशोर श्रेष्ठ भन्दै थिए । माओले आफ्नो हातले एउटा गोली चलाएनन् । तर, यति एउटा फोटोले स धैं सैन्यज्ञाताका रूपमा बुझिन्छन् । माओलाई वैचारिक राजनीतिक ज्ञाता भन्दा सैन्यज्ञाताका रूपमा मात्र बुझ्नेको पनि कमी छैन । त्यो सोच अध्यक्ष माओका योगदानलाई न्यूनीकरण गर्ने कोणबाट आएको हुन सक्छ । अध्यक्ष माओका अविस्मरणीय सम्झना अवलोकन गराएपछि त्यसैसँग सम्बन्धित छोटो श्रव्य दृश्य देखाए । त्यसपछि महामानव माओलाई हृदयभरि श्रद्धासुमनसहित बाहिरियौं । संग्रहालयका कर्मचारीले हामी पर पुगुन्जेलसम्म बिदाइका हात हल्लाइरहेका थिए ।
तियानमेन चोकबाट हाम्रो वाहन बाहिरिँदै गर्दा ‘थाइकट’ कपाल काटेकी नवयुवती हाम्रो वाहनमा चढी । यिनी को हुन् ? अंग्रेजी भाषामा चन्द्रकिशोरले सोधिहाले ? हाम्री दोभाषे फिनिक्सले ‘यिनी हाम्री सहरी पथपर्दशक हुन् । यिनी पनि हामीसँग हुन्छिन,’ भनिन् । हाम्री पथपर्दशकको नाम चाङ्ना रहेछ । आज तयारी खानामै टार्नुपर्ने थियो । खानेकुराको कमी थिएन । हामीले दिनभरि जोतेर थाकेको भोको गोरुले झैं लतपत खाइरहेका थियौं । टोलीनेता माधव पौडेल वाहन फोहोर नहोस् भनेर चिन्ता गर्दै थिए । तर, कसले सुन्ने रत्नपार्कमा पोलेको मकै चपाउँदै हिँड्ने आदत परेका मानिस थियौं हामी । वाहन फोहोर भएको हुनाले चालक रिसाए । हातले छुँदा पनि फोहोर लाग्लाजस्तो वाहन कुरुप भएको थियो ।
महान् पर्खालको लम्बाइ १० हजार माइल छ । चलनचल्तीको भन्दा चिनियाँ माइल केही बढी भएको हुनाले ‘ग्रेटवाल’ को लम्बाइ १२ हजार माइल होला, पथप्रदर्शक चाङ्ना भन्दै थिई । महान् पर्खाल बेइजिङबाट ७० किमि उत्तरतिर पर्दोरहेछ । मलाई भने काठमाडौंबाट त्रिशूली गएझैं लाग्दै थियो । बसमा निदाएछु । व्युझँदा सुजाताको स्वर कानमा पर्यो । उनी भन्दै थिइन, ‘हामी तराईबाट भित्री मधेस हुँदै गाईघाटतिर जाँदै छौं ।’ कोही भन्दै थिए, ‘हामी चुलाचुलीबाट उँभो लाग्दै छौं ।’
संसारका सातौं आश्चर्यमध्ये एउटा महान् पर्खालतिर बढ्नेक्रममा चाङ्नाले नेतृत्व लिई । उसले पहेँलो रंगको टोलीको झन्डा फहराउँदै अगाडि बढी । उसले महान् पर्खालको परिचय गराउने र उसको चिनियाँ भाषालाई फिनिक्सले अंग्रेजीमा अनुवाद गर्नेक्रम चलिरहन्थ्यो । म खानेकुराको झोलासहित उसको पछाडि लागें । महेन्द्र विष्टले “माओकी नातिनी रहिछे । अनिलजीलाई पछाडि लगाएकी छे । हामी पनि पछाडि लाग्यौं,’ भन्दै थिए । पूर्वाग्रह नराखी सोच्दा जनयुद्धको धारालाई वास्तविक माओको धारासँग जोडेर बुझ्ने गरिन्छ । तर, चीन सरकारले महान् जनयुद्धलाई ‘आतंकवादी गतिविधि’ भनेको थियो । एकजना चिनियाँ कूटनीतिज्ञले त माओवादीले अध्यक्ष माओको नाम बदनाम गरेको भन्दै सरकारको साखुल्ले बनेका थिए । २०६० मा मकवानपुरको साम्तेनडाँडामा सञ्चारमा त्यसो भनेको सुन्दा हामी निराश हुन्थ्यौं । लाग्थ्यो– हाम्रा लागि भोका–नांगा मानिसबाहेक धर्तीमा आफ्नो भन्ने कोही छैन ।
छिङ वंशका राजा छिङ सी हुआङ दिले दक्षिण एसियाको उत्तर–पश्चिम दिशाबाट पेकिङमा शत्रु घुस्न नदिन इसापूर्व २२१ मा यो पर्खाल बनाउन सुरु गरेका थिए । कैयौं वर्ष लगाएर निर्माण गरेको त्यो पर्खाल चन्द्रमाको सतहबाट देखिने एकमात्र मानव संस्कृति हो । सम्राट दिले लामो युद्धबाट दिक्क भएर मरेका सिपाहीको सम्मानमा घोडचढी सिपाही र त्यसबीचमा आफ्नो मूर्ति बनाउन लगाएका थिए । भौगर्भिक उथलपुथलका कारण सयौं वर्ष त मूर्ति जमिनभित्र पुरिएर रहेका थिए । एकजना किसानले इनार खन्नेक्रममा मूर्ति फेलापरेपछि सरकारले उत्खनन गर्दा कैयौं घोडचढीबीचमा सम्राटको मूर्ति भेटियो । त्यो अद्भुत मूर्तिको लस्करलाई ‘टेराकोटा लडाकु’ (Teora Cotta Warlous) भनिन्छ । विश्व सम्पदा सूचीमा संलग्न टेराकोटा संग्रहालयमा भने हामी जान भ्याएनौं ।
हामी महान् पर्खाल चढ्दै थियौं । त्यो आफैंमा महाभारतजस्तो मध्यमखालको पर्वतमाला रहेछ । डाँडामा पर्खाल बनाइएको रहेछ । पूर्व दिशाबाट पर्खालको सुरुङमार्ग हुँदै लोहापथगामिनी पश्चिमतिर हानियो । प्वालबाट सर्प फुत्त निस्केर ठुङ्न खोजेझैं बूढो वाहन कर्कश आवाजसहित धूवाँको कालो अपनवायु छाड्दै, ठसठस कन्दे घर्सिदैं थियो । बेइजिङ वैभवलाई त्यसले चुनौती दिइरहेको थियो ।
लोहापथगामिनी नेपालको जनकपुरदेखि भारतको जयनगरसम्मको लोहापथ गामिनीको दमालीजस्तो लाग्थ्यो । जनकपुर–जयनगर रेलले मैथिली र यसले चिनियाँ भाषा बोल्नु, बुझ्नुबाहेक यिनीहरूबीचमा अरू अन्तर देखिँदैनथ्यो । नाटीकुटी जुम्ल्याहाजस्ता लाग्थे ।
हामी महान् पर्खालको ठाडो सिँढी चढिरहेका थियौं । पसिनाका धारा छुटिरहेका थिए । पूर्वतिरको शिखर ताक्दै अगाडि बढिरहँदा सूर्यनारायण हामीसँग प्रतिस्पर्धा गर्दै टाउका ठुङ्दै पश्चिमतिर हानिँदै थिए । ‘यो घामले पनि आज नेताले भन्दा पनि धेरै हाम्रो टाउकोमा टेक्यो,’ खुइय सुस्केरा हाल्दै सिँढीमा ज्यान फाल्दा तीर्थका आँखा मतिर सोझिएका थिए । ‘यहाँ अर्काको टाउकाको रौं झरिसकेको चाहिँ कसले देख्ने !,’ मैले प्रतिप्रश्न गरें । मैले त्यसो भन्दा उनी तिघ्रा ठट्टाएर हाँस्दै थिए ।
हामी शिखरको बिसौनीमा पुग्दा लथ्रक्क भएका थियौं । केही साथी ठाडो उकालो देखेर फेदीमै बसेछन् । सानो डबलीमा एउटा बूढो भोटेसँग जम्काभेट भयो । ऊ ताइवानी रहेछ । हामीले परिचय दिनासाथ उसले अनौठो मानेर अंग्रेजीमा ‘ओहो ! हिमालयको देश, बुद्धको देश… …,’ भन्यो । उसले हिमालय र बुद्ध जन्मेको देशका रूपमा नेपाललाई चिन्दोरहेछ । आज टोलीका सबैमा विशेष रौनक देखिन्थ्यो ।
टाकुरोबाट फर्केर फेदीका प्रतीक्षालयमा थकाइ मार्दै थियौं । टोलीनेता पूर्वशिक्षामन्त्री माधवप्रसाद पौडेल संविधानसभा–२ को निर्वाचनका बहिष्कारवादीका विषयमा गफिँदै थिए । एकजना भद्र कर्मचारीको छवि बनाएका पौडेलले भने, ‘राजनीति तत्काल लाभ खोज्ने विषय होइन । निरन्तरता चाहिन्छ । मनमोहन र कृष्णप्रसाद भट्टराई सिद्धान्तकार, संगठक केही पनि थिएनन् । निरन्तरताका कारण नेपाली समाजले नेता स्वीका¥यो ।’ उनले गत निर्वाचनको पोयो फुकाउँदै ‘तपाईंले मलाई उदार भन्नुभयो । विषय व्यक्तिमात्र होइन । एक दिन डिल्लीबजारमा बादल, देव गुरुङ र विप्लवसँग भेट ग¥यौं । मैले प्रजिअ, प्रहरी प्रमुख कुन–कुन जिल्लामा के–को लैजाने हो मिलाउन सकिन्छ । दुई मन्त्री तपाईंहरूले भनेको व्यक्ति थप्न सकिन्छ, कांग्रेस र एमाले पार्टी पनि तपाईंहरूलाई सहयोग गर्न तयार छन् । तपाईंहरू जसरी अगाडि बढ्ने भनिरहनुभएको छ । त्यसका लागि पनि चुनावमा जान जरुरी छ । त्यसरी प्रस्ट भनेपछि बादलले ‘सिक्किमीकरणको चुनावमा जान्नौं’ भन्नुभयो । विप्लव र गुरुङ बोल्नु भएन । सदासयताका लागि धन्यवाद भन्दै उठ्नुभयो । हामी धेरै नै आशावादी थियौं । सफल भएनौं, धेरै निराश भयौं,’ भनेका थिए । छलफल चल्दै थियो । त्यतिखेर साथीहरूले बोलाएपछि उनी बाँकी कुरा फेरि गरौंला भन्दै उठे ।
अपराह्न ३ बजे बेइजिङ फर्किसकेका थियौं । साथीहरूले फिनिक्सलाई नेपाली नाम फूलमाया राखिदिएका थिए । फूलमायाको अर्थ के हो ? उनी सोध्दै थिइन् । साथीहरूले पूmलजस्तै प्रिय अर्थात् ‘लभ्ली फ्लावर’ भनेका थिए । ऊ महान् पर्खाल चढ्दै गर्दा त्यो प्रसंगले रोमाञ्चित देखिन्थी । फूलमायाले हामीलाई बचेको समय किनमेल गर्नका लागि एउटा मलमा छोडेकी थिई । अपराह्न ५ बजे सबैजना मूलद्वारमा फर्किसक्नुहोला भनेकी थिई । निर्धारित समयमा वाहनमा आएर बस्यौं । बसको ढोकामा आएर एक वृद्धा नारी भिख माग्दै थिई । मैले समाजवादी माग्नेको फोटो लिएँ । बेइजिङमा आज पहिलोपटक भिखारी देखेको थिएँ । भारतमा माग्नेको छुट्टै संसार छ । भारतमा माग्नु पेसा बनिसकेको छ ।
होटलमा पुग्ने बेला फूलमायाले हामी सबै ६ः३० मा लबीमा भेट्छौं है भनेकी थिई । त्यसपछि आफ्नो खानेकुरा पनि चिनियाँ साथीहरूलाई मात्रै बोकाउने, समयमा कहिल्यै नपुग्ने हाम्रो शैलीबाट रिसाएका क. वाङले रिस लुकाउँदै चिनियाँ भाषामा ‘आज हामी थाकेका छौं । त्यसैले माउ थाई सोमरस पिएर मनोरञ्जन लिनेछौं’ भन्दा तालीले समर्थन पायो । माउ थाई महँगो चिनियाँ मदिरा हो । जुन अध्यक्ष माओलाई मन पर्ने रक्सी भन्ने गरिन्छ ।
लबीमा जम्मा भएर खान गयौं । सुरुमै कमरेड वाङले उथाई दारु निकाले । उनी कामप्रति जति गम्भीर छन् त्यत्तिकै मिलनसार पनि । लाग्छ– नेपाली या अंग्रेजी जानेको भए अथवा हामीले चिनियाँ भाषा बुझ्ने भए कति गफिन्थे होला । उनको लगनशीलताबाट किशोर श्रेष्ठ निकै प्रभावित देखिन्थे । हाम्रो टोलीमा साकाहारी, दारु नखाने, खान नहुने, सर्वभोगी सबैथरी थिए । साथीहरू दारुको गिलास उचाल्दै ‘लङलिभ नेपाल–चाइना रिलेसनसिप’ भन्दै थिए । कोही ‘लासो, लास्सो’ भन्थे । नेपाली भाषा भनेर चिनिने खस भाषामा अंग्रेजी भाषाको ‘चियर्स’ शब्दको पर्यायवाची शब्द नभए पनि तामाङ भाषामा पाइन्छ । ‘लास्सो’ शब्दलाई ‘चियर्स’ शब्दको नेपाली पर्यायवाची शब्दका रूपमा प्रयोग गर्न सकिन्छ । आफूकहाँ केही अभाव भयो भने छिमेकीसँग सापटी लिएजस्तै हो भाषाविज्ञानको नियम पनि अम्मलीको मनोविज्ञान के हुन्छ कुन्नि उनीहरू आफूमात्र सन्तुष्ट हुन सक्दैनन् । खण्डवृष्टि मन पर्दैन उनीहरूलाई । मतिर हेरेर तीर्थ कोइराला भन्दै थिए, ‘माओलाई मन पर्ने दारु नखाने पनि माओवादी हुन्छ ?,’ अर्को टेबलबाट निर्मला आइन् । उनमा सबैलाई आफ्नो योजनामा ढाल्ने कौशलता छ । बहिर्मुखी स्वभावकी उनले भैंसीको पाडोलाई औषधि खुवाउन थालेझैं मुख–मुखमा दारुको गिलास लगाइदिई । मैले हाँस्दै गिलास समातेपछि स्वेच्छाले ‘आज पहिलोपटक सर हाँस्नुभयो, खुसी लाग्यो,’ भनिन् । यत्तिका दिन दारु नखाएकाको हातमा गिलास देखेपछि किशोर श्रेष्ठ दंग पर्दै ‘ल मानें, सञ्चारिका समूह अध्यक्ष भएको त्यसै होइन रहेछ,’ भन्दै थिए । त्यसैबीच कमरेड वाङले स्वचालित स्पीकर लिएर आए । रसरंग बढ्दै थियो । नाच्नमा निर्मला र गाउनमा किशोर श्रेष्ठ अगाडि हुन्थे । किशोर श्रेष्ठले गाए–
“तिमी धरान, म यता चितौन
गाह्रो भयो जिन्दगी बिताउन”
उता निर्मला, स्वेच्छा, वाङ, छिङ, पाई ची, फिनिक्स सबै–सबै नाच्दै थिए । क. वाङ र क. छिङले चिनियाँ भाषामा गीत गाए । क. वाङको स्वर पनि निकै कर्णप्रिय लाग्यो । सौन्दर्य आँखामा भन्दा धेरै भावनामा हुँदोरहेछ । किशोर श्रेष्ठले नै अर्को संवेदनशील गीत गाए–
“नौ लाख तारा उदाए धर्तीको आकाश हाँसेछ
शरद लाग्यो वनमा फूलले पिरती गाँसेछ ।
नजली यहाँ झिलिली मनको तार निभेछ
गुराँस फूलयो पहाडमा मनको पूmल झरेछ ।
नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको
काँडाकै माझ पहाडी फूल छैन र कहाँ हाँसेको ।
सुनको सपना आँसुमा किन हो बाँधिल्यायौं नि
मनको आगो निभाउन किन पो यहाँ आयौ नि ।
मुटुको रगत एउटै हो पीरको बह बेग्लै छ
हामीलाई यहाँ चिन्यौं के मनको चोट बेग्लै छ ।
नियाली हेर हामीलाई भिजेको छैन परेला
आँसुको गह भिजाए अरूले निर्धो सम्झेला ।
बुझ्छ र कल्ले रोएको मुटुमा काँडा लिएर
अरूको सारमा हाँसेको आँसुका घुट्का पिएर ।
पहाडी फूल नफूली किन पो चुँडिल्यायौ नि
घरको माया बिर्सेर किन पो यहाँ आयौ नि ।
प्रत्यक्ष रूपमा पर्गेल्दा यो गीतले दार्जिलिङ क्षेत्रको कथा, व्यथा, पीडा बोलेको छ । तर, परोक्ष रूपले दार्जिलिङको घर नेपाल भनिएको छ । दार्जिलिङको सामिप्यता दिल्लीसँग नभएर काठमाडौंसँग रहेको यर्थाथ प्रकट गरिएको छ । दार्जिलिङ जिल्ला कहिल्यै भारतको थिएन । सुगौली सन्धिमा अंग्रेजले नेपालबाट खोसेर सिक्किमे राजालाई दिएको थियो । त्यसको केही समयपछि पुनः अंग्रेज आफैंले लियो । सन् १९४७ मा भारत र पाकिस्तान स्वतन्त्र भएपछि चार दिनसम्म दार्जिलिङमा कसैको झन्डा फहराएन । कसको मातहत रहने भन्ने बहस चलिरह्यो । केही दिन पाकिस्तानको झन्डा फहरायो । ढल्न लागेका राणाले हकदाबी गरेनन् । त्यसपछि भारतीय सेनाले नियन्त्रणमा लियो । दार्जिलिङको नागरिक समाजका अगुवा काठमाडौं आएर हकदाबी गर्न अनुनय–विनय गरे । तर, राष्ट्रघाती शासकले सुनेनन् ।
त्यो पीडालाई कवि अगमसिंह गिरीले ‘नौ लाख तारा’ शीर्षकमा प्रकाशित, प्रसारित गरेका थिए । त्यो गीतको लोकप्रियताबाट त्रसित भारतले गीतमाथि प्रतिबन्ध लगाएको थियो । २०४० पुस ८ गते गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले दार्जिलिङका जनता नेपालकै भएकाले राजाले उचित कदम चाल्नुपर्ने भन्दै वीरेन्द्रसमक्ष बिन्तिपत्र चढाएका थिए । तर, उनीहरूको स्वतन्त्रताको चाहना कसैले सुनेनन् । उनीहरू पटक–पटक उठेका छन् । भर्याङ बनाइएका छन् । लुटपाट, बलात्कार, हत्या भएको छ । धोका दोहोरिइरहेको छ । त्यसैले उनीहरू गाउन बाध्य छन्–
“भाले धेरै चोटि बासिसक्यो भनिदिनुहोला
हामीलाई हाम्रै नेताले बेचिसक्यो भनिदिनुहोला
हाम्रो घरको भित्तो डाँको छोडेर रोइरहेको छ भनिदिनुहोला ।”
सधैंभन्दा अलि अबेर होटल फक्र्यौं । आजको दिन भ्रमणको उत्कर्ष भयो । अध्यक्ष माओसँगको सामिप्यताबोध र चीनको महान् पर्खालको अवलोकन जीवनका अविस्मरणीय क्षण हुनेछन् । आजको रात्रिजीवन पनि रोचक रह्यो ।
रेनमिन विश्वविद्यालय बेइजिङ
२०७१ असार १/२०१४ जुन १४