मासु नखाई बाँच्न सकिन्छ, बाँसविना कठिन



मान्यवर मेयरज्यू

असार रोपेर मंसिरे फलाउने हतारोबीच चिट्ठी लेख्दै छु । यस्तो हतारोमै चिट्ठी किन लेख्नुपर्यो भन्ठान्नुहोला । यो चिट्ठी यतिबेलै लेख्नुको औचित्य प्रस्ट पार्दै छु ।

हलेसी तुवाचुङ नगरपालिकावासी किसानले खेतबारीमा पसिनाको गीत गाउँदै गरेको तपाईंले सुन्नुभएकै छ । देख्नुभएको पनि छ । पसिनाको गीत गाउँदै असार रोप्नुको आनन्द मंसिर फलाएपछि अनुभूत गर्न सकिन्छ ।

जीविकोपार्जन गर्ने उपक्रममा खेतीपाती गर्नु परम्परागत निरन्तरता हो । हामीले त्यो निरन्तरतालाई क्रमभंग गर्न सकेका छैनौं ।अपवादबाहेक खेतीपाती गर्ने परिपाटी पनि परम्परागतै छ । हामीले मकै, धान, कोदो, फापर, गहत, बदाम, कपास आदि खेती गर्छौं । स्थानविशेषमा विभिन्न प्रजातिका तरकारी र फलफूल खेती गर्दै आएका छौं ।

त्यसबाहेक पनि हामीले खेती गर्छाैं । त्यो हो– बाँस । जन्मदेखि मृत्युसम्म चाहिने बाँस खोलाखोल्सी, भीर, पाखापखेरा र खेर गएका जमिनमा खेती गर्न सकिन्छ । मुन्दुमी वनस्पति बाँस रोपेपछि गोडमेल गरिरहन पर्दैन । पानी पनि चाहिँदैन । थोरैभन्दा थोरै लगानी र मिहिनेतमा खेती गर्न सकिने बाँसको तामा जोगाउनचाहिँ ध्यान दिनैपर्छ । तामा चाँडै बढ्ने भएकाले त्यति धेरै सकस पनि पर्दैन । बाँस हुर्काएको पाँच/सात वर्षपछि आम्दानीको गतिलो स्रोत बन्न सक्छ ।

तर, यसको व्यावसायिक खेती गर्न सकिएको छैन । कसैको ध्यान गएको पनि होइन । यसको व्यावसायिक खेती गरेर जीवन परिवर्तन गर्न सकिन्छ भनेर हलेसी तुवाचुङ नगरपालिकाले सन्देश प्रवाह गर्न ढिला गर्नुहुँदैन । आर्थिक वर्ष २०७९/०८० का लागि नगरसभाले पारित गरेको नीति कार्यक्रम तथा बजेटमा कृषिलाई प्रमुख प्राथमिकतामा राखिएको छ । बाँसलाई पनि त्यसअन्तर्गत समेट्नुहुनेछ ।

मेयर साप

हलेसी तुवाचुङ नगरपालिकाका ११ वटै वडामा बाँस खेती गर्न सकिन्छ । बाँस खेती गर्न इच्छुक नगरवासीलाई निःशुल्क बिरुवा उपलब्ध गराउनुपर्छ । नगरले ११ वटै वडाका वडाध्यक्ष, जनप्रतिनिधि र कृषक समूहसँग सहकार्य गरेर यो काम सजिलै गर्न सक्छ । ३० मिटरसम्मको उचाइ हुने बाँसका केही खेर जाँदैन । बहुउपयोगी बाँसबाट डोको, डालो, मान्द्रो, भकारी, चित्रा, नाङ्लो, थुन्सेलगायत बनाउन सकिन्छ । बाँसबाट कागजसमेत उत्पादन गरिन्छ । बाँसका सामान भुइँमान्छेले समेत सजिलै उपभोग गर्न सक्छन् । अस्थायी घरटहरा निर्माण गर्न त्यत्तिकै उपयोगी बाँसको तामाको अचार र तरकारी बनाइन्छ । गाई, भैंसी र बाख्राका पाठालाई बाँसघाँस त्यत्तिकै पोषिलो मानिन्छ । बाँसघाँस खाएका बस्तुले दूध धेरै दिने र घ्यु पनि धेरै लाग्ने पशुपालनमा लागेका अनुभवी किसानले स्वीकारेका छन् । बाँसबाट हलो र ढिकीमात्रै बनाउन सकिँदैन, त्यसबाहेक नहुने र नबन्ने चीज केही छैन ।

भूक्षय रोक्ने गतिलो माध्यमका रूपमा बाँस रोपिन्छन् । बाँसका जरा बाक्लो, फराकिलो र गहिराइसम्म पुग्ने भएकाले माटो समातेर राख्नुका साथै माटो बगेर जान रोक्ने बाँसमै पीएचडी गरेका डा. अन्नपूर्णानन्द दासको भनाइ छ । एसियाली धेरैजसो मुलुकमा भूस्खलन रोक्न बाँस वरदान साबित भएको छ । बाँस छिटो हुर्कन्छ । यो वर्षाैं सुक्दैन । त्यसैले माटोलाई बाँधेर राखिराख्छ ।

बाँसलाई गरिबको काठ भनेर चिनिन्छ । यो धनी बन्ने आड पनि हो । यसको महत्व अथ्र्याउँदै चिनियाँ कवि सुसीले भनेका छन्, ‘तिमी मासु नखाई बाँच्न सक्छौ । तर, बाँसविना बाँच्न सक्दैनौं ।’ हो, बाँसविना बाँच्न नसकिने सन्देश नगरवासी किसानलाई सुनाउनमात्रै होइन, अनुभूति गराएर बाँस खेती गर्न उत्साहित गराउनैपर्छ । बाँसलाई स्थानीय सीप र समृद्धिसँग जोड्न सक्नुपर्छ । बाँस खेती गर्नेलाई अनुदान दिएर उत्साहित गराउनुपर्छ । वर्षौंदेखि बाँझिएका जमिनमा बाँस खेती गर्न उक्साउनुपर्छ ।

बाँस सहयोगी र उपयोगी वनस्पति हो भनेर धेरैलाई थाहा भए पनि व्यवहारमा लागू गरिएको पाइँदैन । यसलाई प्रत्येक क्षेत्रमा जनजीवनसँग अर्थपूर्ण तरिकाले जोड्न नसकिएकाले त्यस्तो भएको हुन सक्छ । संसारभरि १ हजार ४ सय प्रजातिका बाँस पाइने भए पनि ५ सय प्रजातिका मात्रै व्यावसायिक खेती गरिन्छन् ।

मेयरज्यू

चीनमा बाँसबारे अध्ययन गर्ने विश्वविद्यालय सञ्चालनमा आएको थुप्रै भइसकेको छ । नेपालमा क्याम्पस त के स्कुलसमेत खुलेको छैन । बाँससम्बन्धी अध्ययन अनुसन्धान गर्न इच्छुकलाई हलेसी तुवाचुङ नगरपालिकामा अध्ययन केन्द्र स्थापना गर्न सके पलासको फूलमा सुगन्ध भेटेसरह हुनेछ । स्थानीय पाठ्यक्रममा बहुउपयोगी बाँस खेतीबारे समेट्नैपर्छ । स्थानीय सरकारमार्फत बाँसबारे जनचेतना फैलाउन पाए लाख हुने थियो ।

चीनमा बाँसबाट ‘बियर’ उत्पादन गरिन्छ । बाँसबाट उत्पादित बियर खाएर फर्केका नेपाली जीवितै छन् । नेपालमा पनि बाँसबाट बियर उत्पादन गर्न नसकिने होइन । बाँस बेचेरै आम्दानी गर्न सकिन्छ । हिजोआज बाँस किन्न फाट्टफुट्ट गाउँ पुग्नेहरू देखिन थालेका छन् । सहर–बजारमा बाँसको माग ह्वात्तै बढेको छ । आकर्षक सजावटसहितका होटल, रेष्टुरेन्ट बनाउन बाँसै रोज्न थालिएको छ । तसर्थ, बाँस खेती गरेर उँभो लाग्न कुनै आइतबार पर्खिरहनुहुँदैन ।

यो चिट्ठी लेखिरहँदा बाँस रोप्ने मौसम पनि हो ।

उही तपाईंको नगरवासी ।

प्रतिक्रिया दिनुहोस्