त्यतिबेला पानी बोकेर हिँड्ने चलन थिएन । जहाँ पानी भेट्यो, त्यहीं खाइन्थ्यो । कुवा भेटे घोप्टो परेर पानी खानुपथ्र्यो । धारा भेटे, दुई हात जोडेर तिर्खा मेटिन्थ्यो । त्यतिबेलाको समय नै त्यस्तै । ‘मिनरल वाटर’ गाउँ पसिसकेको थिएन । पानी मागेर खान लाज लाग्थ्यो ।
घरबाहिर निस्केपछि सबैको अवस्था उस्तै । जहाँ भेट्यो, त्यहीं पानी खानुपर्ने बाध्यता । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटे खोटाङनिवासी नयनकुमार राई ‘आध्यात्मिक गुरु’को पानीकथा स्मरणयोग्य छ ।
‘घरमा बासी भात भुटेर खान्थें । गाउँघरमा बिहान ११ बजेपछि मात्रै तातो भात खान पाइन्थ्यो । बिहानै घरबाहिर हिँड्नेले तातो भात खान कहाँ पाउनु ?,’ आध्यात्मिक गुरुले विगत सम्झे, ‘चिउरीको तेलमा बासी भात भुट्यो । खायो । अनि दिक्तेल हिँड्थे । घरबाट हिँडेपछि मार्से गैरा (हिजोआज बयानसिं राईको घरभन्दा तलको खोप्ला, हामी बिसाउनेखोला भन्थ्यौं)मा पानी खान्थें । घरबाट १५ मिनेटमा बिसाउनेखोला पुग्थें । त्यहाँ पुगेपछि तिर्खा लाग्थ्यो । बासी भात भुट्दा नुन अलि–अलि कडा हुन्थ्यो । तिर्खा लागिहाल्थ्यो । अलि–अलि पसिना पनि आउँथ्यो ।’
त्यसपछि ?
‘दोस्रोपटक सेलुवाखोलाको पानी खान्थें । त्यहाँको पानी असाध्यै मीठो लाग्थ्यो,’ उनले बेलिविस्तार लगाए, ‘त्यसपछि ऐंसेलुखर्क (भन्ज्याङ) हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको धाराको पानी खान्थें । त्यो लोचाको पानी थियो । लेकको पानी मीठो हुन्छ भन्ने लोभले नै पानी खान्थेें ।’
त्यहाँबाट काभ्रे पुग्न धेरै लाग्दैनथ्यो । ‘काभ्रेमा पनि पानी खान्थें । कहिलेकाहीं खाइँदैनथ्यो,’ उनले सम्झे, ‘त्यसपछि बिजुलेमा पानी खान्थें । बिजुलेपछि खिल्कु (दिक्तेल रूपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकाको सीमा)मा रहेको ढुंगेधाराको पानी खान्थें ।’
पानी स्वास्थ्यका लागि लाभदायी हुन्छ भन्ने त्यति थाहा थिएन । तिर्खा मेट्नकै लागि पानी खाइन्थ्यो । ‘खिल्कुको पानी खाएपछि नुनथला सिरानको पानी नखाने कुरै भएन । लगत्तै हुर्लुङमा पनि पानी खान्थें,’ उनले सुनाए, ‘त्यसपछि विचारी तामाङको घर मुढे या दिक्तेल क्याम्पसको भित्तामा पानी खान्थें ।’
दिक्तेलबाट फर्कंदा पनि त्यसरी नै पानी खाएको समाजसेवी तथा आध्यात्मिक गुरु नयनकुमार राईले बिर्सेका छैनन् । समाजसेवी राईको जस्तै पानीकथा धेरैको हुनुपर्छ । तपाईंसँग पनि यस्ता कथा छन् भने [email protected] मा लेखिपठाउनुस् नै है ।