सेतो सारी नै ‘अपरिहार्य’ बनेको शरीरमा रातो रगत किन ?


पसलमा धेरै थरीका ग्राहक आउँछन् । किनमेलकै क्रममा धेरै कुराकानी पनि हुन्छन् । व्यापार आफ्नो ठाउँमा छ । बोलीचाली अनि ग्राहकसँगको सम्बन्ध साँच्चिकै मीठो हुन्छ । मान्छेअनुसारको हुन्छ, लुगा लगाउने तरिका । आफ्नो रोजाइका लुगा कसलाई मनपर्दैन र ? रहर भन्ने कुरा अचम्मको हुन्छ । आफ्नो रहर पूरा गर्न पाउँदा मान्छेको मन प्रफुल्ल हुन्छ ।

जसरी पनि आफू राम्री देखिनुपर्यो । कोही आफूलाई मन पर्ने लगाउँछन् । कोही आफ्नो श्रीमान्लाई मन पर्ने लगाउँछन् । कोही आफ्नो साथीलाई सोधेर मलाई कस्तो देखियो भन त ? भनेर साथीले सुहाएको छ भनेपछि मात्रै लिन्छन् भने कोही मलाई नै सोध्छन् । मलाई कुन राम्रो देखिन्छ ? म हजुरले भनेको लिन्छु, भन्छन् । यति अधिकार पाइसकेपछि म पनि उनलाई सुहाउने मलाई मन परेको लुगा दिन्छु ।

मेरो दिनचर्या यसरी नै बित्छ कर्मथलोमा । धेरै थरीका महिलासँगको सम्पर्कमा रहने पेसा मेरो । साँच्चिकै मलाई केटी मान्छे असाध्यै मन पर्छ । एकछिनको बसाइ पनि साह्रै रमाइलो हुन्छ । सुख–दुःखका कुरा पनि हुन्छन् । रमाइलो लाग्छ । अनि सोच्छु– महिला कति भाग्यमानी । यति राम्रा–राम्रा लुगा लगाउन पाउने । महिलाको तुलनामा पुरुषका लुगाको खासै धेरै ‘भेराइटी’ देख्दिनँ ।

प्रकृतिको सुन्दर रचना नारी आफैंमा कति राम्रा । दिनप्रतिदिन नयाँ–नयाँ फेसन शृंगारले महिलाको सुन्दरता अझै निखारिँदै गएको छ । बजारमा देखिने झिलिमिलीमा ९० प्रतिशत सामान महिलाकै हुन्छन् । पुराना कथामा पनि नारीको सुन्दरताको वर्णन धेरै गरिएका हुन्छन् । फूलले आफूलाई सिँगार्ने नारी आजको युगमा धेरै फड्को मारिसके । सुन्दर हुन मन नपराउने नारी विरलै हुन्छन् ।

फेरि पसलकै प्रसंग जोडें । एकजना महिला ग्राहक आइन् । अनि सर्सती सबै लुगा हेर्दा उनको आँखा टक्क उज्यालो सेतो रङको कुर्था–सुरुवालमा रोकियो । मैले खोलेर देखाइदिएँ । साह्रै मन पराइन् । मन परेको लुगा देखेर होला अनुहार पनि लुगाजस्तै चमक्क चम्कियो ।

हजुरलाई यो लुगा असाध्यै सुहाउँछ लिँदा हुन्छ भनें । अनि अलिकति रातो मिसिएको भए हुने सेतै भो । मलाई सेतो रङ असाध्यै मन पर्छ । तर…. ।

म अवाक् भएँ । रङमा के आपत्ति छ ? लगाउँदा हुन्छ आफूलाई मन परेको रङ । उनले त्यो सेतो कुर्था–सुरुवाल नहेरी अरू नै रङको अलिकति रातो मिसिएको लुगा लिइन् । मैले हेरिरहें ।

त्यस्तै अरू आउँछन् । मान्छे राम्री, हँसिली । कुराकानीकै क्रममा थाहा भयो उनको श्रीमान्को दुर्घटनामा मृत्यु भएको रहेछ । दुःख लाग्यो । उज्यालो रङ मनपराउने उनी आफूलाई मन पर्ने रङ रोज्न हिच्किचाइन् । धेरै दिन भएको छैन, मान्छेले के भन्छन् ? म सोचमग्न भएँ ।

त्यस्तै अर्को–

अकालमा श्रीमान्को मृत्यु हुन्छ । स–साना केटाकेटी छन् । आफ्नो उमेर त्यही २७/२८ वर्षको होला । कति ठूलो वज्रपात । आँगनमा शव हुन्छ । मान्छेको ओइरो लागेको छ । पार्टीका मान्छे आउँछन् । झन्डा ओडाउँछन् । मौन धारण गर्छन् ।

एउटा मान्छेको आवाज सुनिन्छ । अब अन्तिम संस्कारको बेला भयो । चुरा, पोते, सिन्दुर ल्याएर शवमा चढाउनुहोस् । म झसंग हुन्छु । एउटा कुनाबाट हेरिरहेकी थिएँ । त्यहाँ उपस्थित पार्टीका नेतृत्वगण, जसले समाज परिवर्तनका कुरा गर्छन् । तर……. ।

कसैले पनि भन्न सकेनन् कि यसरी चुरा, पोते, सिन्दुर शवमा चढाउनुपर्दैन । यो कुसंस्कार हो । सतीप्रथा अझै पनि कायमै भएको अनुभूति भयो । त्यो दिनभर मेरो मनमा धेरै कुरा आए । एउटा मन परेको रङ लगाउन नसक्ने नारी । अर्की समाजले लादेको कुसंस्कार चुपचाप जे गर भन्छन्, त्यही गर्ने अबला नारी ।.

आफ्नो प्यारो मान्छेसँगै आफ्ना रहर, इच्छा सबै शवमा चढाउन बाध्य एक निर्दोष नारी । श्रीमान्को मृत्युपश्चात्, यो गर्न हुन्छ, त्यो गर्न हुन्न भनी सिकाउने समाज । पाप लाग्छ ! यो सिसाको चुरा कहिले बनेको होला ? यो पोते कहिले कहाँ बनेको होला ? यो रङको आविस्ष्कार कहिले भएको होला ? यो सिन्दुर, टीका कहिले बनेको होला ? मेरो मन बेचैनी भयो ।

मैले धेरै सोचें । सिसाको चुरा त अहिलेसम्म नेपालमा बनेकै छैन होला । बर्सेनि कति अरबको चुरा आयात भएको समाचारमा सुन्छु । आफ्नो प्यारो मान्छेसँगको सम्बन्धलाई यो चुरा, पोते र रातो रङले किन जोडेको छ ? कसले बनायो यो नियम ? यदि भगवान्ले बनाएको नियम भए पतिको मृत्युपछि शरीरमा बगेको रातो रगत पनि सेतो हुनुपर्ने ?

बाहिरी आवरण सेतो । शरीरभित्रको रगत रातो किन ?

स–साना कुरामा खुसी हुने, अरूको खुसीलाई जीवन समर्पित गर्ने नारीलाई आफू रमाउने र खुसी हुने अधिकार किन छैन ? कसले रोकेको छ ? मान्छेको जीवन कर्कलाको पानी हो । पतिपत्नी एक रथका दुई पाङ्ग्रा हुन् । समान नियम किन लागू हुँदैन ? मृत्यु भनेको अन्तिम सत्य हो । यो कतिखेर कसको हुन्छ ? कसैलाई थाहा हुँदैन ।

समाजमा अबला नारीबारेमा पतिको मृत्युपछि नचाहिँदो विषयमा चर्चा परिचर्चा हुने गर्छ । अझै भनौं चर्चा गर्नै नपर्ने विषय कस्तो लगाई ? के लगाई ? खुसी छ कि दुःखी छ ? अनि साह्रै नराम्रो त उनलाई गरिने व्यवहार र हेर्ने दृष्टिकोण आदि–इत्यादि । यसलाई म अज्ञानता भनुँ कि हेपाहा प्रवृत्ति ?

आधा अंग अर्थात् अर्धाङ्गिनी । ल नियमकै कुरा गरौं, पत्नीको वियोगमा जुन नियम पतिलाई लागू हुन्छ । त्यही नियम पतिको वियोगमा पत्नीलाई पनि लागू हुनुपर्छ । घरधन्दा चलाउन साह्रै गाह्रो भयो । अब त अर्को बिहे गर्नुपर्छ भनेर पत्नी मरेको एक महिना नबित्दै घरजम गरेका उदाहरण पनि धेरै छन्, हाम्रो समाजमा । महिलाविना एकछिन बाँच्न नसक्ने पुरुष ।

पत्नी मरेको बेलामा पतिलाई मलामी पनि लैजाँदैनन् । किनभने अर्को बिहे गर्नुपर्छ भनेर । पत्नी मरेकै दिन पतिलाई बाटो खुलाइदिन्छ समाजले अर्को बिहे गर्नुपर्छ भनेर । तर, पति मरेपछि पत्नीको जीवन जिउँदै मरेतुल्य बनाइदिन्छ्न् बेरङ्गी । हो, यही नियम महिलामा पनि लागू हुनुपर्छ । कति गाह्रो हुन्छ आफ्नो प्यारो मान्छेको वियोग । त्यसमाथि नचाहिँदा कुसंस्कार थोपरेर । आफ्ना इच्छा चाहनालाई मारेर उराठ जिन्दगी जिउनुपर्ने यो कस्तो नियम हो ?

नचाहिने विनाप्रमाण र विनातुकका नियमले अहिले पनि यो समाजले महिलालाई जिउँदै जलाइरहेको छ । दुःख आफ्नो ठाउँमा छ । त्यसमै पनि हाम्रो दैनिक चलिरहेको हुन्छ । यसमा आफूले लगाइरहेको सामानसँग श्रीमान्को मृत्युको कुनै सम्बन्ध छैन । बिहे हुनुअघि पनि शृंगारका सामान लगाइरहेकै हुन्छन् धेरैजसो सामान । बिहेमा अलि धेरै राम्री देखिन अलि बढी नै लगाइएको मात्रै हो ।

सुख–दुःख आत्मसात् गर्दै आफूखुसी बाँच्न पाउनु मान्छेको नैसर्गिक अधिकार हो । कसैको जीवनलाई लिएर अनावश्यक हस्तक्षेप गर्नु जघन्य अपराध हो । मानवताविरोधी कार्य हो ।

प्रतिक्रिया दिनुहोस्