त्यसपछि आपासँग कटारी कहिल्यै झरिनँ


तिर्खाले भुतुक्कै पार्यो नर्सिङ्गेमा । पानी छोडियो बरपानीमा । प्यास मेट्नु न्याउलीखोप पुग्नुपर्छ । धाराको सफा पानीका लागि राउतखर्क उक्लिनुपर्छ ।

पसिनाले लपक्कै भिजेको छ, खाँडीको भोटो । महाभारत डाँडाको शीतल हावाले चिसोचिसो हुन थालेको छ, पसिनाले भिजेको भोटो । महाभारत डाँडा भएर कटारी झर्नुपर्छ । हलेसी उक्लिनुपर्छ । छिचोल्नुपर्ने थुप्रै डाँडामध्ये सबैभन्दा अग्लो डाँडा यही हो ।

खाना खाएर हिँड्ने बेला दाइले इसारा गरे, ‘अब बिसाउनु राउतखर्क, बूढाहरू त्यहीं भेट्नुपर्छ ।’ टाउको हल्लाएर हुन्छ भनें । मनले चाहिँ यसो भनिपठायो, ‘बूढा हिँडिरहन्छ, पछि–पछि हिँडिन्छ । बाटोमा सुटुक्कै बिसाइन्छ । एक बिसाउनी कसो छुट नपाइएला ?’

नर्सिङगे फेदीबाट राउतखर्क तीन बिसाउनी हो । हिँड्न गाह्रो भइरहेको थियो । नहिँडी पुगिन्न । हिँड्नु छ, हरेशलाग्दो रुखोडाँडा । बलु दाइ अघि–अघि म पछि–पछि । टेकाउँदै पछ्याउँदै । टेकाउँदै पछ्याउँदै गरिरहेको थिएँ । बूढोले पनि छोडिपठाए । म एक्लै भएँ महाभारत डाँडा तेर्सो ।

मध्यदिउँसोको घाम । घामले ठहरै पारेको छ । ओरालो–ओरालो हिँडेपछि न्याउलीखोप आइपुगिन्छ । सानो भन्ज्याङ काटेपछि न्याउलीखोप झरिन्छ । कटारीतिर फर्केर भन्ज्याङमा टेकाएँ । धेरै तल, धेरै पर कटारी बजार सानो देखें । दुखिरहेको मुन्टो । मुन्टो बटारेर राउतखर्कतिर हेरें ।

मनमनै भनें, ‘कटारीदेखि महाभारतसम्म, यत्रो उकालीओराली । दुई दिनको बाटो । म फुच्चेले कसरी छिचोलें ? भारी बोकेर महाभारत डाँडामाथि कसरी आइपुगें ? भीरको बाटो कसरी जितें ? उकालो बाटो कसरी जितें ? भोकलाई कसरी जितें ?’ छक्क परें । आतेस पनि लायो ।
टेकामा भारी टेकाएर उँधो कटारीतिर हेर्दै सोचें, ‘जाँठा, फेरि फिरेर कटारी झर्नु नपरोस् ।’ बलु दाइलाई पछ्याउनु छ । बूढाहरूलाई भेट्नु छ । सानो भन्ज्याङबाट उँधो न्याउलीखोपतिर झर्दा खुट्टा दुख्यो । पसिनाले चप्पल चिप्लिन थाल्यो । खुट्टाले फिटिफिटी भुँइको फुको माटो हालें । एकछिनपछि फेरि त्यस्तै । चप्पल चिप्लन छाडेन । खुट्टाको औंलाले चप्पलको टुना टिपें । हातमा झुन्ड्याएँ । चप्पल झुन्ड्याएर राउतखर्क आइपुगें ।

बलु दाइ मेरो बाटो हेरेर बसिरहेका थिए । उनले हातले इसारा गरे, ‘बूढाहरू गए, आज सोरुङ दोभान पुग्नुपर्ने अरे ।’ मलाई देखेपछि बलु दाइले पनि भारी उठाएर हिँडे । उनले सोचे होलान्, ‘बस्तुभाउ हिँडाउनु पछडिबाट लखेटेर, मानिस हिँडाउनु अगाडिबाट लखेटेर ।’

म बिसाएँ । बलु दाइ हिँडे । राउतखर्कबाट तेर्सो हिँडेपछि जोगीगाउँ आइपुगिन्छ । अर्थात् जोगिसेडाँडा । असोज कात्तिकमा अधाराततिर घरघरै जोगीले शङ्ख फुकेको आवाज कानभित्रै बजिरहेजस्तै लाग्यो । कटारी झर्दा बूढाहरूले सुनाएका थिए, ‘हाम्रोमा राति शङ्ख फुक्ने जोगीको घर यही हो ।’ हाम्रोतिर शङ्ख फुक्ने जोगीको घर पनि हेरियो । बलु दाइ त्यतैतिर पुगेपछि म भारी टिपेर पछ्याएँ ।

बूढाहरू राउतखर्कदेखि दहीबूढाको घर अर्थात् लिम्पाटार पुछार बिसाउन पुग्थे । त्यो बूढाहरूको बिसाउने जक्सन हो । ‘बास बस्न पुग्नु छ सोरुङ दोभान । बूढाहरू हतारिन सक्छन्,’ मनले भन्यो ।

सोरुङ दोभान सुरुदेखि नै रमाइलो लागेको ठाउँ । कटारी झर्दा, कटारीबाट फिर्दा यहाँ बास नपरे पनि यहाँको सुगुँरको मासु किनेर बोकिन्थ्यो । यहाँ तीनतले बोसो भएको मासु पाइन्थ्यो । साह्रै मीठो । आज त यहीं बास बसिने भइयो । मन साह्रै खुसी हुँदै लिम्पाटार ओरालो झरें ।

लिम्पाटार सिरानबाट तल्लो लिम्पटार हेरें । बूढाहरू लिम्पाटार तेर्साे लहरै हिँडिरहेको देखें । बलु दाइ पनि पछि–पछि पछ्याउँदै थिए । आज निकै हतारले हिँडिएछ । बोबोलामा खाना खाएर सिन्दुरेबेंसी मात्र पुगिने हो । तर, आज बूढाहरूलाई हतारिए । सोरुङ दोभान पुग्नु छ । सोरुङ दोभान आफ्नै ठाउँ ठान्थे बूढाहरू । चिनेजानेकै ठाउँ हो । रात–साँझ पुग्दा पनि दोभानले चिन्छ । अप्ठेरो छैन । तर, खोलाहरू उज्यालोमै तरेको राम्रो । सोरुङखोलामा मरुवाखोलाभन्दा धेरै जँघार छन् । रात–साँझ तरिजानु छ ।

दहीबूढोको घरमा झर्दा बूढाहरू हिँडिसकेछन् । एकछिन मात्र बिसाएछन् । बलु दाइ पनि म झरिपुगेपछि हिँडे । मनमा सोचें, ‘त्यहाँबाट सिन्दुरेबेंसी एक बिसाउनी बनाउने भएछन् ।’ म पनि एकैछिन बिसाएँ । त्यसपछि ओरालिएँ । भारीले थिचेर मुन्टो दुख्न थाल्यो । खुट्टा दुखिरहेकै थियो ।

ओरालो मसँग एक्लो भएको छ । म पनि एक्लो भएको छु । मानिसको ओहोरदोहोर पातलिएको छ । ‘कसरी बाँझेगाउँ ओरालो हुँदै सिन्दुरेबेंसी पुग्नु ? कतिबेला पुगिन्छ सोरुङ दोभान ?’

हलेसीबाट बाँझेगाउँ एक दिनको बाटो हो । बाँझे ओरालो लाग्ने बेला भयो । पहिलोपटक आपासँग कटारी झर्दा बाँझेमा बास बसेको सम्झें । भुँइमा सुतेर ओढ्नीचाहिँ पाखामा सुकाउनुपरेको थियो । यस्तो हुनुमा आपा खुब रिसाएका थिए मसँग । त्यसपछि आपासँग कटारी कहिल्यै झरिनँ । काबु भएँ ।

कटारी झर्दा सोरुङखोलाको बीच जँघारतिरै दिउँसै खाना खाएका थियौं । परदेश लागेको पहिलोपटक । पहिलोपटक परदेशमा खाना पकाएर खाएको । तीनवटा ढुंगा जोडेर चुला बनाएका थियौं । तरकारी पकाउने अर्कै चुला बनायौं । पाखाबाट दाउरा खोजेर ल्यायौं । एकैछिनमा खाना पकायौं । खायौं । सजिलोका लागि आपाले दिउँसै खाना खुवाएको रहेछ । पानी पनि, दाउरा पनि त्यहीं पाइने । सोरुङखोला तरेपछि खानुको बेटुंगा हुने ।

खाना खाएर हिँड्यौं सिन्दुरेबेंसीतिर । तीन जँघारजति तर्नु बाँकी रहेछ । पहिलो जँघारमै चिप्लें । आपा उठाउन आइपुग्दा म भिजिसकेको थिएँ । चुर्लुम्मै भिज्यो ढाकर । ढाकरको ओढ्ने भिज्यो । आपा खुब रिसाए, ‘अब सुतिस् आज, भिजेको लुगा तंै बोक ।’ आपा बुङबुङ रिसाएर अघि हिँडे । डराउँदै आपालाई पछ्याएँ ।

मैले भिजेको खास्टो निचोरें । आपाले निचोरेको खास्टो ढाकरमाथि फिजाइदिए । म भिजेको खास्टो छाता बनाएर हिँडें । बाटोमा भेटिएका मानिस सबैले हाँसिदिए । मेरो खास्टोको छाता देखेर । मलाई खुब लाजी भयो । पोका पारेर बोक्नु पनि आपाको डर छ । ढाकरमाथि खास्टो फिजाएर सिन्दुरेबेंसी आइपुगें । त्यहाँदेखि लाज लाग्न छाड्यो । राति कसले देख्ने ।

मलाई यहीं बस्न मन छ । आपा भन्छ, ‘बाँझेसम्म हिँड्नुपर्छ । भोलि कटारी पुगेर पनि मरुवाखोलासम्म फिरेर आइपुग्नुपर्छ ।’ रातको जून थियो । हामी दुईजना उक्लियौं सिन्दुरेबेंसीबाट बाँझे उकालो । बाँझे सिरान आइपुगेर तितिरीको फेदमा बोरा र प्लास्टिक ओछ्याएर बास बस्यौं । खास्टोको ओढ्नी पाखामा सुकाएका छौं । राति जाडो भयो । खास्टो कटमेरे भएर सुकेको रहेछ । तानेर सुतेका थियौं ।

खास्टो पाखामा सुकाएर नाङ्गै सुतेको ठाउँमा झरिपुगें । बिसाउनीमा बिसाएँ । यहाँ पनि सानोसानो बिसाउने जक्सन नै हो । थरीथरीका जाँड–रक्सी खान पाइन्छ । जाँड पसल हुन्छ यहाँ ।

माइला दाइ अगाडि बढिसकेछन् । यहाँ पनि भेटिनँ । म पनि झरें हताहतार सिन्दुरेबेंसी । बेंसीमा माइला दाइ भेटें । साँझ पर्न लागेको थियो । सिन्दुरेबेंसीमा बिसाउन जुरेन । माइला दाइ हिँडिहाले । सोरुङखोलामा रात पर्यो भने अभर परिनेछ । यहाँ बास बस्ने घर छैनन् । सिन्दुरेबेंसीबाट बास बस्न एकैचोटि दोभान हो ।

माइला दाइ अघि–अघि । म पछि–पछि । सोरुङखोलाका १२ जँघार मुस्किलले तरियो ।

राति झरिपुगियो सोरुङ दोभान । बोबोलाबाट अगाडि हिँडेका बूढोहरू सोरुङ दोभानमा भेटिए । बूढोहरूले एक बिसौली सुँगुरको मासु किनेर पकाइसकेछन् । पुग्नासाथ काजिम्पाले सुनाए, ‘खैमो भाग छ है ।’

पसलमा ठूलो कराइ मागेर सबैलाई एकैठाउँ पकाएका रहेछन् । पाकेको तरकारी देखेर खुसी भएँ । काजिम्पा बूढाले भने, ‘एकजनाको मासु भागी २०, दाउरापानीमो पाँच/पाँच गरी २५/२५ खाबा छुडा है ।’ हामी दुईजनाको भागी ५० रुपियाँ पुग्यो ।

साइँला बाबैले खुसी हुँदै भने , ‘मासु खपेर खानु एक राम्रो हो ।’

प्रतिक्रिया दिनुहोस्