‘नपुङ्सक स्वर्गको विरुद्ध आगो’ कवितासंग्रह प्रकाशित भएपछि डा. धनप्रसाद सुवेदी ‘श्रमिक’लाई भेट्न लोकन्थली, भक्तपुर जाँदै थिएँ । डा. सुवेदीले भूमिका लेखिदिएकाले कवितासंग्रह उपलब्ध गराउन बालकुमारी (ललितपुर)बाट साइकलमा त्यता जाँदै थिएँ । काठमाडौं र भक्तपुर जोड्न मनोहरा खोलामाथि लगाइएको जडीबुटी पुलमा सामसुङ एक्स आईआईआई मोबाइल सेट खसाएछु । यो संवत् २०७२ चैत ९ गतेको कुरा हो । मोबाइल भेट्ने इमानदार व्यक्तिले लोकन्थली बस स्टपमा मलाई भेटेरै दिँदा पो झस्कें । मोबाइल फिर्ता गरेको खुसियालीमा उनलाई एक प्रति पुस्तक उपहार दिएँ । त्यसपछि सुवेदी सरलाई मातृभूमि स्कुल पुगेर तीन पुस्तक हस्तान्तरण गरें । त्यतिबेला हराएको मोबाइल फिर्ता नपाएको भए मैले लेखेको कविता र आलेख जखम हुने थियो ।
कलंकीको सीता पेट्रोलपम्पमा अपरिचित व्यक्तिले सहोदर साइँला भाइ निश्चल किरातीलाई भनेछन्, ‘भाइ तिमी किन यस्तो फोहोरी काम गर्छाै ? मसँग हिँड । म पर्यटक बोक्ने गाडी चलाउँछु । तिमीलाई तीन महिनामै ड्राइभर बनाउँछु ।’ भाइलाई अपरिचित व्यक्तिको प्रस्ताव मनासिब लाग्यो । कन्स्ट्रक्सन काममा धुुलोमुलो भइन्छ । सिमेन्ट खेलाउँदाको दुःख शब्दमा व्यक्त गर्न कठिन हुन्छ । धुलोमैलोमात्रै होइन, कठिन काम गर्दै आएका भाइले ती अपरिचितको प्रस्ताव ‘ओके’ गरिदिए । ‘तिम्रो मोबाइल ल्याऊ त मेरो नम्बर राखिदिन्छु,’ अपरिचितले भाइलाई आश्वासन दियो, ‘भोलि मलाई कल गरेर आउनू ।’
त्यहींबाट भाइको दशा सुरु भयो । भाइले आफ्नो मोबाइल उसलाई दियो । मोबाइल पाउनसाथ उसले तुरुन्तै अर्को बहाना बनाउँदै भन्यो, ‘भाइ मेरो मोबाइल गाडीमै छाडेछु कि के हो ? तिम्रै मोबाइलबाट फोन गर्दै गाडीमा भएको मेरो मोबाइल लिएर आउँछु । नजिकै छ, यहीं बस्दै गर है ।’ भाइ मोबाइलको पर्खाइमा पर्खेको पख्र्यै । पंक्तिकारचाहिँ भाइलाई ।
जाडो र टाढो नभनी ढुंगेअड्डा प्रगतिटोलमा रहेको रौटहटनिवासी साहिल विकको घरको टायल मार्बलको काम सकेर भक्तपुरको दुवाकोट फर्कंनेक्रममा थियौं । डेढ घन्टा बितिसक्दा पनि भाइ कलंकी चोकको ट्राफिक पोस्टमा आइपुग्दैन । कैयौंपटक कल गर्दा पनि फोन रिसिभ गरेनन् । चोकमा भाइलाई पर्खिरहेको छु । रिसले आगो भएको थिएँ । केही न केही गडबडी भयो कि भन्ने शंका गर्दै सीता पेट्रोलपम्पतिर लागें । कलंकी चोकबाट नैकापतिर फर्केर केही तल पुग्दा भाइ रुनु न हाँस्नु हुँदै आउँदै गरेको देखें । भेट्नेबित्तिकै भाइले वास्तविकता सुनाए । त्यो चोरको मुटु खाने रिस उठेको थियो ।
यो घटना घटेको केही महिनापछि कोरोना–कहर सुरु भयो । त्यसअघि नै दुवाकोट, भक्तपुर छाडेर काठमाडौं स्युचाटारको गौतम गाउँको टहरामा बस्न पुग्यौं । नौलो ठाउँमा ‘एडजस्ट’ हुन असाध्यै चुनौती । कोहीसँग चिनजान थिएन । अञ्जान ठाउँमा ठूलै साहस गरेर सुरुंगा झापाका प्रेम मगरको पहलमा म त्यहाँ पुगेको थिएँ । नौलो सहरको एक गाउँमा मलाई त्यहाँको पानी, बिजुली र माटोसँग चिनजान गर्न कठिनाइ भयो । तर पनि १६ महिना बसियो ।
त्यहाँ सयवटा गिरिराज प्रजातिका कुखुरापालन थालियो । सुरुवाती चरणमा राम्रै थियो । पोथीहरू चार किलोमाथि र भाले पाँचदेखि नौ किलोसम्मको उत्पादन हुन थाल्योे । सयमा तीनवटा मरे । बाँकी रहेकाहरू चार किलोभन्दा माथिकै थिए । त्यसमध्ये सातवटा चोरी भए । चिसो ठाउँको बसाइ । दिनभरिका कठिन कामले लखतरान । त्यसमाथि चिसो मौसममा तातो खाना खाएपछिको निद्रा त्यत्तिकै आनन्दित । यसको फाइदा चोर महोदयले उठाए ।
स्मार्ट मोबाइलदेखि ल्यापटपसम्म चोरी हुँदा हरिकंगाल भइसकेका थियौं । यस्तो लाग्थ्यो– म नाथे गरिबमाथि नै चोर र शत्रु किन लाग्नुपर्ने ? कुखुरा चोरी हुँदा त्यति दुःख लागेन । मैले प्रीति फ्रन्टमा टाइप गरिसकेको सात सय थान कविता र ‘आकाशको चिहान’ नामक उपन्यास लगभग २० हजार शब्द लेखिसकेको थिएँ । चोरले ल्यापटप आफ्नो बनाएपछि मेरो सर्वस्व हरण भएको अनुभूति गरें । थानकोट चेकपोस्टसम्म पुगेर पुलिस केस गरें । निवेदन लिँदै पुलिसले भन्यो, ‘फेलापरेमा सम्पर्क गर्ने छौं ।’ तर, आजसम्म फेलापरेको होइन ।
यसैगरी, ०८१ भदौ दोस्रो हप्ता माउन्टेन ग्रान्डी साइकल चोरकै प्यारो भयो । बौद्ध, महांकाल ओरालोबाट हराएको साइकल भेट्ने आस छैन । चोरलाई थुप्रै बधाई ।