म पनि कम्युनिस्ट



जनवादी गणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सवको अघिल्लो दिन (३० सेप्टेम्बर २०१९) बिहान साढे ८ बजे कक्षा सुरु गर्न लाग्दा विद्यार्थीले भने, ‘गुरुजी, एकैछिन, हाम्रो एउटा कार्यक्रम छ ।’ के कार्यक्रम रहेछ त भनेर मैले उत्सुकतापूर्वक प्रतीक्षा गरें ।

एकजना विद्यार्थी अगाडि आएर चिनियाँ भाषामा खै के भनिन् अनि आफ्नो मोबाइलबाट वीच्याटको सहायतामा डिजिटल बोर्डमा चिनियाँ राष्ट्रिय झन्डा त्यसमुनि चिनियाँ भाषाका केही अक्षरसहितको लोगो पठाइन् र मलाई पनि विद्यार्थीकै लाइनमा बस्न भनिन् । विद्यार्र्थीमध्ये केहीले हसियाँहथौडावाला लोगो लगाए । त्यसपछि अर्की एकजना विद्यार्थी अगाडि गइन् र बोर्डमा लेखिएको कुरा पढिन् । त्यसपछि फोटो खिचे र मलाई ‘गुरुजी, अब पढाउनुहोस्,’ भने ।

मैले पढाइ सुरु गर्नुअघि ‘खै तिमीहरूको कार्यक्रमबारे मलाई नेपालीमा सुनाऊ न त’ भनें । उनीहरूले चीनको ७०औं वार्षिकोत्सवबारे कम्युनिस्ट पार्टीका सदस्यको कार्यक्रम तपाईं बुझ्नुहुन्न भने । मैले फेरि ठट्टा गर्नेपारामा उनीहरूले लगाएको हँसियाहथौडावाला लोगोतिर देखाउँदै भनें, ‘खै त त मलाई त्यो लगाउन दिएनौ ।’ उनीहरूमध्ये एउटीले भनिन्, ‘यो कम्युनिस्ट पार्टीको सदस्यले लगाउने हो, तपाईंले लगाउन हुँदैन ।’

‘म पनि कम्युनिस्ट पार्टीको सदस्य हुँ ।’ मेरो मुखबाट खुस्किसकेको यो कुरालाई मैले जबरजस्ती रोकें र पढाउन थालें । यदि चिनियाँ भाषा राम्रोसँग बोल्न जान्दथें भने म त्यसरी मुखबाट उछिट्टिसकेको कुरा रोक्थिनँ थें होला । तर, कामकुरो एकातिर कुम्लो बोकी … होला भनेर मैले जबरजस्ती आफू पनि कम्प्युनिस्ट पार्टीको सदस्य भएको कुरा बताउन चाहिनँ । त्यतिबेला मलाई भन्न मन लागेको थियो, ‘हेर नानी हो, म पनि कम्युनिस्ट पार्टीको सदस्य हुँ । र, तिमीहरू जन्मिनुभन्दा अघि नै म कम्युनिस्ट पार्टीको सदस्य भएको हुँ । तिमीहरूका नेता माओ त्से तुङ मलाई पनि मन पर्ने कम्युनिस्ट नेता हुन् । तिमीहरूको देशको क्रान्तिको उत्सवमा मलाई पनि खुसी लागेको छ र यो खुसीमा हँसियाहथौडावाला त्यो लोगो लगाएर तिमीहरूसँगै फोटो खिच्न र फेसबुकमा पोस्ट्याउन मन लागेको छ । र अर्को कुरा, तिमीहरूले मुठ्ठी उठाएर लालसलाम गरेको, उठेर एक मिनेट मौनधारण गरेको र ‘अब मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ’ भनेर गीत गाएको देखिनँ । अन्ततिरका कम्युनिस्टहरूमा त्यो परम्परा छ । के तिमीहरूलाई त्यस्तो कम्युनिस्ट संस्कार सिकाएका छैनन् ?’

मैले यसो भनेको भए, मुठ्ठी उठाएर लालसलाम गर्ने, एक मिनेट मौनधारण गर्ने र अन्तर्राष्ट्रिय गीत गाउनेबारेमा के जबाफ दिन्थे होला, म भन्न सक्तिनँ तर म तिमीहरू जन्मिनुअघिदेखि म पनि कम्युनिस्ट पार्टीको सदस्य छु भन्ने कुरामा भने ‘ठीक छ त, गुरुजी हामीभन्दा धेरै जेठो हो नि त’ भन्थे होलान् अनि हँसियाहथौडावाला लोगो लगाउने मेरो चाहनाको जवाफमा चाहिँ उही पहिलेको कुरा दोहोर्याउँथे होलान्, ‘अरू कुरा ठिकै छ तर यो लोगोचाहिँ गुरुजीले लाउन मिल्दैन, किनकि गुरुजी विदेशी हुनुहुन्छ र यो चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यले लगाउने हो ।’

उनीहरूले त्यसो भनेको भए, म भन्थें होला, ‘त्यो लोगो संसारभरिका कम्युनिस्टहरूको हो । अनि म अझै जान्ने पल्टेर भन्थे होला, कम्युनिस्ट पार्टीको सदस्य भनेको कुनै देशविशेषको मात्र हुँदैन, कुनै एउटा देशमा कम्युनिस्ट पार्टी सदस्यता लिइसकेपछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको सदस्य हुन्छ । कम्युनिस्टहरू अन्तर्राष्ट्रियवादी हुन् । एउटा कम्युनिस्ट पार्टीको सदस्यको अन्तिम लक्ष्य भनेको साम्यवाद हो र साम्यवाद भनेको वर्गविहीन, राज्यविहीन र सबैखाले विभेद, शोषण, अन्यायमुक्त संसारको प्राप्ति हो । त्यसैले कम्युनिस्ट पार्टीको सदस्यहरूका लागि स्वदेशी विदेशी भनेर विभेद गर्नुहुँदैन ।’

मैले त्यसरी कम्युनिस्ट विचारको प्रशिक्षण दिन थालेको भए उनीहरूले के भन्थे होलान् ? उनीहरूलाई यस्तो कुरा पढाएको होला कि नहोला ? म भन्न सक्तिनँ । तर, उनीहरू आफ्नो राष्ट्रियता, आफ्नो पार्टी, आफ्ना नेताप्रति पनि अत्यन्तै गर्व गर्छन् भन्ने कुरा भने मलाई थाहा भइसकेको छ । किनकि उनीहरूमध्ये सबैले स्नातक तहमा प्रवेश लिनुअघि सैनिक तालिम गरिसकेका छन्, उनीहरूलाई आफ्नो देश, आफ्नो भाषा, आफ्नो जाति, आफ्नो संस्कृति, आफ्नो इतिहासबारे राम्रोसँग पढिसकेका छन् । निश्चय नै पैसा उनीहरूलाई पनि कमाउनु छ, धनी बन्ने र सुखी जीवन जिउने उनीहरूको सपना छ । तर पनि उनीहरू १९/२० वर्षे किशोरीहरू, पुँजीवादको चरम विकासमा लम्किरहेको मुलुकका बासिन्दा, आधुनिक प्रविधिको विकासमा संसारकै नमुना देशका उपभोक्ता, उपभोक्तावादी संस्कृतिबाट भने विमुख छैन । हाम्रो देशका किशोर र युवाभन्दा फरक यति हो, हाम्रो देशका युवाहरूको सपना युरोप, अमेरिका वा अस्ट्रेलियातिरको ग्रीनकार्ड वा पीआर लिएर धनी र सुखी बन्ने । यहाँको किशोर युवाको सपना स्वदेशभित्रै रहेर धनी र सुखी बन्ने । र अर्को तर मुख्य फरक कुरा नेपाली जनमानसमा आफ्नो देशको नेतृत्वप्रतिको चरम अविश्वास र वितृष्णा छ भने चिनियाँ जनमानसमा त्यसको ठीक उल्टो आफ्नो देशको नेतृत्वप्रति अत्यन्तै विश्वास, भरोसा र आस्था छ । यस्तो अवस्थामा कुरैकुरामा नेपालका कम्युनिस्ट पार्टीबारे उनीहरूले प्रश्न गरे भने मैले के जवाफ दिने होला ? त्यही सोचेर मैले आफ्नो कुरा भन्ने आँट गरिनँ ।

मैले आफू पनि कम्युनिस्ट पार्टीको सदस्य हुँ भन्ने कुरा चिनियाँ विद्यार्थीलाई नभनेर ठीक गरें । यदि मैले त्यो कुरा भन्थें र उनीहरूले नेपालका कम्युनिस्ट पार्टीबारे सोधखोज गर्थे भने म नराम्रो फन्दामा पर्थें । किनकि एकजना शिक्षकका नाताले मैले विद्यार्थीसँग ढाँट्न मिल्दैनथ्यो र नढाँटी भन्नुपर्दा आफैंले आफ्नो हुर्मत लिनुपथ्र्यो । अब नेपालमा कम्युनिस्ट नामको आधादर्जनभन्दा बढी पार्टी छन् भन्नुपथ्र्यो अनि उनीहरूले मेरै कुरालाई लिएर प्रश्न गर्न सक्थे, ‘गुरुजी, तपाईंले भर्खरै संसारभरिका कम्युनिस्ट पार्टी उही हो भन्दै हुनुहुनुथ्यो तर तपाईंकै देशमा त्यति धेरै कम्युनिस्ट पार्टी कुरा त मिलेन ।’ उनीहरूले सोध्न सक्थे, ‘गुरुजी, तपाईंको देशमा कम्युनिस्ट पार्टी पटक–पटक सरकारमा गयो, अहिले पनि केन्द्र, प्रदेश, स्थानीय तीनै तहमा कम्युनिस्टकै सरकार रहेछ तर किन तपार्इंको देशका युवाहरू विदेशमा काम गर्न जान विवश छन् ?’

उनीहरूले सोध्न सक्थे, ‘गुरुजी, तपाईंको देशमा कम्युनिस्ट नेताहरूले निजी स्कुल खोलेर, निजी अस्पताल र मेडिकल कलेज खोलेर जनतासँग चर्को शुल्क उठाउँछन् रे, व्यापार गर्छन् रे ! जग्गा दलाली गर्छन् रे ! म्यानपावरवालासँगको साँठगाँठ र उठबस, कमिसनका लागि दौडधुप, नातावाद, चाकडीवाज, भ्रष्टाचार, कमिसनतन्त्रका पछाडि ठूलो दौडधुप चल्छ रे ! यस्तो कुरा कम्युनिस्टको कुन सिद्धान्तमा छ, अनि गुरुजी पनि त्यस्तै कम्युनिस्ट सदस्य त होला नि ?’ उनीहरूले यसरी सोधेका भए, म के भनेर जवाफ दिन्थें होला ।

सहप्राध्यापक धनप्रसाद सुवेदी

बिदाका दिन (शनिबार र आइतबार) बाहेक बिहानको खानाका लागि प्राध्यापकहरूको अलग्गै भोजनालय छ । भाषाका कारण त्यहाँ भेट हुने अधिकांश प्राध्यापकहरूसँग कुराकानी हुँदैन । अंग्रेजी बोल्न जान्ने केही प्राध्यापकहरू भने विदेशी अनुहार देखेपछि ‘वेअ(र) फ्रम्’ भन्दै आउँछन् । यस्तैमा एकजना माक्र्सवाद पढाउने प्राध्यापकसँग भेटघाट भयो । उनीसँग भेट्दा ज्यादै नजिकको साथी भेटिएजस्तो लाग्यो । कुराकानी त भयो तर उनको अंग्रेजी मैले नबुझ्ने मेरो अंग्रेजी उनले नबुझ्ने । तैपनि हामीले कुराकानी गर्यौं, गुगल ट्रान्सलेटले पनि हामीलाई सघायो । कुराकै सिलसिलामा मैले म पनि माक्र्सवादी हुँ, नेपाली माक्र्सवादी लेखकहरूको एउटा संस्था छ, त्यसको म केन्द्रीय सदस्य हुँ, मैले किताब लेखेको छु, माक्र्सवादी साहित्यसम्बन्धी लेख र कार्यपत्र लेखेको छु भनेर फुइँ लगाएँ । मेरो कुरा सुनेर उनले टाउको हल्लाए र अन्त्यमा, ‘नाइस् टु मिट् यु, सियु अगेन’ भनेर बिदा भए । त्यसपछि पनि उनीसँग भेट हुन्छ, हात उठाएर ‘हेलो, हाई’ हुन्छ र खान खाएर निस्कने बेला सँगै परिएछ भने ‘बाई’ हुन्छ तर अरू कुरा हुँदैन (चिनियाँ भाषा राम्रोसँग बोल्न जानेको भए सायद माक्र्सवादसम्बन्धी कुरा हुन्थ्यो कि, हाई र बाईमात्रै हुँदैनथ्यो कि) ।

३० वर्षअघि जागिरे भएर ओखलढुंगाको पोकली पुगेका भोलिपल्ट कम्युनिस्ट विचारका शिक्षकहरूसँग भेट्दा उनीहरूले मसँग धेरैबेरसम्म हात मिलाइरहे, त्यहाँ चार वर्ष बस्दा परिवारकै सदस्यजस्तै माया गरे र सरुवा भएर हिँड्दा आफ्नै परिवारको सदस्यलाई बिदाइ गरेजस्तै भव्य बिदाइ गरे । त्यतिबेलाको त्यही प्रभाव ममा अझै रहेछ । भदौमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ भनेजस्तै कम्युनिस्ट पार्टीको सदस्यलाई त्यसरी नै बुझ्ने मेरो मूर्खता सम्झेर हिजोआज एक्लै हाँस्न मन लाग्छ ।

प्रतिक्रिया दिनुहोस्