किरात राई जातिमा मान्छेको मृत्यु भएपछि सर्वप्रथम मरण कसरी भएको छ भन्ने खुट्याइन्छ । अहिले त्यति प्रचलनमा नरहे पनि चाम्लिङ राईहरूमा मान्छे मरेको टुंगो भएपछि नछुङ (धामी) ले असल बाटो (कुलपितृ) गयो कि खराब बाटो (सेहें) मा गयो भनेर खुट्याउँछन् । यसका लागि पहिले–पहिले बेतबाँस प्रयोग हुन्थ्यो । अहिले बेतबाँस नपाइने हुँदा खुट्टाको औंलादेखि शिरसम्म धागो तन्काएर रिसिया (मुन्दुम) गाउँदै कुन बाटोमा गयो भनेर पहिचान (खामाखिम) गर्छ । यो चलन पनि लोप हुने अवस्थामा पुगिसक्यो । अन्तिम मृत्युसंस्कार गर्नुभन्दा अघि पनि नछुङले अदुवा काटेर कचुर हान्दै कुलपितृ कि सेहें भयो भनेर हेर्ने (यारी खोंमा) चलन छ । अस्वाभाविक मरण (सुन्निएर, लडेर, सुत्केरी व्यथा, आत्महत्या आदि) भएकाचाहिँ स्वतः सेहेंमा पर्छन् ।
किरात राई जातिमा मृत्युको प्रकृतिअनुसार विशिष्टीकरण गरिन्छ । उमेर पुगेर अथवा सहज रूपमा भएको निधन तथा रोगव्याधि, दुर्घटना, आत्महत्या, शिशु र सुत्केरी व्यथाले निधन भएकालाई फरक–फरक रूपमा लिइन्छ । विभिन्न कारणले भएका निधनलाई मूलभूत रूपमा दुई भागमा बाँडिएको हुन्छ– राम्रो मरण र नराम्रो मरण । स्वाभाविक रूपमा हुने निधनलाई राम्रो मरण मानिन्छ । बूढाबूढी भएर तथा बिरामी नै भए पनि जिउमा घाउचोट नलागी, रगत नबगी हुने निधनलाई सहज मरण मानिन्छ । दुर्घटना, आत्महत्या र सुत्केरी व्यथा लागेर मरेकालाई नराम्रो मरण मानिन्छ । जसलाई असहज मरण भनिन्छ । शिशुको मरणलाई पनि किरात राईहरू असहज मरणका रूपमा लिन्छन् ।
किरात राईमध्ये सहज मरणलाई कुलुङले नसी, कोयीले नुँसी, साम्पाङले नूसी, खालिङले नक्मइ, चाम्लिङले निखाली, बान्तावाले उनुहालाम भन्छन् । त्यस्तै, असहज निधनलाई कुलुङले हिल्सी, कोयीले झ्याक्सी, खालिङले झेत्मइ, चाम्लिङले इसाखाली, बान्तावाले उस्साहालाम, साम्पाङले हिल्लासी–ममँसी भन्छन् ।
खालिङ राईहरूले मृत्युलाई ६ प्रकारमा विभाजन गरेको पाइन्छ । नक्मइ (राम्रो मरण), बुबुलम, यचिरियइरी (दुर्घटना), हिरी क्युच्युव्या (आत्महत्या), ममअ ख्वान्य (सुत्केरी व्यथा) र ङास (शिशु) । यी मृत्युलाई मूलतः दुई भागमा बाँड्न सकिन्छ– नक्मइ र झेत्मइ । जिउमा चोटपटक नलागी, रगत नबगी, घाउखटिरा नलागी हुने मरणलाई नक्मइ भनिन्छ । जसलाई बारीमा गाड्ने र कुलपितृमा राख्ने गर्छन् । झेत्मइलाई जंगलमा गाडिन्छ र कुलपितृमा राखिँदैन । बुबुलमलाई नक्मइ र झेत्मइबीचको मृत्यु मानिन्छ । लुतो, घाउखटिरा आएर मर्यो; रगत अलि–अलि आएर मर्यो भने यस्तो मृत्युलाई बुबुलम भनिन्छ । तर, जंगलमा गाडिने र कुलपितृमा नराखिने भएकाले बुबुलम र ङास पनि झेत्मइभित्रै पर्ने देखिन्छ ।
कुलुङ राईमा भने चार प्रकारको मृत्यु प्रचलित छ– नसी, हिल्सी, मोमोसी र छाचाउ । उमेर पुगेर अथवा रोगले थला परेर मरेकालाई नसी भनिन्छ । यस्तरी निधन हुनेको मृतात्मालाई कोठाबारीमा गाड्ने र कुलपितृमा राखिन्छ । आत्महत्या गर्ने, दुर्घटनामा परेर मर्ने अथवा कसैबाट मारिएकालाई हिल्सी भनिन्छ । सुत्केरी व्यथाले मरेका महिलालाई मोमोसी र दाँत नपलाएका आठ महिनासम्मका बच्चाको मृत्यु भएमा छाचाउ भनिन्छ । हिल्सी, मोमोसी र छाचाउलाई कुलपितृमा राखिँदैन ।
चाम्लिङ राईहरूमा पनि चारप्रकारकै मृत्यु प्रचलित छ । उनीहरू स्वाभाविक निधन भएकालाई निखाली (अथवा निखाली–निहालाम्) भन्छन्, जसलाई कुलपितृमा राखिन्छ । आत्महत्या, दुर्घटना, झैझगडाबाट भएको मृत्युलाई हिलावा भन्छन् भने सुत्केरी व्यथाले मरेकालाई मामोसी । त्यस्तै दाँत नउम्री शिशुको निधन भएमा मृतात्मा बुङवाँखा (फूलबारी) मा राखिन्छ । बान्तावा राईहरू पनि शिशुको आत्मा फूलमा बस्ने विश्वास गर्छन् । तर, कुलपितृमा नराखिने भएकाले शिशुको मृत्युलाई पनि असहज मृत्यु नै मानिन्छ । चाम्लिङले पनि असहज मृत्यु भएकालाई कुलपितृमा राख्दैनन् ।
कोयी राईमा मृत्युलाई नुँसी (सहज मरण) र झ्याक्सी (असहज मरण) भनेर विभाजन गरिएको पाइन्छ । वृद्धवृद्धा अवस्थामा पुगेका व्यक्तिको मृत्युलाई नुँसी मानिन्छ । त्यस्तै अप्रिय घटना (लडेर, पोलेर, घाउखटिरा आदि) नभई मरेकालाई पनि नुँसी नै मानिन्छ । घाउखटिरा आई अथवा अप्रिय घटना आदिबाट मृत्यु भएको छ भने त्यस्तो मृत्युलाई झ्याक्सी भनिन्छ । सुत्केरी व्यथाले भएको मृत्यु र छेवर या गुन्युचोलो नगरी भएको बालबच्चाको मृत्युलाई पनि झ्याक्सी नै मानिन्छ ।
किरात राईभित्रका आठपहरिया, छिन्ताङ, छिलिङ, थुलुङ, दुम्माली, दुमी, देवास, नाछिरिङ, पुमा, बाहिङ, बुङ्लावा, मेवाहाङ, याम्फू, लोहरूङ, वाम्बुले, साम्पाङ र सोताङमा पनि मृत्यु मूलतः दुईथरी रहेको पाइन्छ– सहज र असहज । सहज मृत्यु हुनेलाई कुलपितृमा राख्छन्, असहज मृत्यु भएकालाई कुलपितृमा राख्दैनन् । किरात राईहरू पितृपूजक भएकाले मृत्युलाई पनि यही आधारमा वर्गीकरण गरेको देखिन्छ । यसरी हेर्दा उनीहरूमा दुईथरी मृत्यु प्रचलित छ– कुलपितृमा राखिने (सहज मरण) र कुलपितृमा नराखिने (असहज मरण) ।