बेलायत गएपछि ध्यान दिनुपर्ने कुरा


गोरखा भूतपूर्व सैनिकको निरन्तर आन्दोलनका कारण २१ मे २००९ मा बेलायत सरकार गोरखाका लागि नयाँ अध्यागमन नीति ल्याउन बाध्य भयो । नयाँ अध्यागमन नीतिपछि बेलायती सैन्यसेवामा कम्तीमा चार वर्ष काम गरेका सबै गोरखा बेलायतको आवासीय भिसा पाउन योग्य भए ।

उमेर छँदा बेलायतको सेवामा बलबर्कत लगाएका गोरखा उमेर ढल्केपछि बेलायतमा स्वास्थोपचार गर्न पाउने भए । अशक्त अवस्थामा बेलायतबाट वृद्धभत्ता पाउनेछन् । बैंसजति बेलायतको सेवामा अर्पेका गोरखा भूतपूर्व सैनिकले दोस्रो रोजगारीका लागि अन्य देशको सेवामा भौंतारिनुनपर्ने भयो । नेपालमा बारम्बारको बन्दहड्तालको सास्तीबीच शिक्षा आर्जन गर्न बाध्य गोरखा भूतपूर्व सैनिकका छोराछोरीले अन्यका लागि स्वप्नसरह बेलायतमा उच्चस्तरको शिक्षा अध्ययन गर्न पाउने अवसर पाए ।

यतिबेला बेलायतको आवासीय भिसा पाएर बेलायत प्रस्थान गर्ने गोरखा भूतपूर्व सैनिक परिवारको गइरहेका छन् । वर्षौंदेखिको आन्दोलनबाट प्राप्त उपलब्धि उपयोग गर्दै बेलायत जानु उचित भए पनि बेलायत प्रस्थानअघि केही कुरामा ध्यान दिएमा बेलायत बसाइ सजिलो हुनेछ ।

बेलायत मूलतः अंग्रेजी भाषा बोलिने देश हो । त्यसैले बेलायत जाने जोकोहीले पनि अंग्रेजी भाषाको ज्ञान लिएर जानु राम्रो हुन्छ । यस्तै, प्राविधिक सीपको पनि तालिम लिएर गएको खण्डमा काम पाउन सजिलो पर्छ । बेलायतमा भन्नेबित्तिकै झट्टै काम नपाइन सक्छ । पाउनुपर्ने भत्ता पनि तुरुन्त नपाइन सक्छ । त्यसैले बेलायत प्रस्थान गर्दा काम नपाएसम्मका लागि, अथवा भत्ता नपाउने अवधिका लागि बस्, खान पुग्ने खर्च लिएर जानु राम्रो हुन्छ । कति खर्च लैजाने भन्ने सवालमा श्रीमान्श्रीमतीका लागि चार÷पाँच महिनालाई करिब सात/आठ लाख रुपियाँ भए पुग्छ । पछि भत्ता वा जागिर पाएपछि त त्यति पैसा केही महिनामै उक्सिन्छ ।

बेलायत जानभन्दा अगाडि बेलायतमा रहेका आफन्त, छिमेकी, इष्टमित्रसित अनुरोध गरी घर खोज्न लगाउनु ठीक हुन्छ । आफन्तकहाँ, संस्थाको घरमा बस्दा वृद्धभत्ता, बालबच्चाको भत्ता, बेरोजगारी भत्ता दाबी गर्न नमिल्ने भएकाले आफ्नै घरको व्यवस्था गर्नु आवश्यक हुन्छ । बेलायतमा सामान्यतः ६०० पाउन्डमा कोठा पाइन्छ । पाँच/छ महिनालाई घरभाडा तीन हजार पाउन्ड र खाना खर्च एक हजार पाउन्ड भए पुग्छ ।

बेलायत पुग्नबित्तिकै ६५ वर्ष उमेर पार गरेका वृद्धवृद्धाले बेलायतको वृद्धभत्ता पाउँछन् । त्यसका लागि पेन्सन क्रेडिट दाबी गर्नुपर्छ । बेलायत ठूलो मुलुक भएकाले हरेकको कार्यालयमा पुग्न सम्भव छैन । त्यसैले दिइएको फोन नम्बरमा फोन गरी पेन्सन क्रेडिटको दाबी गर्न सकिन्छ । उनीहरूले फोनबाटै दाबी दर्ता गरिदिन्छन् । भाषा समस्या भए पनि उनीहरूले दाबी गर्ने व्यवस्था मिलाउँछन् । यसरी दाबी दर्ता भएको दिनदेखि पेन्सन क्रेडिट (वृद्धभत्ता) गणना हुन्छ । वृद्धवृद्धाले बस, रेलमा हिँडेको पैसा भाडा तिर्न पर्दैन । स्वास्थोपचार गराएको पनि पैसा तिर्न पर्दैन ।

बेलायत पुगेपछि लिनैपर्ने अर्को महत्वपूर्ण कागजात हो– नेसनल इन्स्योरेन्स (एनआई) नम्बर । आपूm बसेको नजिकै यहाँको वडा कार्यालयजस्तै गरी जब सेन्टर पाइन्छन् । त्यहाँ गएर फाराम भरेपछि एनआई नम्बर पाइन्छ । प्रायःजसो कम्पनीले जागिर दिन एनआई नम्बर खोज्छन् । तर, आवासीय भिसाकै भरमा पनि सानोतिनो जागिर पाउन भने सकिन्छ ।

त्यसैगरी, वृद्धवृद्धाले स्थानीय काउन्सिलको कार्यालयमा गएर हाउजिङ बिनिफिट (घर सुविधा)का लागि आवेदन दिनुपर्छ । काउन्सिल अफिस पनि यहाँका वडा कार्यालयजस्तै नजिक–नजिकै हुन्छन् । आफन्त वा संस्थाको घरमा बस्दा भने घरको सुविधा पाइँदैन । नेसनल हेल्थ सर्भिस (एनएचएस) उपचारको सुविधा लिनका लागि नजिकको सानो अस्पतालमा गएर आवेदन दर्ता गरेकोे हुनुपर्छ । बेलायतमा सबै किसिमका सुविधाबापत प्राप्त हुने पैसा बैंक खातामा जम्मा हुने भएकाले बेलायत पुग्नेबित्तिकै बैंक खाता खोल्नु अपरिहार्य हुन्छ । सबै आवेदनमा बैंक खाता उल्लेख गर्नु अनिवार्य हुन्छ ।

स्वास्थ्य सेवा स्तरीय भएकाले वृद्धवृद्धाको स्वास्थ्य बेलायतमा राम्रो हुन्छ । नेपालको भन्दा फरक समाज भएकाले नयाँ ठाउँमा त्यति हिँडडुल गर्ने मेसो पाउन पनि सुरुमा गाह्रो हुन्छ । त्यसैले पढ्ने बानी भएकाले पुस्तक लिएर जानु राम्रो हुन्छ ।
बेलायतमा असहाय र अशक्तका लागि अलग्गै सुविधा व्यवस्था गरिएको हुन्छ । असहाय, अशक्त भत्ताका लागि पनि फोनबाटै दाबी गर्न सकिन्छ । पछि उनीहरूले कस्तो किसिमको अशक्त हो भन्ने अनुसन्धान गरेर भत्ता दिन्छन् ।

नेपालमा अपुरो शिक्षा पाएका छोराछोरीका लागि व्यक्तित्व विकास (करिअर डेभलपमेन्ट) गर्न ऋण पाइन्छ । फोन गरेकै भरमा यसरी ऋण पनि उपलब्ध गराइन्छ ।

१८ वर्ष उमेर नपुगेका छोराछोरीले बेलायतमा बालबच्चा भत्ता (चाइल्ड बिनिफिट) पाउँछन् । चाइल्ड बिनिफिटका लागि पनि स्थानीय काउन्सिलमा गएर वा फोनबाटै दाबी गर्न सकिन्छ ।

थोरै पैसा (परिवारलाई पुग्दो नहुने) नकमाउने, जागिर पाउनेका लागि र काम गर्न नसक्ने शारीरिक अशक्तका लागि बेलायतमा सहयोग पाइन्छ । त्यसका लागि पनि टेलिफोनमार्फत आवेदन दिए पुग्छ । आवेदन दिएपछि उनीहरूले अवस्था जाँच गरेर सहयोग दिन्छन् । बेलायत पुगेर काम नपाउन्जेल वा जागिर खोजुन्जेलको (जब सिकर एलाउन्स) पनि भत्ता पाइन्छ । यसका लागि नजिकको जब सेन्टरमा गएर फाराम भरी बुझाउनुपर्छ ।

सरकारबाट भत्ता पाउनेले घरको सुविधा र औषधिसमेत निशुल्क पाउँछन् । भत्ता नपाउनेले भने अस्पतालमा जाँच गरेको पैसा तिर्न नपरे पनि औषधि किनेको भने मूल्य चुक्ता गर्नुपर्छ ।

बेलायतमा कलेज पढ्न पनि आवासीय भिसा पाएकालाई सजिलो हुन्छ । बेलायतका विश्वविद्यालयको नीति फरक–फरक छ । कसैले आवासीय भिसाकै आधारमा होम स्टुडेन्ट (घरेलु विद्यार्थी) मान्छन् भने कसैले तीन वर्ष बेलायत बसेकालाई मात्र होम स्टुडेन्टको मान्यता दिन्छन् । होम स्टुडेन्टको मान्यता पाएका विद्यार्थीको तुलनामा अन्य विद्यार्थीको शुल्क पाँच गुणा महँगो पर्छ । त्यसो त पढ्न ऋण सजिलै पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्