जिउ जोगाउँदै, बीउ बाँड्दै नगर



आर्थिक वर्ष २०७६/०७७ को प्रारम्भदेखि नै हामीले विभिन्न प्राकृतिक विपत्ति र संकट धैर्य र अदम्य साहसका साथ सामना गर्दै आइरहेका थियौं । तपाईंहरूको निरन्तर र अन्तरहृदयदेखिको साथ, सहयोग एवम् हौसलाले कर्तव्यनिष्ठ भई, नडगमगाई अगाडि बढ्नलाई धेरै हदसम्म सहयोग पुर्यायो । यसप्रति म तपाईं (सम्पूर्ण नगरवासी)हरू सँग ऋणी छु ।

इवन राई

हामी एउटा विपत्तिको तावाबाट उम्कन नपाउँदै अर्काे आपत्तिको भुंग्रोमा पिल्सिनु परेको सर्वविदितै छ । मैले बाँचेको जीवनमा कहिल्यै नभोगेको लामो खुक्खा खडेरी र त्यसबाट जीवजगत्मा परेको धर्मसंकट, निरन्तरको झरी–वर्षात्ले गाउँ, बस्ती र सडक संरचना बगाएको दुःखदायी पीडा कम हुन नपाउँदै फौजीकीराको आतंकबाट आतंकित बनायो । खेतबारीमा लगाइएका अन्नबालीले फल दिनै नसक्नेगरी फौजीकीराले सखाप पारिदियो ।

 

ती सबै–सबै समस्याबाट तपाईं–हाम्रो सामूहिक प्रयत्न र हातेमालोद्वारा छुट्कारा पाउँदै सिंगो नगरलाई जसोतसो उठाउनै लाग्दा विश्वव्यापी रूपमा मानवजगत्कै शत्रुका रूपमा आइलागेको कोरना भाइरस (कोभिड–१९) को आतंक र वितण्डाबाट हामी पनि अछुतो रहनसकेनौं ।

 

रोग लाग्नुभन्दा रोग लाग्नै नदिनु श्रेयस्कर हुन्छ भन्ने भनाइ आत्मसात् गर्दै कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि स्थानीय सरकारको स्रोत, साधनले भ्याएसम्म सबै संरचना चुस्त राख्दै हामी परिचालित भइरहेका छौं ।

 

विश्वव्यापी महामारीबाट बच्ने पहिलो, सजिलो र उत्तम उपाय नै एक व्यक्तिबाट अर्काे व्यक्तिसम्मको प्रत्यक्ष संसर्ग टुटाउनु नै हो । त्यसैले नेपाल सरकारले लकडाउन (बन्दाबन्दी) गरेको आगामी मंगलबार तीन साता पुग्दै छ ।

 

विश्वका अधिकांश राष्ट्रमा लकडाउन आह्वान गरिएको छ । संघीय सरकारले २०७७ वैशाख ३ सम्म लकडाउन आह्वान गरेको छ । यस अवधिभरि सचेततासाथ घरमै बसेर सरकारले गरेको लकडाउको पालना गर्नुहुन म सम्पूर्ण नगरवासीमा हार्दिक आग्रह गर्दछु ।

 

विविध विपत्तिलेले सबै क्षेत्रमा असर पुर्याएझैं ग्रामीण क्षेत्रमा समेत गम्भीर रूपमा क्ष्ति पारेको छ । गाउँले जीवन कृषिमा निर्भर छ ।

 

हाम्रो प्रमुख अन्नबाली मकै छर्ने समय सुरु भइसकेको छ । दुःखद र विडम्वना नै भन्नुपर्छ– लामो खडेरीले गर्दा अपवादबाहेक हामीले मकैको बीउसमेत जोहो गर्न सकेनौं ।

 

तसर्थ, जिउ र बीउ जोगाउनुपर्ने यस कठिन घडीमा उभिनुपरेको छ । जिउ जोगाउँदै नगरले बीउ बाँड्दै छ । बाँड्नेछ ।

 

यस्तो महाविपत्तिमा नगरवासी सबै मन–मस्तिष्कले एकाकार भई विपत्ति र महामारी सामना गर्नुपर्छ । हामी सक्छौं । हामी उठ्छौं । यसमा द्विविधा छैन ।

 

(लेखक, हलेसी तुवाचुङ नगरपालिकाका मेयर हुन् ।)

प्रतिक्रिया दिनुहोस्