भयानक वैज्ञानिक दुर्घटना



वैज्ञानिक आविष्कार तथा प्रविधि विकासले संसारलाई बदल्दै आएको छ । जीवनलाई सहज बनाउनेमात्र होइन, हाम्रो आयु लम्ब्याउन पनि मद्दत गरेको छ । तर, प्राविधिक त्रुटी तथा लापरबाहीका कारण तिनै वैज्ञानिक उपलब्धि अभिशापमा परिणत भई घातक भएका उदाहरण पनि छन् । त्यस्तै उदाहरणका रूपमा लिइन्छ– सन् १९८६ मा युक्रेनको चेर्नोविलमा भएको न्युक्लियर पावर प्लान्ट दुर्घटनालाई ।
सन् १९७० को दशकतिर तत्कालीन सोभियत महासंघअन्तर्गत युक्रेनको प्रिपायात सहरनजिकै विद्युत् उत्पादनका लागि चेर्नोविल न्युक्लियर पावर प्लान्ट स्थापना गरिएको थियो । उक्त पावर प्लान्ट रहेको स्थान युक्रेनको चेर्नोविल सहरबाट १८ किलोमिटर उत्तर–पश्चिम तथा युक्रेन (बेलारुस सीमाबाट १६ किलोमिटरको दूरीमा पर्छ ।) यस पावर प्लान्टमा जम्मा चार रिएक्टर रहेका थिए । आणविक प्रतिक्रियालाई नियन्त्रित ढंगबाट गराई आवश्यक मात्रामा ऊर्जा उत्पादन गर्नका लागि तयार गरिने संरचनालाई न्युक्लियर रिएक्टर भनिन्छ । पावरप्लान्टका चारवटै रिएक्टरमध्ये हरेकको १००० मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको थियो । तत्कालीन युक्रेनको कुल विद्युत् मागमध्ये १० प्रतिशत यसै संरचनाबाट आपूर्ति हुन्थ्यो । यी चार रिएक्टर नम्बर १, २, ३ र ४ का अलावा अन्य दुई (रिएक्टर नम्बर ५ र ६ पनि निर्माणाधीन अवस्थामा थिए ।

१९८६ अप्रिल २६ मा पावर प्लान्टको रिएक्टर नम्बर ४ अचानक दुर्घटनाग्रस्त हुन पुग्यो । उक्त समयमा प्लान्टका प्राविधिक रिएक्टरको विद्युतीय नियन्त्रण प्रणालीसँग सम्बन्धित परीक्षण गरिरहेका थिए । सुरक्षा संयन्त्रमा अचानक आएको खराबीका कारण रिएक्टरमा विस्फोटनको शृंखला सुरुवात भयो । विस्फोटनसँगसँगै भएको आगजनीले क्षणभरमै रिएक्टर रहेको भवन क्षतिग्रस्त बनायो भने रिएक्टर नम्बर ४ पूर्णतया क्षतविक्षत बन्न पुग्यो ।

त्यसबखत उक्त स्थानको तापक्रम ५ हजार डिग्री सेल्सियससम्म पुगेको बताइन्छ । त्यसको दस दिनसम्म उक्त क्षेत्रबाट लगातार ठूलो परिमाणमा रेडियोधर्मी पदार्थ उत्सर्जित भइरहे । निरन्तर रूपमा हानिकारक विकीरण उत्पन्न गरिरहने पदार्थलाई रेडियोधर्मी पदार्थ भनिन्छ । दस दिनसम्म सैनिक हेलिकोप्टरले चिसो बालुवा, बोरोनजस्ता पदार्थ खसालेर आगो निभाउन सफल भएपछि थप दुर्घटना हुनबाट जोगिएको थियो ।

युरोप महादेशको ठूलो हिस्सा कैयौं दिनसम्म रेडियोधर्मी बादलले ढाकिएको थियो । प्रभावित क्षेत्रआसपासका तीन लाख ३० हजार मानिसलाई दुर्घटनापछि तत्काल सुरक्षित स्थानतर्फ पुनस्र्थापित गरियो ।
रिएक्टरमा विद्यमान प्राविधिक त्रुटी तथा अदक्ष अपरेटरको खोटपूर्ण कार्यलाई नै उक्त दुर्घटनाको मुख्य कारक मानिन्छ । प्राविधिकले काम गरिरहेको उक्त समयमा सबै सुरक्षा संयन्त्र निष्क्रिय अवस्थामा (स्वीच अफ) रहेका थिए । काम अनुपयुक्त तरिकाबाट गरिनाले अचानक अनियन्त्रित ढंगबाट ताप उत्पन्न भएपछि दुर्घटनाको सुरुवात भएको थियो । यो दुर्घटनालाई आणविक ऊर्जा केन्द्रमा हालसम्म घटेकामध्ये सबैभन्दा ठूलो र दूरगामी असर भएको दुर्घटना मानिन्छ ।

रातको समयमा भएको यस दुर्घनामा दुई जनाको मृत्यु भएको पाइए पनि केही दिनभित्रै मर्नेको संख्या ३१ पुगेको थियो । चेर्नोविल दुर्घटनाको प्रत्यक्ष तथा अप्रत्यक्ष कारणमा कति मानिस मारिए भन्ने सम्बन्धमा फरक–फरक तथ्यांक उपलब्ध छन् । कतिपय निकायले लाखौं मानिस मारिएको दाबी गरेको भए पनि आधिकारिक मानिएको तथ्यांकअनुसार २८ जना मानिस विकीरणको तीव्र असरबाट, १५ जना विकीरणका कारण उत्पन्न थाइराइड क्यान्सरबाट र लगभग चार हजार मानिस विकीरणजन्य, शरीरका अन्य अंगको क्यान्सरबाट ज्यान गुमाएका थिए । यस घटनाबाट भएको क्षतिभन्दा पनि रेडियोधर्मी पदार्थ यत्रतत्र छरिनाले उत्पन्न विकीरणजन्य प्रदूषणलाई बढी महत्वसाथ हेरिने गरेको छ । यस्ता पदार्थका कारण मानव स्वास्थ्यमा नकारात्मक असर पर्नेक्रम लामो समयसम्म रहिरहन्छ ।

जानकारहरूका अनुसार चेर्नोविलमा भएको यो मात्र दुर्घटना भने थिएन । यसअघि १९८२ मा पनि रिएक्टर नम्बर १ मा भएको आगजनीबाट यसको छानो जलेर नष्ट भएको थियो । तर, यसलाई गुपचुप राख्दै रातारात मर्मत गरेर रिएक्टरलाई पुनः सञ्चालनमा ल्याइयो । अझ महत्वपूर्ण कुरा त के छ भने प्राविधिक रूपमा यत्तिका त्रुटी देखिएको र यत्रो विनाशकारी दुर्घटनापछि पनि उक्त प्लान्टका बाँकी तीन रिएक्टर अझै सञ्चालनमा थिए । १९९१ अक्टोबर ११ मा फेरि रिएक्टर नम्बर २ आगजनीका कारण क्षतिग्रस्त भयो । युरोपियन महासंघको दबाब तथा आर्थिक सहयोगबाट सन् २००० हजारदेखि भने उक्त आणविक भट्टी पूर्ण रूपले बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्