गतिशील गीता



एक व्यक्तिले बाँचुन्जेल के–के गर्न भ्याउलान् ? उत्तर सहज छैन । यही प्रश्न गीता पालुङ्वालाई सोधियो भने उनी भन्छन्, ‘मैले आजसम्म गीतकार, पत्रकार, नृत्य, समाजसेवा र मोडलिङ गर्नसमेत भ्याएँ ।’ आफैँले लेखेको केही गीतमा उनले मोडलिङ गरेकी हुन् ।

दोखु, ताप्लेजुङनिवासी उनी हिजोआज हङकङमा छिन् । उनी वैदेशिक रोजगारीक्रममा २० वर्षअघि हङकङ पुगेकी हुन् । यति धेरै विधामा बाँडिएर बाँच्दा उनलाई कस्तो अनुभूति होला ? भनिन्, ‘गज्जब लाग्दोरहेछ ।’

कुराकानी पत्रकारिताबाट थालियो । उनले हङकङबाट प्रकाशित सनराइज पोस्ट साप्ताहिकमा केही समय संवाददाताको भूमिका निर्वाह गरेकी रहिछन् । फेसबुक च्याटमा सुनाइन्, ‘पत्रकारिता गर्ने रहर पूरा भएको छैन । पार्टटाइमका रूपमा भए पनि पत्रकारितालाई निरन्तरता दिने सोच बनाएकी छु ।’

पत्रकारिता गर्ने रहर पूरा नभए पनि उनले गीत, कविता, कथा र संस्मरण लेख्न छाडेकी छैनन् । हङकङ आउनुअघि नै उनी लेख्ने गर्थिन् । ताप्लेजुङ सदरमुकाम फुङलिङमा रहेको भानु माध्यमिक विद्यालयमा पढ्दादेखि नै उनले लेख्न थालेकी हुन् । जसले आजसम्म निरन्तरता पाइरहेको छ । संग्रहका रूपमा किताब प्रकाशित नभए पनि उनको तीन गीतिएल्बम भने सार्वजनिक भइसकेको छ । उनको ‘लैजा चरी’, ‘प्रशंसा’ र हाङ्नेइल्लो नामक गीतिएल्बम सार्वजनिक भएको छ । हाङ्नेइल्लो भने लिम्बू भाषाको गीतिएल्बम र भिडियो हो ।

पछिल्लो समय नेपालमा पहिचान र संघीयताको बहस चर्केको छ । गीताले हङकङमै रहेर पनि यस विषयमा आफूलाई ‘अपडेट’ गराउन भ्याएकी छन् । त्यही भएर पनि होला उनले लिम्बू भाषालाई आफूलाई भन्दा बढी माया गरेकी । त्यहीको मायाको प्रमाण हो– हाङ्नेइल्लो भिडियो । उनले सार्वजनिक गीतमध्ये सात गीत समेटेर हाङ्नेइल्लो नामक भिडियो बजारमा आएको थुप्रै भइसकेको छ । आफू भाषा, संस्कार, संस्कृति भनेपछि मरिहत्ते गर्ने भएकाले भिडियो निर्माण गरेको उनले सुनाइन् । उनको सांस्कृति समर्पणलाई कम आँक्न मिल्दैन । जसलाई जीवन्त तुल्याउन कुनै न कुनै भूमिकाबाट उनी लागिपरेकी छन् ।

गीताका लागि हङकङ, काठमाडौं पानीपँधेरोजस्तै भएको छ । थोरै समय निकालेर उनी हङकङबाट काठमाडौँ आउँछिन् । प्रत्येकपटक काठमाडौँ आउनुको केही न केही स्वार्थ छ । स्वार्थ त्यत्तिकै अर्थपूर्ण छ । घर व्यवहार मिलाउनमात्रै उनी काठमाडौँ आएकी होइनन् । हङकङबाट सुटुक्क काठमाडौँ आउँदा उनी कहिले ड्राइभिङ सिक्छिन् त कहिले नृत्य । नृत्य सिकेपछि उनले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा समेत अभिनय गर्न भ्याइसकेकी छन् ।

अहिले डायास्पोरा नेपाली साहित्यका लागि उर्वर भूमी बन्दै गइरहेको छ । सोही क्रममा हङकङबासी नेपाली भाषीहरूले पनि आफ्ना कलममार्फत आफ्ना भावनाका तरेलीहरूमा पौडी खेल्न थालेका छन् । यहीँ भावनाका तरेलीहरूमा बग्ने नेपालीहरूमध्येमा एक पर्छिन् गीता । भन्छिन्, ‘साहित्यमा मनका भावनाहरू पोख्न पाइन्छ । जीवन र जगत्लाई हेर्नका लागि सजिलो हुन्छ साहित्य ।’

 

प्रतिक्रिया दिनुहोस्