ट्याक्टरमा मल बोक्ने छोक्मालीवासी



सदाझैं आज कार्यालयको दिनचर्या बिछट्टै रह्यो । १० नबज्दै कार्यालय पुगें । हाजिर गरेर काममा लागिसकेको थिएँ । योजना शाखाका नायव सुब्बा दीपक रिजालजीले छालाकुखोला–सणेशटारघाट पाखा ग्रामीण सडक अनुगमनमा जाऔं भने । मैले सहमति जनाएँ ।

११ बजिसकेको थियो । नासु रिजाल, असिसेन्ट सब–इन्जिनियरहरू कनक राई, अग्निराज राई, संगम राई र म कार्यालयबाट निस्क्यौं । उक्त योजनाको संयोजक किस्मत राई हुन् । मैले टेलिफोन गर्दा उनीसहितको टोली हिँडिसकेको रहेछ । दुर्छिमको बुद्धचोकनजिकै रहेको गौंथलीभीरनजिक भेट भयो । उनीहरूको टोलीमा रुद्र राई, नेत्र राउत र किस्मत राई रहेछन् ।

हामी अघि बढ्यौं । बोझेखोला पुगेपछि देवराज केसी, गोविन्द घिमिरे, टकेन्द्र राईलगायतको टोली मिसिए । कोल्ड ड्रिङ्क्स पिएर ओह्रालो झर्यौं । एकताका ढाकर र टेकुवा बोकेको बाटोमा मोटरसाइकल गुड्दा कम्ती आनन्द लागेन । मनमनै सोचें, ‘यो बाटोमा यसरी सवारीसाधनमा गुड्न पाइन्छ भन्ने कल्पनासमेत गरेको थिइनँ । स्थानीय सरकार आएपछि यी र यस्ता गाउँठाउँमा विकासको मूल फुटेको देख्न पाइयो ।’

दीपक रिजाल सरले मोटरसाइकल चलाएका छन् । म पछाडिपट्टि छु । मैले भनें, ‘ऊबेला यही बाटो भएर भारी बोकेर हिँड्थ्यौं । आज मोटरसाइकलमा गुड्न पायौं है दीपक सर ।’ मैले यसो भनिरहँदा स्थानीय सरकार आएपछि गाउँमा के भयो र भन्नेका लागि त यही दृष्टान्तले उत्तर दिएकै छ । मैले पुनः थपें, ‘यो बाटोमा तत्काल ठूला सवारीसाधन नगुड्ला । तर, यत्तिको बाटो खनेपछि स्थानीयका गाई, भैंसी, बाख्रामात्रै होइन, मानिसलाई समेत हिँड्न केही सहज भएको छ नि ।’ मेरो बुझाइमा उनले सही थापे ।

हामी ओह्रालिँदै गर्दा सुनकोसीपारि उदयपुरका पालिकाका वनपाखा चिरैचिरा परेको देखियो । ती गाउँठाउँमा सडक सञ्जाल विस्तार गर्दा वनपाखा चिरैचिरा परेको प्रस्ट हुन्थ्यो । कतिले सोच्लान्– यस्ता भीरपाखामा पनि सडक खनेर के होला र ? हामी गुडिरहेको सडक हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा पर्ने छोक्माला, लाटुङवासीका लागि राजमार्ग नै हो । हामी छोक्माला सिरान पुगेपछि दुर्छिम पहिरो देख्न थाल्यौं । रिजाल सरलाई मोटरसाइकल रोक्न लगाई फोटो खिचें । सानो छँदा ‘साह्रै ठूलो भन्नु दुर्छिमको पहिरो, त्योभन्दा नि तिम्रो माया गहिरो’ भनेर गीत गाइन्थ्यो । तर, आज दुर्छिम पहिरो नजिकबाट नियाल्ने मौका मिल्यो । रिजाल सरले पहिरो नियाल्दै भने, ‘यो पहिरो त लभ साइनजस्तो पो देखिँदोरहेछ ।’ मैले सहमति जनाएँ ।

हामी जति तल झर्छौं, दुर्छिम पहिरो उति राम्रो देखिन्थ्यो । हामीले फोटो खिच्न छाडेका थिएनौं । हामी लुभुखहरे झरिसकेका थियौं । एकताका हामी साल्घारी उकालो हिँड्थ्यौं भनेर दीपक रिजाल सरलाई जानकारी गराएँ । रिजाल सरले यो बगरमा पहिले त खेत थियो थिएन होला नि भनेर जिज्ञासा राखे । मैले थाहा पाएदेखि थिएन भनेर सुनाएँ । कुराकानी जारी छ । हामी लुभुखहरे मिसिने कोसी दोभान पुग्यौं । एकछिन विश्राम लियौं ।

त्यसपछि इन्जिनियरहरूले सडक नाप्न थाले । उनीहरूले सडक नाप्दै थिए । हामी भने केही साथीसँग पुनः अघि झरेकै बाटो उकालियौं । ३० मिनेट उकालिँदा छोक्माला पुग्यौं । त्यहाँ बिजुलीबत्तीका लागि पोल गाडी तार टाँगिसकिएको रहेछ । छोक्मालामा ६९ वर्षीय विष्णु घिमिरेसँग भेट भयो । आफ्नो गाउँठाउँमा सडक विस्तार होला भनेर सोच्नुभएको थियो ? भनेर प्रश्न सोधें । भारी बोकेर पिल्सिएको ढाड देखाउँदै घिमिरेले विगत सुनाए, ‘कटारीदेखि भारी बोक्न नपरोस् भन्ने कामना गरेका थियौं । त्यसो भनेको धेरै समयपछि सडक विस्तार भएको छ । ट्याक्टरमै भए पनि नुन, चामल ढुवानी गर्न पाएका छौं । असाध्यै खुसी लागेको छ ।’

सडक विस्तार हुँदा र नहुँदाको अन्तरमा स्थानीयको जनजीवनमा के फरक पर्ला भनेर सोध्न बिर्सिइनँ । ‘सडक विस्तार भएपछि स्थानीय उत्पादन ढुवानी गर्न सजिलो भएको छ । आवतजावतमा उत्तिकै सुविस्ता भएको छ । पहिले वडा कार्यालय दुर्छिम छापडाँडा पुग्न पाँच घन्टा लाग्थ्यो । अहिले नहुनेले हुनेको सवारीसाधनमा वडा कार्यालय जाँदा समय बचत भएको छ । मेरो च्यास्मीमा समेत बारी छ । मैले ट्याक्टरमा मल ओसार्न पाएको छु ।’

सडक विस्तार गर्न घिमिरेले समेत आर्थिक सहयोग गरेका रहेछन् । उनको घरको भित्तामा सहयोग गरेबापत दिइएको प्रशंसापत्र झुन्डिएको देखिन्थ्यो । सडक विस्तार गर्न अपुग भएपछि आर्थिक सहयोग गरेको उनले स्वीकारे । ‘तर, केही समयअघि नगरप्रमुख इवन राई आउनुहुँदा सडक विस्तार गर्दा तपाईंले गरेको आर्थिक सहयोग फिर्ता गर्छौं भन्नुभएको थियो,’ उनले खुसी व्यक्त गरे, ‘मनकारी नगरप्रमुख राईले यसो भन्नुहुँदा साह्रै खुसी लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्