कासेम्पाको संकल्प मुन्दुमी विधिबाट स्वस्ति–शान्ति नगरे खोटाङे नेता ‘फूलमन्त्री’ बन्न असम्भव



पुर्खाको धर्म

किरात राई समुदायमा आफूभन्दा जेठोको आशिर्वाद लिने चलन छ । जेठोले दिएको आशिर्वाद शिरमै रहन्छ । र, लाग्छ पनि भन्ने जनविश्वास छ । आगोको धर्म तातो र नुनको धर्म नुनिलो भनेझैं किरात समुदायमा सन्तानलाई आशिष दिने र आउने शाखा–सन्तानलाई पनि सुख, शान्ति र प्रगति गर्नेगरी आशिष पुस्तान्तरण गर्ने धर्म हो । जसलाई पुर्खाको धर्म भनिन्छ ।

हाम्रो समाजमा सामाजिक दृष्टिकोणले हेर्दा नालायक सन्तान भयो भने यसो भन्छन्, ‘यसको बाजेबज्यै तथा पुर्खाले धर्म राखेको भए पो गतिलो हुन्थ्यो । यसको बाजेबज्यै तथा पुर्खा त भङ्ज्याहा थिए । चोर्थे । अल्छे थिए । पुर्खाले धर्म नष्ट गरेका थिए । काँ उभो लाग्छन् त ?’ सन्तान राम्रो काम गर्ने भएमा यसो भन्छन्, ‘ए ! यिनीजस्तै यिनको जिजुबाजेबज्यै सोझो, इमानदार थिए । बाजेबज्यै तथा पुर्खाले धर्म राखेको र’छ ।’

सराप गर्दा लाग्ने

मानिसमा ‘पोजेटिभ’ र ‘नेगेटिभ’ दुईटै शक्ति हुन्छ । आशिष दिँदा लागेझैं सत्तोसराप सहि–सलामत भए लाग्छ भन्ने पनि जनविश्वास छ । केही दशकअघि यो विश्वास व्यापक थियो । सरापिमाग्ने (गल्ती गर्ने)ले यसो मन बुझाउन झिँगाको सरापले डिङ्गा (भैंसी) मर्दैन पनि भन्छन् ।

स्वः कासेम्पा (सहायकमन्त्री डिल्लीसेर राई)को कथा

कासेम्पालाई गाउँमा आठपोल मासु (साढे दुई केजी मासुलाई चार भाग लगाएर पाइने एक भाग मासु) मा पनि (नेपाली समाजमा पत्याउने र नपत्याउने कुराको ठूलो लेखाजोखा र महत्व छ) पत्याइँदैनथ्यो । धेरै दुःख र संघर्षसाथ समग्र खोटाङको काम गरेर उनी पटक–पटक सहायक मन्त्री बने । तर, पंक्तिकारले बूढापाकाको गफ सुन्दा प्रत्येक गफमा कासेम्पालाई ‘फुलमन्त्री’ भन्थे । मन्त्री भइसकेपछि गृहजिल्लामा मन्त्री डिल्लीसेर राई (कासेम्पा) आउने कार्यक्रम तय भयो । मन्त्री आउँदै छन् मात्र भनी प्रचार गरिएको थियो । त्यसबेला अपवादबाहेक खोटाङेले नजिकबाट कहिल्यै मन्त्री देखेका थिएनन् । तर राजा, मन्त्री भन्नेसम्म सुनेका थिए । त्यसैले धेरै मानिस भेला भएछन् ।

कार्यक्रम स्थलतिर मन्त्री आउँदै गरेको सबैले परैबाट देखे । तर, त्यसबेला देख्नेको नजरमा उनी मन्त्री थिएनन् । थिए त केवल कासेम्पामात्रै । त्यसपछि सबै छक्क पर्दै कार्यक्रममा बस्दै नबसी गनगन गर्दै फर्केछन् । त्यसबेला उनीहरूले भनेका थिए, ‘मन्त्री आउँछन्, मन्त्री आउँछन् भन्थे । जाबो कासेम्पा पो आएछन् । जाऊँ है घर ।’ सायद त्यसबेला सहायकमन्त्रीज्यूको मन बेस्सरी दुख्यो होला । यो मेरो अनुमानित अनुभूतिको हो ।

किन त स्वस्ति–शान्तिको पूजा ?

आध्यात्मिक कुरा नबुझिने र भौतिक दृष्टिले छैन जस्तो लाग्छ । पंक्तिकारले छि ! के केटाकेटी कुरा गरेको भन्ने पाठकलाई लाग्न सक्छ । साधारण र ठट्टाजस्तो लाग्नु अस्वाभाविक होइन । तर, यो बुझ्दै गएमा निकै गहन लाग्छ । बाजे धामी छन् भने नातिलाई सर्छ । मैलेझैं रात–दिन दुःख पाउँछन् भनेर रोक्यो भने पछि नातिलाई कष्ट हुन्छ । किरातीहरू मुन्दुमी भएका कारण बोलेका कतिपय कुरा भविष्यमा घट्न सक्छ । त्यसैले स्वस्ति–शान्ति गर्न आवश्यक छ ।

कासेम्पाले धेरै कुरा भनेर, बोलेर वा भावी पुस्तालाई राजनीतिमा गाह्रो हुन्छ भनेर कोही नलागून् भनेर संकल्प गरेर देहत्याग गरेका हुन सक्छन् । त्यसैले हालसम्म खोटाङमा राजनीति अफापसिद्ध भयो । अलि–अलि कोहीकोहीलाई छार्काछुर्की राजनीतिको फापले छिट्याए पनि कसैको दीर्घकालीन भएको छैन । खोटाङभरिका राजनीतिकर्मीको योगदान सबैलाई घामझैं छर्लंग छ । यसकारण खोटाङेले पूर्णकालीन सांसद र मन्त्री बन्न र खोटाङलाई समृद्ध पार्न सहयाकमन्त्री स्वः डिल्लीसेर राईको संकल्पको मुन्दुमी विधिबाट स्वस्ति–शान्ति, क्षमायाचना र सम्मान पूजा गर्नैपर्छ ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि स्वः सहायकमन्त्री राईको संकल्पको स्वस्ति–शान्ति, क्षमायाचना र सम्मान पूजा गर्ने नेताले हाकेकोताकेको पूरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्