हलेसीमा रहेको मारातिका क्षिमे ताक्तेन क्षोलिङ गुम्बाको कार्यालय विधानविपरीत


हलेसीमा रहेको मारातिका क्षिमे ताक्तेन क्षोलिङ गुम्बाको कार्यालय विधानविपरीत रहेको प्रमाणित भएको छ । गुम्बाको विधानमा गुम्बाको कार्यालय हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा रहने उल्लेख छ ।

संवत् २०३७ सालमा लामा ङवाङ छोफेल ग्याछोद्वारा निर्मित मारातिका क्षिमेत ताक्तेन क्षोलिङ गुम्बाको कार्यालय धितुङमा न रहेको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका वडाध्यक्ष टेकराज राईले जानकारी गराए ।

कुनै पनि संघ संस्थाको प्राण भनेको विधान हो । विधानबमोजिम सम्बन्धित संघ संस्था सञ्चालन हुन्छन् । तर, मारातिका क्षिमेत ताक्तेन क्षोलिङ गुम्बा सञ्चालकले भने विधानलाई धोती लगाइदिएका छन् । ‘विधानमा जहाँ रहने उल्लेख छ, कार्यालय त्यहीं हुनुपर्छ,’ सांसद विशाल भट्टराईले भने, ‘यो गम्भीर त्रुटि हो ।’

हलेसी तुवाचुङ नगरपालिका नगर उपप्रमुख रमेश राउत पनि सांसद भट्टराईसँग सहमत छन् । ‘गुम्बा सञ्चालकले त्यतिबेला कुनै न कुनै मक्सदले त्यस्तो लेखेका होलान् । धितुङमा पनि केही गर्ने मक्सद हुनुपर्छ । स्थापनाकालदेखि गुम्बाको कार्यालय हलेसीमै छ,’ नगर उपप्रमुख राउतको भनाइ छ, ‘यो सामान्य ढंगले झुक्किएर लेखिएको हुँदै होइन । कार्यालय रहने ठाउँ लेख्दा झुक्किँदै झुक्किँदैन ।’

भौगोलिक रूपमा धितुङ असाध्यै राम्रो छ । ‘रेग्मीटारको सडक खुलेपछि गुम्बाले त्यहाँ पनि अर्को प्वाइन्ट खडा गर्न खोजेको हुनुपर्छ,’ उनले थपे, ‘गुम्बा सञ्चालन गर्नु पनि अन्तर्राष्ट्रिय राजनीति नै हो ।’

हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले विधानविपरीत कार्यालय सञ्चालन गर्नु गलत भएको जिकिर गरे । ‘विधानमा कार्यालय धितुङमा रहने उल्लेख छ भने त्यो फल्ट नै हो,’ हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्षसमेत रहेका गिरीको दाबी छ, ‘नियतवश त्यस्तो लेखेको हो भने झन् ठूलो गल्ती हो । कार्यालय धितुङमा रहने लेखेर हलेसीमा राख्नु सानो गल्ती होइन । यो खोजीको विषय बन्यो ।’

गोकर्णेश्वर नगरपालिका–८ बेंसीगाउँ काठमाडौंमा रहेको मारातिका क्षिमे ताक्तेन क्षोलिङ गुम्बाको सम्पर्क कार्यालय । गुम्बा प्रमुख कर्मा वाङ्छु शेर्पाले आफ्नै घरमा सम्पर्क कार्यालय खोलेका हुन् ।

मारातिका क्षिमे ताक्तेन क्षोलिङ गुम्बाको विधान २०७५ असोज १ गते स्वीकृत भएको थियो । यो विधान बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले स्वीकृत गरेको हो ।

विधान पारित हुनुअघि मारातिका क्षिमे ताक्तेन क्षोलिङ गुम्बा सञ्चालकले स्थानीय जग्गा दलालमार्फत धितुङमा व्यापक जग्गा खोजेको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका वडाध्यक्ष राईले जानकारी गराए । यो पहिलो स्थानीय तह निर्वाचनवरिपरिको कुरा हो । हलेसीमा राख्दा दबाब आउँछ भनेर धितुङतिर गुम्बाको कार्यालय राखौं न भन्ने सोच बनाएको हुनुपर्छ भन्दै उनले लख काटे ।

हलेसी महादेवस्थान विकास समिति कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलको बुझाइ छ, ‘हामीले थाहा पाएदेखि गुम्बाको कार्यालय हलेसीमै रहेको छ । विधानमा त्यस्तो लेखिएको छ भने यसलाई मिस्टेक नै भन्नुपर्छ । विधानतः कार्यालय जहाँ राख्ने भनिएको छ, त्यहीं हुनुपर्छ ।’

‘गुम्बा सञ्चालक समितिले विधानमा जे लेखे गुम्बा विकास समितिले स्वीकृत गरिदियो,’ बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति अध्यक्ष फुपू छेम्बे शेर्पा (खेन्पो गेसे थुप्तेन जिग्डोल)ले भने, ‘तर, खासमा के भएको हो छानबिन गर्नुपर्छ । विधानविपरीत गुम्बाको कार्यालय रहेपछि शंका गर्नुपर्ने प्रशस्तै ठाउँ भयो ।’

समाचार पुष्टिका लागि मारातिका क्षिमे ताक्तेन क्षोलिङ गुम्बा प्रमुख कर्मा वाङ्छु शेर्पालाई दुई दिन लगातार टेलिफोन गर्दासमेत सम्पर्क हुन सकेन । आफूले लेखेका किताबमा उनको नाम ङावाङ जिग्डल छ्योकी वाङ्छुक उल्लेख छ । गुम्बा प्रमुखलाई पटक–पटक टेलिफोन गर्दा उनले प्रयोग गर्ने नम्बर ‘स्वीच अफ’ गरिएको थियो ।

त्यसपछि मारातिका क्षिमे ताक्तेन क्षोलिङ गुम्बा सञ्चालक समिति सदस्य डोमा शेर्पालाई टेलिफोन गर्नैपर्यो । पहिलो दिन फोन गर्दा शेर्पाले ‘कल रिसिभ’ गरिनन् । दोस्रो दिन टेलिफोन गर्दा उनले गुम्बाको कार्यालय हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा नभएर हलेसीमै रहेको स्वीकारिन् । उनले सजिलै उत्तर दिइन्, ‘कार्यालय रहने ठाउँ टाइप गर्दा मिस्टेक भएको हुनुपर्छ ।’

मारातिका क्षिमे ताक्तेन क्षोलिङ गुम्बाको सम्पर्क कार्यालय भने गोकर्णेश्वर नगरपालिका–८ बेंसीगाउँ काठमाडौंमा रहेको छ । गुम्बा प्रमुख कर्मा वाङ्छु शेर्पाले आफ्नै घरमा सम्पर्क कार्यालय खोलेका हुन् ।

प्रतिक्रिया दिनुहोस्