रमणीय रुवालुङ



भुलभुलेबाट उकालियौं । भुलभुलेदेखि रुवालुङ झरनासम्म ढुंगा बिछ्याएर निर्मित पदमार्ग । १० मिनेटको पैदल यात्रापछि रुवालुङ झरना पुगिन्छ । झरना आफ्नै लयमा सुसाइरहेको छ ।

गिद्धे र गौंथले सामुदायिक वनबीचको मुहानबाट बग्ने पानी त्यत्तिकै कञ्चन । सुनूँसुनूँ लाग्ने झरनाको सुसाई । चट्टानैचट्टानबाट बग्दै झरेको पानी । एक सय मिटर उचाइबाट बग्दै झरेको झरनाको तस्बिर कैद गर्न लालायित त्यत्तिकै देखिन्थे भने कतिपयले झरनालाई पृष्ठभूमि बनाएर फोटो खिचाउने लोभिँदै थिए ।

‘सत्य होला,’ रुवालुङ झरना हेरेर रमाइरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान तल्लो कात्तिकेनिवासी शिवकुमार राईले भने, ‘रुवालुङ रमणीय लाग्यो । रुवालुङलाई रमणीय नभन्नेको विद्या नष्ट हुन्छ ।’

‘बर्खामा त झन् ठूलो हुन्छ नि,’ भुलभुले दूधकुण्ड देउधाम रेखदेखका लागि खटिएका ८१ वर्षीय ध्यानबहादुर राईले जानकारी गराए, ‘हिङ्डो (हिउँद)मा चाहिँ रुवालुङ झरना अलि सानो हुन्छ ।’

पहाडको सुन्दरता पहाडले नै बोकेको हुन्छ । जुन शब्दमा बयान गरिसाध्य छैन । तराईका मानिसले पहाड देखेपछि त्यत्तिकै मोहित भएका होइनन् नि । पहाडको काखमा रहेको सुन्दर झरना देख्दा त झन् जोकोहीको मन औधी रमाउँछ ? त्यही भएर महुली लघुवित्त वित्तीय संस्था लिमिटेड दिक्तेलका सहायक अधिकृत विनोदप्रसाद साहले श्रीमतीलाई झरना देखाउन रुवालुङ पु¥याए । रुवालुङ झरना देखेर दंग परेको सप्तरीनिवासी साहकी श्रीमतीको अनुहारमा प्रस्टै झल्कन्थ्यो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा पर्ने रुवालुङ झरना जति हेरे पनि अघाउँदैन । ‘म ?,’ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख वीणादेवी राईले स्वीकारिन्, ‘समय छ भने भुलभुले पुग्दा रुवालुङ झरना अघाउन्जेल हेर्छु ।’ झरना हेरेर मनोरञ्जन लिनुका आनन्द शब्दमा व्यक्त गर्न कठिन हुने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख राईको भनाइ छ ।

घुमघामका लागि खोटाङ सदरमुकाम दिक्तेल पुग्नेले रुवालुङ झरना पुग्नैपर्छ । नत्र यात्रा अधुरो हुनेछ । दिक्तेलबाट १० किलोमिटर दूरीमा रहेको रुवालुङ झरना मध्यपहाडी लोकमार्ग पछ्याउँदै जानुपर्छ ।

संसारभरि झरना पर्यटन फस्टाउँदै गएको छ । भेनेजुएलामा रहेको ९७९ मिटर अग्लो ‘एन्जेल फल्स’ संसारकै अग्लो झरना मानिन्छ । नेपालमा समेत रुवालुङजस्ता थुप्रै झरना छन् । ती झरनाका समाचार प्रकाशन तथा प्रसारण भइरहेकै छन् ।

नेपाली गीत–संगीतमा झरनाको त्यत्तिकै बयान गरिएका छन् । झरनासँग जोडिएर आएका नेपाली गीत कम्ती श्रवणीय छैनन् । हेर्दा जति सुन्दर देखिन्छ झरना । हो, त्यत्तिकै ।

प्रतिक्रिया दिनुहोस्