कटारी झर्दाको मज्जा छाकैपिच्छे चामलको भातसँग मासु



सुरुङ भएर बगेको सोरुङखोला । लामो जँघार तरेपछि दोभानमा पसल भेटिन्छ । ढाक्रेहरू सिन्दुरेबेंसीबाट एकैचोटि यहीँ बास बस्न आइपुग्छन् । बीचमा बस्ती छैन । खोला तरेर दोभान आइपुग्नु, सानोतिनो लडाइँ जित्नु हो ।

जून टह–टह लागिरहेको छ । जूनको टक बालुवामा टल्किएर रात उज्यालो भएको छ । तल्तिर सुनकोसी बगेको छ । चिसो हावा सुसेलिएर आइपुगेको छ । रात शीतल छ । माथिबाट बरको छहारीजस्तै दोभानतिर जंगल नुहिएको छ ।

आहा ! क्या रमाइलो दोभानेमेला । बिहान भएपछि सोरुङदोभान बिस्तारै रित्तिँदै जान्छ । खाना खाने बेला तरेपछि दोभान लगभग रित्तो हुन्छ । बेलुकी हुँदै गएपछि ढाक्रेहरू हुलका हुल फेरि आइपुग्छन् ।

ढाक्रेहरूको बजार । सोरुङदोभान अर्थात् दोभानेमेला राति पनि रमाइलो हुन्छ । मन खुसी हुन्छ । ‘कटारी झर्न पाउनु, चामलको भात खान पाउनु, रातैपिच्छे ढाक्रेहरूको मेला भर्नु, दिनैपिच्छे मासुभात खान पाउनु’ मलाई आमाले भाग्यमानी जन्माएकी र’छन् ।

बालुवामाथि ओछ्यान ओछ्याएर लहरै सुतेका छौं । बूढाहरू गफिँदै छन् । निदाएका छैनन् । भोलिपल्ट बेलुकी पाँच बजे सालघारी फेदी पुग्नैपर्छ । यो भोलिको रुटिन हो । नत्र अर्खौले हाट पुगिन्न । ‘भोलि बिहान रों खानु बालाङ्मारी बो लाओर्से ?’ काजिम्पाले भने, ‘बालाङ्मारी हो भने आफन्तको पसल छ । सुविस्ता हुन्छ ।’

साइँला बाबै, ‘आ होस्, बालाङ्मारीमा वासिम खाने । रङरङ भएर पुगिन्छ लाओर्से ।’ काजिम्पाले हुन्छ भनेर सहमति जनाए । हामी सुनिरह्यौं । भोलि बिहानको खाना खान लाओर्से पुग्नु छ । लाओर्सेबाट हैदे पुग्न दुई बिसाउनी लाग्छ । अनि मात्र पुगिन्छ बेलुकीको पाँच बजे सालघारी फेदी । हैदेबाट सालघारी फेदी एक बिसाउनी हो । हामी कतिबेला सुतिगएछौं ।

बिहान भाले बास्यो । भुँइमा उज्यालो खस्यो । बूढोहरू ओछ्यान उठाउन थाले । बलु दाइ र म पनि उठ्यौं । भारी कसेर हिँड्यौं । खुट्टा फेरि नमीठोगरी दुख्यो । बूढाहरूले भनेको याद भयो, ‘एकछिन हिँडेपछि तातिन्छ । दुख्न छोड्छ ।’ मनले भन्यो, ‘हो त नि । एकछिन मात्र दुख्ने हो ।’
बालाङ्मारीमा वासिम खाएको रन्कोमा लाओर्से पुग्नु छ । बूढाहरू निकै अगाडि पुगिसकेका छन् । उज्यालो राम्रो भइसकेको छैन । मानिस नदेखिए पनि बगरको ढुंगामा टोक्मा टेकिएको आवाज नजिकै आइरहेको थियो । हामी सोरुङदोभानबाट बिहानको बाटो लाग्यौं ।

आज आइतबार । आमालाई घरमा हतार छ । मधेस जानेलाई सघाउन जाने दिन । बोहेम्माबाट सालघारी पुग्न दुई घन्टा लाग्छ । आपा, नानाहरू सबै बेंसीमै बस्छन् । सालघारी फेदी बेलुकीको पाँच बजे वासिम बोकेर पुग्नु छ । बिहानै उठेर आमाले एक डबका वासिम छानेर खाइन् । डोको बोकेर घाँस काट्न हुम्ला पुगिन् ।

गाउँमा एक माउभैंसी छ । मंसिरेपूर्णे साकेलामा काट्ने जमान गइसकेको छ । जमानीले सुँगुर पनि मागेका छन् । सुँगुर र भैंसी पोस्याएर मोटो बनाउनु आमाको काम हो । घाँसको भारी, सुँगुर चारो सबै बन्दोबस्त मिलाउन आमालाई हतार छ । यति गर्दागर्दै आँगनबीचमा घामको ओझेल आइपुग्यो । आँगनबीचमा ओझेल आइपुगेपछि तीन बज्छ । आमाको घडी छैन । घामले बनाइगएको ओझेल आमाको समय हो ।

दुई घान भुटेको मकैभटमास, एक जर्किन जुन्यालोको वासिम । डोकोमा बोकेर आमा मार्सेतिर लागिन् । रातमाटे, टोड्के भएर सालघारी फेदी झर्नु छ । हिउँद लागेपछि बोहेम्मालीहरू यसै गर्छन् । सक्नेहरू कटारीको भारी बोक्न जान्छन् । आइतबार बेलुकी पाँच बजे सालघारी फेदी आइपुग्छन् । यही समयमा खाजापानी बोकेर घरकाहरू सालघारी फेदी पुग्छन् । अलि–अलि भारी बोक्न सघाउँछन् । टोपी खस्ने सालघारी उकालो भारीसँग उक्लिनु, सानोसानो खड्ग काट्नु हो ।

कालो छिटको गुन्यु । सेतो पटुकी । टाउकोमा ढाकाको बर्को । कम्मरमा हँसिया । आमाको हुलिया आँखामा डुल्न थाल्यो, ‘सालघारी उँधो झरिरहेकी होलिन् ?’ हैदेबाटै सालघारी सिरानदेखि फेदीसम्म आँखा छड्किन थाल्यो । आमा देखापरिनन् । मैनाटारको बगर तरेपछि सालघारी फेदी आइपुगिन्छ । लाओर्से तेर्सोको चर्को घामले टाउको चरक्क दुखेको छ । हामी भारी टेकाउँदै लहरै हिँडेका छौं ।

सालघारी फेदीमा आमासँग भेट भयो । वासिमसँगै भुटेको मकै, ढिकेनुन, ढिँडे खुर्सानी खाइयो । आँटै रसिलो भयो । मेरो र माइला दाइको अलि–अलि भारी आमाले डोकोमा हालिन् । उकालो लागिन् । हामी बिस्तारै उक्लियौं । उकालोमा आमालाई कहीं भेटिएन । हामी टोड्के उक्लिँदा आमा सायद घर पुगेको हुनुपर्छ । घरमा पुगेर बस्तुभाउलाई बेलुकीको घाँसपानी भ्याउनुपर्छ । आमालाई सधैं हतार हुन्छ । खाना पकाउनु छ । हामी राति घर आइपुग्यौं । एकछिनपछि आपा पनि बेंसीबाट आइपुगे ।

पाँच दिनको बाटो बोकेको चामलले भोलि अर्खौले हाट भर्नु छ । यो हप्ता हामी चामल व्यापारी भएका छौं । माइला दाइ र मैले कटारीबाट बोकेको दुई भारी भोलि बिहानै तीन भारी बनाएर अर्खौले बजार पुग्नु छ ।

आपाले चामलको भारी तीन बोरा बनाए । अलिक ठूलो बोरा माइला दाइको हो । अलिक सानो आपाको हो । सबैभन्दा सानो बोरा मेरो नाममा तयार भयो । मझेरीमा तीन भारी लहरै छ । भोलि बिहान भाले बास्दा हलेसी उकालो गुराँसे पुग्नु छ । नत्र चामलले भाउ पाउँदैन । अरूले टपिजान्छ ।

बिहानपख आपाले उठाउँदै भने, ‘अब लाम्थिये, वापोमा भयो ।’ आँखा मिच्दै उठ्यौं । आ–आफ्नो नामको बोरा बोक्नु छ । हुम्ला, बुर्खा, थाँटिखोला, सेलुवाखोलाको तर्साउने बाटो काटेर हलेसी पुगिन्छ । आपा सबैभन्दा अगाडि हिँडेका छन् । म माझामा परेको छु । हलेसी पुग्दासम्म पनि भाले बासेन । उकालो लागेपछि भाले बास्यो । गुराँसेमा बिसाएपछि भुँइ उज्यालो भयो । आपाले भने, ‘अब, म अलिक अगाडि जान्छु । अर्खौले पुग्ने बेलाको बिसाउने ठाउँमा पर्खिरहन्छु ।’ अर्खौले बजारमा प्रतिभारी दुई रुपियाँ ट्याक्स बुझाउनुपर्छ । तीन भारीलाई दुई भारी बनाउनु छ । खप्ट्याएपछि तिरो दुई भारीको मात्र लाग्छ । म खुसी भएँ । मेरो भारी आपाले खप्ट्याउनेछन् । म रित्तो भएर हल्लिँदै अर्खौले पुग्नेछु । अर्खौले पुग्नेबेला आपाले मेरो भारी खप्ट्याए । दुई रुपियाँ आपाले हातमा थमाए । मैले माइला दाइको भारीको ट्याक्स तिर्नु छ । माइला दाइ हिसाब जान्दैनन् ।

हाट छिर्नेबेला ट्याक्सवालाले आपाको भारी समात्यो । ट्याक्सवालाले दुई रुपियाँमा मानेनन् । भारीको तीन रुपियाँ भन्न थाल्यो । आपा खुब बम्किए । आपा र ट्याक्सवालाको बाझबाझ भयो । मलाईचाहिँ लाज लाग्न थाल्यो ।

आपालाई ‘दिनू’ भनें । आपा मसँग पनि रिसाए, ‘यिनीहरूले जति भन्यो त्यति तिर्नुहुँदैन । अघिल्लो हप्ता दुई रुपियाँ तिरेको । कसरी यो हप्ता बढ्यो ? म तिर्दिनँ ।’

माइला दाइ पनि आइपुगे । मसँग दुई रुपियाँ छ । माइलाले बोकेको भारीको ट्याक्स तिर्नु छ । ट्याक्सवाला भनिरहेको छ, ‘तीन रुपियाँ ।’ ट्याक्सवालाले माइला दाइको पनि भारी समात्यो ।

आपा खुब रिसाएका छन्, ‘तीन रुपियाँ तिर्दै तिर्दिनँ ।’ ट्याक्सवालाको हातमा टिकट छ । हातमा कलम छ । झोला भिरेका छन् । झोलामा ट्याक्स काटेको पैसा छ । ठूलो मान्छे भएर हप्काउन थाल्योे, ‘म भारी छिराउन दिँदै दिन्न ।’

आपाको अनुहार रिसले रातोपिरो भयो । ‘लु कसरी दिँदैनस् ? हेरुङ ।’ टिकसवालाले पनि ठूलो आवाज निकाल्यो, ‘लु बोकिहेर त ।’ आपाले भारी जुरुक्कै बोकेर एक खुड्किलो उक्लिए । ट्याक्सवाला रिसाउँदै हतार–हतार माथिल्लो खुड्किलो उक्लेर लात्तीले आपाको भारी हान्यो । आपा र भारी खोन्द्राङमा एकैठाउँ थुप्रियो । माइला दाइलाई लाटो रिस उठ्यो । आँखाको मिलिकमा ट्याक्सवालालाई झम्टन पुगे । माइला दाइको ट्याक्सवालासँग लाप्पा पर्यो ।

प्रतिक्रिया दिनुहोस्