हलेसी तुवाचुङ नगर सरकारलाई १८ बुँदे सुझाव


हलेसी–धितुङ–भाटबेंसी–रेग्मीटार–रसुवाघाट सडकखण्डमा असोज २५ गतेबाट यातायात साधन सञ्चालनमा आएको खबरले म व्यक्तिगत हिसाबले अत्यन्तै खुसी छु । हलेसी तुवाचुङ नगरको पूर्वी नाकाका रूपमा रहेको सडक खण्ड हलेसी–धितुङ–भाटबेंसी–रेग्मीटार सडक निर्माण सन्दर्भमा सुरुवात कहाँबाट ? कहिले ? के ? किन ? कसरी ? कति ? लगायतका विषय उठान गर्न जरुरी ठानेको छु । यस सन्दर्भमा मैले उठान गरेका विषयवस्तु यथार्थमा आधारित रहेर उठान गर्दै छु । यदि विषयवस्तु उठानमा मेरा कमीकमजोरी भए औंल्याइदिन विनम्रपूर्वक अनुरोध गर्दछु ।

स्थानीय सरकारलाई १८ सुझाव

(१) यो आलेखमा प्रयोग भएका फोटा मेरो मोबाइलमा सुरक्षित भएका फोटामात्र छन् । त्यसैले यी फोटामा उपलब्ध व्यक्तिमात्र यस सडकका सरोकारवाला हुन् भनेर नबुझिदिन अनुरोध गर्दछु ।

(२) यो सडकको अवधारणा साबिक धितुङ गाउँ विकास समितिको सर्वदलीय र सर्वपक्षीय सहमतिबाट अघिसारेको योजना हो । यसमा दुईमत नहोला ।

(३) सुरुमा हलेसीबाट सडक निर्माण गर्न असम्भव भएपश्चात् धितुङको लोकेबरबाट आर्थिक वर्ष २०६५/०६६ तिर सडक निर्माण गर्न सुरु गरिएको हो । पछि हलेसीबाट पनि जोड्न सफल भएको ।

(४) संघीय संरचना स्थापना भई निर्वाचनअगावै हलेसी महादेवस्थानले आफ्नो क्षेत्र ९ रकमको स्रोत हलेसी ऐंसेलुखर्कका रामकुमार र महितराम राईलगायत महानुभावबाट जानकारी हुने र धितुङको हात्तीआहाल पुछार बुढाथोकीहरूको देवालीस्थानसम्म साबिक धितुङ गाविसको गाउँ परिषद् तथा जिविसलगायतबाट रकम विनियोजन भई परनसेर राईको अध्यक्षतामा उपभोक्ता समिति बनी निर्माणकार्य भएको ।

(५) हात्तीआहाल पुछार देवालीस्थानदेखि लैकुखोला धितुङपट्टिको सिमानासम्म हलेसी तुवाचुङ नगरपालिकाबाट बजेट विनियोजन भई निर्माणकार्य भएको ।

(६) लैकुखोला राजापानीपट्टिको सिमानादेखि रेग्मीटारवरको डाँडासम्म संघीय माननीयअन्तर्गत क्षेत्र विकास कोष र १ नम्बर प्रदेशबाट बजेट विनियोजन भई उपभोक्ता समिति गठनमा केही विवाद भई अलि समस्याबीच (यसको वास्तविक कुरा सम्बन्धित निकायमा थाहा छ) नै निर्माणकार्य भएको ।

(७) हलेसी तुवाचुङ नगरपालिका–८ धितुङबाट धितुङ भन्ज्याङको केही दूरीमा सडक ग्राभेल भएको । साथै सम्बन्धित निकायबाट बेलाबेलामा मर्मतसम्भार भइरहेको ।

(८) हिजो (असोज २५ गते) बाट गाडी गुडेको यस सडकलाई कुनै राजनीतिक दाउपेच नगरी सबै एक भएर सदावहार यातायात साधन गुडाउने वातावरण बनोस् ।

(९) अब चाँडै सय सडकलाई स्तरोन्नतितर्फ आवश्यक पहलका लागि सरोकार सबैमा जोडदार मागसहित निवेदन गर्दछु ।

(१०) यस सडक निर्माणक्रममा क्षति भएको कटहरे खेतको कुलो र भाटबेंसी खेतको कुलोलाई चाँडै मर्मत–सम्भार गर्न सम्बन्धित निकायबाट पहल गरी खेतीयोग्य जमिन नबाँझियोस् ताकि बसाइँ–सराइलाई असर नपरोस् ।

(११) यस सडक क्षेत्रको भाटबेंसीलाई त्रिधार्मिक क्षेत्र हलेसीको पूर्वको पर्यटकीय नाकाका रूपमा विकास गर्न व्यवस्थित होटल व्यवसाय सञ्चालनमा ध्यान जाओस् ।

(१२) यस सडकवरिपरि खेतीयोग्य जमिनमा घर–टहरा निर्माण गरी बढ्दो बजारीकरणमा भइरहेको लापरबाही व्यवस्थित गरियोस् ।

(१३) यस सडकले छोएको क्षेत्र रेग्मीटार र भाटबेंसीमा प्रशस्त मात्रामा पानी र खेतीयोग्य जमिन भएकाले आधुनिक कृषि यान्त्रिकीकरणबाट तरकारी खेती र बेमौसमी खेतीलगायत धान र गहुँ बालीलाई बढावा दिने प्याकेजको पकेट, ब्लक र जोन कार्यक्रम अगाडि ल्याइयोस् ।

(१४) धितुङको तल्लो क्षेत्रमा बदाम र माथिल्लो क्षेत्रमा मकैको ब्लक क्षेत्र कार्यक्रम अघि सारियोस् ।

(१५) धितुङ दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना प्रभावित क्षेत्रसमेत भएकाले दिगो विकासको अवधारणा अवलम्बन गरी विकास निर्माण गरियोस् ।

(१६) यस सडकसँग जोडिएको हलेसीको ऐंसेलुखर्क र धितुङको गाराबु, बुलाडाँडा, धितुङ, बखुवा र हात्तीआहालमा होम स्टे कार्यक्रम सञ्चालनमा आओस् ।

(१७) रेग्मीटार दोभानको मन्दिर, हात्तीआहाल, हात्तीढुंगा र त्यसनजिकैको गुफा, बखुवा आहाल, लावाचुङ, चिउरीढाडलगायत यस सडकवरिपरि भएका धार्मिक तथा सांस्कृतिक महत्वका क्षेत्र विकासमा जोड गरियोस् ।

(१८) भाटबेंसी–हात्तीआहाल–बखुवा–धितुङ–बुला–गराबुमध्ये उपयुक्त स्थान छनोट गरी व्यवस्थित बसपार्क अवधारणा आओस् ।

अन्त्यमा यश सडकलाई यहाँसम्म ल्याउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद तथा आगामी दिनमा सकारात्मक सल्लाह, सुझाव र थप सहयोगको अपेक्षासहित ।

(लेखक कार्की, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती केन्द्रीय सचिवालय सदस्य एवम् १ नम्बर प्रदेश पूर्वसंयोजक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्