
सोलुखुम्बुको उत्तर–पूर्वमा रहेको सानो गाउँको नाम चोचोलुङ हो । साबिक गुदेल गाउँ विकास समितिअन्तर्गत पर्ने चोचोलुङ हिजोआज महाकुलुङ गाउँपालिका–५ मा पर्छ । चोचोलुङ छाम्पानाम वंशमा पर्ने पिल्मो समुदायका देउराम र छेन्हो राईको उद्गमस्थल हो ।
चोचोलुङबाट प्रकाशन गरिएको पुस्तकको नाम ‘चोचोलुङ रिङ रिदुम’ राखिएको छ । चोचोलुङमा बसोवास गर्ने सम्पूर्ण राईको प्रयासबाट पुस्तक प्रकाशन गरिएको हो भन्ने पुस्तकको संरचनाले छर्लंग देखाउँछ । चोचोलुङवासी किरात राई जातिको मातृभाषामा पुस्तक प्रकाशित छ । विभिन्न व्यक्तिले कार्यविभाजन गरेर संकलित सांस्कृतिक अभ्यासको पाठ समावेश गरिएको छ । पुस्तकको पाठ पढ्दा संकलक लक्ष्यमा पुग्न त्यति सफल देखिँदैनन् । एकातिर प्रकाशित पुस्तकमा कुलुङ राईको सांस्कृतिक पाठ समावेश गर्न छुटेको छ भने अर्काेतिर नेपाली भाषाको शब्दले धेरै स्थानमा अहम् भूमिका खेलेको छ । तैपनि यो पुस्तक सांस्कृतिक अभिलेखनमा कोसेढुंगा मान्नुपर्छ ।
संस्कार संस्कृति अभ्यासमा समेत नेपाली भाषाको शब्दले स्थान पाएको छ । यस गतिविधिले मातृभाषाको जरो उखेलिने संकेत दिएको छ । पुस्तकमा प्रयुक्त शब्दले मातृभाषाको स्तर खस्कँदै छ भन्ने देखाउँछ । अर्थात् मातृभाषाको शब्दलाई नेपाली भाषाको शब्द प्रयोगले विस्थापित गर्दै छ भन्ने संशय देखाउँदै छ । भन्नुको तात्पर्य चोचोलुङमा बोलिने मातृभाषामा नेपाली भाषाको प्रभाव बढदो छ । चोचोलुङमा बोलिने राई भाषा हराउँदै छ भन्ने देखिन्छ । स्थानीय मातृभाषामाथि नेपाली भाषाको प्रभाव बढ्दै जाँदा मातृभाषा लोप हुन्न भन्न सकिँदैन ।
पुस्तकको नाम ‘चोचोलुङ रिङ रिदुम’ राख्नुको अर्थ चोचोलुङमा जीवित भाषा र अभ्यासमा रहेको संस्कृति हुन् भन्ने पुष्टि गर्छ । पुस्तक प्रकाशनको मूल उद्देश्य चोचोलुङमा अभ्यास भइरहेको सम्पूर्ण संस्कार संस्कृति अभिलेखन रहेको बुझिन्छ । चोचोलुङलाई देउराम र छेन्होको किपट मानिन्छ । तैपनि चोचोलुङमा घरज्वाईं भएर आई स्थायी बसोवास गरेको कुलुङ राई ठुलो संख्यामा रहेको पाइन्छ । दिस्मीको माइला छोराको नाम ‘खप’ हो । खपका सन्तान सोलुखुम्बुको कुलुङमा आएर बसोवास गरेपछि कुलुङ भन्ने ठाउँको नामबाट ‘कुलुङ’ हुन पुगेको इतिहास छ । छेन्हो र देउरामको किपटमा घरज्वाईं भएर आएको कुलुङे सन्तानले देउराम र छेन्होको संस्कार संस्कृति ग्रहण गर्न सकेनन् । देउराम र छेन्होको किपटमा बसाइँ सरेर आएको कुलुङले देउराम र छेन्होको संस्कार संस्कृति अपनाउन नसक्नुको मूल कारण कुलुङ फरक वंशको हो भन्ने छर्लंग देखिन्छ ।
छेन्हो र देउरामभन्दा फरक समुदायमा परेको हुनाले चोचोलुङवासी कुलुङले विशेष छुट्टै संस्कृति अभ्यास गर्छन् । देउराम र छेन्होभन्दा फरक संस्कृति पालन गरेर कुलुङले आफ्नो मौलिक पहिचान संक्षरण गर्न सफल भएको प्रस्ट देखिन्छ । चोचोलुङमा कुलुङ, देउराम र छेन्होबाहेक अरू थरका राई पनि बसोवास गर्छन् । कुलुङबाहेक अन्य थरका राईले देउराम र छेन्होको संस्कार संस्कृति आत्मसात् गरेका छन् । तोस् पूजामा देउराम र छेन्होले कस्तूरी र मृग उपलब्ध छैन भने सुँगुरको छप्छौ (खुट्टा) पोल्ने चलन छ । कुलुङ समुदायमा सुँगुरको छप्छौ पोल्ने संस्कार भने छैन अर्थात् सुँगुरको छप्छौ पोल्नु वर्जित छ । कुलुङले कस्तूरी र मृगको मात्र छप्छौ पोल्ने संस्कार रहेको छ । त्यसकारण देउराम र छेन्होको तोसथानको एक छेउमा कुलुङलाई छप्छौ पोल्ने अलग ठाउँ छुट्टाइदिएको छ ।
कुलुङको घरमा मरौ पर्दा सांस्कृतिक अभ्यास गर्ने ‘सातिपुस’ कुलुङै चाहिन्छ । त्यसकारण चोचोलुङवासी कुलुङले मरौ पर्दा सांस्कृतिक अभ्यास गर्ने सातिपुस बाहिरबाट कुलुङै ल्याउने गर्छन् ।चोचोलुङवासी अन्य राईले चाहिँ मरौपरौमा देउराम र छेन्होको संस्कार संस्कृति अपनाउने गर्छन् । बाहिरबाट झलक्क हेर्दा ‘चोचोलुङ रिङ रिदुम’ नामक पुस्तक चोचोलुङवासी सबै राईका लागि लेखिएको हो जस्तो देखिन्छ । तर चोचोलुङवासी कुलुङ समुदायले देउराम र छेन्होभन्दा फरक संस्कृति मान्ने गरेको कुरा पुस्तकमा छुट्टाएर लेखिएको देखिँदैन ।
कुलुङको मरौमा बखान गरिने सांस्कृतिक मन्त्र पुस्तकमा लेख्न छुटेको छ । चोचोलुङमा कुलुङको मृत्यु संस्कारसम्बन्धी विज्ञव्यक्ति नभएका कारण कुलुङले चोचोलुङ बाहिरबाट मृत्यु संस्कार ज्ञाता कुलुङ ल्याउने गरेको हो । ‘चोचोलुङ रिङ रिदुम’ पुस्तकमा कुलुङको मरौमा गरिने लाछोम पाठ नलेखिनुका कारण चोचोलुङमा कुलुङ संस्कार विज्ञ अभाव रहेको छ भन्ने बुझिन्छ । ‘चोचोलुङ रिङ रिदुम’ नामक पुस्तकले चोचोलुङमा देउराम र छेन्होले एउटा संस्कार मान्छ भने कुलुङले अर्काे संस्कार मान्छ भनेर दुई समुदायको फरक सांस्कृतिक रेखा स्पष्ट कोरिएको देखिँदैन । तथापि चोचोलुङवासी राई सांस्कृतिक रूपले दुई समूहमा विभाजित रहेको ‘चोचोलुङ रिङ रिदुम’ पुस्तकले पुष्टि गर्न सकेको छैन ।
‘चोचोलुङ रिङ रिदुम’ पुस्तकको पाना १६४ मा ‘पिल्मोछा सियिखात्यालो काम मम् रिङरिदुम’ शीर्षक उल्लेख छ । यस शीर्षकले चाहिँ चोचोलुङमा बसोवास गरिरहेका देउराम र छेन्हो पिल्मो राई वंशमा पर्छन् भन्ने देखाउँछ । पुस्तकको उपरोक्त शीर्षकले कुलुङ र पिल्मो फरक–फरक अस्तित्व र पहिचान बोकेको समुदाय हो भन्ने बुझाउँछ । त्यसैकारण कुलुङ र पिल्मो सांस्कृतिक रूपमा स्पष्ट रूपले दुई धारमा विभाजित देखिन्छ । संस्कृति फरक भएपछि मौलिकता, अस्तित्व र पहिचान फरक हुनु स्वाभाविकै हुन्छ ।



