‘म राजेशपायल राईको नयाँ गीत हुँ, मलाई सुन्न चाहन्छन्’


तस्बिर : केदार मगर

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट खोटाङको उम्मेदवार देवविक्रम राईले आफूलाई राजेशपायल राईको नयाँ गीतसँग तुलना गरेका छन् । एमाले खोटाङ अध्यक्षसमेत रहेका उम्मेदवार राईले काठमाडौंमा खोटाङे पत्रकारसँग आफ्नो चुनावी एजेन्डा सुनाउँदै गर्व गरे, ‘म राजेशपायल राईको नयाँ गीत हुँ । संगीतकारद्वय शान्तिराम राई र महेश खड्काको नयाँ संगीत हुँ । मलाई खोटाङेले सुन्न चाहेका छन् ।’

विकसित देशमा समेत बसाइँ–सराइ हुने गरेको छ । अमेरिका छाडेर अस्ट्रेलिया बसाइँ सर्ने अमेरिकीसमेत छन् भने नेपालमा बसाइँ–सराइ गर्नु अस्वाभाविक होइन । ‘तसर्थ, सर्वप्रथम खोटाङलाई बस्नलायक बनाउने प्रतिबद्धता जनाउँछु,’ उनले जोड दिए, ‘जिल्लाका गाउँ–गाउँलाई बस्नयोग्न बनाउने प्रयत्न गर्नेछु । बसाइँ–सराइ रोक्नु मेरो मुख्य चुनावी एजेन्डा हो ।’ बसाइँ–सराइ रोक्न सकिएन भने जिल्लाका गाउँहरू मानवविहीन बन्नेछन् ।

शिक्षा, स्वास्थ्य, खानेपानी अभाव र बाँदर आतंकले समेत जिल्लावासी बसाइँ सर्न बाध्य छन् । ‘म आफू पनि बाँदरपीडित हुँ । अबको लडाइँ बाँदरसँग हुनेछ । बाँदरसँगको भिडन्तमा हामीले जित्नैपर्छ,’ उनले विश्वास दिलाए, ‘अन्तर्राष्ट्रिय अभिसन्धिहरूमा नेपालले जहाँ–जहाँ हस्ताक्षर गरेको छ, त्यसबाट ब्याक हुनैपर्छ । त्यतिले मात्रै सम्भव नहोला । जंगली जनावर नियन्त्रणमा राज्यले पहलकदमी लिनुपर्छ । बाँदरलगायत वन्यजन्तुसँग नेपाली सुरक्षाकर्मी लड्नुपर्छ । भरुवा बन्दुकसमेत राख्ने अधिकार नपाएका नेपालीले लड्न सक्दैनन् ।’

शिक्षा र स्वास्थ्यकै कारण बसाइँ–सराइ गर्नेको ताँती छ । ‘जिल्लामै गुणस्तरीय शिक्षा, सुविधासम्पन्न अस्पताल, जटिल रोगबाहेकका बिरामीलाई जिल्लामै उपचार गर्न सक्ने व्यवस्था मिलाउन लागिपर्नेछु,’ उनले थपे, ‘भूमि नीति वैज्ञानिक र व्यावहारिक छैन । भूमि नीतिमा आमूल परिवर्तन गर्न देखिने गरी भूमिका निर्वाह गर्नेछु । उल्लिखित समस्या संसद्मा बुलन्द बनाउनेछु ।’

बसाइँ–सराइ रोक्न र बसाइँ हिँडेकालाई पुनः थातथलो फर्काउने उपाय हुँदै नभएको होइन । शिक्षा, स्वास्थ्य, कृषिमा आमूल परिवर्तन गर्न सके बसाइँ–सराइ कम हुँदै जाने उनको बुझाइ छ । त्यसो गर्न सके थातथलो फर्कने खोज्नेछन् । मानिस रहरले सहर पसेका होइनन् ।

जिल्लाका जमिन बाँझिदै गएको छ । ‘बाँझो जमिनमा व्यावसायिक खेती गर्नुपर्छ,’ उनको मान्यता छ, ‘अरू केही गर्न नसके जडीबुटी खेती गर्न सकिन्छ । स्थानविशेषका बाँझो जमिनलाई फ्रुट फरेस्टमा परिणत गर्न सकिन्छ । यतिमात्रै थालनी गर्न सके बसाइँ–सराइ रोक्न सघाउ पुग्छ ।’

बहुआयामिक व्यक्तित्व देवविक्रम राई वास्तविक किसान पनि हुन् । उनले एक सय रोपनीभन्दा धेरै जमिनमा फलफूल खेती गर्दै आएका छन् । उनले हुर्काएका ५०० बोट लिचीले उत्पादन दिन थालेको छ । अन्य कैयौं प्रजातिका फलफूल हुर्कंदै छन् । उनलाई किसानका नेताका रूपमा समेत चिन्ने गरिन्छ ।

विद्यार्थीबाट थालेको राजनीतिक यात्राले राजमार्ग पहिल्याउँदै गएको छ । ४० वर्षदेखि राजनीतिमा अनुहारिएका नेता राई संवत् २०६४ मा जिल्ला फर्केर एमाले खोटाङ मजबुत बनाउन लागिपरे । एमाले खोटाङ सचिव, उपाध्यक्ष हुँदै अध्यक्षको भूमिकामा रहेका उनी आसन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट खोटाङको उम्मेदवार हुन् । उनले खुसी व्यक्त गरे, ‘आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि टिकट पाउनु मेरो जिन्दगीकै ठूलो उपहार हो ।’

खोटाङमा ८९ वडा छन् । टोलटोलमा एमालेको कमिटी छ । ‘तसर्थ, ढुक्कले निर्वाचन जित्छु,’ उनले आधार पेस गरे, ‘एमाले इमानदार र भिजन भएको पार्टी हो । जिल्लाको नेतृत्व कुञ्ज एकताबद्ध छ ।’

‘दुधकोसी जलाशययुक्त आयोजना सम्पन्न गर्न अर्थपूर्ण भूमिका खेल्नेछु,’ पत्रकारको प्रश्न उत्तर दिँदै उनले पुछारमा प्रतिबद्धता जनाए, ‘मुआब्जा नपाएकालाई दिलाउन कुनै कसर बाँकी राख्ने छैन ।’

प्रतिक्रिया दिनुहोस्