पत्रकार दमन राईको आँखामा मेयरको उम्मेदवार बिमला राईका सबल पक्ष


आसन्न स्थानीय तह निर्वाचनका लागि हलेसी तुवाचुङ नगरपालिकामा विभिन्न दलसम्बद्ध सातजनाले मेयरमा उम्मेदवारी दिएका छन् । मेयरमा उम्मेदवारी दिएकामध्ये काँग्रेसबाट बिमला राईको उम्मेदवारी परेको छ । पूर्वउपमेयरसमेत रहेकी उनी ‘हेभी वेट’को मेयरका उम्मेदवार हुन् ।

‘उपमेयर राईले पाँचवर्षे कार्यकालमा महिला सशक्तीकरणका लागि रहरलाग्दो काम गर्नुभयो,’ नेपाल पत्रकार महासंघ खोटाङ पूर्वअध्यक्ष दमन राईले सुनाए, ‘यत्तिका काम खोटाङका अन्य पालिकामा सायदै भए ।’

बिमला राईको सबल पक्ष–१

हलेसी तुवाचुङ नगरपालिकामा ‘एक वडा, एक महिला कृषि सहकारी’ स्थापना गरिएका छन् । कतिपय वडामा स्थापना हुन बाँकी होला । ‘महिला कृषि सहकारी स्थापना गर्नुमात्रै ठूलो काम होइन,’ नेपाल पत्रकार महासंघ खोटाङ पूर्वअध्यक्ष राईले थपे, ‘सहकारी स्थापनापछि सहकारी व्यवस्थापन र क्षमता अभिवृद्धि तालिम गराएर संस्थालाई बलियो बनाउनुचाहिँ ठूलो काम हो । जुन काम गर्न/गराउन उहाँ सफल हुनुभयो ।’

बिमला राईको सबल पक्ष–२

नगरको जुन–जुन वडामा कृषि सहकारी स्थापना भएको छ, त्यहाँका महिलाको प्रगति लोभलाग्दो देखिन्छ । ‘एक वडा, एक उत्पादन’ नीतिअन्तर्गत नगरवासी महिलालाई स्थानविशेषअनुसार व्यापार, व्यवसायमा जोड्ने काम त्यति सजिलो थिएन । तर, सम्भव बनाइयो ।

बिमला राईको सबल पक्ष–३

पूर्वउपमेयर बिमला राईले पदीय भूमिकाभन्दा धेरै काम गरेको प्रशंसा सुन्न पाइन्छ । हुन पनि हो, काम गर्ने भोक जागेकाले नै उदाहरणीय काम गर्ने हुन् । पूर्वउपमेयर राईले नगरवासी महिलाको नेतृत्व विकास र क्षमता अभिवृद्धिका लागि सक्दो काम गरिन् । ‘त्यसमध्ये बालिका बचत पनि उदाहरणीय काम हो,’ हलेसी तुवाचुङ नगरपालिका–४ च्यास्मिटार दाल्फुनिवासी पत्रकार राईले सुनाए, ‘छोरी जन्मनासाथ बैंकमा खाता खोलेर तीन वर्षसम्म निरन्तर वार्षिक चार हजार रुपैयाँका दरले खातामा जम्मा गरिदिने कार्यक्रम सञ्चालनमा आइसकेको छ । यो कति राम्रो अवधारणा ।’ उल्लिखित कामले नगरवासी महिला बिमला राईदेखि नतमस्तक छन् । उनीहरूले पार्टीभन्दा माथि उठेर मतदान गर्ने पक्कापक्की छ ।

बिमला राईको सबल पक्ष–४

पछाडि परेका र पारिएकालाई केन्द्रमा राखेर काम गर्ने शैली त्यत्तिकै अब्बल छ । ‘अर्को सबल पक्ष ?,’ पत्रकार राईले प्रस्ट्याए, ‘उहाँको पब्लिक रिलेसन ‘पीआर’ असाध्यै राम्रो छ । जुन खुबी सबै नेतामा नहुन सक्छ ।’

बिमला राईको सबल पक्ष–५

‘उहाँ मभन्दा सिनिएर हुनुहुन्छ । च्यास्मिटार माध्यमिक विद्यालयमा अध्ययन गर्नेबीच झैझगडा भइहालेमा मिलाउन उहाँ अघि सर्नुहुन्थ्यो । उहाँदेखि केटाहरूसमेत डराउँथे,’ उनी अतीततिर फर्के, ‘उहाँ हकी हुनुहुन्थ्यो । त्यतिबेला च्यास्मिटार माविमा भलिबल खेल्ने महिला कमै थिए । तर, उहाँ केटाहरूभन्दा राम्रो भलिबल खेल्नुहुन्थ्यो । म दर्शक बनेर हेर्थें ।’

बिमला राईको सबल पक्ष–६

मेयरका उम्मेदवार बिमला राईको बुवा पूर्वप्रधानपञ्च हुन् । तसर्थ, राईको रगतमै राजनीति बगेको थियो । रगतमा राजनीतिमात्रै बगेर भएन । आफूले टेकेको धरातल बलियो हुनुपर्यो । बनाउनुपर्यो । त्यसकै जगमा सम्बन्धित मानिस सक्षम बन्छन् । ‘आफूले टेकेको धरातल बनाउन शिक्षाले सघाउँछ,’ पत्रकार दमन राईको ठम्याइ छ, ‘उहाँ वेल एजुकेटेड भएकैले आफूले हिँडेको बाटो फर्केर हेर्नुपरेको छैन ।’

आसन्न स्थानीय तह निर्वाचनमा मेयरका लागि बिमला राई (काँग्रेस), खडेन्द्र साम्पाङ राई (एमाले), रुशिका राई नेकपा (माओवादी केन्द्र), अन्जिल राई (जसपा), तुलसीकुमार राई (खम्बुवान राष्ट्रिय मोर्चा), विनेश राई (मंगोल नेसनल अर्गनाइजेसन) र राप्रपाबाट छत्र पुरीले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्