चारैतिर जंगल । जता हेरे पनि सल्लाका रूख । सल्लाका एकोहोरो सुसाइ सुन्दा संगीत पाठशाला पुगेको अनुभूति हुन्छ । थाकेका बटुवाले सल्लाको सुसाइसँगै थकाइ मार्दा कम्ती आनन्द मान्दैनन् ।
त्यस्तो आनन्दित ठाउँ पुगेपछि जोकोही मोहित हुन्छन् । जंगलबीचमा खाली जग्गा छ । व्यक्तिका नाममा रहेको जग्गाको उत्तरपट्टि ठूलो खाल्डो देखिन्छ । खाल्डोमा समेत स–साना बिरुवा हुर्कंदै गएका छन् । त्यसले तारा खसेको भनिएको खाल्डो प्रस्ट देखिँदैन ।
प्रस्ट नदेखिए पनि तारा खसेको ठाउँ पहिचान गर्न अप्ठ्यारो छैन । ताराखसेबारे सुनेकाले यो बाटो हिँड्दा तारा खसेको ठाउँ सोधिखोजी गर्ने स्थानीय बताउँछन् । ‘संवत् १९१९ मा तारा खसेको बूढापाकाले भन्दै आएका हुन्,’ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम राबुका खिला ठकुरीको भनाइ छ, ‘हामीले पनि बूढापाकाबाट सुन्दै आएका हौं । कसैले सोध्दा त्यही उत्तर दिन्छौं ।’
बूढापाकाबाट जे सुने, स्थानीयले त्यही कथा सुनाउँछन् । ‘एक बिरालो र एक परेवालाई सिन्दुर घसेर तारा खसेको खाल्डोबाट छाड्दा दूधकोसीमा निस्केका थिए रे,’ ठकुरीले थपे, ‘दूधकोसीबाट त्यही बिरालो र परेवा छाड्दा ताराखसेमै निस्केको थिए ।’
ताराखसेसँग सम्बन्धित ठकुरीले सुनाएका कथा सुन्दा अचम्म लाग्छ । कथामात्रै होइन, एकादेशको कथाजस्तै लाग्ने नै भयो । यस्तो कथा सुनाउने जीवित मानिस कोही छैनन् । सुने र सुनाइएको यो कथामा कत्तिको सत्यता छ ? तारा खस्छ कि खस्दैन ?
‘तारा कहिल्यै खस्दैन,’ त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभाग सहप्राध्यापक डा. कविराज पौड्यालले भने, ‘ताराको मृत्युचाहिँ हुन्छ ।’
त्यसो भए ताराखसेमा तारा खसेको होइन त ? ‘ताराखसेमा तारा होइन, उल्का पिण्ड खसेको हुन सक्छ,’ त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ भूगर्भशास्त्र केन्द्रीय विभाग संयोजकसमेत रहेका पौड्यालले थपे, ‘तर, त्यतिबेला बूढापाकाले उल्का पिण्डलाई पनि तारा भनेको हुनुपर्छ । उल्का पिण्ड जमिनमा खस्दा ठूलो खाल्डो बन्छ । छेउछाउमा रूखबिरुवा भएमा मारिदिन्छ ।’
नेपाल भौगर्भिक समाज पूर्वअध्यक्षसमेत रहेका पौड्यालको भनाइबाट ताराखसेमा तारा नखसे पनि उल्का पिण्ड खसेको हुन सक्छ । यसबारे भूगर्भशास्त्री र भौतिकविज्ञानअन्तर्गत उल्का पिण्डबारे अध्ययन गरेकाले अनुसन्धान गरेपछि ताराखसेमा उल्का पिण्ड खसेको हो होइन भनेर यकिनसाथ भन्न सकिन्छ ।
स्थानीयकै शब्दमा तारा खसेको खाल्डोबाट पहिले–पहिले तातो बाफ आउँथ्यो । खाल्डो पुरिँदै गएपछि तातो बाफ आउन छाडेको बताइन्छ । व्यक्तिका नाममा रहेको जग्गामा पहिले–पहिले खेतिपाती गरिन्थ्यो । पछिलो समय बाँझै छ । तसर्थ, वनभोज स्थल र भलिबल ‘ग्राउन्ड’मा परिणत भएको छ ।
सडक विस्तार हुनुअघि ताराखसेको बाटो भएर ओखलढुंगा, सोलुखुम्बुसम्म पुग्नेहरू बाक्लै भेटिन्थे । उदयपुरका पहाडी भेगका बासिन्दा यही बाटो हिँड्थे । हिजोआज ताराखसेको बाटो हिँड्ने घट्दै गएका छन् । तर पनि यसको महत्व बढ्दै गएको छ । ताराखसे पर्यटकीय स्थल बन्ने उत्तिकै सम्भावना छ ।
घाँस, दाउरा, गोठाला गर्न राबुवासी ताराखसे पुग्थे । ‘ताराखसेवरिपरि गोठाला जान्थ्यौं,’ राबुका भक्तबहादुर राईले अतीत सुनाए, ‘ताराखसेको महत्वबारे हामीलाई थाहा थिएन । ताराखसेलाई हामी पापे धोद्रो भन्थ्यौं ।’
ताराखसेको एउटै वनक्षेत्रमा तीन सामुदायिक वन छन् । दुई सामुदायिक वन हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा पर्छन् भने अर्को दुर्छिममा पर्छ । त्यसमध्ये भोक्टेनी सामुदायिक वन (साबिक मंगलटार गाउँ विकास समिति ७, ८, ९), लक्षुमादेवी सामुदायिक वन (साबिक मंगलटार गाउँ विकास समिति १, ६ नम्बर वडामा) पर्छन् भने ताराखसे–नक्कले आहाल–धारापानी–कोटगैरा सामुदायिक वन (साबिक दुर्छिम गाउँ विकास समिति वडा नम्बर ७ मा) पर्छ । एउटै वनक्षेत्रमा तीन सामुदायिक वन विरलै भेटिएलान् । ताराखसे पुगेकालाई यस्तो वास्तविकता सुनाइँदा सुन्नेलाई आश्चर्य लाग्ने नै भयो ।
चारैतिर जंगलले घेरिए पनि यहाँबाट उत्तरतिर हेर्दा नुम्बुरलगायत हिमशृंखला आँखैअगाडि देखिन्छन् । ताराखसेको उत्तरतर्फ अलि तल–तलमात्रै जंगल क्षेत्र छ । तसर्थ, हिमशृंखला हेर्न सजिलो भएको हो । परापूर्वकालदेखि दूधकोसी उसैगरी बगिरहेको छ । मंगलटार दूधकोसीमा पौडी खेलिरहेकोजस्तै देखिन्छ । त्यतिमात्रै होइन, ओखलढुंगाबाट हेर्दा मंगलटार ताराखसे जंगलको टोपी लगाएर ठाँटिएजझैं लाग्छ ।
सल्लेनी जंगलमा मंगलटारपट्टि पाखनवेद, लालीगुराँस र चिलाउनेका रूख देखिन्छन् । वनविहारका लागि ताराखसे त्यत्तिकै उपयुक्त मानिन्छ । ‘स्वर्ग त देखेको छैन,’ ताराखसेमा भेटिएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिके खोटाङनिवासी सयन्द्र राईले मुख खोले, ‘यदि स्वर्ग छ भने ताराखसेजस्तै होला । सुन्दर र शान्त वातावरणमा हराउनु, रमाउनुको आनन्द थाहा हुनेले ताराखसे पुग्दा हुन्छ ।’