पढाउन छाडेर समाजसेवा गर्छु भन्दा सबै तीनछक



माइती नेपाल एक सामाजिक संस्था हो । यसले बेचिन लागेका र बेचिएका चेलीलाई उद्धार र अनाथ बालबालिकालाई संरक्षण गर्छ । माइती नेपालको स्थापना सन् १९९३ मा भएको हो । सुरुमा दुई कोठा लिएर सुरु भएको यो संस्था अहिले विश्वभरि नै चर्चित भएको छ । कारण, यस संस्थाकी संस्थापक तथा अध्यक्ष अनुराधा कोइरालाले हालै अमेरिकी न्युज टेलिभिजन च्यानल सीएनएन हिरो अफ दी इयर २०१० हात पारेकी थिइन् । उनी पुरस्कृत भएसँगै उनको संस्थामात्रै होइन समग्र नेपाल नै चर्चामा आयो ।

अध्यक्ष कोइरालाले बेचिन लागेका चेली र अनाथ बालबालिकाको हित र उद्धारका लागि ‘म केही गर्छु’ भन्ने निस्वार्थ उद्देश्य लिएर माइती नेपालको स्थापना गरेकी हुन् । सुरु–सुरुमा उनलाई निकै गाह्रो भएको थियो । एउटा शिक्षिकाले पढाउन छाडेर समाज सेवा गर्छु भन्दा सबै छक्क पर्थे । तर, अहिले उनले गरेको कामका लागि प्रशंसा नगर्ने सायदै होलान् । कुनै नाफा कमाउन उद्देश्य नलिई सञ्चालनमा आएको माइती नेपालले विपत्तिमा परेका बालबालिका र महिलाका लागि माइती नेपालले एकदमै ठूलो गुन लगाएको छ ।

संस्था स्थापना गर्नुमा पनि रोचक प्रसंग रहेको छ । हरेक चेलीले आपूm जन्मेको घर तथा ठाउँलाई ‘माइती’ भन्ने चलन छ । त्यसैले बेचिएर घर फर्किन लागेकालाई सहज नाम बन्यो माइती पनि । त्यसैले संस्थाको नाम जुर्यो ‘माइती नेपाल’ । अहिले त बेचिएका नेपाली चेलीका लागि माइती नेपाल ‘माइती’ नै साबित भएको छ भने अनुराधा कोइरालाले हजारौँ छोराछोरीको एउटी आमा बनेकी छन् । त्यसैले त कैयौँ चेलीलाई रोजगारी तथा सीपमूलक तालिम दिएर आफ्नो खुट्टामा उभिन्न सक्ने बनाएको छ माइती नेपालले ।

माइती नेपालले विभिन्न सीमा तथा नाकामा आफ्नो शाखा खोली, अशिक्षित तथा गरिबीको चपेटामा छटपटाइरहेका नारीलाई कामको प्रलोभन देखाएर ललाइफकाई बिक्री गर्न लैजान रोक लगाउने प्रयत्न गरिरहेको छ । यसका लागि सुरक्षा निकायका सेना, सशस्त्र तथा जनपद प्रहरीसँगै नगर प्रहरीसँग मिलेर काम गरिरहेको छ । यद्यपि नेपालको विभिन्न ठाउँबाट लैजाने क्रम नरोकिएको बताइन्छ । नेपाली चेलीलाई दासत्व, नारकीय जीवनबाट मुक्त गर्न सुधार गर्नु यसको महत्वपूर्ण पक्ष हो ।

यस संस्थाले नेपाल र भारत आवतजावत गर्ने ठाउँमा आफ्नो स्वयंसेवक वा कर्मचारी खटाएको छ । प्रायः नेपाली चेली भारतमै बेचिएर कालकोठरीमा पीडा र नारकीय जीवन भोग्न बाध्य छन् । त्यसैले माइती नेपालले सर्वप्रथम बेचिनबाट जोगाउन नै पहल गर्छ । त्यसपछि मात्र बेचिएका चेलीलाई फिर्ता ल्याएर निराश भइबसेका युवती र विभिन्न रोगबाट ग्रसित भएका, कतिपय प्राणघातक रोग एचआइभी पोजेटिभ भएर छटपटाइरहेका, आफ्नो जीवन नै बर्बाद ठान्ने चेलीको उद्धार गरी उनीहरूलाई आफ्नो क्षमताअनुसारका तालिम र रोजगार दिई आफ्नो खुट्टामा उभिन सक्ने र हामी पनि केही गर्न सक्छौं भन्ने भावनासमेत माइती नेपालले जगाइदिएको छ ।

यसरी माइती नेपालले चेली र बालबालिकाको उद्धार गरी नेपालको एउटा गौरवमय संस्था बन्न पुगेको छ । सरकारले वास्ता नगरे पनि माइती नेपाल आफैँ सबै ठाउँमा खटिएर निस्वार्थ सेवा गरिरहेको छ । अनाथ वा पीडित बालबालिकाका लागि विद्यालयसमेत सञ्चालन गरिरहेको छ । समाजका अगाडि शिर झुकाएर हिँड्नेसम्मको हीन भावना बोकेका र प्राणघातक रोग लागेपछि हामी मर्छौं भन्ने युवतीलाई समेत माइती नेपालले आत्मबल र ज्ञानको ज्योति छरी अहिले ढुक्कसाथ बाँच्ने र समाजमा जनचेतना फैलाउने बनाएको छ । हो, यस संस्थामा अहिले धेरै सहजतासाथ अघि बढेको छ । कैयौँले रोजगार र शिक्षा पाएका छन् । निरक्षरले पनि सीपमूलक तालिम प्राप्त गरी जीवन निर्वाह गरिरहेका छन् ।
माइती नेपालको मुख्य शाखा काठमाडौंस्थित गौशालाको पिंगलास्थानमा आफ्नै भवन र फराकिलो प्रांगणमा रहेको छ ।

नेपालभरि यसका विभिन्न शाखा सक्रिय छन् । यस्ता शाखामा कार्यरत कर्मचारी तथा स्वयंसेवकले चेलीबेटी बेचविखनविरुद्ध चौबीसै घन्टा निगरानी राख्ने गर्छन् । त्यसैले माइती नेपालको आँटले नेपालमा चेतनाको ज्योति फैलँदै गएको मान्न सकिन्छ । तथ्यांकलाई हेर्दा नेपालको विभिन्न जिल्लामा जस्तै नुवाकोट, धादिङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, कपिलवस्तु, रूपन्देही, दोलखा, रामेछाप, वीरगन्ज र झापाबाट चेलीबेटी बेचविखन हुने गरेको पाइन्छ । त्यसका लागि दलालले प्रेमको नाटक गरी या त कामको प्रलोभन देखाएर बाहिरी देश तथा सहरमा बेच्ने गरेका छन् । यस्ता विकृतिविरुद्ध नेपाली चेलीहरू केही गर्न सक्छन्, आफ्नै खुट्टामा उभिन सक्छन् भन्ने उदाहरण देखाएर माइती नेपालले प्रशंसायोग्य काम गरेको छ ।

मुख्य कुरा त माइती नेपाल नाफामूलक संस्था होइन । यो त केवल नेपाली चेलीहरू बेचिने कालकोठरीमा पुगेर आफ्नो जीवन बर्बाद पार्नबाट जोगाउने त्योभन्दा पनि बेचिनै नदिने र अनाथ वा पीडित बालबालिकाको उद्धार र हितका लागि खोलिएको संस्था हो । संस्थाको अध्यक्ष अनुराधा कोइरालाले यो संस्था स्थापना गरी नेपाललाई विश्वमा चिनाएकी छन् । त्यसैले माइती नेपाल समाज सेवाका लागि स्थापना गरिएको संस्थाहरूमा सर्वाधिक चर्चित र परिचित संस्था बन्न पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्