खोटाङे डा. रोकाको काँधमा युवा स्वरोजगार कोष


काठमाडौं । मानिसले आर्थिक दृष्टिबाट आफूलाई कसरी खुसी राख्न सक्छ भन्ने विषयमा चीनबाट विद्यावारिधि गरेका डा. कल्याण रोका (देवराज)को काँधमा नेपाली युवाको व्यावसाय र रोजगार अभिवृद्धि गर्ने भन्ने चुनौती थपिएको छ ।

युवा तथा साना व्यावसायी स्वरोजगार कोषका नवनियुक्त कार्यकारी उपाध्यक्ष डा. रोकाले बुधबार कार्यभार सम्हालेसँगै स्वदेशमै रोजगारीका अवसर सिर्जनाका लागि नयाँ नीति र योजना कोर्न थालेका छन् । पक्कै पनि विश्वको साढे सात अर्ब जनसंख्याको साझा विषय र प्राथमिकता खुसी नै हो । यही खुसीका आधार खोज्ने सैद्धान्तिक समीक्षा अब कार्यरूपमा ल्याउन उनलाई अवसर पनि पैदा भएको छ ।

राष्ट्रिय योजना आयोगले पनि नेपाली जनता कति समृद्ध र सुखी छन् भनेर सर्वेक्षण गरिरहेको छ । उच्च र समतामूलक राष्ट्रिय आय, मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग, सर्वसुलभ र आधुनिक पूर्वाधार तथा सघन आबद्धता, उच्च र दिगो उत्पादन तथा उत्पादकत्व गरी समृद्धिका चारवटा सूचक तयार गरेको छ । सुखका सूचक ६ वटा छन् । ६ सूचकमा परिष्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ र सन्तुलित पर्यावरणीय पद्धति, सुशासन, सबल लोकतन्त्र, राष्ट्रिय एकता र सम्मान छन् ।

युवा तथा खेलकुलमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) सँग पद तथा गोपनीयताको शपथ लिएपछि उपाध्यक्ष रोकाले अनामनगरमा रहेको कोषको सचिवालयमा पद बहाली गरे । बहालीपछि कुरा गर्दै उनले देशमा रोजगारी आवश्यक देखिएका बेला कोषको आवश्यकता र औचित्य बढेर गएको बताउँदै कोरोना महामारीबाट युवामा उत्पन्न छटपटी कोषबाट सम्बोधन जनाउनेछु । उनले भने, ‘हाम्रा श्रमशील युवा अब कामको खोजीमा विदेशमा भौंतारिरहनु नपरोस् । स्वदेशमै आत्मनिर्भर भई काम गर्ने वातावरणका लागि हामी मिलेर कार्ययोजना बनाऔं ।’

गत भदौ १ गतेको मन्त्रिपरिषद् निर्णयबाट उपाध्यक्षमा नियुक्त उनले संघीयता, जनसंख्या, समाजशास्त्र, राजनीतिशास्त्र र आर्थिक मामिलाका जानकारका साथै चीनको बेइजिङमा रहेको युनिभर्सिटी अफ बिजनेस एन्ड इकोनोमिक्सबाट अर्थशास्त्रअन्तर्गत ‘खुसी’ विषयमा विद्यावारिधि गरेका छन् ।

सरकारले ‘समृद्ध नेपाल, ख्ुसी नेपाली’को राष्ट्रिय आकांक्षा तय गरिहेका बेला हाल २१.६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको छ । ग्रामीण तथा दुर्गम क्षेत्रमा यसको दर अझ बढी छ । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण एक हजार पाँच सयको संख्यामा रोजगारीका लागि विदेश भौंतारिनुपर्ने अवस्था अन्त्य सबैको माग हो ।

स्थानीय स्रोत, साधन र कच्चा पदार्थको अधिकतम प्रयोग हुनेगरी व्यावसायिक तथा सीपमूलक परियोजना सञ्चालन गरी स्थानीयस्तरमै युवालाई स्वरोजगार प्रदान गर्ने उद्देश्यसाथ युवा तथा साना व्यवसायी स्वरोजगार कोष संवत् २०६५ सालमा स्थापना भएको हो ।

 

देशमै पुँजी व्यवस्था गरी देशको उत्पादनशील र सीपयुक्त युवा जनशक्तिलाई पुँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्ति निरुत्साहित गर्न स्थापित कोषले उत्पादनशील श्रमको अधिकतम उपयोग तथा उद्यमशीलताको विकासमार्फत परम्परागत उत्पादन प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने तथा सीपयुक्त बेरोजगार युवालाई स्वरोजगारको अवसर प्रदान गर्ने लक्ष्य लिएको छ ।

कोषमार्फत अशिक्षित र बेरोजगार युवालाई स्वरोजगार बनाउन अभिमुखीकरण तथा व्यावसायिक र सीपमूलक तालिम प्रदान गर्नुका साथै बैंक र वित्तीय संस्थामार्फत सहुलियत ब्याजदरमा विनाधितो आवधिक कर्जा प्रदान गरिनेछ । निःशुल्क रूपमा प्रदान गरिने ती सेवामूलक व्यावसायिक तालिमबाट बेरोजगार युवाको आयआर्जनमा वृद्धि गरी जीविकोपार्जन सहज बनाउन मद्दत पुग्नेछ ।

आर्थिक रूपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, द्वन्द्वपीडित, अपांग, घाइते परिवार एव युवा तथा परम्परागत सीप भएका जातजातिलाई व्यावसायिक खेती, कृषिजन्य उद्योग वा सेवामूलक स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सहुलियत ब्याजदरमा कर्जा प्रदान गरिनेछ । त्यस्तो कर्जाबापत प्रतिव्यक्ति बेरोजगार युवालाई अधिकतम दुई लाख र बढीमा २५ जनाको प्रत्येक समूहलाई अधिकतम ५० लाख प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्