नेपालमा कोरोना परीक्षणको औचित्य



स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार एकजना व्यक्तिमा कोरोना संक्रमित भएको पत्ता लाउन एक लाख सात हजार खर्च हुन्छ । यो हिसाबले हेर्ने हो भने नेपालमा दैनिक लगभग १० हजार र व्यक्तिमा परीक्षण गर्दा १ हजारजना जतिसंक्रमित पुष्टि हुने गरेको छ । डा. गौतमकाको भनाइलाई आधार मान्ने हो भने कोरोना परीक्षणमा मात्रै दैनिक १० करोड ७० लाख खर्च हुन्छ । तर, यसको औचित्य के ? के ती संक्रमितलाई व्यस्थित गरेर राख्न सकिएको छ ? उनीहरूको अनुगमन छ ? उपचार छ ? भ्याक्सिन छ ? आइसोलेसन सेन्टर छ ? आईसीयू र भेन्टिलेटर छ ?

जब कुनै रोगको उपचार नै छैन, पत्ता लागेका संक्रमितलाई सुरक्षा गर्न, उपचार गर्न सकिन्न भने किन अनावश्यक खर्च गर्नु ? संसारमा कुन देशले कोरोना भाइरस मार्ने स्यानिटाइजर बनाउन सकेको छ ? संसारमा कुन देशले कोरोना भाइरस छेक्ने मास्क निर्माण गरेको छ ? यो हुनै नसक्ने कामका लागि किन जनतालाई तनाव दिनु ?, दबाब दिनु ?, दुःख दिनु ? स्यानिटाइजर र मास्कले कोरोना मार्ने भए, छेक्ने हो भने संसारभरिका वैज्ञानिकले यसरी किन दिमाग खियाउनु पर्छ ? अनि जसले कोरोना मार्न पनि सक्दैन, छेक्न पनि सक्दैन भने त्यसैका लागि किन दबाब दिनु, किन तनाव दिनु ? किन अनिवार्य गर्नु ?

विश्व स्वास्थ्य संगठनको इसारामा कोरोना संक्रमितको संख्या बढाउनकै निम्ति गरिब नेपाली जनताले तिरेको कर सिध्याउने खेल कहिलेसम्म खेल्ने ? जनतालाई घरभित्र थुनेरमात्र कोरोना भाइरस नलाग्ने भए थुनेर राखेका कैदीलाई कसरी लाग्यो त ? किन लाग्यो त ? फेरि थुनेर राख्दा पनि कहिलेसम्म थुनेर राख्ने ? कति महिनासम्म ? कति वर्षसम्म थुनेर राख्ने ? आत्महत्या गरेर मरेको प्रस्ट हुँदाहुँदै, मुटु, मिर्गौला, क्षयरोग आदि दीर्घ र घातक रोगका कारण मरेको प्रस्ट हुँदाहुँदै तिनीहरूलाई कोरोना परीक्षण गर्नुको औचित्य के ?

तिनीहरूलाई कोरोनाकै कारण मरेको बनाइनुपर्ने कारण के ? नेपालमा अरू कुनै रोग नलागी सिर्फ कोरोनाबाट मात्र मृत्यु भएको एकजना मानिस कसैले देखाउन सक्छ ? अहिले संसारमा कोरोनाबाहेक अरू रोग नै छैन, अरू रोग नै होइन भन्ने भावना विकास भएका कारण लाखौं मानिस दैनिक रूपमा अन्य रोगका कारण मृत्यु भइरहेका छन् । अन्य कैयौं रोगका कारण मृत्युु हुन लागेका बिरामीलाई सम्बन्धित रोगको उपचार नगरी कोरोना परीक्षण गर्ने र त्यसको नतिजा कुर्न थाल्दा सयौं बिरामीको मृत्यु भइरहेको छ ।

कोरोनाको संख्या बढाउन जुनसुकै रोगका बिरामीलाई सबैभन्दा पहिले कोरोना परीक्षण गरिन्छ । ताकि अरू रोगका कारण त मृत्यु नै हुँदैनजसरी अरू रोगको वास्ता गरिन्न । यतिबेला अन्य रोग लागेका लाखौं बिरामी अस्पताल जान सकिरहेको छैन । गयो कि सबैभन्दा पहिले त्यो बिरामीलाई कोरोना भाइरस संक्रमित भएको बनाउने कोसिस गरिन्छ । हर्ट एट्याक भएर गएको बिरामीलाई मुटु उपचार गर्नु सट्टा पहिले कोरोना परीक्षण गर्न थालिन्छ । वास्तवमा कोरोना नयाँ भाइरस भएकाले यसले विश्वमा केही नयाँ तरंग ल्याएकोमात्र हो ? यो भाइरस क्षयरोग, क्यान्सर, हैजाजस्तो शक्तिशाली रोग नै होइन । एक प्रतिशत पनि मृत्युदर नभएको सामान्य भाइरसलाई भयंकर महामारी बनाएर दुनियाँभरिका शासकले आफ्नो शासन र रासन भजाइरहेका छन् ।

नेपालमा त झन् आफ्नो शासन लम्ब्याउने र गर्न नसकेको काम र अपजस यही कोभिड भाइरसलाई जिम्मा लाउने ठूलो अवसर प्राप्त भएको देखिन्छ । स्थानीय, प्रदेश र संघ तीन तहका सरकार र सम्बद्ध कर्मचारीलाई यो भाइरस दुहुनागाई भएको छ । देश आर्थिक रूपमा टाट पल्टिसकेको छ । खर्बौं लगानी भएका क्षेत्रहरू ध्वस्त भइसकेका छन् । बेरोजगारीको अवस्था कल्पनाभन्दा डरलाग्दो भइरहेको छ । सानादेखि ठूलासम्म व्यापार व्यवसाय चौपट हुन लागेको छ । कृषि क्षेत्र झन्झन् धराशयी बन्दै गइरहेको छ ।

देशभरिका शैक्षिक गतिविधि ठप्प छ । शैक्षिकसत्र गोलमाल भइसकेको छ । अस्पताल र स्वास्थ्यकर्मीको हालत दयनीय बन्दै गइरहेको छ । यातायात, उद्योग र कलकारखाना उठ्नै नसक्ने अवस्थामा पुगिसकेको छ । पर्यटन र यससँग सम्बद्ध सम्पूर्ण क्षेत्रको अवस्था कहालीलाग्दो छ । यी सबैबारे नेपाली शासकले सोचेका छन् ? एक हजारजनाको अज्ञात मृत्युका डरले सरकारले लाखौंलाई मारिइरहेका छन् । नेपालमा कोरोनाभन्दा आत्महत्याका कारणले बढी मृत्यु भइरहेको छ । लाखौं जनता भोकमरीको अवस्थामा पुगिसकेका छन्, लाखौं जनता मानसिक रोगी बनिसकेका छन् । लाखौं जनता ऋणमा चुर्लुम्म डुबेका छन्, लाखांै जनता दिशाहीन बनिरहेका छन्, लाखौं जनता पेसा परिवर्तन गर्न बाध्य बनिरहेका छन् । लाखौं जनता घरबारविहीन बनिरहेका छन् ।

यस्तो बेलामा जनतालाई थुनेर शासन गर्नु कत्तिको जायज छ ? यो विषयमा नेपाल सरकारले सोचेको छ ? सामान्य भाइरसलाई हाउगुजी बनाएर देश डुबाउने प्रयत्न नगरौं । स्वतन्त्र जनतालाई स्वतन्त्र रूपमा, निर्वाध रूपमा आफ्ना गतिविधि गर्न दिऊँ । यसैमा सबैको भलो छ । बेलैमा सबैको बुद्धि आओस् । हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस्