घटस्थापनामा थापना गरिने जमरा टीकाको दिन शिरमा सिउरिन मात्र होइन, खान पनि मिल्छ । चिकित्सकहरूका अनुसार जौको जमरा बहुउपयोगी वनस्पति हो । स्वास्थ्यका दृष्टिले जौलाई अमृत नै मानिन्छ । वैदिक ग्रन्थहरूमा जौलाई रोग हटाउने यज्ञ–यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने अन्नका रूपमा लिइएको छ । यज्ञहरूमा जौको प्रयोग प्रशस्त मात्रामा गरिन्छ । पौराणिक ग्रन्थहरूमा पनि यवोसि धान्यश भनेर जौलाई अन्नको राजाका रूपमा हेरिएको छ । गीतामा भगवान् श्रीकृष्णले पनि औषधिनामहं यवः अर्थात् ‘औषधिहरूमा म जौ हुँ’ भनेकाले पनि यसको महत्व पुष्टि हुन्छ । श्रीमद्भागवत महापुराणमा पनि वामन अवताररूपी भगवान् विष्णुको पूजा गर्दा लोकपालहरूले जमरा चढाएको प्रसंगबाट के बुझ्न सकिन्छ भने हिन्दु संस्कृतिमा जमराको महत्व परापूर्वकालदेखि रहिआएको छ ।
हिन्दु धर्मावलम्बीको महान् चाड दसैंको पहिलो दिन घर–घरमा जमरा राखिन्छ । देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक जौलाई माटोमा छरिन्छ । टीकाको साइतमा त्यही जमरालाई फूलका रूपमा प्रयोग गरेर शिरमा सिउरिदिने गरिन्छ ।
धार्मिक दृष्टिले मात्र होइन, वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्व उत्तिकै रहेको पाइन्छ । आयुर्वेदिक ग्रन्थहरूमा जौ र अंकुरित जौबाट गर्न सकिने उपचारको व्यापक उल्लेख भएको पाइन्छ । जौको प्रयोगबाट सयभन्दा बढी रोगको उपचार हुन सक्ने शास्त्रमा उल्लेख छ । विविध रोगका लागि जौ उपयुक्त रहेको वैज्ञानिकहरूले पनि पुष्टि गरिसकेका छन् । सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्न हो भने उच्च रक्तचाप, क्यान्सर एवम् मधुमेहजस्ता रोगीलाई फाइदा हुन्छ ।
हिन्दु विद्यापीठका अध्यक्ष स्वामी चिन्तामणि योगीका अनुसार जमरा समृद्धि, शौभाग्य, वैभवको प्रतीक हो । हिन्दु मान्यताअनुसार जमराले अन्नको पनि सम्मान गर्छ । मानिसको शरीर अन्नमय शरीर भएकाले अन्नको पूजा गर्ने संस्कृतिसँग पनि जमराको प्रसंग जोडिएको छ ।
अमेरिकाको हस्टन विश्वविद्यालयमा गरिएको एक अध्ययनअनुसार जमराको रस सेवनले सौन्दर्यसमेत बढाउँछ । यसैगरी, बिरामी भएर कमजोर भएका व्यक्तिलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउँदा शरीरमा चाँडै शक्ति सञ्चार हुने विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेको छ । हाम्रा गाउँघरमा अझै पनि दसैंको जमरालाई सुकाएर राखी विभिन्न रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ ।
अमेरिकी वैज्ञानिकहरूले गरेको अनुसन्धानअनुसार अंकुरित जौ सम्पूर्ण आहार र औषधीमध्ये सर्वोत्कृष्ट खाद्यपदार्थ हो । अन्य हरिया सागपातमा भन्दा जौ वा अंकुरित जौमा पौष्टिक तत्व तुलनात्मक रूपमा बढी पाइन्छ । चिकित्सकहरूले जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवम् अन्य रोगहरूको सफल उपचार गरिसकेका छन् । प्रशस्त औषधीय गुण पाइने हुनाले पनि अंकुरित जौलाई विजयादशमीको प्रसादका रूपमा प्रयोग ल्याइनुले हिन्दु धर्म र विजयदशमीमा प्रयोग गरिने जमरा आधुनिक वैज्ञानिक प्रद्धतिअनुसार समेत उत्कृष्ट रहेको ठहर हुन्छ ।
संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार जौबाट बनेका चीजहरूको महत्व अहिले आएर बल्ल मानिसले बुझ्न थालेका छन् । बजारमा जौका चिउरा, ओट्स र बार्लेको बिक्री हुन थालेका छन् । पेट सफा गर्न पनि जौबाट बनेका खाद्यपदार्थ उपयोगी मानिन्छ । जौमा कार्बोहाइड्रेटको मात्रा कम र फाइबर धेरै हुने भएकाले डाइबिटिज र मुटुरोगीका लागि जौका परिकार अमृतसमान मानिन्छ ।
‘हाम्रो धर्म संस्कृतिले परम्परागत रूपमै स्वास्थ्यमा ध्यान दिएको छ । त्यसलाई अपनाउन सके धेरै फाइदा हुने थियो । तर, आजको आधुनिक जमानामा मानिस फास्टफुड र जंक फुडतिर लागेका छन्,’ स्वामी चिन्तामणि योगी भन्छन्, ‘दसैंको महत्व गहिरोगरी बुझ्ने र जीवनलाई सात्विक आचरणमा ढाल्ने हो भने कुनै रोग लाग्दैन ।’