‘मेरो प्रतिज्ञा : मेरो प्रतिबद्धता’ दिक्तेल रूपाकोट मझुवागढीको कार्यक्रम


खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ‘मेरो प्रतिज्ञा : मेरो प्रतिबद्धता’ कार्यक्रम लागू गरेको छ । नगरवासीलाई आफ्नो अधिकारका साथै नगरपालिकाप्रतिको दायित्व बोध गराउन चालु आर्थिक वर्षदेखि लागू हुनेगरी सार्वजनिक महत्वको कार्यक्रम लागू गरिएको हो ।

आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममै ‘मेरो प्रतिज्ञा : मेरो प्रतिबद्धता’ कार्यक्रम समेटिएको नगर प्रमुख दीपनारायण रिजालले जानकारी दिए । “सोह्रबुँदे नागरिक दायित्व पूरा गर्न नगरवासीलाई सहमत गराएर कार्यक्रम अघि बढाउन निर्देशिका तयार गरिएको छ,’ मेयर रिजालले भने, ‘नगरपालिकाप्रति नागरिकको अपनत्व कायम गर्दै नागरिकको अधिकार मात्रै होइन कर्तव्य पनि हुन्छ भन्ने मान्यता स्थापित गर्न सार्वजनिक महत्वको कार्यक्रम ल्याइएको हो ।’

कार्यक्रममा ‘म खाना खेर फाल्दिनँ, म कुनै पनि प्रकारको सामाजिक विभेद र हिंसामा संलग्न हुन्न, म मेरो जमिन बाँझो राख्दिनँ, म सार्वजनिक ठाउँमा धूमपान तथा मद्यपान गर्दिनँ, म सार्वजनिक सम्पत्ति संरक्षण गर्नेछु, म खोलामा करेन्ट र विषादी प्रयोग गर्दिनँ, म रासायनिक मल प्रयोग गर्दिनँ, म अर्गानिक उत्पादनमा जोड दिन्छु, म सार्वजनिक स्थलमा बनेका घरटहरा भत्काउनेछु, नक्सा पास नगरी मापदण्डविपरीत घरटहरा बनाउने छैन’ लगायत बुँदा समावेश गरिएको छ ।

यसैगरी, म स्रोतबाटै फोहोर वर्गीकरण गरी कुहिने फोहोर कम्पोस्ट प्लान्टमा पठाउनेछु, म अनिवार्य रूपमा साबुनपानीले हात धोएर वा सेनिटाइजर प्रयोग गरेरमात्र सार्वजनिक ठाउँमा प्रवेश गर्नेछु, म सामाजिक दूरी कायम गरेरमात्र दैनिक गतिविधि गर्नेछु, म खुद्रा, खाद्यान्न तथा तरकारी पसलमा अनिवार्य स्थानीय उत्पादन समावेश गर्नेछु, म लागूपदार्थ तथा दुव्र्यसनीमा फस्ने छैन, म शिष्टाचारयुक्त व्यवहार गर्नेछु, नगरपालिकाले बनाएका ऐन, कानुन र आचारसंहिता पूर्ण रूपमा परिपालना गर्नेछु, विकास निर्माणका लागि लगाइएका कर इमानदारीपूर्वक तिर्नेछु’ भन्ने बुँदा पालना गर्नुपर्ने कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरपालिकालाई समृृद्ध, आत्मनिर्भर र सुसंस्कृत बनाउने लक्ष्यानुसार सो कार्यक्रम ल्याइएको नगर प्रमुख रिजालले जानकारी दिए । ‘यसका लागि कुनै बजेट चाहिन्न, इच्छाशक्ति भए पुग्छ,’ उनले भने, ‘नगरपालिकाले लागू गरेको १६ बुँदे कार्यक्रम कार्यान्वयनमा ल्याउन सकिए समृद्ध नगर बन्ने निश्चित छ ।’

नगरपालिकाले ल्याएको महत्वाकांक्षी कार्यक्रम कार्यान्वयन भने चुनौतीपूर्ण देखिएको नगरवासीले बताएका छन् । नगरपालिकाले यसअघि पनि धेरै सार्वजनिक महत्वको कार्यक्रम ल्याएको तर कार्यान्वयन नभएको नगरवासीको ठम्याइ छ ।

प्रतिक्रिया दिनुहोस्