स्याल कराउने ठमेल संसारकै रोजाइमा



कर्ण शाक्यले जीवनमा सुखमात्र देखे । शाक्यका बाबुबाजे सुन–चाँदी व्यवसायमा संलग्न थिए । धनी परिवारमा हुर्के–बढेका उनी परिवारको व्यवसायबाट फुत्त बाहिर निस्केर अर्कोपट्टि लागे । उनी पर्यटनमा होमिए । मान्छेलाई ‘इच्छा नभएको काम गर’ भन्ने हो भने मान्छ र ? उनले पनि मानेनन् । ‘सानैदेखि नयाँ केही गरौं भन्ने बानी,’ उनले सुनाए, ‘जुन चीजमा इच्छा छैन, त्यो गर्नै सक्दिनँ ।’ उनले अनेक प्रकारका जीवन भोग्दै यहाँसम्म आइपुगेका छन् । उनी होटल व्यवसायी, पर्यटन हुँदै अहिले लेखकमा दरिएका छन् । उनले जीवनमा धेरै योगदान गरेका छन्, यहाँ पर्यटन छिटो हिँड्नुमा । बाँच्ने लक्ष्यले जीवन हिँडाउँछ कि जीवन बाँच्नेक्रममा आइपरेका यावत कुराले जीवनका बाटा निर्धारण गर्छन् ? उनलाई लक्ष्य र जीवनमा आइपरेका धेरै घटनाक्रमले बा“च्न सिकायो सायद ।

ठमेल र पर्यटक

उसबेला ठमेलमा कोही पनि पर्यटक झुल्किदैनथे । कर्ण फ्ल्यासव्याकमा गए,‘ हामी क्याम्पस जाँदा–आउँदा ठमेल गन्हाएर हिँडिसक्नुहुँदैनथ्यो, त्यो बेलाको ठमेल र अहिलेको ठमेलमा आकाश जमिनको फरक छ ।’ उसबेला झाेंछे नजिकैको ठमेलले कुनै पनि संस्कृति सिकेको थिएन । ठमेलमा दिउँसै स्याल कराउँथे । साह्रै फोहोर थियो । त्यो दुर्गन्धले मान्छे बिरामी पनि हुन्थे । तर, अनेक सम्भावना बोकेको ठमेल चाँडै अनूदित भयो, समयको प्रवाहसँगै । ‘यो एउटा खुला संग्रहालय थियो,’ उनले सम्झिए, ‘यहाँ विश्वका अनेक देशबाट अध्ययन सुरु भयो र पर्यटक भित्रिन थाले ।’

यसरी आधुनिक ठमेलको एउटा अध्याय सुरु भयो । झोंछेमा सुरु भएको पर्यटक आगमन एक्कासि ठमेलमा सर्यो । लामा कपाल पालेका हिप्पीहरू आउँथे । गाँजा खान्थे । उनीहरूले काठमाडौंलाई एउटा संस्कृतिमा अभ्यस्त बनाए । त्यो संस्कृति हुर्कंदै र बढ्दै गएर पर्यटकको आगमन हुने सबैभन्दा राम्रो ठाउँ ठमेल बन्यो ।

काठमाडौं गेष्टहाउसको उदय

कर्ण शाक्यले जीवनलाई अनेक फेरो मार्न दिएका छन् । उनैले काठमाडौंमा पहिलोपटक होटल भित्र्याए । एउटा संस्कृतिमा पाइला टेक्न सिकाए राजधानीवासीलाई । काठमाडौं गेष्टहाउस खोलेर पर्यटकलाई पहिलोपटक नेपाली होटलभित्र पसाए । काठमाडांैमा पहिलो गेष्टहाउस भित्र्याउने शाक्य पर्यटनविद् भए ।

आन्तरिक पर्यटक र विकास

पर्यटक के हुन् ? उनलाई सोधियो । ‘व्यक्ति आफ्नो दैनिक जीवनबाट अलि टाढा गएर रमाउन चाहन्छ । र, नयाँ परिवेशमा पुग्छ । उसले त्यहाँ पुगेर अनेक कुरा जान्ने, बुझ्ने र रमाइलो गर्ने सबै कुरा सोचेको हुन्छ । त्यही हो पर्यटक,’ उनले सुनाए ।

कर्ण शाक्य नेपाल भ्रमण वर्ष १९९८ का परिकल्पनाकार हुन् । त्यसबेला उनी भ्रमण वर्षको राष्ट्रिय संयोजक बनेका थिए । के उपलब्धि भयो त नेपाल भ्रमण वर्ष मनाएर ? ‘यसले आन्तरिक पर्यटक बढायो,’ उनको छोटो उत्तर थियो । उनले संवादमा धेरै समय आन्तरिक पर्यटकमा मात्र जोड दिए । उनलाई लाग्दोरहेछ जबसम्म आन्तरिक पर्यटक यो देशमा बढ्दैनन्, तबसम्म हाम्रो पर्यटन उद्योग फस्टाउन सक्दैन बरु उँधो लाग्छ । किन ? उनले भने, ‘विदेशीको मात्र भर परेर हुन्छ र ? उनीहरू त मन लागे आउँछन् मन नलागे आउँदैनन् ।’ यहाँ आन्तरिक पर्यटक बढे भने हाम्रोमा पर्यटक नभएर यो उद्योग धराशयी हुने अवस्था आउँदैन ।’ पहाड, हिमाल र तराईको आकर्षण फरक–फरक भएको र उपलब्ध भएका सुविधा र बजार पनि फरक भएको उनको ठम्याइ छ । ‘स्थानीय समुदायको आम्दानीको क्षेत्र र पेसामा पनि निर्भर हुन्छ आन्तरिक पर्यटन,’ उनले भने ।

हामीकहाँ भएको विविध साँस्कृतिक पक्षको अवलोकन, हिमालको अवलोकनका लागि मात्र पनि आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।

‘काठमाडौं, पोखरा र चितवनको ‘गोल्डन ट्राभल प्याकेज’को विकास हुनमात्र ३० वर्ष लाग्यो,’ उनले सुनाए, ‘यहाँ पर्यटन व्यवसाय साह्रै ढिलो हिँड्छ ।’ यहाँ एउटै होलिडेज प्याकेजमा संस्कृति, हिमाल र वन्यजन्तु अवलोकन गर्न सकिने शाक्य बताउँछन् । ‘२४ घन्टाको अन्तरालमा सांस्कृतिक वातावरणमा नास्ता गर्दै, हिमाल हेर्दै, लञ्च खाँदै र वाइल्ड लाइफ अवलोकन गरेर डिनर खान सकिने ठाउँ नेपालमा छ,’ उनी बताउँछन् ।

पर्यटन र विकास हामीकहाँ ढिलो हिँडेको कुरो उनले धेरैपटक दोहोर्याए । ‘हामीकहाँ मानिसको बदलिँदो चाहनाअनुसार नयाँ–नयाँ योजनाको विकास गर्नुपर्छ,’ उनले सुनाए, ‘मान्छेलाई पेरिस भन्नासाथ उनीहरूको दिमागमा आइफल टावर आउँछ, न्युयोर्क भन्नासाथ स्ट्याचु अफ लिबर्टी आउँछ, वाइल्ड लाइफमा रुचि राख्नेहरू अफ्रिका जान्छन् । तर, नेपाललाई गन्तव्य बनाउने भनेको हिमाल हेर्न, चढ्न र पदयात्रा गर्नका लागि हो ।’ उनका अनुसार, नेपाल आउने पर्यटकका लागि यहाँको पहिलो आकर्षण हिमाल बन्यो, पहाड बाध्यात्मक बन्यो र तराई पछि पर्यो ।

‘नेपालको पर्यटन क्षेत्रको पहिचान विदेशीले गरेका हुन्,’ उनले भने, ‘उनीहरूले नै नेपालको पर्यटकीय क्षेत्रलाई बेचेका हुन्, त्यसैले पर्यटन वृद्धिका लागि अन्तर्राष्ट्रिय सम्पर्क विस्तार जरुरी छ ।’

‘यहाँ घुमघाम गर्न चाहने जमातलाई प्रोत्साहन गर्न र आन्तरिक पर्यटन व्यवसाय गरेर आम्दानी गर्न सकिन्छ भनेर देखाइदिने सरकारी नीति खाँचो छ,’ उनले भने, ‘आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने भनेरमात्र पुग्दैन । नीति नै बनाउनुपर्छ, यसका लागि । आन्तरिक पर्यटन नेपालको वैकल्पिक आर्थिक स्रोत हो भन्ने भावना जाग्न आवश्यक छ ।’

नेपाल सरकारले कहीं पनि होटल नखोलेको कुराप्रति उनले गुनासो पोखे । ‘न विदेशीका लागि विषेश प्याकेजको तयारी गरेको छ,’ उनले भने, ‘सरकारले आफैं नगर्ने हो भने २५ वर्षका लागि कुनै ठाउँलाई भाडामा दिएर पर्यटन विकासको काम गर्न सकिन्छ ।’ उनलाई सरकारले विदेशी पर्यटकलाई आकर्षित गर्ने वातावरण तयार नगरेकोमा पनि गुनासो छ । ‘विदेशी पर्यटकको प्रभाव स्थानीय समुदायमा पर्छ र आन्तरिक पर्यटन पनि बढ्दै जान्छ,’ उनको निष्कर्ष थियो ।

जैविक विविधताको धनी

कर्ण शाक्य नेपालमा पर्यटकलाई आकर्षित गर्न हावापानीको विविधीकरणलाई पनि देखाउन सकिने बताउँछन् । ‘यहाँ जैविक विविधताको ढुकुटी छ । हावापानीको विविधीकरणमात्र हेर्ने हो भने पनि यहाँ संसारमा पाइने सबै फल फल्न सक्छ,’ उनले सुनाए, ‘यहाँ संसारमा पाइने सबै विविधता छ । यो सानो देशमा हामी धेरै कुराले धनी छौं । नेपाल त स्वर्ग हो नि तर हामीले उचित व्यवस्थापन गर्न जानेनौं ।’
नेपाल अनेक चराको संसार हो । ‘८६० प्रजातिका चरा यहाँ पाइन्छन्,’ उनी भन्छन्, ‘यहाँ प्रत्येक कुरामा फस्टाउन सक्ने पर्यटन छ ।’
पर्यटनविद् शाक्यलाई कहीं विकास धेरै छिटो हि“ड्यो भन्ने पनि रहेछ । किन विकासप्रति पनि गुनासो ? मुस्ताङ, मनाङमा बाटो पुगेर उनलाई किन चिन्ता ? ‘विकास आवश्यक छ । तर, हामीले हतार ग¥यौं । मनाङ, मुस्ताङमा बाटो पुगेर त्यहाँ स्थानीय पर्यटन फस्टाउन पाएन । पर्यावरणीय पर्यटन फस्टाउन पाएन ।’

मनसुन प्याकेज र पर्यटक

अहिले आकाशमा काला बादल मडारिएका हुन्छन् । घाम लागे पनि केही छिनमै पानी परिहाल्छ । बादल गर्जनु र झरी दर्कनु यो मौसममा सामान्य हो । भयानक झरीले पहाडकन्या रजोमतिमाथि हिंसा बोले पनि झरझर परेको पानीमा भिज्न धेरैलाई रमाइलो लाग्छ । झरी पर्दा प्रकृति झनै खुसीले हाँसिरहेजस्तो लाग्छिन् । पर्यटनको हिसाबले यो मौमसलाई ‘अफ सिजन’ भनिन्छ । तर, उनी यो मौसमलाई ‘अफ सिजन’ मान्न तयार हुँदैनन् । ‘यो साह्रै राम्रो र रोमाञ्चक मौसम हो,’ उनले सुनाए, ‘यो बेला मनसुन प्याकेज ल्याएर पर्यटकलाई यहाँका राम्रा गन्तव्यमा लैजाने हो भने पर्यटन व्यासाय अझै फस्टाउने थियो ।’

सबै भन्छन्, ‘प्राकृतिक सौन्दर्य अवलोकनका लागि नेपाल उल्लेखनीय गन्तव्य हो ।’ हाम्रा कतिपय पर्यटकीय स्थल कठिन छन् भने कैयन् गन्तव्यमा गाडीबाट सहजै पुग्न सकिन्छ । हामी धनी छौं, हाम्रो इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यमा । यिनीहरूकै संगम बनेका सबै कठिन र सुगम पर्यटन गन्तव्यलाई प्रयोग गरेर हामी धनी पनि बन्न सक्छौं । ‘तर, हामीकहाँ आफ्नो पर्यटन गन्तव्यलाई माया गर्ने सोच विकास भएन,’ कर्ण शाक्यले सुनाए, ‘सरकारले नीति बनाएर सम्भावना देखाइदिए हाम्रो पर्यटन फस्टाउँथ्यो र हामी धेरै अघि बढ्न सक्थ्यौं ।’
(नयाँ पत्रिकाबाट)

प्रतिक्रिया दिनुहोस्