हाडेको रूख । त्यही रूखमा करमको भर्याङ ठडिएको छ । रूख चढ्न सात खुड्किलो पार गर्नुपर्छ । उनले रूख चढ्नसाथ रूखमै किताबसहितको झोला झुन्ड्याउँछन् । छाता एक छेउमा राख्छन् । त्यसपछि चट्टाइ (एकप्रकारको गुन्द्री) बिछ्याउँछन् । लगत्तै दुईवटा बर्को रूखमै टाँग्छन् । यत्ति गरेपछि अनलाइन कक्षा लिन बस्छन् ।
बर्कोले घाम हल्का छल्छ । टाँगिएका बर्को सामान्य हावा चल्दासमेत हल्लिने भएकाले शीतल हुन्छ । पानी पर्यो भने हतार–हतार घर फर्कनुपर्ने बाध्यता छँदै छ । पढ्ने ठाउँबाट घर ओहोर–दोहोर गर्न १० मिनेट लाग्छ । आफू होइन, किताब पो भिज्ला कि भनेर उनले छाता बोक्न बिर्संदैनन् ।
सरस्वती माध्यमिक विद्यालय अर्खौलेमा अध्ययनरत कक्षा १० का विद्यार्थी धनबहादुर मगरले बिहान १० देखि दिउँसो २ः४० बजेसम्म रूखमै बसेर अनलाइन कक्षा लिन्छन् । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खाैले सिम्लेको खर्कनिवासी मगर घरमा मोबाइल नेटवर्कले काम नगरेपछि रूखमै बसेर अनलाइन कक्षा लिन बाध्य छन् ।
एक दिनको कक्षा लिन २०० एमबीको डाटा चाहिन्छ । २०० एमबीको डाटा लिन २२ रुपैयाँ लाग्छ । आर्थिक अवस्था कमजोर भए पनि अध्ययनलाई निरन्तरता दिनु नै छ । दैनिक २२ रुपैयाँ खर्चिनुको पीडा उनलाई मात्रै थाहा होला । २२ रुपैयाँ जुटाउँदाको हैरानी भनिसाध्य छैन । जिन्दगी गाउन नमिल्ने गीतजस्तै बने पनि उनले हरेस खाएका छैनन् ।
पाँच वर्षअघि १० हजार रुपैयाँमा किनेको सामसुङ मोबाइल बिग्रनु र अनलाइन कक्षा सुरु हुँदै छ है भनिनु एउटै समय पर्यो । उनले हतार–हतार अर्खौले बजार पुगेर ३ हजार ५ सय रुपैयाँ खर्चेर मोबाइल त बनाए तर घरमा मोबाइलमा नेटवर्क हुँदैनथ्यो । अब के गर्ने ? परेन फसाद । तर, उनी पटक्कै आत्तिएनन् ।
दुःखमा रमाउनु पनि त कला हो । त्यही कलाले उनलाई अध्ययन गर्ने भोक जगाएको हो । ‘धनकुमार भाइको उत्साहप्रति मेरो उच्च सम्मान छ । रूखमा अनलाइन कक्षा लिएको दृश्यले सिकारुलाई सिकाउन मलाई थप भोक जगाउने हौसला मिलेको छ,’ सरस्वती माविका निमित्त प्रधानाध्यापक नवीन चाम्लिङ भन्छन्, ‘जसले गर्दा धनकुमार भाइजस्ता थुप्रै सिकारुले पनि नयाँ कुरा सिक्न सधैं उत्प्रेरित होऊन् । मैले जाने–बुझेका, मसँग भएका ज्ञान, सीप, अनुभव धनकुमारजस्ता विद्यार्थीलाई बाँड्न पाउँदा असाध्यै खुसी छु । शिक्षा अधिकृतको जागिर छाडेर शिक्षण पेसामा रमाउनु पाउँदा आनन्द अनुभूति हुन्छ ।’
सरस्वती माविका निमित्त प्रधानाध्यापक चाम्लिङले धनकुमार मगरले रूखमा पढ्ने ठाउँ बनाएको फोटो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेपछि ‘भाइरल’ बनेको थियो ।
बाध्यतासँग सिँगौरी खेल्दै रूखमा बसेर पढ्ने ठाउँ बनाउनुको पीडा त्यत्तिकै तीतो छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा रहेको सरस्वती माविमा २०७८ साउन २४ बाट अनलाइन कक्षा सुरु भयो । बिग्रेको मोबाइल बनाए पनि घरमा नेटवर्क हुँदैनथ्यो । उता, अनलाइन कक्षा सुरु भइसकेको थियो । यता, उनी नेटवर्कको खोजीमा थिए । ‘सहपाठीले अनलाइन कक्षा लिन थाले,’ मगरले भने, ‘आज यति विषय पढाइ भयो । आज उति विषय पढाइ भयो भन्ने थाले । मचाहिँ नेटवर्क कहाँ टिप्ला भनेर उपयुक्त ठाउँको खोजीमा थिएँ ।’
कहाँ नेटवर्क राम्रो समात्ला भनेर खोजिहिँडेको सातौं दिन उनी खुसीले तीन हात उफ्रे । अहिले पढ्ने ठाउँ बनाएको रूखमा नेटवर्क राम्रो समात्यो । नेटवर्कले काम गर्ने भएपछि पढ्ने ठाउँ बनाउने निष्कर्षमा पुगे । पढ्ने ठाउँ बनाउन सालको दुई, सतिबयर र बाँसका एक÷एक गरी चारवटा बलौ तयार पारे । रूखकै हाँगामा चार बलौ कसे । चोया, बाबियोको डोरी र भर्लाको लोक्ता निकालेर बनाइएको डोरीले बाँधेपछि बलौ बन्धिलो भयो । त्यसमाथि दुई घाना बाँसको भाटा बनाएर चोयाले कसे । कहिलेकाहीं अडेस लाग्न दुईपट्टि सालकै बलौ तेस्र्याए । अब एउटा खाटजत्रो पढ्ने ठाउँ तयार भयो । पाँच घन्टामा एक्लैले सबै काम पूरा गरे । घरमा आमा र भाइमात्रै भएकाले उनलाई सघाउने कोही थिएनन् ।
आफैंले बनाएको पढ्ने ठाउँमा बसेर अनलाइन कक्षा लिन पाउँदा धनकुमार मगर कम्ती छैनन् । उनी खुसी भए पनि उनीजस्ता धेरै साथीले अनलाइन कक्षा लिन सकेका छैनन् ।
हलेसी तुवाचुङ नगरपालिकाका नौ माध्यमिक विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका छन् । दुर्छिम माध्यमिक विद्यालय दुर्छिम, महेन्द्रोदय माध्यमिक विद्यालय हलेसी र सरस्वती माध्यमिक विद्यालयले पहिलो चरणमा अनलाइन कक्षा सञ्चालन गरे । ‘बाँकी सात माविले भदौ दोस्रो साताबाट सुरु गरे,’ हलेसी तुवाचुङ नगरपालिका शिक्षा शाखा प्रमुख पदम कार्की भन्छन्, ‘तर, समस्या छ । एक/दुई विद्यालयबाहेक अनलाइन कक्षा प्रभावकारी देखिएन । अनलाइन कक्षाका लागि डाँडाडाँडा दौडिनु र धनबहादुर मगरले जस्तै पढ्नुपर्ने समस्या भएकाले नै आगामी असोज ३ गतेबाट नगरका सबै विद्यालय सञ्चालनमा ल्याउने निर्णयमा पुगेका हौं ।’
अनलाइन कक्षाले अभिभावक र विद्यार्थी मारमा परेका छन् । ‘अधिकांश विद्यार्थीसँग एन्ड्रोइड मोबाइल छैन,’ समावि अर्खौले विद्यालय व्यवस्थान समिति अध्यक्ष किशोरकुमार श्रेष्ठ भन्छन्, ‘विद्यार्थीसँग मोबाइल नभए पनि अभिभावकसँग त छ । तर, वडाका सबै ठाउँमा नेटवर्क समात्दैन । त्यसैले समाविका ३५ प्रतिशत विद्यार्थीमात्रै अनलाइन कक्षामा सहभागी छन् ।’
३५ प्रतिशतभित्र धनबहादुर मगर पनि परे ।