माओवादी पूर्वलडाकु राईद्वारा एमालेबाट वडाध्यक्ष उम्मेदवारी घोषणा



दुर्छिम (खोटाङ) । माओवादी पूर्वलडाकु रवीन राईले एमालेबाट वडाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । माओवादी पूर्वलडाकु राईले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम वडाध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा एमाले जिल्ला कमिटी खोटाङ सदस्यसमेत रहेका उनले दुर्छिमबाट पहिलोपटक वडाध्यक्ष उम्मेदवारको घोषणा गरेका छन् । दुर्छिमका अन्य दलसम्बद्धले समेत वडाध्यक्ष उम्मेदवारको उम्मेदवारी घोषणा नगरेको अवस्थामा उनले पहिलोपटक उम्मेदवारका लागि मुख खोलेका हुन् ।

‘राजनीतिमा युवा पुस्ताको रहरलाग्दो उपस्थिति बढाउन वडाध्यक्षको उम्मेदवारी घोषणा गरेको हुँ,’ यातायात व्यवसायीसमेत रहेका रवीन राईले भने, ‘राजनीतिप्रति युवा पुस्ताको वितृष्णा बढिरहेको सर्वविदितै छ । राजनीतिमा आकर्षण बढाउन मैले उम्मेदवारी घोषणा गरेको हुँ ।

११ महिना माओवादी सशस्त्र युद्धमा लागेका उनी उदयपुरको उदयपुरगढी र सिरहाको लहान आक्रमणमा सहभागी थिए । माओवादीबाट बाहिरिएपछि उनी एमाले प्रवेश गरेका थिए ।

यसअघिको स्थानीय तह निर्वाचनमा दुर्छिमबाट एमालेसम्बद्ध रमेश तिवारीले वडाध्यक्षमा बाजी मारेका थिए । वडाध्यक्ष तिवारीले निकटतम प्रतिवद्वन्द्वीलाई चार मतले पछि पारेर विजयी हासिल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्